१५ सेप्टेम्बरका १२ बुँदा
प्रेमलकुमार खनाल
सेप्टेम्बर १५ तारिख नेपाल कम्युनिस्ट आन्दोलनको ऐतिहासिक दिन हो । ७१ वर्षअघि सन् १९४९ सेप्टेम्बर १५ मा दिन नेपाल कम्युनिस्ट पार्टीका महासचिव पुष्पलालले यो पार्टीको प्रथम घोषणापत्र जारी गर्नुभएको थियो । त्यही घोषणापत्रले नेपालको कम्युनिस्ट आन्दोलनलाई नयाँ दिशाबोध र क्रान्तिकारी मोड प्रदान गरेको थियो ।
२२ अप्रिल १९४९ मा भारतको कलकत्तामा पुष्पलाल महासचिव र सदस्यहरूमा नरबहादुर कर्माचार्य, नारायणविलाश जोशी, निरञ्जनगोविन्द वैद्य र मोती देवी रहेर नेकपा गठन भएको थियो । त्यतिखेर कुनै आधिकारिक दस्तावेज सार्वजनिक गरिएको थिएन । पार्टी स्थापना भएको दोस्रो दिन अर्थात् अप्रिल २४ मा पुष्पलालले एक पर्चा प्रकाशन गर्नुभयो । त्यो नै नेपाल कम्युनिस्ट पार्टीको पहिलो दस्तावेज बन्यो । यो पर्चा ‘नागरिक स्वतन्त्रता सम्पूर्ण वर्गलाई आवश्यकता, अतः क्रान्तिकारी नागरिक स्वतन्त्रता समिति बनाऊ’ शीर्षकबाट प्रकाशित भएको थियो । पर्चामा भनियो– राणा शाहीले आफ्नो सत्ता लम्याउन विक्रम संवत् २००५ मा विधान कानुनमार्फत जारी गरेको सुधारको घोषणा केवल नागरिक झुक्याउने चालबाजीमात्र हो । तसर्थ, नागरिक स्वतन्त्रताका लागि राणासँग सम्झौता होइन, क्रान्ति ! क्रान्ति !! क्रान्ति !!!
यही नारासाथ समाजवादको लक्ष्यका साथ अगाडि बढ्न आह्वान गरिएको थियो, त्यो पर्चामा । यो अपिल मूलतः भावनात्मक रूपमा कार्यकर्तालाई उत्तेजित गर्नेखालको मात्र थियो । पर्चामा जनवादी आन्दोलनलाई जनवादी क्रान्तिको युगमा नेतृत्व गरी समाजवादमा संक्रमण गर्न उल्लेख भए पनि देशको राजनीतिक, आर्थिक र सामाजिक स्थिति र वर्गविश्लेषण थिएन । त्यसै भएर त्यसलाई कार्यक्रम नभनी अपिल भनियो । पार्टी स्थापना भएपछि पार्टीको वैचारिक दिशालाई सम्प्रेषण गर्न जरुरी थियो । यसै भएर १५ सेप्टेम्बर १९४९ मा चाहिँ नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय समितिको नामबाट विधिवत् रूपमा घोषणापत्र जारी भयो र केन्द्रीय समितिको विस्तार पनि भयो । विस्तारित केन्द्रीय समितिमा संस्थापक महासचिव पुष्पलाल र सदस्यहरूमा मनमोहन अधिकारी, तुल्सीलाल आमात्य, शैलेन्द्रकुमार उपाध्याय, डीपी अधिकारी र भारतीय कम्युनिस्ट पार्टीका प्रतिनिधि भाई साहेब भन्ने अयोध्याप्रसाद सिंह हुनुहुन्थ्यो ।
पार्टी केन्द्रीय समितिको विस्तारसँगै १५ सेप्टेम्बरमा जारी घोषणापत्रको सिरानमा ‘पहाड, पर्वत, खोलानाला, जग्गा–जमिन सबको मालिक हामी दास बनौँ किन हिस्सा सबमा सबको’ भन्ने मूलनारामा चार भाग छुट्याएर जारी गरिएको थियो । सँगसँगै, पार्टीको मुखपत्रमा प्रकाशित गर्ने फैसलाअनुरूप कम्युनिस्ट पाक्षिक प्रचारपत्र प्रकाशित भयो । घोषणापत्रलाई पार्टीको मुखपत्रमा त्यतिखेर ‘साइक्लोस्टाइल’ गरी प्रकाशित गरिएको थियो ।घोषणापत्रको पहिलो भागमा, पहिलो र दोस्रो विश्वयुद्धपश्चात् विश्वमा चलेको समाजवादी लहर, मजदुर आन्दोलनको विकास र विश्वमा पुँजीवादको किल्ला भत्कन सुरु भई सोभियत सङ्घमा समाजवादी व्यवस्था सुरुवात भएको उल्लेख गरिएको छ । दक्षिण–पूर्वी एसियामा पनि सङ्घर्ष आन्दोलनको सुरुवात भयो । यही लहरमा नेपालमा पनि पार्टी स्थापनापूर्व ठूलो मजदुर आन्दोलन भएर नेपाल कम्युनिस्ट पार्टीको आधार बन्न पुगेको उल्लेख छ । दोस्रो भागमा, नेपालमा सामन्तवादको उत्थान, अर्थ–राजनीति, साम्राज्यवादी हस्तक्षेप र राणा शासनविरुद्ध भएका सङ्घर्ष आन्दोलनका बारेमा चर्चा गरिएको छ । तेस्रो भागमा, दोस्रो विश्वयुद्धपछि विश्व दुई ध्रुुुुवमा विभाजित भएको र साम्राज्यवादी र युद्धवादी गुटमा यसको नेतृत्व अङ्ग्रेज–अमेरिकनले गरेको, जसको मुख्य उद्देश्य नै अङ्ग्रेज–अमेरिकन एकाधिकार पुँजीको रक्षा गर्नु हो भनी उल्लेख छ ।
