खुला | प्रदेश |

पत्थरकोट प्रहरीचौकीका सईमाथि आक्रमण

जनार्जन खत्री
सर्लाही, चैत ५ गते । स्थानीयवासीको कुटाइबाट सर्लाहीको पत्थरकोट प्रहरी चौकीका इन्चार्ज एवं प्रहरी नायब निरीक्षक (सई) रामएकवाल यादव घाइते हुनुभएको छ । लालबन्दी नगरपालिका –१३, पत्थरकोट छेडा गाउँमा रहेको प्रहरी चौकीमा कार्यरत सई यादवमाथि बिहीबार मध्यराती प्रहरी पोसाकमा डिउटी गरिरहेकै समयमा स्थानीयवासीले आक्रमण गरेका हुन् ।

यादवमाथि लालबन्दी नगरपालिका १२ र १३ को सीमामा पर्ने लखन्देही खोलास्थित झोलुङ्गे पुल नजिकै आक्रमण भएको हो । स्थानीयको आक्रमणबाट सख्त घाइते हुनुभएका सई यादवको नेपाल प्रहरी अस्पताल, काठमाडौंंमा उपचार चलिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । स्थानीयले काठको चिर्पटले प्रहार गर्दा उहाँको टाउकोलगायत शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ ।

सो घटनामा एक जना प्रहरी जवान पनि सामान्य घाइते हुनुभएको छ । प्रहरीमाथि आक्रमण गर्ने स्थानीय अहिले फरार रहेको र खोजी कार्य भइरहेको सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) कृष्ण प्रसाईले बताउनुभयो ।

प्रहरीमाथि आक्रमण भएपछि प्रहरी चौकी पत्थरकोटमा थप प्रहरी परिचालन गरिएको छ । प्रहरीमाथि आक्रमण हुनुको कारण प्रष्ट भइनसकेको प्रहरीले जनाएको छ । प्रहरी उपरीक्षक प्रसाईले घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको बताउनुभयो ।