खुला |

घर बनाउन जग्गा पाएपछि भूमिहीन खुशी

विजयकुमार साह
ढल्केबर, चैत ८ गते । धनुषाको मिथिला नगरपालिका–१ स्थित नयाँ बस्तीका दीपकुमार महरा निकै खुशी देखिनुहुन्छ । नयाँ बस्तीमा आफ्नै घर बनाउन जग्गा पाएपछि उहाँको खुशीको सीमा छैन । ज्याला मजदूरी गरेर ल्याएको पैसाले परिवारको खर्च जुटाउन मुस्किल हुने महराले घर बनाउन जग्गा पाउने कल्पना गर्नुभएको थिएन ।

त्यसअघि सोही वडाको मुख्य सडकमार्गको जग्गामा सानो झुपडी बनाएर बस्नुभएको उहाँको घर सडक विस्तारको क्रममा भत्किएपछि आफन्तको जग्गामा प्लाष्टिक राखेर बनाइएको झुपडीमा कष्ट सहेर बस्दै आउनुभएको थियो ।

नयाँ बस्तीमा महरासहित भूमिहीन ४० घरपरिवारले आफ्नै घर बनाउन जग्गा पाउनुभएको छ । जग्गा पाउनुभएका सबै हर्षित देखिनुभएको छ । मिथिला नगरपालिकाले बसही खोलाको नदी उकास पाँच विघा जग्गाबाट भूमिहीन ४० घरपरिवारलाई १५ धुरका दरले जग्गा उपलब्ध गराएको छ ।

आर्थिक अवस्था कमजोर भएका परिवारको पहिचान गरेर १० महिना अघि बसोबासका निम्ति उपलब्ध गराएको जग्गामा सबैजसोले घर बनाएर बस्न थाल्नुभएको छ । बस्तीमा खानेपानी र बिजुली बत्तीको सुविधा उपलब्ध गराइएको छ । खानेपानीका लागि दुई वटा इनार सञ्चालनमा आइसकेको छ भने थप एउटा इनार निर्माणको चरण छ । बिजुली बत्ती घर–घरै पुगेको छ, सुकुम्वासी बस्तीका सञ्जय महतोले भन्नुभयो ।

वर्षौंदेखिको आफ्नै घरमा निदाउन पाउने सपना पूरा भएको भन्दै नगर प्रमुख हरिनारायण महतो र वडाध्यक्ष लक्ष्मी महताले धेरै राम्रो काम गर्नुभएको महतोले भन्नुभयो । उहाँले भन्नुभयो, यसअघि निश्चित घर ठेगाना थिएन । तर अब ‘मेरो घर’ भन्न पाएको छु योभन्दा खुशी हामीलाई अरु के हुन सक्छ ।

मिथिला नगरपालिकाका नगर प्रमुख हरिनारायण महताले भन्नुभयो, “पुस्तौंदेखि प्लाष्टिकको पाल, घरभाडा र अरुको जग्गामा बसिरहेका अति विपन्न परिवारका लागि जग्गा उपलब्ध गराइदिएका छाैं ।” संविधानमा पनि मौलिक हककारूपमा गाँस, बाँस र कपासलाई राखिएको हुँदा सोही अनुरुप हामीले विपन्न परिवारका लागि बस्ने जग्गा दिएकाे उहाँले बताउनुभयो ।

“खानेपानी र बिजुलीबत्तीको पनि व्यवस्था गरिदिएका छौं । विवाहजस्ता सामूहिक कार्यका लागि एउटा सामुदायिक भवन निर्माण गरिदिएका छौं र त्यहाँका बालबालिकालाई पठनपाठन सहजताका लागि बस्ती नजिकै सामुदायिक विद्यालय स्थापना गर्न पहल भइरहेको छ,’’ नगरप्रमुख महतोले भन्नुभयो ।

खोला छेउमा बस्ती भएकाले वर्षाको सिजनमा बाढी प्रवेश गर्नसक्ने जोखिम रहेकाले छ । खोलामा तटबन्ध निर्माण गरिदिए बाढीको जोखिमबाट ढुक्क हुने थियौं, सकुम्वासी बस्तीका सञ्जय महतो भन्नुभयो । केही स्थानमा तटबन्ध गरिएको छ । उहाँका अनुसार अरु तीनदेखि चार सय मिटरमा तटबन्ध निर्माण गरिदिए सदाका लागि बाढीको जोखिमबाट मुक्त हुने थियौं ।