लोकमार्ग छेउछाउको होर्डिङ्ग बोर्ड सडक दुर्घटनाको कारण बन्दै
विजयकुमार साह
ढल्केबर, चैत १२ गते । महिला र पुरुषका आँखा नबिझाउने सुन्दर र आकर्षक तस्बिर । अनि तत्क्षण मस्तिष्कमा छाप छाड्ने वजनदार केही शब्द विन्यासबाट बनेका अर्धवाक्य । प्रश्न र उत्तर पनि त्यहीँ । तपाईंलाई एकटक हेरिरहन मन लाग्न सक्छ ।
हो, पूर्वपश्चिम लोकमार्गको कमला–बागमती खण्डमा ठाउँठाउँमा व्यावसायिक प्रयोजनले राखिएका होर्डिङ्ग बोर्ड हेरिरहने रहर मनमा पलाउँछ । तर, यसले जोखिमपूर्ण दुर्घटना निम्त्याउन सक्छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख एवम् प्रहरी निरीक्षक नवराज न्यौपाने भन्नुहुन्छ, ‘साँच्चिकै यस्ता चित्ताकर्षक होर्डिङ्ग बोर्ड हेर्ने चालकको लालसाले लोकमार्गमा सवारी दुर्घटना भएका थुप्रै उदाहरण छन् ।’ व्यवसाय वृद्धिका लागि विभिन्न सामग्री उत्पादक कम्पनीहरूले होर्डिङ्ग बोर्डमा राखिने ‘कन्टेन्ट’ र फोटा तथा तिनको डिजाइनमा लाखौं रुपियाँ खर्चेका हुन्छन् । बढीभन्दा बढी व्यक्ति घोरिएर हेरुन् र ती उत्पादनसँग साइनो गाँसुन् भन्ने ती कम्पनीहरूको चाहना हुन्छ । त्यस अभिप्रायबाट प्रेरित भएर तयार हुने दृश्यसामग्री लोकमार्गसँगै जोडिएर राख्ने गरिएका छन् । अझ लोकमार्गमा पर्ने बजारहरूको हरितक्षेत्रमा पनि त्यसरी नै होर्डिङ्ग बोर्ड राखिन्छन् ।
चालकहरूले आँखा नझिम्काइ ती होर्डिङ्ग बोर्ड पढ्न चाहन्छन् । र, यसै कारणले दुर्घटनाको सम्भावना बढेर जान्छ । प्रहरी निरीक्षक न्यौपाने भन्नुहुन्छ, ‘बोर्डतिर आँखा सोझिने यो सेकेन्ड भरले दुर्घटना गराउने हो ।’
लोकमार्गमा कहाँ र कसरी होर्डिङ्ग बोर्ड राख्नेबारे सम्बद्ध निकायहरूले कार्यविधि वा मापदण्ड बनाएका छैनन् । अहिले होर्डिङ्ग बोर्ड राख्न सम्बन्धित क्षेत्रका स्थानीय तहहरूले जथाभाबी भूउपयोग अनुमति दिने गरेका छन् । जसले गर्दा लोकमार्गको दस मिटर कालोपत्रे क्षेत्रसँगै जोडिएर पनि होर्डिङ्ग बोर्ड राख्ने गरिएको छ । दुवैतिर २५–२५ मिटर लोकमार्गको जग्गामा त प्रशस्त होर्र्डिङ्ग बोर्डहरू छन् ।
होर्डिङ्ग बोर्डका लागि जग्गा उपलब्ध गराए र प्रयोग गर्न दिएबापत स्थानीय तहले सम्बन्धित कम्पनीबाट कर असुल्ने गर्छ । लोकमार्गमा पर्ने बजारक्षेत्रका होटललगायत अन्य पसलका ठूल्ठूला होर्डिङ्ग बोर्ड भने लोकमार्गमै ठड्याइएका छन् ।
सडक डिभिजन कार्यालय जनकपुरका प्रमुख सञ्जय मिश्रका अनुसार होर्डिङ बोर्डका कारण सडक सुरक्षा नै संकटमा परिरहेकाले यस विषयमा स्थानीय तहहरूसँग गम्भीरतापूर्वक छलफल भइरहेको बताउनुहुन्छ । तर, होर्डिङ बोर्ड सम्बन्धी मापदण्ड कोहीसँग नभएकाले नियमन गर्न कठिनाइ भएको उहाँको भनाइ छ ।
केही समयअघि लोकमार्गको ढल्केवरमा जथाभाबी राखिएका होर्डिङ बोर्ड हटाउने अभियान थालिएको थियो । तर, ढल्केबरक्षेत्र पर्ने मिथिला नगरपालिका कार्यालयको अनिच्छाका कारण अभियानले भने पूर्णता पाएन । सडक डिभिजन कार्यालयका प्रमुख मिश्रले भने सडक छेउकै होर्डिङ बोर्डहरू हटाइए पनि घुम्तीमा रहेको पार्कसँगैका होर्डिङ बोर्डहरू हटाउन समय लाग्ने बताउनुहुन्छ ।
‘पार्क पुननिर्माण गर्ने गुरुयोजना बनिरहेको छ । त्यसअनुसार काम भएपछि आफसेआफ होर्डिङ्ग बोर्ड हटनेछन्,’ मिश्रले भने ।
लोकमार्गमा व्यावसायिक प्रयोजनका मात्र नभएर विभिन्नन तहका सरकारका चेतनामूलक सन्देश समाविष्ट भएका होर्डिङ्ग बोर्डहरू छन् । स्वास्थ्य, शिक्षा आदि विषयका चेतनामूलक होर्डिङ्ग बोर्डमा विषयगत सामग्री प्रसारभन्दा मधेस प्रदेशका मुख्यमन्त्रीदेखि मन्त्रीहरूका नयाँनयाँ तस्बिर राखिएका हुन्छन् । मिथिला नगरपालिकाका राजनीतिकर्मी बुधेश्वर महतोको प्रश्न छ, ‘बाटामा गाडी रोकेर चालकले यी होर्डिङ्ग बोर्ड त हेर्दैनन होला नि । अनि बजार र गाउँटोलमा राखिनुपर्ने यी बोर्ड लोकमार्गमा दुर्घटनाकै लागि राखिएको किन नभन्ने ?’
मदिरालगायतका उत्पादनसम्बन्धी होर्डिङ्ग बोर्डमा महिला र पुरुषबीचको अन्तरङ्ग र कामोत्तेजक दृश्यले सडक भएर हिँड्डुल गर्ने बालबालिकाको मनोविज्ञानमा गलत असर पर्नेगरेको महतोको कथन छ ।