सुख्खा मौसम सुरुसँगै सदरमुकाममा खानेपानीको समस्या
बाबुराम देवकोटा
सिन्धुलीमाढी, चैत ७ गते । सिन्धुली जिल्ला कमलामाई नगरपालिका–४मल्लागाँउ निवासी दुर्गा अधिकारीलाई हरेक दिनको बिहान खानेपानीको चटारो हुन्छ । घरको धारामा खानेपानी नआएपछि छिमेकको घरमा जानुपरेको उहाँको गुनासो छ । उपभोक्ता अधिकारीले भन्नुभयो, ‘खानेपानीको एकदमै समस्या छ, खानेपानी लिन छिमेकीकोमा जान्छु ।’
गर्मी मौसम सुरु भएसँगै खानेपानीको समयस्या झेल्नुपरेको र आफ्नो घरको धारामा नियमित पानी नआएको एक महिनाभन्दा बढी भएको उहाँले सुनाउनुभयो । धारामा खानेपानी नआए पनि जिल्ला सदरमुकाम सिन्धुलीमाढीमा खानेपानी आपूर्ति गर्ने शिद्धेश्वर खानेपानी उपभोक्ता संस्थालाई भने नियमित शुल्क भने तिर्दै आएको उहाँको भनाइ छ ।
‘कहिलेकाहीँ तारकतुरक आउँछ, त्यही पानी भरेर राख्यो । नत्र छिमेकीकोमा जानुको विकल्प छैन,’ उहाँले भन्नुभयो, ‘छिमेकको पनि समस्या मेरो जस्तै छ । जसको घरमा आउँछ, उतै गाग्री बोकेर कुद्यो ।’
यता सदरमुकाम सिन्धुलीमाढीमा खानेपानी आपूर्ति गर्दै आएको सिद्धेश्वर खानेपानी उपभोक्ता संस्थाले भने गर्मी मौसम सुरु भएसँगै खानेपानीको मुहानमा स्रोत सुक्दै गएपछि उक्त समस्या आएको जनाएको छ । उक्त संस्थाका प्राविधिक जगन्नाथ घिमिरे भन्नुहुन्छ, ‘गर्मीले मुहानमा नै खानेपानी सुक्दै आएको छ । दिन बिराएर टोल–टोलमा डेढ दुई घण्टाका दरले खानेपानी वितरण गर्दै आएका छौं ।’
पहिले दैनिक उपभोक्ताको घरमा बिहानभरि जसो खानेपानी वितरण गर्दै आएकोमा अहिले सुख्खा मौसक सुरु भएपछि समय घटाइ दिन बिराएर वितरण गर्दै आएको उहाँको भनाइ छ । जिल्ला सदरमुकाम सिन्धुलीमाढी बढ्दो शहरीकरणसँगै खानेपानी समस्या समाधान गर्न अब दैनिक १० लाख लिटर खानेपानी थपिने गरी योजनाको निर्माण भइरहेको उक्त संस्थाले जनाएको छ ।
सिद्धेश्वर खानेपानी उपभोक्ता संस्थाले बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा थप दुई वटा नयाँ मुहानमा योजना सञ्चालन गरी उक्त खानेपानी थप्न लागेको संस्थाका अध्यक्ष महेन्द्रदेव श्रेष्ठले सुनाउनुभयो । उहाँका अनुसार संस्थाको १५ प्रतिशत लगानी सहित बागमती प्रदेश सरकारको २१ करोड रुपियाँ लगानीमा बहुबर्षे योजनाअन्तर्गत दुई वर्षअघि ती योजना निर्माण सुरु गरिएको हो । कमलामाई नगरपालिका ४ र ५ को बीचमा लब्दाह खोला र कमलामाई नगरपालिका–७ स्थित गड्यौली खोलामा नयाँ मुहान बनाई निर्माण गरिएको ती नयाँ योजनाको काम अहिले ८० प्रतिशत सम्पन्न भएको छ ।
अहिले सदरमुकममा नेपाली सेना, प्रहरी, अन्य सरकारी कार्यालय र उपभोक्ता गरी दैनिक ३० हजार उपभोक्ताले खोनेपानी उपभोग गरि रहेको संस्थाका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । तीन वर्षभित्रमा पानी सङ्कलनका लागि छ वटा रिजर्भ ट्याङ्की र दुई वटा लिफ्ट खानेपानी योजना निर्माण गरी सदरमुकामको खानेपानीलाई व्यवस्थित गरिने उहाँको भनाइ छ ।
उहाँका अनुसार हाल कमलामाई नगरपालिका–४ स्थित ग्वाङखोला र कमलामाई नगरपालिका–७ स्थित गड्यौली खोला दुई वटा मुहानबाट दैनिक २५ लाख लिटरको हाराहारीमा खानेपानी आपूर्ति गरी सदरमुकामका ३० हजार उपभोक्तालाई वितरण गरिँदै आएको छ । नयाँ योजना सम्पन्न भएपछि अहिले भइरहेको तीन हजार पाँचसय धारामा थप तीन हजार धारा थपिने अनुमान गरिएको छ ।
अहिले भइरहेको योजनाले खानेपानीको माग धान्न नसकेकाले नयाँ योजना सञ्चालन गर्नुपरेको संस्थाका अध्यक्ष श्रेष्ठको भनाइ छ । गडौली खोलाबाट पानी लिफ्टबाट तानेर उक्त स्थानमा थप एकलाख लिटरको पानीट्यांकी निर्माण गरिएको छ । जसबाट ठूलीटारमा दुई सय घरधुरीलाई खानेपानी वितरण गरिने छ र बाँकी पानी माझीटार हुँदै माढीबजारका उपभोक्तालाई वितरण गर्ने योजना रहेको उक्त संस्थाले जनाएको छ ।