मलिन हुँदै काँग्रेस
भागवत खनाल
नेपाली कांग्र्रेस अहिले पहिचानको कठिन कठघरामा उभिएको छ । साढे सात दशक पुरानो यो पार्टीलाई जनताको अदालतमा यति मुस्किल अवस्थामा कहिल्यै उभिनुपरेको थिएन । निकट इतिहासमा काँग्र्रेस केही पुराना अडान र पहिचानलाई परित्याग गरी नयाँ युगमा प्रवेश गर्यो। काँग्रेससँग अन्य दलभन्दा फरक पुरानो मौलिक पहिचान अहिले छैन तर छाडिएका अडानको ठाउँमा के कस्ता नयाँ अडान कायम गरिए ? कसैलाई थाहा छैन । कुनै पनि राजनीतिक दलको पहिचान भनेको उसले अङ्गीकार गरेको सिद्धान्त र नीति हो । काँग्रेस अहिले सिद्धान्तहीन जस्तो भएको छ । मुखमा त जे आओस् न !
हेलेन केलरले भनेजस्तो ‘यात्रामा आउने मोड यात्राको अन्त्य होइन ।’ यात्रामा मोड आएपछि यात्रु पनि मोडिनुपर्दछ । काँग्रेसमा पुरानै पहिचानमा फर्केमात्र पार्टीको गुमेको शाख फर्कने विश्वास गर्नेहरू पनि छन् । काँग्रेस छाडिसकेको अडानमा फर्कनसक्ने अवस्थामा छैन । पुरानो अडानमा फर्कनु भनेको पहिरिरहेको सुन्दर परिधान च्यातेर मिल्क्याएपछि फेरि त्यसैलाई खोजी टालटुल गरेर पहिरेजस्तै हुन्छ । फालेर टालेको परिधानमा जनतामाझ जानु लज्जास्पद हुनेछ । परन्तु काँग्रेसमा नयाँ मौलिक विचार र सोच तयार गरी सोहीबमोजिमको परिधान तयार गरेर सजिनका लागि सिलाउने कालिगडको अभाव छ । अहिले काँग्रेसका सामु उपस्थित समस्या नै कसरी कम्युनिस्ट पार्टीभन्दा फरक देखिने भन्ने हो ।
संविधानले गणतन्त्र, सङ्घीयता र धर्मनिरपेक्षतालाई आत्मसात् गर्नुका साथै नेपाललाई ‘समाजवाद उन्मुख राज्य’ को रूपमा परिभाषित गरेको छ । संविधानको प्रस्तावनामा जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिक विभेदको अन्त्य गर्दै समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने सङ्कल्पसमेत गरिएको छ । यो संवैधानिक प्रावधानले नेपालका राजनीतिक दलहरूलाई आफ्नो दलको नीति निर्माण गर्न मार्गदर्शन गरेको छ । नेपाली काँग्रेसकै प्रमुख अग्रसरतामा प्रतिपादन गरिएका यी सिद्धान्तप्रति काँग्रेसभित्रै बसेर विरोध गर्न नैतिक रूपले पनि सम्भव छैन ।
नेपाली काँग्रेसको नेतृत्वले स्वीकार गरे÷ नगरे पनि अहिले यसको छवि मलिन भएको छ । तल्लो तहका कार्यकर्ताले यो मलिनतालाई स्वीकार गरेका छन् । परम्परागत रूपमा काँग्रेसको भरोसा गर्दै आएका समर्थक निराश छन् । मलिन हुनु भनेको अपवित्र, मलयुक्त र अनुज्ज्वल हुँदै ओइलाएर निस्तेज हुनु हो ।
वर्तमान परिवेशमा काँग्रेसले मूलतः तीन कुरामा समन्वय भएको सिद्धान्त प्रतिपादन गर्नुपर्नेछ । ती हुन्– उदारवाद, लोकतन्त्र र समाजवाद । यिनलाई एउटै मालामा उनेर सिद्धान्त प्रतिपादन गर्नु सहज छैन ।
काँग्रेसको मुटु भनेको लोकतन्त्र र उदारवाद हो । काँग्रेसी नेताहरू निश्चित हुनु आवश्यक छ – निर्वाचनका बखत नेताहरूले गर्ने भाषणका कबुलियतनामा पार्टीका ‘सिद्धान्त र नीति’ होइनन् ।
अब बीपी. कोइरालाले परिकल्पना गरेको समाजवादको दृष्टान्त दिएर राजनीति गर्न कठिन छ । आज बीपी जीवित रहिरहेको भए समाजवादसम्बन्धी आफ्नो भाष्यमा अवश्य संशोधन र परिमार्जन गर्नुहुन्थ्यो । चिन्तकहरू आफ्नो समयका हस्ताक्षर हुन् । कार्ल माक्र्स पनि आज रहेको भए धेरै फरक ढङ्गले सिद्धान्त प्रतिपादन गर्नुहुन्थ्यो ।
