जनगणनामा सांस्कृतिक पक्ष
यमबहादुर दुरा
देश अभूतपूर्व परिवर्तनहरूको शृङ्खलाबाट गुज्रिरहेको समयमा बाह्रौँ राष्ट्रिय जनगणना नजिकिँदैछ । यो जनगणनामा देशको जनसाङ्ख्यिक, आर्थिक तथा सामाजिक परिदृश्यमा आएका परिवर्तन प्रतिविम्बित हुने अपेक्षा छ । २०७२ सालमा नयाँ संविधान लागू भएपछि देश एकात्मक राज्य–व्यवस्थाबाट सङ्घीय प्रणालीमा पदार्पण गरेको छ । यसबाट देशको आर्थिक, सामाजिक तथा सांस्कृतिक वृत्तमा क्रमिक परिवर्तन आएका छन् तर ती परिवर्तनको सग्लो रूप कस्तो छ ? यसको स्पष्ट तस्बिर जनसमक्ष आउन बाँकी नै छ ।
यसैबीच अनपेक्षित रूपमा आएको कोभिड–१९ को महामारीले विश्वभरको अर्थव्यवस्था र जीवनशैलीमा नसोचेको उथलपुथल ल्याइदिएको छ । दृष्टान्तका रूपमा प्रस्तुत युगान्तकारी घटनाक्रम वा विकासक्रमको पृष्ठभूमिमा हुन लागेको ‘राष्ट्रिय जनगणना, २०७८’ विशेष अर्थपूर्ण हुनेछ । यसले देशको जनसाङ्ख्यिक तथ्याङ्कसहित परिवर्तनकामी नेपाली समाजको आर्थिक तथा सामाजिक परिदृश्यको तस्बिर जनसमक्ष ल्याउने नै छ ।
हाम्रो राष्ट्रिय जीवनमा अरू पनि महत्वपूर्ण फेरबदल आइरहेका छन् । हाम्रो सांस्कृतिक जीवनमा आएको परिवर्तनलाई दृष्टान्तका रूपमा लिन सकिन्छ । समयको अनन्त प्रवाहसँगै हाम्रो जीवनशैलीमा नजानिँदो किसिमले अपरिमित परिवर्तन आइरहेको छ । सहजै अनुभूत गर्न नसकिने यस्ता परिवर्तनले हाम्रो जीवनमा दूरगामी प्रभाव पारिरहेका छन् ।
बाहिरी दुनियाँसँगको बढ्दो अन्तरघुलन तथा ‘सोसल मिडिया’सहित आमसञ्चार माध्यमको बढ्दो प्रभावले हाम्रो सांस्कृतिक जीवनमा नचिताएको परिवर्तन आएको छ । हाम्रा सोचाइ, व्यवहार र जीवनशैलीमा अकल्पनीय परिवर्तन आइसकेको छ । हिजो ‘चौतारीमा भेटौं’ भन्नेहरूले आज ‘अनलाइन भेटौँ है’ भन्न थालेको धेरै भइसकेको छ । देशभित्रको सांस्कृतिक समीकरणमा पनि व्यापक फेरबदल आएको छ । एकतिर रोदीघर, डबली, घाँटु, बालुन, धाननाचजस्ता रैथाने सांस्कृतिक विम्ब प्रतिपल बिरानो भएका छन् भने अर्कोतिर ब््याटल ¥याप, रक, जाज, पपजस्ता टेलिसंस्कृतिले छरेका अवयव झन् झन् बलशाली र रापिलो बन्दै गएको प्रतीत हुन्छ ।
समयले कोल्टो फेर्दै गर्दा एकतिर सत्यमोहन जोशी, झलकमान गन्धर्व, मेलवादेवीजस्ता सांस्कृतिक राजदूतहरू ‘भिल्लका देशमा मणि’ जस्तै बन्दैछन् भने अर्कोतिर लेडी गागा, म्याडोना, ब्रिट्नी स्पियर्स्, विपासा वसु, अलिया भट्टजस्ता हलिउड–बलिउडका रङ्गकर्मीको लोकप्रियताको ग्राफ दिनानुदिन उकालो लागिरहेको छ ।
नेपालमै उत्पादन हुने गीतमा प्रशस्त मात्रामा विदेशी बाजा प्रयोग हुन थालेका छन् । विदेशी सङ्गीत र नेपाली भाकाबीच ‘फ्युजन’ गरिएका गीतको रजगज बढ्न थालेको छ । नेपालमा म्युजिक भिडियोमा विदेशी शैलीका नृत्यले व्यापक स्थान पाएका छन् ।
