खुला |

मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ, चैत ६ गते । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशको पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

उक्त प्रणालीको प्रभावले सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेश र प्रदेश नं १ लगायत बाँकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसमविज्ञान विभागले जनाएको छ ।

साथै हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने बताइएको छ । राति सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेश र प्रदेश नं १ का पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली हुने र बाँकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली र अन्य भूभागमा सामान्यतया मौसम सफा भई देशका पहाडी भूभागका एक÷दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १४ दशमलव चार डिग्री र अधिकतम तापक्रम ३१ दशमलव पाँच डिग्री सेल्सियस छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम चार दशमलव शून्य डिग्री र सबैभन्दा धेरै विराटनगरको अधिकतम तापक्रम ३६ दशमलव ६ डिग्री सेल्सियस छ ।