यस्तै दोस्रो भागमा, साम्राज्यवादीविरोधी, जनवादी र क्रान्तिकारी रहेका, सामन्तवादी प्रथा र साम्राज्यवादी पुँजीवादको जुआलाई उखेलेर फ्याँक्ने सङ्घर्षमा क्रान्तिको अग्रजको कार्य ऐतिहासिक तवरले मजदुर वर्गले नै गर्नुपर्दछ भनी विश्लेषण छ ।
यस्तै अध्याय चारमा, नेपाल कम्युनिस्ट पार्टीको जनवादी कार्यक्रमका रूपमा १२ बुँदामा उल्लेख गरिएको छ । जसमा सामन्तवादी निरङ्कुश राज्यसत्ता र विदेशी शोषणको जुआलाई एकदम सफाचट गरी नेपाललाई पूर्ण तथा वास्तविक रूपले स्वतन्त्र गराउने कुरा छ । मजदुर, पसिना चुहाउने किसान र शोषित तथा दलित निम्नमध्यम वर्गलाई प्रतिनिधित्व गर्ने एउटा प्रजातान्त्रिक सरकारको जग बसाउने, जसले अङ्ग्रेज–अमेरिकी साम्राज्यवाद र त्यसका भारतीय पिछलग्गुहरूसितको सहयोगको विरोध गर्दछ र शान्तिको निम्ति लडिरहेका प्रजातान्त्रिक राष्ट्रहरूसँग सम्बन्ध कायम गर्ने उल्लेख छ । बालिग मताधिकारमा आधारित संविधान, जसले सर्वसाधारणलाई पूर्ण स्वतन्त्रता तथा प्रजातन्त्र र आधारभूत आर्थिक अधिकारको ग्यारेन्टी गर्ने, बालिग मताधिकारका आधारमा विधान बनाउने, विशेषाधिकारहरू र जातपात, नश्ल र जातिका आधारमा गरिने भेदभाव कानुनद्वारा अन्त्य गरिने कुरा छ । र, यसको उल्लङ्घनलाई कानुनद्वारा दण्डनीय बनाउने उल्लेख छ । चौथो, विनामुआब्जा जमिनदारी प्रथा र सबैखालको सामन्ती शोषणको उन्मूलन र जोताहाहरूलाई जमिनको वितरण ग्रामीण ऋणको अन्त्य गर्ने र कृषि मजदुरहरूलाई जीवनयोग्य ज्याला प्रदान गरिनेछ । पाँचौँ, बैङ्क, औद्योगिक तथा यातायात, व्यवसाय, वाटिका, खानी आदिमा लगाइएको विदेशी पुँजी राज्यद्वारा जफत गर्ने र ती व्यवसायहरूको राष्ट्रियकरण गर्ने उल्लेख छ । ठुल्ठूला उद्योगहरू, ठूला बैङ्कहरू र बीमा कम्पनीहरूको राष्ट्रियकरण गर्ने, संस्थाहरूमा मजदुरहरूमाथि नियन्त्रणको अन्त्य गरिने कुराको ग्यारेन्टी दिने र दिनमा आठ घण्टाको कार्यदिवस लागू गर्ने, रणनीतिक महŒवका उद्योगमा ठुल्ठूला पुँजीपतिहरूलाई हटाउने र मुलुकको आर्थिक विकास र समृद्धिका लागि आर्थिक योजना बनाउने कुरा त्यसमा छन् । स्वतन्त्र शिक्षा र अनिवार्य प्राथमिक शिक्षा प्राप्त गर्ने अधिकार र महिलाहरूलाई सम्मान र प्रजातान्त्रिक अधिकारहरू सुनिश्चित गरिनेछ भन्न छुटाइएको छैन । यसमा थप बुँदा पनि छन् । नेपाल कम्युनिस्ट पार्टीको प्रथम घोषणापत्रकै आधारमा विसं २००८ असोजमा भएको प्रथम सम्मेलनमा पार्टीको नयाँ जनवादी कार्यक्रमलाई राजनीतिक प्रतिवेदनका रूपमा प्रस्तुत गरिएको थियो । घोषणापत्रले कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी दिशालाई दिशाबोध गरेको छ । घोषणापत्रमा द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणका साथ नेपालको आर्थिक–सामाजिक अवस्थाको विश्लेषण गरेर नेपाली समाज अर्धसामन्ती र अर्धऔपनिवेशी अवस्थामा रहेको निष्कर्ष निकालिएको थियो । नेपाली समाजको चरित्रका आधारमा कम्युनिस्ट आन्दोलनले जनवादी क्रान्ति गर्ने कार्यदिशा २०६२–०६३ मा आइपुग्दा नेपालमा पुँजीवादी जनवादी राजनीतिक क्रान्ति सम्पन्न भएको छ ।
अब के त ?
