खुला | प्रदेश |

मुस्लिम समुदायको रमजान जारी

सिराज खान
नेपालगञ्ज, चैत २२ गते । एक महिनासम्म उपवास बसेर विविध कार्यक्रमका साथ मनाइने मुस्लिम समुदायको पर्व रमजान जारी छ । आइतवारबाट शुरु भएको रमजान पर्व एक महिनासम्म रोजा (उपवास) बसेर जारी रहने नेपालगञ्जका मुख्य धर्मगुरु मौलाना अब्दुल जब्बार मन्जरीले बताउनुभयो ।

एक महिनासम्म मुस्लिम समुदायले रोजा बसेर विविध धार्मिक तथा सामाजिक काम गर्ने उहाँले बताउनुभयो । एक महिनासम्म मनाइने रमजान इस्लाम धर्मावलम्बीको महत्वपूर्ण चाड मानिन्छ । कोरोनाका कारण गत वर्ष तरावीको नमाज मस्जिदमा हुन नसके पनि यस वर्ष शुरुबाटै तरावी नमाज सबै मस्जिदमा शुरु गरिएको जामामस्जिद सञ्चालक समितिका महासचिव ईरफान सिद्दिकीले बताउनुभयो ।

मुस्लिम समुदायको पाँच महत्वपूर्ण धार्मिक कार्य कलमा, रोजा, नमाज, हज, र जकात हुन् । ती मध्ये रोजा पनि एक भएकोले यसलाई अत्यधिक महत्वका साथ मनाइने गरिएको उहाँले बताउनुभयो । घाम उदाउनुभन्दा डेढ घण्टाअगावै सेहरी (खानेकुरा) खाएर प्रारम्भ गरिने रोजा घाम अस्ताएपछि फलफूल तथा मिठाइ खाएर समाप्त गरिन्छ । यो समयलाई रोजा खोल्ने समय भनिन्छ ।

दिनभर पानीलगायत केही पनि खान नहुने यो पर्वमा मुस्लिमले आफ्नो गच्छअनुसार विभिन्न किसिमका परिकार बनाई रोजा खोल्ने गर्छन् । रोजाको समयमा पानीलगायत कुनै पनि खानेकुरा मुखमा हाल्नुहुँदैन, जानेर थुक पनि निल्न नहुने सो समुदायका अगुवाहरुको भनाइ छ ।

मुस्लिम अगुवा कमरुद्दीन राईका अनुसार ३० या २९ दिनको रोजा पूरा गरेपछि मनाइने चाड इदका दिन पुरूषहरू इदगाहमा र महिला घरमै सामूहिक नमाज पढ्न जान्छन्् । अन्त्यमा एक आपसमा अँगालो मारेर इद् मुवारक भन्दै शुभकामना र बधाई साटासाट गर्छन् ।