काकाकुल बस्तीमा घरैपिच्छे धारा
अमरराज नहर्की
तनहुँ, चैत्र ७ गते । खानेपानीको चरम अभाव झेल्दै आएका तनहुँको एक गाउँका बासिन्दा घरैपिच्छे धारा जडान भएपछि हर्षित भएका छन् । लिफ्ट प्रविधिबाट खानोपानीको धारा जडान भएपछि कुवाबाट एक गाग्री पानी ल्याउन एक घण्टा खर्चनुपर्ने बाध्यता हटेपछि म्याग्दे गाउँपालिका–२ झ्यालगैरा, जामुनेका बासिन्दा खुसी भएका हुन् ।
अहिले घरघरमा धारा जडान गरि पानी वितरण गरिएको झ्यालगैरा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष मनबहादुर थापाले बताउनुभयो । खानेपानीको अभाव हुँदा बिहान झिसमिसेमै उठेर कुवामा पानी लिन जाने दैनिकी फेरिएको उहाँ बताउनुहुन्छ ।
‘एक गाग्रो पानी भर्न आधा घण्टा पालो कुर्नुपर्ने बाध्यता हटेपछि गाउँवासीमा खुसी छाएको छ’ अध्यक्ष थापाले भन्नुभयो । एक जनाको काम पानी भर्न ठिक्क हुने अवस्थाको अन्त्य भएकोले गाउँवासी खुसी भएको खानेपानी उपभोक्ता समितिका सचिव ईश्वरराज काफ्लेले जानकारी दिनुभयो । खानेपानी आयोजनाको गण्डकी प्रदेशका वन वातावरण तथा भुसंरक्षण मन्त्री दीपक थापाले उद्घाटन गर्नुभयो । सो अवसरमा मन्त्री थापाले पानीको अभावमा काकाकुल बन्नुपर्ने अवस्था आउन नदिन प्रदेश सरकारले नीति नै बनाएर अघि बढेको बताउनुभयो ।
डाँडामा मूल नभएको स्थानमा बेसीबाट विद्युतीय लिफ्टिङबाट पानी लैजान प्रदेश सरकारले आवश्यक पहलकदमी गरिरहेको उहाँले बताउनुभयो । सङ्घीय सरकारको एक करोड ४६ लाख ४९ हजार ५४९, गण्डकी प्रदेश सरकाले सोलारको लागि ४० लाख ८७ हजार ५६, सोलार क्षेत्र तारबारको लागि तीन लाख ४२ हजार १६८ र स्थानीय श्रमदान ६० लाख २५ हजार ६०६ गरी कुल दुई करोड ५१ लख २४ हजार ३३२ को लागतमा उक्त आयोजना सम्पन्न भएको उद्घाटन कार्यक्रममा जानकारी दिइएको थियो ।
उक्त आयोजनाबाट त्यस वडाका १३९ घरधुरीका बासिन्दा लाभान्वित भएका छन् । लिफ्ट प्रविधिमार्फत रिजर्भ टयाङ्की बनाएर घरघरमा पानी वितरण गरिएको वडाध्यक्ष चन्द्रबहादुर रानाले बताउनुभयो । ‘पानीको दुःख नहोस् भनेर जनप्रतिधि आएको पहिलो वर्षनै पानी खुवाउने कार्यलाई प्राथमिकता दिई लिफ्ट प्रविधि सुरु गरिएको रानाले बताउनुभयो ।