खुला |

होलीमा राजधानीमा ट्राफिकको कडाई : १०६ सवारी धनी कारबाहीमा

काठमाडौं, चैत ३ गते। महानगरीय ट्राफिक प्रहरीले होलीमा अमर्यादित ढंगले सवारी साधन चलाउने १०६ जनालाई कारबाही गरेको छ। बिहीबार ट्राफिक प्रहरीले राजधानीका विभिन्न ठाउँबाट सय बढीलाई कारबाही गरेको हो। ट्राफिक प्रहरी महाशाखाले होलीलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन काठमाडौँमा १३ सय बढी ट्राफिक प्रहरी परिचालन गरेको थियो।

महाशाखाले होली मनाउने क्रममा हुनसक्ने सम्भावित दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै उपत्यकाको विभिन्न ६८ स्थानमा चेक प्वाइन्टहरु राखेर चेकजाँच गरेको हो।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीका अनुसार बिहीबार साँझ ६ बजेसम्म जेकजाँचका क्रममा अमर्यादित ढंगले सवारी चलाउने १०६ जना कारबाहीमा परेका हुन्।

होली लक्षित ट्राफिक व्यवस्थापन कडा गरिएको कारण काठमाडौंमा कुनै अप्रिय घटना नभएको उहाँको भनाइ छ।

प्रहरीले बिना हेल्मेट, तीन जना चढ्ने, लापरबाही तरिकाले सवारी चलाउने लगायतका सवारी नियम उल्लंघन गर्ने ९०६ वटा सवारी चालकलाई कारबाही गरेको हो। उनीहरुलाई केही समय होल्डमा राखेर कारबाही गरिएको हो।