स्थानीय तहमा विस्तार हुँदै प्रहरी चौकी
नवीन शिशिर
बागलुङ, चैत्र ९ गते । सङ्घीय सरचना अनुसार नेपाल प्रहरीले आफ्नो संगठनात्मक संरचना स्थानीय तहमा विस्तार गर्न सुरु गरेको छ । जिल्लाको शान्ति सुरक्षालाई प्रभावकारी बनाउन सबै स्थानीय तहमा प्रहरी चौकी स्थापना गर्ने गृहमन्त्रालयको निर्णय अनुसार बागलुङका तीन स्थानीय तहमा प्रहरी चौकी स्थापना गरिएको हो ।
बागलुङ नगरपालिकको पञ्चकोट, बरेङको सुँदाला, ताराखोला गाउँपालिकको भातखानेडाँडा र निसीखोला गाउँपालिकाको जुग्जाखोलामा चालु आर्थिक वर्षमा नयाँ प्रहरी चौकी स्थापना गरेको प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिनुभयो ।
प्रहरी चौकीमा १५ जना दरबन्दी रहे पनि तत्काललाई हवल्दारको नेतृत्वमा पाँच जना जनशक्तिबाट सेवा प्रवाहको सुरुवात गरेको प्रहरी निरीक्षक भण्डारीको भनाइ छ । जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्याल्यबाट जनशक्ति व्यवस्थापन गरेर चौकी सञ्चालन गरिएको हो । स्थानीय तहमा चौकी विस्तारपछि जिल्लाको शान्ति सुरक्षा व्यवस्थापन, अपराध नियन्त्रण र गैरकानुनी कार्य रोक्न सहयोग पुग्ने प्रहरी उपरीक्षक दयानिधि ज्ञवालीको भनाइ छ ।
जिल्लामा तीन वटा ‘क’ र चार वटा ‘ख’ श्रेणीका गरी सात वटा इलाका प्रहरी कार्यालय छ । इलाका प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय गलकोट र इलाका प्रहरी कार्यालय बरेड डाँडा ‘क’ श्रेणी प्रहरी चौकी छ ।
इलाका प्रहरी कार्यालय बलेवा, भीमगिठे, झिवाखोला र ताराखोलाका ‘ख’ श्रेणीको चौकी हो । जिल्लाभर १७ वटा प्रहरी चौकी, दुई वटा प्रहरी पोष्ट, चार वटा सामुदायिक प्रहरी सेवा केन्द्र छन् ।