विचार/दृष्टिकोण |

अङ्ग प्रत्यारोपणमा कानुनी प्रावधान

राजाराम श्रेष्ठ

अङ्ग प्रत्यारोपणको अवधारणा मानवजीवन रक्षाका लागि विकास भएको पाइन्छ । मानव शरीरमा कुनै पनि एक अङ्गले काम गर्न नसक्दा शारीरिक अवस्था कमजोर भई मृत्युको अवस्थासम्म पनि पुग्न सक्छ । एउटा स्वस्थ मानिसको अङ्ग अर्को मानिसमा प्रत्यारोपण गरेर उसको जीवनरक्षा गर्न सकिन्छ । मानिसको जीवनरक्षासँग जोडिएर आउने यस्ता अङ्ग प्रत्यारोपणको विषयलाई खरिद बिक्रीको विषय बनाउनुहुँदैन । त्यसैले धेरैजसो देशले मानव अङ्ग खरिद बिक्रीको कार्यलाई कानुन बनाई अवैध घोषणा गरेको हुन्छ । तर, नेपालमा मानव अङ्गलाई दानका रूपमा दिन सक्नेगरी मान्यता दिएको छ ।
नेपालमा सन् २००८ डिसेम्बर १२ मा वीर अस्पतालमा मिर्गाैलाको सफल प्रत्यारोपणपछि अङ्ग प्रत्यारोपणको सुरुवात भएको मानिन्छ । त्यस्तै सन् २०१७ मेमा मस्तिष्क मृत्यु भएको व्यक्तिको दुवै मिर्गाैला अरू दुईजनामा प्रत्यारोपण गरिएको थियो । हालसम्म देशभर एक हजार पाँच सयजनाको मिर्गाैला प्रत्यारोपण भइसकेको तथ्याङ्क छ । नेपालले मिर्गौला प्रत्यारोपणमा सफलता पाएपछि धेरै धन–राशि खर्च गरेर भारतलगायत अन्य विभिन्न देशमा गई मिर्गाैला प्रत्यारोपण गर्न नपर्ने भएको छ । अहिलेको अवस्थासम्म आइपुग्दा मिर्गाैला, कलेजो, प्याङ्क्रियाजजस्ता मानव शरीरको अङ्ग झिकी बिरामीको शरीरमा प्रत्यारोपण गर्न सकिने भएको छ ।

