खुला |

बेँसीसहरको रामचोकबेंसीमा नागरिक लक्षित सेवा केन्द्र

बेलिना थापा
लमजुङ, चैत ९ गते । लमजुङको बेँसीसहर नगरपालिका–११ रामचोकबेंसीमा वडा कार्यालयको सेवा केन्द्र र स्वास्थ्य सेवा केन्द्र स्थापना गरिएको छ । रामचोकबेंसी र बाङ्ग्रेका स्थानीयलाई सहज रुपमा सेवा प्रवाह गर्ने उद्देश्यले सेवा केन्द्र स्थापना गरिएको हो । वडा कार्यालयको सेवा केन्द्रबाट सातामा एकदिन सेवा प्रदान गरिनेछ । वडा कार्यालयबाट हुँदै आएको व्यक्तिगत घटना दर्ता, सिफारिसलगायतको सबै काम हुनेछ । कुन बार खुला गर्ने भन्ने बारे वडाको बैठक बसेर निर्णय गरिने वडाध्यक्ष अच्युतबाबु बगालेले बताउनुभयो ।

सातामा एक दिन वडाध्यक्ष, वडा सचिव आएर सेवा प्रदान गरिने बताउनुभयो । यस्तै, स्वास्थ्य सेवा केन्द्रमा चितिथला स्वास्थ्यचौकीका एक जना अनमी खटाएर दैनिक रुपमा स्वास्थ्य सेवा प्रदान गरिनेछ । वडा कार्यालयको सेवा केन्द्र र स्वास्थ्य सेवा केन्द्रका लागि स्थानीय सरिता श्रेष्ठको घरको तीन वटा कोठा भाडामा लिइएको छ । वडा सेवा केन्द्रका लागि एउटा र स्वाथ्य सेवा केन्द्रका लागि दुई वटा कोठा प्रयोग हुनेछ । रामचोकबेंसीका नागरिकलाई सेवा लिनका लागि चितिसम्म जान समस्या भएको गुनासो आएपछि उक्त व्यवस्था भएको हो । करिब एक घण्टासम्म हिँडेर वडा कार्यालय र स्वास्थ्यचौकी जानुपर्दा समस्या भएको गुनासो गरेका थिए । गाउँमै सेवा केन्द्र आएपछि सहज हुने स्थानीयले बताएका छन् ।

उक्त सेवा केन्द्रको मङ्गलबार उद्घाटन गर्दै बेँसीसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले नागरिकको आवश्यकता अनुसार नगरपालिकाले काम गरेको बताउनुभयो । नागरिकको आधारभूत आवश्यकता पूर्तिका लागि कुनै कसर बाँकी नराखेको बताउनुभयो । नागरिकको माग, आवश्यकता अनुसार बजेट व्यवस्थापन गरी काम गरेको उहाँको भनाइ छ । नगरपालिका आएपछि घरघरमा पानी, बिजुली, सडक, स्वास्थ्यसेवाको पहुँच, होमस्टे प्रवर्द्धन, किसानलाई अनुदानको व्यवस्था गरेको बताउनुभयो । नागरिकको जीवनलाई सहज बनाउन सक्दो लागेको बताउनुभयो । नगरपालिकाले पाँच वर्षको अवधिमा स्वच्छ र निष्पक्ष रुपमा नागरिकको काम गरेको बताउनुभयो । नगरपालिकका प्रेस सल्लाहकार कृष्ण केसीले नगरपालिकाले उल्लेखनीय काम गरेको बताउनुभयो । नागरिकको हितका लागि निरन्तर काम गरेको बताउनुभयो । नगरपालिका नागरिकको पक्षमा रहेको बताउनुभयो ।

कार्यक्रममा समाजसेवी प्रकाश सेढाइँ, समाजसेवा युवा क्लबका अध्यक्ष ईश्वर सेढाईंले सेवा केन्द्रका गाउँका नागरिकलाई सहज बनाउने बताउनुभयो । स्वास्थ्य सेवा लिनका लागि चिती वा उदीपुर जानुपर्ने बाध्यता भएकोमा अहिले सहज हुने बताउनुभयो । नगरपालिकाले नागरिकको सुविधालाई दृष्टिगत गरी सेवा केन्द्र स्थापना गरेकोमा खुसी व्यक्त गर्नुभयो ।