ठगी आरोपमा दुई भारतीय नागरिक पक्राउ
चित्र मिजार
सिन्धुपाल्चोक, चैत २५ गते । सुनचाँदीका गरगहना, तामापित्तल चम्काउने बहानामा ठगी गरेको आरोपमा दुई भारतीय नागरिकलाई मेलम्ची नगरपाालिका–९ चाङ्खु टोलबाट प्रहरीले पक्राउ गरेको छ ।
स्थानीय मानबहादुर तामाङ लगायतका आठ घरमा सुनचाँदीका गरगहना, तामापित्तल चम्काउने बहाना कम तौल बनाई ठगी गरी फरार रहेको आरोपमा दुई भारतीय नागरिकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।
उजुरीका आधारमा भारतीय नागरिक भारत देश प्रान्त बिहार घर बताउने वर्ष २१ का राजाकुमार शाह र वर्ष २५ का अनिल शाह पक्राउ परेको डीएसपी बस्नेतले बताउनुभयो । आरोपीहरुले अन्यलाई पनि ठगी गरेको भन्ने जानकारी आएकोले थप अनुसन्धान भइरहेको उहाँले बताउनुभएको छ ।
यस्तै, जिल्ला प्रहरी कार्यालयले अवैध रुपमा सिसौको १० थान गोलिया काठ बरामद गरेको छ । चौतारा साँगाचोकगढी नगरपालिका–कोदारीस्थित उक्त काठ ओसापसार गरिरहेको बा २१ च ६७२५ नम्बरको बलेरो गाडी नियन्त्रणमा लिई सब डिभिजन वन कार्यालय चौतारामा बुझाइएको डीएसपी बस्नेतले जानकारी दिनुभएको छ । आरोपी भारतीय नागरिक र अवैध काठ ओसारपसारमा संलग्नलाई जिल्ला अदालत चौताराले अनुसन्धानको लागि म्याद थपेको छ ।