नेपालको संविधानलाई स्वीकार गरेका कम्युनिस्ट पार्टीको नीति समाजवाद उन्मुख राज्यप्रणाली हो । समाजवादतर्फको उन्मुखीकरण भनेको अन्त्यमा समाजवादमा पुग्ने उद्देश्य नै हो । गन्तव्यको रूपमा समाजवादलाई स्वीकार गरिसकेपछि पार्टीहरूले आफूलाई भिन्न देखाउने भनेको गन्तव्यसम्म पुग्ने बाटो कस्तो रोज्ने भन्नेमा मात्र हो । ब्रिटेनकी पूर्व प्रधानमन्त्री मार्गरेट थ्याचरले भन्नुभयो नि– ‘जब समाजवादीहरू कसिएको मुठ्ठी उठाउँदै भन्दछन् कि जनताको हातमा शक्ति हुनुपर्दछ, आशय प्रष्ट छ उनीहरू शक्तिशाली राज्यको कुरा गर्दैछन् ।’
नेपाली काँग्रेसले समाजवादीप्रति गरिएका यस्ता कटाक्षयुक्त सन्देहको निराकरण मात्र गर्नु छैन, समाजवादभित्र लोकतन्त्र अटाउन सक्ने सिद्धान्त प्रतिपादन गरेर देखाउनुसमेत जरुरी छ ।
अमेरिकाका पूर्व राष्ट्रपति हार्बर्ट हूबरको शब्दमा– “उदारवादको अभिप्राय स्वतन्त्र मानवको सिर्जना हो, विचारको नियन्त्रण होइन ।” सुदृढ राज्यशक्तिबिना समाजवादी अर्थतन्त्र सम्भव छैन । राज्यको शक्तिमा जति अभिवृद्धि हुन्छ, व्यक्तिको अधिकार त्यत्ति नै सङ्कुचित हुन्छ भन्ने सिद्धान्तलाई झुटो सावित गर्ने बृहत्तर जिम्मेवारी कसरी निर्वाह गर्ने ? काँग्रेस प्रष्ट हुनुपर्दछ ।
नागरिक अधिकारमा हानी नहुने गरी राज्यशक्तिको निर्माण गर्ने उपाय के छ
काँग्रेससँग ? व्यक्ति र समाजको सम्बन्ध कस्तो हुने ? व्यक्ति र समाजको राज्यसँगको सम्बन्ध कस्तो हुने ? सामाजिक न्यायलाई कसरी व्यवस्थित बनाउने ? समानताभित्र समानुपातिकता र समताको व्यवस्थापन कसरी गर्ने ? जनताका आधारभूत आवश्यकताका सामग्रीको वितरण प्रणालीलाई कसरी सुव्यवस्थित बनाउने ? २० वर्षपछिको नेपाल कस्तो हुने ? यस्तै कुराभित्र रही लोकतान्त्रिक पद्धतिको उन्नयनका लागि कस्तो नीति अङ्गीकार गर्ने भन्ने सम्बन्धमा स्पष्ट नीति निर्माण गर्नु जरुरी छ ।
समाजवाद उन्मुख अर्थतन्त्रमा राज्यको कार्य र जिम्मेवारीमा व्यापक वृद्धि हुने हुँदा पुँजी र स्रोत साधनको प्रचुर आवश्यकता पर्दछ । राज्यको भूमिकामा वृद्धि हुन जाँदा धेरै निर्णय कर्मचारीतन्त्रको हातबाट हुने स्थिति उत्पन्न हुन्छ । यस परिस्थितिमा कर्मचारी संयन्त्रसम्बन्धी नीति प्रष्ट चाहिन्छ । समाजवाद उन्मुख सामूहिक सामाजिक व्यक्तित्व र व्यक्तिगत स्वतन्त्रताका सर्वोच्च मूल्यहरूको समन्वय गरी उदारवादी समाजवादको निर्माणमा व्यक्ति (व्यष्टि) र सामूहिक आकाङ्क्षा (समष्टि) को संयोजन गर्ने नीति तयार गरेर जनतासामु प्रस्तुत गर्न विलम्ब भइसक्यो, समाजभित्र न्याय र नैतिकताको मापदण्ड निर्धारण गर्ने कार्यमा काँग्रेस चुकिसक्यो ।
वर्तमान महँगो निर्वाचन पद्धति यही रूपमा कायमै रहने हो भने नेपालको भविष्य अन्धकारमय हुनेछ । सङ्घ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्धलाई व्यवस्थित गर्न प्रमुख प्रतिपक्षी दलको नाताले काङ्ग्रेसले अन्य राजनीतिक दलसँग अहिलेसम्म के के छलफल र सहकार्य ग¥यो? बेरोजगारी र हालै भोग्नुपरेको राष्ट्रिय सङ्कटबारे के योजना छ ? रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्न नसक्ने पार्टीले रचनात्मक सरकार चलाउन पनि सक्दैन भन्ने सार्वभौम सत्यबारे कति सचेत छ काँग्रेस ?
