खुला | प्रदेश |

महिलालाई घरेलु सीप सिकाउने अभियानमा दमक नगरपालिका

बिष्णुप्रसाद पोखरेल
दमक, चैत ४ गते । ‘दमक नगरका महिला, उद्यममा पहिला’ कार्यक्रम अन्तर्गत झापाको दमक नगरपालिकाले महिलालाई आत्मनिर्भर बनाउन घरेलु सीप सिकाउने अभियानलाई तिब्रता दिएको छ । नगरपालिकाले यो महिना दूईवटा तालिमबाट ५० जना महिलालाई घरेलु सीपसहित उत्पादनमा जोडेको हो । बिशेषगरेर किरियापुत्रीहरुले धार्मिक परम्पराअनुसार किरिया बस्दा लगाउने परालको चप्पल र चामललगायतका खाद्यन्नको प्रयोग गरेर फ्याकिएका बोराबाट झोला बनाउने तालिम नगरपालिकाले दिएको हो । फ्याकिएका बोरा तथा बाक्लो प्लाष्टिक प्रयोग गरेर सजिलै आकर्षक झोला बनाउन सकिने रहेछ, दमक ७ का इश्वरा खनालले भन्नुभयो ।

खनालकाअनुसार घरको सबै काम भ्याएर तथा ब्यावसायिक काम सकेर केही समय निकाल्दा पनि यो काम गर्न सकिने रहेछ, उहाँले भन्नुभयो । पुनः प्रयोगमा आउने यो प्रकारको झोलाको बजारीकरण हुने हो भने जति पनि उत्पादन गर्न उहाँको भनाई छ । सिलाईकटाई, ढाका बुनाई तालिम धेरै भयो तर यसप्रकारको तालिम भने विरलै भएकाले यसमा महिलालाई आकर्षित गराएका हौ, दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले बताउनुभयो । बजारमा जे माग छ त्यसको सीप महिलालाई दिइने नीति हाम्रो छ, अधिकारीले भन्नुभयो ।

परालको चप्पलको माग पनि बजारमा अधिक रहेको छ । झापामा सहजै पराल उपलब्ध हुने भएकाले यसको उत्पादनमा पनि समस्या नरहेको जनाइएको छ । ’व्यावसायिक रुपमा यो काम गर्ने हो भने महिलाले घरमै बसेर सबै काम भ्याएर पनि दैनिक ३ देखि ५ जोरसम्म चप्पल बनाउन सकिने रहेछ, दमक ३ का महिला निशा भण्डारीले बताउनुभयो । एकजोर परालको चप्पलको मूल्य बजारमा १ सय ५० देखि २ सय रुपियाँसम्म पर्ने गरेको छ ।

चप्पल बनाउन पहिले पराललाई काँटछाँट गरेर सफा पराल तयार गर्ने, अनि रसी बाट्ने, रसी बाटीसकेपछि चप्पलको तलिबाट काम थालेर जुत्ताको स्वरूपमा बुन्दै जानुपर्छ भण्डारीले भन्नुभयो । ५ देखि ७ दिनमा यो तालिम पुरा हुने बताइएको छ । गुन्द्री, गजेरा बुन्ने महिलाले सहजै सिक्न सकिने बताउनुभयो ।

झापाको पुजा सामग्री उत्पादन गर्ने दिब्य दृष्टि भनेरेसन एण्ड एग्रोका अध्यक्ष यज्ञप्रसाद आचार्यकाअनुसार काठमाडौं र भक्तपुरबाट यहाँ यसप्रकारको चप्पल आउने भएकाले बजारका लागि यहाँ कुनै प्रकारको समस्या छैन । दमक नगरपालिकाले तालिम दिएका महिलाले उत्पादन गरेको परालको चप्पल आफुहरुले दरिद गरिदिने बताउनुभयो । जति उत्पादन गरेपनि बजारको जिम्मा हामी लिन्छौ, उहाँले भन्नुभयो ।