पुँजीवादी क्रान्तिबाट सामन्तवादको राजनीतिक एवम् शासकीय हिसाबले अन्त्य भएको छ र जनताबाट निर्वाचित संविधानसभामार्फत बनेको संविधानमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत भएको छ । यस्तै पुष्पलालले विश्लेषण गरेको अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थाको नेपाली समाजमा राजनीतिक, आर्थिक, सामाजिक रूपमा परिवर्तन भएर नेपाली समाज पुँजीवादी चरणमा प्रवेश गरेको छ ।
योसँगै नेपाली अर्थ–राजनीतिमा दलाल पुँजीवाद हाबी भएको छ । दलाल पुँजीवादले नै मुलुकमा राष्ट्रिय पुँजी निर्माण, स्वाधीन र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा व्यवधान उत्पन्न गरेको छ । आर्थिक विकासको बाधक बनेको दलाल पुँंजीवादका विरुद्ध वैचारिक सङ्घर्ष गरेर राष्ट्रिय पुँजीको निर्माण गरी समाजवादी आर्थिक कार्यक्रम लागू गरेर जान जरुरी छ । अतः अबको नेपाली क्रान्तिको दोस्रो चरण– समाजवादी क्रान्तिको नीति र कार्यक्रम तय गरेर समाजवादी क्रान्तिको यात्रा तय गर्न जरुरी छ । नेकपाले यतिखेर समाजवादी क्रान्ति गर्ने सही कार्यनीतिक कार्यदिशा तय गरेर सरकारमार्फत लागू गरेर अगाडि बढ्नुपर्ने संवैधानिक अभिभारासमेत छ । नवउदारवादी पुँजीवादी अर्थनीतिलाई समाजवादी अर्थनीतिका कार्यक्रमबाट विस्थापित गरेर जनतालाई राहत र परिवर्तनको अनुभूति दिन नसक्दा अन्तरविरोध बढ्नु स्वाभाविक हो ।
घोषणापत्रको महŒवका बारेमा पुष्पलालले नै भन्नुभएको छ, ‘स्पष्ट छ, नेपाल कम्युनिस्ट पार्टीको यो घोषणापत्र नेपालको सर्वहारा वर्गको क्रान्तिकारी कार्यक्रम हो । यसले नेपालमा सर्वहारा वर्गको विचारधाराको गहकिलो जग हाल्नुका साथै सर्वहारा वर्गको नेतृत्वमा नयाँ जनवादी (पुुंँजीवादी जनवादी) क्रान्ति सम्पन्न गरी समाजवादी क्रान्तिमा जाने बाटो स्पष्ट रूपमा देखाएको छ ।’ सात दशक अगाडिको नेतृत्वले देखे, बुझेको विषय अहिले नेकपाले बुझ्न नसक्नुको अर्थ के लाग्ला ? पार्टीको नेतृत्व, वैचारिक समूहले त आगामी शताब्दीको गोरोटो देखाउन सक्नुपर्ने होइन
र ? नेकपाको प्रथम घोषणापत्रमा अन्तरनिहित कार्यक्रमका आधारमा नेपाली क्रान्तिको कार्यनीतिक कार्यदिशा तय गरेर समाजवादी क्रान्ति सम्पन्न गर्नुपर्ने अभिभारा अरू कसैले पूरा गरिदिँदैन ।
(लेखक पेशागत अधिकारकर्मी हुनुहुन्छ ।)