सांस्कृतिक परिवर्तनको शृङ्खला यतिमै सीमित छैन । हाम्रो मौलिक बाजा मानिने सारङ्गीको प्रसङ्ग पनि त्यस्तै छ । विगतमा गन्धर्व समुदायले मात्र सारङ्गी बजाउँथे भने अहिले आएर गन्धर्वबाहेकका संस्कृतिकर्मीे पनि सारङ्गीकर्मलाई पेसा नै बनाउन थालेका छन् । विगतमा ग्रामीणजनको विशुद्ध भावप्रकाशको माध्यममात्र रहेको लोकभाका अहिले व्यापारिक वस्तु बन्न पुगेको छ । पहिले रोदीघरमा गुन्द्रीमाथि बसेर मीठो भलाकुसरी गर्दै निःशुल्क रसास्वादन गर्न पाइने लोकलय अब भने सहरको दोहोरी रेस्टुराँका व्यापारिक मुस्कानसहित सशुल्क सुन्नुपर्ने परिपाटी विकास भएको छ ।
आजकल गाउँघर पनि गाउँघरजस्तो देखिँदैन । गाउँमा डेक संस्कृतिको राज छ । ‘लाइभ’ गायनकोे युगौँ पुरानो संस्कृतिको लगभग मैझारो भएको छ । गाउँघरमै ‘डेक’मा गीत घन्काएर छेपारी बटार्ने चलनले महामारीको रूप धारण गरेको छ । लोकगीतको मुहानमै डेक संस्कृति पुगिसकेकाले लोकगीतको रचनागर्भ भत्किएको छ । गाउँघरबाट लोकगीतको उर्बरपन पूरै गायब भएको छ । लोकगीतको केन्द्र गाउँ नभई सहर हुन पुगेको छ ।
यी तमाम घटनाक्रमले हाम्रो सांस्कृतिक परिदृश्यमा आइरहेको व्यापक परिवर्तनलाई सङ्केत गर्छन् । हाम्रो सांस्कृतिक परिदृश्यमा आएका परिवर्तनका यी दृष्टान्त पेस गरिरहँदा समयले ल्याएका यी परिवर्तनप्रति असहिष्णु बनेको अर्थ नलागोस् । हाम्रो चिनारी र मौलिक जीवनशैलीलाई नै पाखा पार्ने गरी आएका यी परिवर्तनको स्तर, गति र दिशाको उचित मापन, अभिलेखन र विश्लेषणचाहिँ हुनैपर्छ ।
नजिकिँदै गरेको ‘राष्ट्रिय जनगणना, २०७८’ यस प्रयोजनका लागि एउटा उपयुक्त अवसर हुनसक्छ । सरकारले यसलाई रैथाने नेपाली संस्कृतिको मापन गर्ने दिशामा उच्च महत्त्वका साथ उपयोग गर्र्नु आवश्यक छ । यसबाट हाम्रो सांस्कृतिक जीवनमा आएका परिवर्तनबारे गुणात्मक तथा सङ्ख्यात्मक आँकडा प्राप्त गर्न सकिन्छ, जुन नेपाली सांस्कृतिक जीवनको मापन, अभिलेखन र विश्लेषणको दरिलो आधार बन्नसक्छ । यद्यपि संस्कृतिको मापन (म्यापिङ) गर्ने काम सोचेजस्तो सहज छैन । संस्कृति आपैmँमा अतिशय व्यापक विषय हो । यो बहुआयामिक र गतिशील विषय पनि हो । त्यसैले सांस्कृृतिक पक्षको मापन गर्दा कुन कुन पक्षलाई समेट्ने भन्नेबारे अलमल पैदा हुनसक्छ । यसबारे सांस्कृतिक क्षेत्रका ज्ञाता र सरोकारवालासँग विचार–विमर्श र परामर्श गर्न सकिन्छ ।
मूलतः हाम्रो पहिचानसँग जोडिएका मौलिक संस्कृतिलाई मापनको दायरामा ल्याउन सकिन्छ । खासगरी लोकसाहित्य, लोककला, लोकसङ्गीत, लोकनृत्य, लोकबाजा, लोकसंस्कृति, भोजन संस्कृति, पहिरन, जातीय तथा क्षेत्रीय भाषा, परम्परा औषधोपचार, स्थानीय जीवनशैलीजस्ता रैथाने सांस्कृतिक पक्षलाई यस श्रेणीमा राखेर अध्ययन गर्न सकिन्छ ।
