विचार/दृष्टिकोण |

तनाव व्यवस्थापन

 

अमर अधिकारी

आजकल तनाव, डिप्रेसन, आत्महत्याजस्ता विषयसँग हामी दिनहुँजस्तो साक्षात्कार भइरहेका हुन्छौँ । सञ्चार माध्यमले कुनै न कुनै रूपमा यसको प्रचारप्रसार गरिरहेका हुन्छन् । आफ्नो जीवनप्रति भएका र गरेका कुनै पनि काम, कुरा र सफलता, असफलताप्रति सहमत नहुनु तनाव हो । हाम्रो काम, हाम्रो शरीर एक ठाउँमा छ तर मन अर्कै ठाउँ पुगिसकेको हुन्छ, यही नै तनावको कारण हो । मन स्थिर नभएर अस्थिरताको अवस्था, असन्तुलनको अवस्था तनाव हो ।
निद्रा नलाग्नु, निराश हुनु, नकारात्मक सोच आउनु, खाना खान मन नलाग्नु, झर्को लाग्नु, गर्दै आएको काम छोड्नु, पहिला सजिलो लागेको काम पछि गाह्रो लाग्न थाल्नु, यो जिन्दगीमा केही पनि गर्न सकिएन, आफू कमजोर छु, सबैले हेला गर्छन्जस्ता नकारात्मक कुरा सोच्दै जानु डिप्रेसन भएको लक्षण हो । यस्ता लक्षण भएको अवस्थामा परिवारले साथ दिएन भने आत्महत्या गर्ने सम्भावना बढी हुन्छ । डिप्रेसनका बिरामीमध्ये १५ देखि २० प्रतिशतले आत्महत्या गर्ने गरेको अनुसन्धानले देखाएको छ । आफैँले आफू स्वयंलाई समाप्त पार्ने वा मार्ने कार्यलाई आत्महत्या भनिन्छ । आत्महत्या र आत्महत्या दुरुत्साहनलाई कानुनी रूपमा एक जघन्य अपराध मानिन्छ । धार्मिक दृष्टिमा आत्महत्या गर्ने मानिस सीधै नर्कमा पुग्छन् भन्ने विश्वास गरिन्छ तर मनोवैज्ञानिक दृष्टिमा आत्महत्या एक प्रकारको मानसिक विकृति अर्थात् मनोरोग हो ।

एक तथ्याङ्कअनुसार विश्वमा प्रत्येक ४० सकेन्डमा मान्छेले आत्महत्या गर्छन् । नेपालमा आत्महत्याका प्रमुख कारणमध्ये विभिन्न उपचार गर्दा पनि निको हुन नसकी जीर्ण रोगले सताएका बिरामी, आफन्तको मृत्यु, बढ्दो एकल जीवन, वैदेशिक रोजगारका सामाजिक असर, प्रेममा धोका, लागूऔषध, परीक्षामा असफलता, जीवनमा निराशा, क्षणिक आवेग, दाइजो प्रथा तथा विभिन्न प्रकारका महिला हिंसा रहेका छन् ।
मेरो मनमष्तिस्कमा के कुरा खेलिरहेछ, के सोचिरहेछु, म के गरिरहेको छु भन्ने होश हामीमा हुँदैन । प्रायजसो मानिस बेहोशीमै जिइरहेका छौँ । प्रायजसो मानिस एउटा काम गरिरहेका हुन्छन्, ध्यान अर्काेतिर हुन्छ अर्थात् भौतिक शरीर एकातिर मनमतिष्क अर्काेतिर । यसले गर्दा बेहोशीमा गरिएको काम सफल हुँदैन र तनाव सिर्जना हुन पुग्छ । भगवान गौतम बुद्धले होश जगाउन र आफूभित्र भएको अपार क्षमतालाई सम्झाउन आफ्नो बत्ती आफैँ जगाउँ भनेर अनेक उपदेश दिनुभएको छ । धेरैथोरै तनाव सबैमा हुन्छ । तनावको व्यवस्थापनका लागि आफू, आफ्नो मन, स्वभाव, बानीव्यवहार, आचरणलाई व्यवस्थापन गर्नुपर्छ ।

दौडधूप तथा व्यस्तताले भरिपूर्ण अहिलेको जीवनचर्यामा जो कोही कामकाजी मान्छे बिहान उठेदेखि राति नसुत्दासम्म कुनै न कुनै तनावमा रहिरहनुपर्छ । समयमा काम पूरा नभएको तनाव, कार्य क्षेत्रमा राम्रो गर्न नसकेको तथा अझै राम्रो गर्नुपर्ने दबाबका बीच हुने तनाव, सीमित तलब अर्थात् पैसाले घर व्यवहारका असीमित आवश्यकता पूरा गर्नुपर्ने आदि घरेलु तथा बाह्य तनाव मान्छेले झेलिरहेको हुन्छ ।
विज्ञका अनुसार मान्छेमा तनावै नहुने कल्पना गर्न सकिन्न । केही हदसम्मको तनावले मान्छेका लागि राम्रो गर्ने उत्प्रेरकको भूमिका पनि खेल्छ तर तनावले सीमा नाघ्यो भने त्यो हानिकारक हुन्छ । त्यसले मान्छेको शारीरिक, मानसिक तथा सामाजिक स्वास्थ्यमै हानि गर्दछ । तनावले उच्च रक्तचाप तथा हृदयाघातजस्ता समस्याको खतरा बढाउँछ । अहिले नेपालका सहरी क्षेत्र खासगरी काठमाडौँमा ४० प्रतिशत मानिसमा निद्रा नलागेर डिप्रेसनका कुनै न कुनै औषधि खाइरहेका छन् भनिन्छ । तनावको सही समयमा सही व्यवस्थापन गर्न सकिएन भने यसले डिप्रेसन हँुदै आत्महत्यासम्म पु¥याउँछ । चिताले मरेको मानिस जलाउँछ भने चिन्ताले जिउँदो मानिसलाई जलाउँछ ।

