डम्पिङ साइड नहुँदा गोकुलेश्वर बजार फोहोरले दुर्गन्धित
लोकेन्द्र जोशी
दार्चुला, चैत १० गते । डम्पिङ साइड नहुँदा दार्चुलाको दोस्रो ठूलो गोकुलेश्वर बजार दुर्गन्धित भएको छ । बढ्दो बजारीकरणसँगै नगरपालिकाले फोहाेर व्यवस्थापन नगर्दा लामो समयदेखि बजार क्षेत्र दुर्गन्धित बन्दै गएको हो ।
दार्चुलाको शैल्यशिखर नगरपालिकाले डम्पिङ साइडको व्यवस्थापन गर्न नसक्दा फोहर व्यवस्थापनमा चुनौती देखिएको छ । शैल्यशिखर नगरपालिका –९ गोकुलेश्वर बजार क्षेत्रमा थुप्रिएको कुहिने र नकुहिने फोहोर सडक र नदी, खोलाको छेउमा जथाभावी फालिएको छ । बजार क्षेत्रका घर, पसलबाट निस्किने फोहोर गोकुलेश्वर खोलामा फाल्ने गरेकै कारण बाटोमा यात्रा गर्न समेत नसकिने अवस्था आएको छ । खोला नजिकै सञ्चालित होटल, पसलमा हावा चलेका बेला दुर्गन्ध फैलिएर बस्नै नसकिने अवस्था आएको होटल पिसफुलका सञ्चालक दिवाकर जोशीले बताउनुभयो ।
बजारमा थुप्रेको फोहरको सही व्यवस्थापन नहुँदा विभिन्नखालका रोग लाग्न सक्ने जोखिम बढेको स्वास्थ्यकर्मीले बताएका छन् । शैल्यशिखरको बोहोरीगाउँ स्वास्थ्य चौकीमा कार्यरत जनस्वास्थ्य निरीक्षक शिवदत्त जोशीले भन्नुभयो, “गर्मी बढ्दैगएको छ, बजार क्षेत्रमा जथाभावी फालिएको फोहोरका कारण विभिन्न रोगको सङ्क्रमण हुनसक्ने जोखिम बढेको छ । स्थायीरुपले फोहोर व्यवस्थापन नहुँदा त्यसले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने जनस्वास्थ्य निरीक्षक जोशीले बताउनुभयो ।
बजार क्षेत्रमा जथाभावी फोहोर विसर्जन गरेकै कारण मच्छरको समेत बिगबिगी छ, स्थानीय मानमति जोशीले भन्नुभयो, “नगरपालिकाले फोहोर व्यवस्थापनमा ध्यान नदिने हो भने महामारी फैलिने जोखिम छ ।” नगरबासीले समेत जथाभावी फोहोर फाल्ने गरेका कारण समस्या सिर्जना भएको उहाँको भनाइ छ ।
सार्वजनिकस्थलमा राखिएको फोहरले मानव स्वास्थ्यमा गम्भीर असर पार्नुका साथै अस्थायी रुपमा व्यवस्थापन गरिएको फोहर पनि पानीका स्रोतमा मिसिँदा पानी प्रदूषित भइरहेको छ । बजार क्षेत्रबाट निस्किएको फोहर एकै ठाउँमा राख्दा झन् समस्या भएको छ । गोकुलेश्वर खोला र सडक छेउँमा सबैभन्दा बढी फोहोर फालिएको छ । डम्पिङ साइड बजाउन उपयुक्त ठाउँमा जग्गा नपाएको कारण समस्या भएको नगरपालिकाले जनाएको छ ।