विचार/दृष्टिकोण |

विकासमा वातावरणीय सन्तुलन (सम्पादकीय)

सन् २०१९ सेप्टेम्बरमा न्युयोर्कमा आयोजित विश्वनेताहरूले भरिभराउ संयुक्त राष्ट्र सङ्घीय क्लाइमेट एक्सन समिट (जलवायु कार्य सम्मेलन) लाई सम्बोधन गर्दै स्वीडेनकी वातावरणवादी बालिका ग्रेटा थुङवर्गले ‘तिमीहरूले मेरा सपना र बालापन नष्ट गरेका छौ’ भन्दै अश्रुपूर्ण स्वरमा प्रश्न
गर्नुभयो – तिमीहरूलाई कस्तो छ ? १६ वर्षीय ग्रेटाको सम्बोधन सुनेर अमेरिकी राष्ट्र्पति डोनाल्ड ट्रम्पको आँखा तिरमिर्याएको विश्व प्रशिद्ध बेलायती पत्रिका ‘द गार्जियन‘ ले समाचार प्रकाशित गरेको थियो । ग्रेटाको पहलमा विश्वका २५ वर्षमुनिका लाखौं बालबालिका वातावरण संरक्षणमा जुटेका छन् । यस वर्ष नोवल पुरस्कारका लागि मनोनयनमा परेकी ग्रेटाले वर्तमान विकास र वातावरणबीचको असन्तुलनलाई यसरी उजागर गरिन् कि विश्वका नेता, वातावरण तथा विकासविद् जवाफहीन भए ।
आधुनिक विकासले प्रकृतिको असीमित दोहन गरेकाले अकल्पनीय परिणाम भोग्नु परेको छ । ग्लोबल वार्मिङ (वैश्विक उष्णता), विष्फोट, ज्वालामुखी, आगलागी, जलवायु परिवर्तन, मरुभूमिकरण, बाढीपहिरो सुख्खा, अम्लीय वर्षाजस्ता कारण मानव समाजले यति दुःख भोग्दैछ कि आगामी दिन यसको सयौं गुणा जोखिममा मानव समुदाय पुग्नेछ । सन् १९८५ वैज्ञानिकहरूले दक्षिणी धु्रवमाथिको ओजोन तहमा प्वाल परेको प्रमाणित गरे । ओजोन तहले पृथ्वीलाई वातानुकूलित बनाउन सहयोग गर्छ । यसमा प्वाल परेर सूर्यबाट निस्कने पराबैजनी विकिरण सिधै पृथ्वीमा आएमा यसले मानवले मानव, जीव तथा वनस्पतिका लागि पृथ्वी बस्न अयोग्य बनाइदिनेछ । ओजन तह घट्नु, क्षति हुनु वा प्वाल पर्नुका प्रमुख् कारण मानव सिर्जित भौतिक विकासले उत्सर्जन गर्ने विभिन्न प्रकारका धुवाँधुलो, विकिरण तथा ताप नै हुन् । बढ्दो जनसङ्ख्याले गरेको वन विनाश, औद्योगिकीकरण, शहरीकरण, असङ्ख्य कलकारखाना, यातायातका साधन, आणविक भट्टीजस्ता कारणले पृथ्वीको तापमान बढाउँदै ओजोन तहलाई क्षति गरेकाले हाम्रा विकासले यस्ता पक्षमा ध्यान दिनुपर्ने भएको छ । विभिन्न अनुसन्धानअनुसार मानवसिर्जित अनेक ग्याँसहरूको असरले ओजोन तह घट्ने र प्वाल पर्ने हुनाले वर्तमान विकास गतिविधिले हरितगृह सन्तुलनमा पार्ने असर नियन्त्रणमा विशेष ध्यान दिनु आवश्यक छ । पृथ्वीमा हरित गृह सन्तुलन बिगार्ने उपक्रम बढेसँगै विश्वव्यापी ताप वृद्धिले हुने जलवायु परिवर्तन आगामी पुस्ताका लागि चुनौती हुनेछ ।
ओजोन तहको सुरक्षाले वैज्ञानिकहरूले आँकलन गरेका विभिन्न जोखिम कम गर्न सकिने छ । यस दिशामा कामै नभएको होइन । विश्वले विभिन्न मञ्च तथा निकायमार्फत् ओजोन तहको सुरक्षामा आफ्ना पहल जारी राखेका छन् । यसैक्रममा आज सेप्टेम्बर १६ तारिखलाई ‘अन्तर्राष्ट्रिय ओजोन तह बचाऊ’ दिवसका रूपमा मनाइन्छ । नेपालमा पनि विद्यमान संविधान, कानुन तथा सम्बद्ध निकायार्फत ओजोन तहदेखि वातावरण संरक्षणमा हरसम्भव पहल हुँदै आएको छ । पछिल्ला वर्षहरूमा वन मासेर सडक खन्नु विकास हो कि होइन भन्ने वहश चल्न थालेका छन्  । अर्कोतिर विश्वका सम्पन्न भनिएका देशहरूले प्रतिश्पर्धात्मक रूपमा गरेका धूँवादार विकास तथा आणविक कारखानाका कारण हुने ओजोन तहको विनासको परिणाम नेपालजस्ता देशका नागरिकले पनि भोग्नु परेको छ – नखाएको विष लाग्नु जस्तै । यस अर्थमा वनको संरक्षणकै नाममा कुनै गाउँमा सडक पु¥याइनु हुँदैन भन्नु न्यायोचित हुँदैन । विश्वका लागि ओजोन तह सुरक्षित गर्न कुनै गाउँका नेपालीले सधँै डोकोमा बोकिएर अस्पताल जानुपर्ने अवस्थालाई वातावरण संरक्षणको नमूना भन्न पनि सकिदैन ।
विकास र वातावरणीय सन्तुलनलाई आपस्तमा एकाकार गरेर अबका विकास हुनुपर्छ । डोजरे विकासका कारण सडकसँगै पहिरो पनि गाउँमा पसेको यदि छ भने त्यस्ता विकासलाई वातावरणमैत्री बनाउन सकियो भने मात्र दीर्घकालीन विकासका परिणामले जनतालाई समुन्नत गर्न सकिने छ । मानिसले मानिसका लागि गरेका विकास विश्व समुदायका लागि कति हानिकारक रहेछन् भन्ने पुष्टि भएको छ । कोरना (कोभिड–१९) कालमा राजधानी उपत्यका सफा देखियो, यहाँका रुखमा पूmल फुले, सधैं धुलोले छेकिने वरपरका पहाड शृङ्खला छर्लङ्ग देखिए । विश्वभर जनजीवन ठप्पप्रायः र कलकारखाना, यातायातका साधन, आणविक भट्टीलगायत बन्द भएकाले ओजोन तहका प्वाल पुरिन वा साँघुरिन सहयोग पुगेको बताइएको छ । ‘वातावरणमाथि जे गरेका छौं, हामीले त्यही परिणाम भोग्नु पर्छ’ भन्ने बालिका ग्रेटाकोे गाम्भीर्य बुझौं । हाम्रा पुर्खाले गर्ने प्रकृति पूजाको महत्व बुझौं ।