जनप्रतिनिधिलाई कानुन पढाउँदै प्रशासन
तिलाचन पाण्डे
तम्घास, चैत ८ गते । गुल्मीका स्थानीय तहका जनप्रतिनिधिहरुलाई जिल्ला प्रशासन कार्यालय गुल्मीले कानुन पढाउन थालेको छ ।
जनप्रतिनिधिहरुले नागरिकतालगायत अन्य सिफारिस गर्दा समस्या देखापर्ने गरेकाले त्यसको बारेमा कानुनी जानकारी गराइएको जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिनुभयो ।
सोमबार मालिका गाउँपालिकामा जनप्रतिनिधिबीच कानुनी प्रक्रियाका बारेमा जानकारी गराइएको र सबै स्थानीय तहका जनप्रतिनिधिबीच अभियानकै रुपमा कार्यक्रम सञ्चालन गर्ने गरि लागिएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिनुभयो ।
जिल्लाका ग्रामीण स्तरहरुबाट सेवाग्राहीहरु आउँदा स्थानीय तहले गर्ने नागरिकता लगायतका सिफारिसमा कुनै समस्या नपरोस् र सहज रुपमा सेवा प्रवाह गर्न सकियोस् भन्ने उद्देश्यले कार्यक्रम गरिएको पौडेलले बताउनुभयो ।
यस्तै, कार्यक्रममा विपद् व्यवस्थापन, अपराध न्यूनिकरण व्यक्तिगत घटना दर्ता र सामाजिक सुरक्षा भत्ता वितरणलगायतका विषयमा पनि छलफल भएको थियो । सामाजिक सुरक्षा भत्ता वितरणमा कतै अनियमितता भएको पाइएमा हदैसम्मको कानुनी कारवाही गर्ने पौडेलले चेतावनी दिनुभयो ।
कार्यक्रममा वडाध्यक्षलगायत जनप्रतिनिधि, राजनीतिक दल तथा सरोकारवालाले नागरिकता, बहुविवाह, पेन्सनलगायतका बारेमा आइपरेका समस्याको बारेमा प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराएका थिए । कार्यक्रममा जिल्लाका चार वटै सुरक्षा निकायका प्रमुखको उपस्थिति थियो ।