यस्ता मौलिक संस्कृतिसँग हाम्रो पहिचान गाँसिएकाले यिनीहरूमा आएको क्रमिक परिवर्तनको मापन, अभिलेखन र वस्तुनिष्ठ विश्लेषण हाम्रा लागि महत्त्वपूर्णमात्र नभई अपरिहार्य पनि हुन्छ । यसबाट हाम्रो जीवनशैलीको बदलिँदो अनुहार ठम्याउन सहज हुन्छ, जसबाट हाम्रा सांस्कृतिक विशिष्टताहरूको दशा र दिशा पहिचान गर्न पनि सजिलो हुन्छ । यसबाट हाम्रो सांस्कृतिक इतिहास अभिलेखन तथा लेखनको बाटो पनि खुल्छ ।
नेपाली जीवनशैलीको रैथाने पक्षलाई समेटेर गरिएको सांस्कृतिक अध्ययनबाट देशका सांस्कृतिक स्रोत–साधनको पहिचान गर्न सजिलो हुन्छ, जुन भविष्यमा सांस्कृतिक नीति तयार गर्ने आधार पनि बन्छ । यतिमात्र होइन, यसबाट कुना–कन्दरामा लुकेको संस्कृति उजागर गर्न, संस्कृतिबारे नयाँ दृष्टिकोण निर्माण गर्न र मौलिक संस्कतिको श्रीवृद्धिका लागि कार्ययोजना तयार पार्न सहयोग पुग्छ ।
यतिमात्र होइन, राजनीतिक नेतत्व, नीतिनिर्माता तथा स्वतन्त्र अनुसन्धाताका लागि पनि सांस्कृतिक सर्वेक्षणका नतिजाहरू उपयोगी हुने देखिन्छ । हामीकहाँ सांस्कृतिक तथ्याङ्कको सर्वथा अभाव देखिन्छ । जनगणनामा सांस्कृतिक पक्षलाई समावेश गर्न सकियो भने हालसम्मको सांस्कृतिक तथ्याङ्कको खडेरीलाई अन्त्य गर्न सकिन्छ । विगतका जनगणनामा नेपालको सांस्कृतिक पक्ष प्राथमिकताको विषय बनेको देखिँदैन । अबका जनगणनामा यो उच्च प्राथमिकताको विषय बन्नुपर्छ । सरकारले विभिन्न समय देशमा जीवनस्तर सर्वेक्षण (लिभिङ स्ट्याण्डर्ड सर्भे) गर्दै आएको छ । केही गरी यसपटकको जनगणनामा सांस्कृतिक पक्षको तथ्याङ्क सङ्कलन गर्न सकिएन भने आउँदो समयमा सरकारले जीवनशैली सर्वेक्षण (लाइफस्टाइल सर्भे) गर्र्नुपर्छ, जसमा देशको सांस्कृतिक वृत्तमा आएको परिवर्तनलाई मापन र अभिलेखन
गर्न सकिन्छ ।
हरेक देशमा सांस्कृतिक नीति आवश्यक पर्छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को), युरोपेली सङ्घजस्ता संस्थाले पनि सांस्कृतिक नीतिलाई प्राथमिकता दिएका देखिन्छन् । नेपालमा पनि २०६८ सालमा सांस्कृतिक नीति बनेको देखिन्छ । देशको सांस्कृतिक परिदृश्य आइरहेको तीव्रतर परिवर्तनबारे थप अध्ययन गरी त्यसलाई अझ यथार्थपरक र व्यावहारसम्मत बनाउन आवश्यक छ ।
अब देशको प्राज्ञिक संस्थाका रूपमा रहेका विश्वविद्यालयहरूले यसबारे कदम चाल्न सक्छन् । यस्ता प्राज्ञिक संस्थाले देशको सांस्कृतिक जीवनबारे थप अध्ययन–अनुसन्धानलाई अघि बढाउनुपर्छ । यसका साथै हाम्रो परिचयको मियो मानिएको मौलिक संस्कृतिबारे सबै तह र तप्कामा तातो–आलो बहस पनि हुन आवश्यक छ ।
(लेखक पत्रकारिता प्राध्यापन गर्नुहुन्छ ।)