हँसिया प्रहार गरेर घाइते बनाएको आरोपमा महिला पक्राउ
शिवराज ढुङ्गाना
अछाम, चैत ७ गते । गर्भवतीलाई हँसिया प्रहार गरेर घाइते बनाएको आरोपमा मेल्लेख गाउँपालिका निवासी एक महिलालाई अछाम प्रहरीले पक्राउ गरेको छ । भैँसीले बारीको घाँस खाएको भन्दै आइतबार बेलुकी मेल्लेख गाउँपालिका–३ दर्बा निवासी अमृतादेवी बुढाले सोही स्थान निवासी गर्भवती रङ्गीदेवी बुढालाई हँसिया प्रहार गरेर घाइते बनाएको अछाम प्रहरीले जानकारी दिएको छ ।
अमृताको बारीको घाँस रङ्गीदेवीको भैँसीले खाएको भन्दै दुवै जनामा विवाद भएपछि अमृताले हँसिया प्रहार गरेको अछाम प्रहरी प्रमुख (डीएसपी) रविराज थपलियाले जानकारी दिनुभयोे । टाउको, मुख र नाकमा चोट लागेको रङ्गीदेवीको स्थानीय मेडिकलमा उपचार नभएपछि थप उपचार जिल्लाको बयलपाटा अस्पतालमा भइरहेको बताइएको छ । पीडित पक्षले प्रहरीलाई घटनाका बारेमा जानकारी गराएपछि अमृतालाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय ल्याउँदै गरेको डीएसपी थपलियाको भनाइ छ ।
यस्तै, मङ्गलसेन नगरपालिका–३ लाक्षीमना निवासी १६ वर्षीय ज्ञानबहादुर भण्डारी घरकै कोठाभित्र झुण्डिएको अवस्थामा फेला परेका छन् ।