अङ्ग प्रत्यारोपण कार्यलाई विधिवत् मान्यता दिन मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित र निषेधित) ऐन–२०५५ जारी भएको छ । यसलाई अझ व्यवस्थित बनाउने उद्देश्यले २०७२ सालमा संशोधन भयो । यो संशोधनपछि मानव अङ्ग दानको काम खुकुलो हुन गएको छ । पछि मिर्गाैला प्रत्यारोपणको कामले सहजता पाएको हो । तर, यसले अङ्ग खरिद बिक्री गर्ने वा त्यस्तै प्रकारको अन्य गलत काम हुने सम्भावनालाई ख्याल गर्दै ऐनले अङ्ग प्रत्यारोपणको खरिद बिक्री निषेध गरेको छ ।
ऐनअनुसार नेपालमा बिरामी नै अङ्ग ग्रहण गर्ने व्यक्ति हो । निजको नजिकको नातेदारका रूपमा रहेका पति, पत्नी, छोरा, छोरी, धर्मपुत्र, धर्मपुत्री, बाबु, आमा, सौतेनीबाबु, सौतेनीआमा, बाजे, बज्यै, नाति, नातिनी, दाजु, भाइ, दिदी, बहिनी, ठूलोबाबु, ठूलीआमा, काका, काकी, सानोबाबु, सानीआमा, भतिजा, भतिजी, सासू, ससुरा, जेठाजु, जेठानी, देवरानी, नन्द, देवर, भाउजू, बुहारी, मामा, माइजू, भान्जा, भान्जी, साला, साली, फुपू, फुपाजु, आमाजू, भदा, भदै, भिनाजु, ज्वाईं, जेठानले अङ्ग दान दिन सक्छ । साथै, धर्मपुत्र, धर्मपुत्री र त्यसरी राख्ने बाबुआमा र वैवाहिक सम्बन्धबाट कायम भएको कम्तीमा दुई वर्षदेखि अटुट रूपमा नाता–सम्बन्ध कायम गरी आएको नातामा पनि अङ्ग दान दिन सक्छ । यो नाताभित्र रहेर बिरामीलाई अङ्ग दान दिएको क्रियाकलापलाई ऐनले कसुरजन्य कार्य मानेको छैन ।
नजिकको नातेदारको अङ्ग नमिली प्रत्यारोपण हुन नसक्ने भएमा र प्रत्यारोपण गर्न खोजिएको अङ्ग अर्को परिवारको सदस्यसँग मिल्ने भएमा एक–अर्काको परिवारको सदस्यले सहमतिबमोजिम लिखत गरी आफ्नो अङ्ग बिरामीलाई दान गर्न सक्छ । ऐनको दफा १४ ‘क’ अनुसार बिरामी र निजको नजिकको नातेदारको अङ्ग मेल खाने भएमा दान दिन सक्छ । बिरामीको नजिकको नातेदारको दायरा फराकिलो बनाई सो नाताभित्र रहेर अङ्ग प्रत्यारोपण गरेको कार्यलाई वैध मानेको छ ।
आधुनिक चिकित्सा प्रणालीअनुसार व्यवस्थित रूपमा रोगको उपचार गर्ने प्रयोजनका लागि मात्र मानव शरीरबाट अङ्ग झिक्न र अङ्ग झिकी अर्को मानव शरीरमा प्रत्यारोपण गर्न सकिन्छ । बिरामीको शरीरको कुनै अङ्ग काम नलाग्नेगरी नासिएको अवस्थामा सो अङ्गको सट्टामा अर्को अङ्ग जीवित व्यक्तिको शरीरबाट झिकेर बिरामीको शरीरमा प्रत्यारोपण गर्न सकिन्छ । नजिकको नातेदारको सहमतिले दाताले स्वेच्छाले र दाताको जोडी अङ्गमध्ये एक अङ्ग झिक्दा तत्कालै नमर्ने र अशक्त वा अपाङ्ग नहुने, तन्तु पुनर्विकास हुने अवस्था भएमा समेत जीवित व्यक्तिको शरीरबाट अङ्ग झिकेर बिरामीको शरीरमा प्रत्यारोपण गर्न मिल्ने देखिन्छ ।
त्यस्तै मस्तिष्क मृत्यु भइसकेको मानिसको शरीरबाट अङ्ग झिक्न र त्यसरी झिकेको अङ्ग बिरामीको शरीरमा प्रत्यारोपण गर्न सकिन्छ । यसरी अङ्ग दान गर्न चाहने व्यक्तिले स्वेच्छाले लिखित मञ्जुरी दिएको हुनुपर्छ । यदि त्यस्तो मञ्जुरी नभएमा परिवारको कुनै सदस्यले लिखित मञ्जुरी दिएको हुनुपर्छ । जीवनरक्षाका लागि जीवित वा मस्तिष्क मृत्यु भएका व्यक्तिको अङ्ग झिकी बिरामीको शरीरमा प्रत्यारोपण मिल्ने भएको छ । कर्तव्य वा आत्महत्याद्वारा वा शंकास्पद अवस्थामा मृत्यु भएको शव परीक्षणमा असर पर्नेगरी त्यस्तो मृतकको शरीरबाट अङ्ग झिकी अर्को मानव शरीरमा प्रत्यारोपण गर्न हुँदैन ।

