मेलम्ची खानेपानी आयोजनाको मुहानमाथि सूचना यन्त्र जडान गर्ने तयारी
काठमाडौं, चैत्र १२ गते । मेलम्ची खानेपानी आयोजनाको मुहानमाथि सूचना यन्त्र जडान गर्ने तयारी थालिएको छ । माथिल्लो भेगमा ठूलो मात्रामा पानी परे बाढी आउन सक्ने जोखिम कायम रहेकाले सूचना दिने यन्त्र जडान गर्ने तयारी भइरहेको मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताउनुभयो । उहाँका अनुसार संरचना निर्माणस्थलमाथि वर्षा मापन यन्त्र, नदीकाे बहाव मापन यन्त्र जडान गरिनेछ । यही हप्ताभित्र यन्त्र जडान गरेर सञ्चालनमा ल्याइने उहाँको भनाइ छ ।
‘माथिल्लो क्षेत्रमा ठूलो मात्रामा वर्ष भए सम्भावित जोखिमलाई न्यूनीकरण गर्न मापन केन्द्रहरु स्थापना गर्न लागिएको हो,’ पन्तले भन्नुभयो । अग्रिम रुपमा सूचना प्राप्त हुँदा बाढी आइहाले खानेपानी आयोजनाको ढोकाहरु बन्द गर्न सके जोखिम धेरै नहुने र तल्लो भेगमा बसोबास गर्ने मानिसलाई अन्यत्र जान सजिलो हुनेछ ।‘
संरचना निर्माण भइरहेको स्थानको माथि ठूलो वर्षा भए फेरि बाढी आएर संरचनामा क्षति र बस्तीलाई पनि क्षति गर्न सक्ने भएकाले अग्रिम सूचना प्राप्त होस् भनेर मौसम पूर्वानुमान विभागसँग समन्वय गरेर मापन केन्द्रहरुको स्थापना गर्न लाागिएको हो । यही साताभित्र केन्द्रहरुको स्थापना गर्ने योजना छ, ’उहाँले भन्नुभयो ।
मौसम विभागसँग समन्वय गरेर केन्द्रहरुबाट प्राप्त तथ्याङ्कको आधारमा त्यस क्षेत्रको अवस्थाको बारेमा निरन्तर सूचना प्रवाह गर्ने काम गरिने पन्तको भनाइ छ ।
सुरुङ्भित्र कुनै कमी भेटिए चैत्रमा पानी ल्याउन कठिन
सुरुङ्भित्र सफाइ गर्ने काम भइरहेकाले भित्र यदि कुनै समस्या फेला नपरे चैत्रको अन्तिम सातामा उपत्यकामा पानी ल्याउन भने कठिन हुने पन्तले बताउनुभयो । ‘चैत्रको अन्तिम सातासम्म पानी काठमाडौं ल्याउने गरी काम भइरहेको छ । अहिले सुरुङ्मार्ग रहेको पानी बाहिर निकाल्ने कम भइरहेको छ । सफाइ गर्ने क्रममा सुरुङ्मार्गभित्र कुनै समस्या देखिए चैत्रको अन्तिम सातासम्म पानी काठमाडौं ल्याउन भने गाह्रो हुन्छ,’ पन्तले भन्नुभयो ।
प्रतिवेदन नआउँदा दिगो समाधान खोज्न समस्या गत असार १ गते मेलम्चीमा आएको बाढीले पारेको क्षतिको भौगर्भिक अध्ययन सकेर फर्केको एडिबीको टोलीले प्रतिवेदन तयार गर्दैछ । उक्त प्रतिवेदन आएपछि मात्र आयोजनाको दीगो समाधान खोजिने समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताउनुभयो । ‘अहिलेलाई प्रारम्भिक प्रकृया पूरा गरेर पानीलाई काठमाडौं ल्याउने प्रयास भइरहेको छ ।
भिमान्थाङ्मा एडिबीको टोलीले गरेको अध्ययनको रिपोर्ट आएपछि भने मेलम्ची खानेपानीको दीर्घकालीन समाधान खोजिनेछ ’पन्तले भन्नुभयो । उक्त टोलीले गरेको अध्ययनको प्रतिवेदन नआएकाले मेलम्ची खानेपानीको दीर्घकालीन समाधान अहिले नै खोज्न समस्या भएको उहाँको भनाइ छ ।