आन्तरिक रोजगारीको अवसर (सम्पादकीय)
सरकारले कोरोना (कोभिड–१९) प्रभाव व्यवस्थापन गर्ने क्रममा तत्कालीन तथा दीर्घकालीन रणनीति बनाएको छ । तत्कालका लागि आर्थिक क्षेत्रको राहत तथा उद्धारमा लागेको सरकारले दीर्घकालका लागि यस क्षेत्रको पुनःस्थापनाका लागि विभिन्न पहल गर्दै आन्तरिक रोजगारी सिर्जना गर्ने भएको छ । यस निम्ति औद्योगिक क्षेत्र लक्षित विशेष कार्यक्रम गरिनेछ भने पर्यटनलगायत सेवा क्षेत्रमा पनि प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गरिनेछ । यस्ता कार्यक्रमबाट एकातिर आर्थिक क्षेत्रको पुनःस्थापना हुनेछ भने सँगै आन्तरिक रोजगारी वृद्धि हुनेछ । सरकारले हरेक स्थानीय तहमा एक उद्योग ग्रामको अवधारणा ल्याएको छ । कोरोना महामारीबीच पनि पूर्वी नवलपरासी (नवलपुर) मा ११८ नयाँ उद्योग थपिएका छन् । यसले रोजगारी वृद्धिमा सकारात्मक सङ्केत गर्छ । महामारीका कारण सुस्त रहेको पर्यटन व्यवसायलाई पुनर्जीवन दिन नेपाल पर्यटन बोर्डबाट ‘टुरिज्म रिभाइभल टास्कफोर्स’ गठन गरी कार्य प्रारम्भ गरिएको छ । कार्यदलले तत्काल पर्यटनका गतिविधिलाई सुरक्षित ढङ्गले कसरी अगाडि बढाउन सकिन्छ भन्ने सम्भावना खोज्नुका साथै धराशायी व्यवसाय, निराश व्यवसायी तथा रोजगारी गुमाएका वा खुम्चिएका मजदुरलाई के कस्ता आर्थिक सहयोगका कार्यक्रम ल्याउन सकिन्छ भन्ने दृष्टिकोण बनाउनेछ । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) लगायत पर्यटन क्षेत्रका प्रतिष्ठित सङ्घसंस्था एवं अग्रज पर्यटन व्यवसायीसमेतको सल्लाहमा अबका कार्यक्रम बनाइनेछ । यस्तो प्रयासले पर्यटनक्षेत्रले पुनः गतिमात्र पाउने छैन आन्तरिक रोजगारी वृद्धिमा प्रत्यक्ष योगदान दिनेछ ।
सरकारले कृषि, व्यवसाय, उद्योगलगायतका माध्यमबाट चालू आर्थिक वर्षमा रोजगारी सिर्जना गर्ने कार्यक्रमलाई उच्च प्राथमिकता दिएकाले यी सबै सम्भावनाबीच विशेष गृहकार्य गर्नु आवश्यक छ । राष्ट्रिय योजना आयोगको अध्ययनअनुसार कोरोनाका कारण वैदेशिक रोजगारी, व्यापार, व्यवसायका अवसर गुमाएर एक वर्षमा करिब छ लाखभन्दा बढी नेपाली श्रमिक स्वदेश फर्किनेछन् । फर्कने श्रमिकमध्ये ४० प्रतिशतलाई रोजगारी दिनुपर्ने अवस्थालाई ध्यानमा राखेर योजना आयोगले कार्ययोजना अघि सारेको जानकारी दिइएको छ । रोजगारी वृद्धिसँगै स्वरोजगारी र उद्यमशीलतालाई पनि नीतिगत तथा वित्तीय प्रोत्साहनको उत्तिकै आवश्यकता छ । विदेशबाट पैसासँगै त्योभन्दा ठूलो पुँजी– पेसाका सीप, जाँगर र अनुभव ल्याउने श्रमिकले स्वदेशभित्र लगानीका नयाँ–नयाँ क्षेत्र र सम्भावना देख्ने भएकाले सरकारका सम्बद्ध निकायले उनीहरूलाई प्रोत्साहन दिएर स्वदेशमै टिकाउने प्रभावकारिता देखाउनुपर्छ ।
आन्तरिक रोजगारी वृद्धिका लागि योजना बनाएर अघि बढ्नुपर्ने श्रमविज्ञले बताएका छन् । यसका लागि विदेशबाट आएका नेपालीलाई रोजगारी दिने क्षेत्रहरू पहिचान गर्नु प्राथमिक कार्य हुनेछ । विदेशबाट फर्केका युवा लक्षित रोजगारी सिर्जना गर्न विभिन्न क्षेत्रमा अध्ययन सुरु भइरहेको श्रम मन्त्रालयले जनाएको छ । कृषि तथा जलविद्युत् आयोजना, सडक, निर्माण, पूर्वाधारलगायत ग्रामीण कृषिमा नयाँ रोजगारी थप्न सकिने सम्भावना देखिए पनि ती क्षेत्रमा लगानी वृद्धि गर्नुपर्ने चुनौती छ । कोरोनाका कारण सरकारले अस्पताल निर्माण, सुधार, मर्मत, स्तरोन्नतिमा विशेष लगानी गरिरहेको छ । यसैगरी स्वास्थ्यक्षेत्रको सेवा वृद्धि हुनेछ, जसले रोजगारी बढाउन सहयोग गर्नेछ । कोरोनाका कारण नेपाल भित्रिने विप्रेषण १५ प्रतिशतले घटेको आयोगको अध्ययनले देखाएको छ जुन पूर्व अनुमानको तुलनामा ठूलो नोक्सानी होइन । भारतबाहेक विभिन्न देशमा वैदेशिक रोजगारीमा ३२ लाख आठ हजारभन्दा बढी नेपाली रहेको अध्ययन प्रतिवेदनले अनुमान गरेको अवस्थामा नेपालबाट बाहिरिने विप्रेषणको अङ्क हेरेर पनि रोजगारीका अवसर खोज्न सकिनेछ । नेपालबाट भारतमा अर्ध तथा अदक्ष श्रमिकले लैजाने साढे तीन खर्ब रुपियाँभन्दा बढी विप्रेषणले नेपाली श्रमिकका लागि स्वदेशभित्रै रोजगारीका अवसर छन् भन्ने पुष्टि गर्छ । ती क्षेत्रको पहिचान नभएका पनि होइनन् । केवल युवालाई ती काम गर्न प्रोत्साहन गर्नुपर्ने आवश्यकता छ । एकातिर यो अवधिमा २३ प्रतिशत नेपाली श्रमिकले रोजगारी गुमाएका छन् भने विदेशी श्रमिकले ठूलो धनराशि बाहिर लगेका छन् । यस्तो विरोधाभास चिर्न सकिए आन्तरिक रोजगारी वृद्धि लक्ष्यमा मात्र होइन, व्यवहारमा नै प्राप्त गर्न सकिनेछ । कोरोनाको परिदृश्य परिवर्तन हुने सङ्केतसँगै विभिन्न मुलुकबाट नेपाली श्रमिककोे माग आउन थालेकोले विशेष मापदण्ड बनाएर वैदेशिक रोजगारीमा पठाउन सकिए आन्तरिक रोजगारीमा पर्ने दबाब कम गर्न सकिनेछ ।