खुला | प्रदेश |

लडागडा वडालाई बालविवाह मुक्त घोषणा

डिलबहादुर सिंह
सिलगढी, चैत २१ गते । डोटीको दिपायल सिलगढी नगरपालिका –८ लडागडा लाई बालविवाह मुक्त वडा घोषणा गरिएको छ । दिपायल सिलगढी नगरपालिकाका प्रमुख मञ्जु मलासीले वडा ८ लडागडामा आयोजित कार्यक्रमबीच वडालाई बालविवाह मुक्त घोषणा गर्नुभएको हो । यो वडा सुदूरपश्चिम प्रदेशमै पहिलो बालविवाह मुक्त वडा घोषणा भएको छ ।

एक वर्षको अवधिमा वडामा उमेर नपुगी हुने मागी विवाह शून्य भएको छ । तीन वर्षको अवधिमा वडा कार्यालयको अगुवाइमा उमेर नपुग्दै गर्न लागिएका ८ वटा विवाह रोकिएका छन् । भागी विवाह  नगन्य भएसँगै वडालाई बालविवाह मुक्त वडा घोषणा गरिएको हो । ‘यो मेरो कार्यकालको महत्वपूर्ण उपलब्धि हो’ बालविवाह मुक्त वडा घोषणा कार्यक्रममा दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासीले भन्नुभयो ।

‘सुदूरपश्चिम प्रदेशमा नै बालविवाह मुक्त पहिलो वडाको रुपमा घोषणा हुनु अझै खुशीको कुरा हो’ उहाँले भन्नुभयो । अवका दिनमा कुनै बालबालिकाले उमेर नपुग्दै विवाह नगरुन् भन्नेतर्फ सबैले सचेत हुनुपर्छ उहाँले भन्नुभयो । नेपाल सरकार बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति २०७२ ले सन् २०३० सम्ममा नेपालबाट बालविवाहको अन्त्य गर्ने मुख्य लक्ष्य लिएको छ ।

मुलुकी अपराध संहिता, २०७४ ले बालविवाहलाई फौजदारी कसुर मानेको छ । ऐनको दफा १७३ अनुसार केटा र केटीको उमेर २० बर्ष नपुगी गरिएको विवाह स्वतः बदर हुन्छ । गुड नेवर्स इन्टरनेशनल नेपालसँगको सहकार्यमा दिपायल सिलगढी नगरपालिकाले २०७६ सालमा बालविवाह अन्त्यका लागि पाँच बर्षे स्थानीय रणनीति निर्माण गरेर लागु गर्दैआएको थियो ।

रणनीति अन्तर्गत बालविवाह निगरानी समुह गठन तथा परिचालन, स्थानीय तहबाट बार्षिक रुपमा बालविवाह अन्त्यका क्रियाकलापका लागि बजेट बिनियोजन लगायतका क्रियाकलाप गरिँदैआएकाे छ । गुड नेवर्स इन्टरनेशनल नेपालका जिल्ला संयोजक तेजप्रसाद शर्माले भन्नुभयो, ‘दिपायल सिलगढी नगरपालिकासँगको सहकार्य, विद्यालयलगायत समुदायमा बिभिन्न जनचेतनामुलक कार्यक्रम सञ्चालन गरिएसँगै बालविवाह मुक्त वडा घोषणा गर्न सफल भयौ ।’