जीवनरक्षाका लागि जीवित वा मस्तिष्क मृत्यु भएका व्यक्तिको अङ्ग झिकी बिरामीको शरीरमा प्रत्यारोपण गर्न मिल्ने भएको छ । यो कानुनी व्यवस्थाविपरीत कसैले कसैको अङ्ग झिकेमा वा त्यसरी झिकेको अङ्ग कसैलाई प्रत्यारोपण गरेमा वा अन्य काममा प्रयोग गरेमा अङ्ग प्रत्यारोपणसम्बन्धी कसुर मानेको छ । त्यसरी कसुर गर्ने व्यक्तिलाई पाँच वर्षसम्म कैद र पाँच लाख रुपियाँसम्म जरिवाना हुनेछ । त्यस्तो कार्यमा प्रत्यक्ष रूपमा संलग्न भएको पाइएमा समेत अपराध मानी सोहीबमोजिम सजायँ हुनेछ ।
कानुनबमोजिमबाहेक कसैले मानिसको अङ्ग झिक्ने कुनै कार्य गरेमा मानव बेचविखन तथा ओसारपसार गरेको मानिने भनी मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) ऐन– २०६४ को दफा ४ मा उल्लेख गरेको छ । सोबमोजिमको कसुर गर्ने व्यक्तिलाई १० वर्ष कैद र दुई लाख रुपियाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरेको छ । नेपालमा मानव शरीरको अङ्ग प्रत्यारोपण ऐन–२०५५ र नियमावली– २०७३ जारी भई मानव अङ्ग प्रत्यारोपणको कार्यलाई मान्यता दिइसकेको छ । त्यस्तै, मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) ऐनले पनि प्रचलित कानुनबमोजिम मानिसको अङ्ग झिक्ने कार्यलाई कसुर मानेको छैन । यदि आर्थिक रूपमा फाइदा लिने उद्देश्यले प्रचलित कानुनविपरीत मानव शरीरको अङ्ग झिक्ने, बिक्री गर्ने, सञ्चय गर्ने, अरूको शरीरमा प्रत्यारोपण गर्ने जस्ता कार्य गर्ने सबैलाई मानव बेचविखनको कसुरमा सजायँ हुन्छ ।

अहिलेको अवस्थामा नेपाल सरकारले उक्त दुवै कानुनलाई सक्रियतापूर्वक कार्यान्वयनमा ल्याएको छ । केही समय अगाडि मात्र भरतपुरस्थित मेडिकल कलेजका तीन चिकित्सक र सो काममा संलग्न भनी अन्य नौजना व्यक्ति नेपाल प्रहरीद्वारा पक्राउ परे । यसरी पक्राउ परेको चिकित्सक वा अन्य व्यक्तिले अङ्ग झिकेको कामलाई मानव अङ्ग प्रत्यारोपण कानुनविपरीतको कसुर गरेको हो वा मानव बेचविखन तथा ओसारपसार कानुनविपरीतको कसुर गरेको हो, सो हेरिनु अनिवार्य हुन्छ ।
फरक–फरक उद्देश्य प्राप्तिका लागि विधायिकाले कानुन निर्माण गरेको हुन्छ । जुन उद्देश्यका लागि कानुन निर्माण गरेको हुन्छ, सोही उद्देश्य पूरा गर्नका लागि मात्र कानुनलाई कार्यान्वयनमा ल्याउनुपर्ने हुन्छ । कुनै खास कामलाई कुनै विशेष ऐनद्वारा छुट्टै कसुर मानी सजायँ गर्ने व्यवस्था भएको रहेछ भने त्यस्तो कसुरका सम्बन्धमा सोही ऐन लागू हुनेछ । यसरी मुलुकी अपराधसंहिता–२०७४ को दफा ५ मा विशेष ऐनको व्यवस्था लागू हुने भनी उल्लेख छ । यसरी प्रचलित कानुनबमोजिम बिरामीको शरीरमा अङ्ग प्रत्यारोपण गर्ने उद्देश्यले गरेको काममा मानव बेचविखन कानुन लगाएर कारबाही तथा सजाय गर्नु न्यायोचित हुँदैन । कानुन व्याख्या तथा फौजदारी कानुनको मान्य सिद्धान्तलाई बेवास्ता गरी कानुन निर्माण, कार्यान्वयन तथा न्याय सम्पादन हुन पुग्दा समाजमा जटिल स्थिति आउन सक्छ । त्यसैले सही उद्देश्य प्राप्तिका लागि सही कानुनको प्रयोग हुनु जरुरी छ ।
(लेखक कानुन व्यवसायी हुनुहुन्छ ।)