पाल्पाका ८९९ जना किसानले राहत पाउने
रेखीराम राना
पाल्पा, चैत २६ गते । बेमौसमी वर्षातले धान बालीमा क्षति पु-याएका पाल्पाका ८९९ जना किसानले राहत पाउने भएका छन् । गत असोज महिनाको अन्तिम साता परेको बेमौसमी वर्षातले धानी बाली नष्ट गरेका किसानलाई जिल्लास्थित विपद् व्यवस्थापन समितिको बैठकले राहत रकम दिने निर्णय गरेको हो ।
उक्त समितिका अनुसार तिनाउ गाउँपालिकाका १८१ जना किसानले छ लाख २६ हजार १८० रुपियाँ राहत रकम पाएका छन् । यस्तै, तानसेनका ४० जना किसानले एक लाख ६५ हजार ७३२ रुपियाँ, रैनादेवी छहराका १४२ जना किसानले चार लाख ८२ हजार ९०६ रुपियाँ राहत रकम उपलब्ध गराउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताउनुभयो ।
यसैगरी, रम्भा गाउँपालिकाका ३७ जना किसानलाई एक लाख तीन हजार ९० रुपियाँ, माथागढी गाउँपालिकाका एक सय किसानलाई चार लाख ४२ हजार ९०६ रुपियाँ, निस्दीका ८२ जना किसानलाई तीन लाख ३८ हजार ६७० रुपियाँ राहत दिने निर्णय भएको प्रशासनले जनाएको छ ।
पूर्वखोला गाउँपालिकाका २०५ जना किसानले पाँच लाख ६७ हजार ९७२ रुपियाँ, रामपुर नगरपालिकाका छ जना किसानले १६ हजार ८१३ रुपियाँ, रिब्दीकोट गाउँपालिकाका ६४ जना किसानले एक लाख ७३ हजार ८९९ रुपियाँ र बगनासकाली गाउँपालिकाका ४२ जना किसानले दुई लाख ८७ हजार ८८९ रुपियाँ राहत दिने निर्णय भएको प्रजिअ पन्तले जानकारी दिनुभयो ।
विपद् व्यवस्थापन समितिको बैठकले २०७८ कात्तिक महिनादेखि २०७८ चैत २२ गतेसम्म विपद्का घटनामा परी मृत्यु हुने दुई जनालाई तीन लाख रुपियाँ, घर क्षति भएका १३ परिवारलाई ७७ हजार रुपियाँ राहत रकम दिने निर्णय गरेको छ । यस्तै, कोरोनाका कारण मृत्यु भएका नौ परिवारलाई प्रतिपरिवार एक लाखका दरले नौ लाख रुपियाँ, बाढी पहिरो प्रभावित २३ घरपरिवारलाई नौ लाख १० हजार रकम राहत दिने निर्णय भएको छ ।