‘अहिले काँग्रेससँग के छ ?’ भनेर प्रश्न गरियो भने ‘ काँग्रेससँग रुखछाप मात्र छ’ भन्नुपर्ने अवस्थामा छन् काँग्रेसजनहरू । तिनीहरू कुनै दिनका भुइँमान्छेले आफूले टेकेको जमिन बिर्सेकोमा दुःखी छन् । काँग्रेसमा नेतृत्वले नै पार्टीको विधानको मर्यादा राख्दैन । संस्थापन पक्षले बेलामा प्रयोग गर्नुपर्ने वैधानिक अधिकार कुबेलामा प्रयोग ग¥यो भनेर उद्वेलित हुने, अर्को पक्ष आफ्नो अनुकूल हुने गरी विधान मिच्दा मौन बस्छ । काँग्रेसीहरू नै भन्छन्, ‘हिङ सकिएर बास्ना मात्र बाँकी रहेको टालो सुँघेर मक्ख पर्ने नेतृत्वले काँग्रेस धान्न सक्दैन ।’
कुलीनतन्त्रको विरोधको जगमा खडा भएको काँग्रेस आफंैभित्र नयाँ‘नयाँ कुल खडा गरेर कोराकोर गर्नमा व्यस्त छ । वृद्ध नेताहरूको पदलोलुपताको तमासाले महाधिवेशनमा कस्तो रूप लिने होला खै ?
काँग्रेसका कार्यकर्तासम्म पार्टीको संवैधानिक र जनताप्रतिको दायित्वसम्बन्धी कुराहरू पुग्न सकेको छैन । बीपी, गणेशमान, भट्टराई, गिरिजा, निधि र सुशील मात्र थाहा छ, नेतृत्वले कार्यकर्ताका लागि प्रशिक्षणको आवश्यकता महसुस गर्दैन । कुनै वैचारिक कुराले पनि घोच्दैन, दुख्दैन । पुरानो छविको सावाँ र ब्याज समेत असुल गरिसकेको काँग्रेससँग जनतासँग मत माग्न आकर्षक नारा पनि छैन । अकस्मात् प्रतिपक्षको भूमिकामा पुगेको काँग्रेस विस्मित र विचलित छ ।
जब विगतमा प्रजातन्त्रका लागि अदम्य सङ्घर्ष गरेका ठूलाठूला वृद्ध नेताहरू ससाना कुराका लागि धाउन थाल्छन्, तिनका ठूलाठूला कुराहरू फगत ‘लफ्फाजी’ मा सीमित हुन पुग्छन् । कोही फुट्ला र खाउँलाको अवस्थामा पुगेको पार्टीको हालत देखेर कार्यकर्ता निराश हुनु स्वाभाविक हो । किशोरावस्थादेखि पार्टीमा समर्पित हुँदै अहिले कपाल पाक्न थालेका ‘नेता’ हरू किंकर्तव्यविमूढ छन् ।
पार्टीमा केही उम्दा विचारक पनि नभएका होइनन्, किन्तु त्यस्ता नेताहरू कोही गुटबाजीको गोलचक्करले पीडित छन् भने गुटबन्दीमा नलाग्ने स्वाभिमानीको जाने ठाउँ पनि छैन । पार्टीको बैठकमा नीति र सिद्धान्तको कुरा हुन छाडेको वर्षौं बितिसक्यो ।
निर्वाचनको बेलामा जेनतेन बनेको घोषणापत्र मुस्किलले कसै कसैले पढ्छन् । घोषणामा उल्लेख हुने बाटोघाटो, बिजुली, विद्यालय, स्वास्थ्यकेन्द्र आदि जस्ता ‘चुनावी गर्जन’ नै पार्टीको सिद्धान्त र नीतिजस्तो गरेर प्रचार गरिन्छन् । अन्य विचार र दलमा पनि असल व्यक्ति र नीति हुन सक्छन् भन्ने कुरालाई बिर्सनुहुँदैन । अर्को दलको विचार अध्ययन नगरी आफ्नो विचार निर्माण गर्न कठिन हुन्छ । बीपी कोइरालाले तत्कालीन चिनियाँ प्रधानमन्त्री चाउ एन लाईको सम्बन्धमा भन्नुभएको छ,चाउ एन लाईजस्तो सभ्य र सुसंस्कृत मानिस मैले कमै देखेको छु ।’
प्रत्येक व्यक्ति र पार्टीले आफ्नो विचार र सिद्धान्तप्रति दृढ अडान राख्दै अर्को प्रत्येक व्यक्ति र पार्टीप्रति सद्भाव र सम्मान गर्न सक्यो भने मात्र बहुदलीय लोकतान्त्रिक व्यवस्थाको सम्मान भएको ठहर्छ ।
नागरिक अधिकारमा हानी नहुने गरी राज्यशक्तिको निर्माण गर्ने उपाय के छ काँग्रेससँग ?
(लेखक नेपाल सरकारका पूर्व सहसचिव हुनुहुन्छ ।)