खुला |

अवैध मदिरासहित १८ वटा मोटरसाइकल नियन्त्रणमा

विजयकुमार साह
ढल्केबर, चैत ११ गते । अवैधरूपमा भारत निकासी गर्न लागेको तीन लाखभन्दा बढी मुख्य बराबरको मदिरासहित १८ वटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले जनकनन्दनी गाउँपालिका–१ इनर्वास्थित सीमाक्षेत्रबाट विभिन्न ब्राण्डका अवैध मदिरासहित १८ वटा मोटरसाइकल नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक जितेन्द्रकुमार बस्नेतले गोप्य सूचनाका आधारमा जिल्लाबाट खटिएका विशेष अनुसन्धान टोलीले भन्सार छली चोरी निकासी गरी भारततर्फ लैजाँदै गरेको तीन लाख बढीको मदिरा र मदिरा ओसारपसार गर्न प्रयोग गरिएको १८ वटा मोटरसाइकल नियन्त्रणमा लिएको बताउनुभयो ।

उहाँले नियन्त्रणमा लिएको अवैध मदिरा र मोटरसाइकलको अनमानित मूल्य २८ लाख ५८ हजार एक सय रुपियाँ कायम गरी आवश्यक अनुसन्धान तथा कारवाहीका लागि सम्बन्धित निकायमा पठाएको जानकारी दिनुभयो ।

यसैगरी, प्रवक्ता तथा प्रहरी उपरीक्षक बस्नेतका अनुसार धनुषा प्रहरीले जनकनन्दनी गाउँपालिका–३ बाट छ लाख ५८ हजार आठ सय रुपियाँ बराबरको भन्सार छलीको कपडा र चप्पल बरामद भएको छ । बुधबार जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले जनकनन्दनी गाउँपालिका–३ बाट सो मूल्यको भन्सार छलीका कपडा र चप्पलसहित दुई वटा मोटरसाइकल बरामद गरी आवश्यक कारवाहीका लागि जनकपुर भन्सार कार्यालयमा बुझाइएको छ ।