आफैँमा विश्वास नहुनु, जीवनदेखि हार खानु, भावी जीवनका लागि असमर्थ हुनुलगायतका कारण आत्महत्या हुने गरेको छ । आत्महत्या गर्नेमा युवायुवतीको सङ्ख्या अझै धेरै छ ।
मानिस आफूमा भएको क्षमता, गुण, जोशजाँगर, उत्साह आदिलाई नजान्दा तनाव पैदा हुन्छ । सानोसानो कुरामा खुसी खोज्न नजान्दा निरस जीवन बिताउन बाध्य हुन्छन् । मलाई जीवनमा कसैले सहयोग गरेनन्, मैले धन, पद कमाउन सकिनँ, कसैले मलाई प्रेम गर्दैनजस्ता नकारात्मक धारणा वा गुनासाले तनाव सिर्जना हुन्छ । म सक्छु, म गर्छु, मैले पाइरहेको छु भन्ने सकारात्मक धारणा विकास गर्नसकेमा तनाव कम हुन्छ । तनाव निवारणको उपाय भनेको आफैँमा समझको विकास हुनु नै हो । जुन कुरा आफ्नो हातमा छैन, त्यसप्रति तनाव लिएर कुनै फाइदा हुँदैन । अरूका कुरा र व्यवहारलाई हामी व्यवस्थापन गर्न सक्दैनौँ तर ती कुराबाट आफू जोगिएर बस्न भने सक्छौँ । यही नै आफैँले आफैँलाई व्यवस्थापन गर्ने सही तरिका हो ।
भनिन्छ, जितियो भने खुसी होउँला भनेर खेल खेल्नुभयो भने खुसी कहिल्यै आउँदैन बरु तनाव आउँछ तर खुसीका साथ खेल खेल्नुभयो भने निश्चित रूपमा खुसी र सफलता दुवै प्राप्त हुन्छ । भगवान् श्रीकृष्णले गीतामा भन्नुभएको कर्म गर्नु, फलको आशा नगर्नु भन्ने उपदेश यसमा मेल खाने छ । आफूमा जे छ त्यसको सही व्यवस्थापन गरी खुसी हँुदै जीवनलाई सरल रूपमा, प्राकृतिक रूपमा जिउने कला नै तनावको औषधि हो ।

ओशो भन्नुहुन्छ, “तिमी जे छौ त्यसलाई स्वीकार गर्न चाहन्नौ, जे छैनौ त्यो बन्न चाहन्छौ तर यो सम्भव छैन । यही नै तिम्रो तनावको कारण हो ।” ओशोले शरीरको विज्ञानदेखि धारणा, ध्यान र समाधिका करिब छ सयवटा विधि दिनुभएको छ । जुन विधि हाम्रो बेचैनी, तनावलाई हटाउन पर्याप्त छन् । तनाव तथा बेचैनीलाई हटाउने उपाय स्वस्थ जीवन पद्धति नै हो । स्वस्थ जीवनका लागि नियमित ध्यान, योग गर्ने, धूमपान तथा मद्यपान नगर्ने, वजनलाई नियन्त्रण गर्ने, सक्रिय जीवन जिउने, स्वस्थ भोजन गर्ने बानी बसाउने । आत्मविश्वास बढाउने र बाहिरी विकासभन्दा आत्मविकासमा जोड दिने । एकाग्रता, एकान्त, शान्त र ध्यानमय वातावरणमा दैनिक एक घण्टा समय बिताउने । आवश्यक मात्रामा शारीरिक परिश्रम गर्ने र मानसिक रूपमा विश्राम लिने । प्रतिकूल परिस्थितिमा परिस्थिति बदल्न होइन आफ्नो मनस्थिति बदल्न कोसिस गर्ने । जीवनशैली नै सकारात्मक र असल आचरणमा बिताउन सङ्कल्प गर्ने ।

मानिसले जन्मिँदै अमूल्य र अथाह आन्तरिक सम्पत्ति लिएर आएको छ । यो संसारमा कोही पनि मानिस भिखारी, विपन्न र कमजोर जन्मिएको छैन । प्रकृतिले मानिसलाई सम्पन्न, समृद्ध र अनन्त ऐश्वर्यसहित जन्म दिएको छ । मानिस बाहिर देखिएको भौतिक शरीर मात्र होइन, नदेखिएको भित्र अभौतिक संसार अनन्त छ । मानिसले चाहेमा जे पनि बन्न सक्छ र जस्तो पनि हुन सक्छ, त्यो सम्भावना मानिसभित्र छ । यो आन्तरिक सम्पत्तिलाई प्रयोग गरेर भित्रका अनन्त सम्भावनालाई उजागर गर्न सकिन्छ ।
मानिस उच्च पद प्रतिष्ठा, सम्पन्न, समृद्ध र एउटा सम्राट्जस्तो जन्मिएको हुन्छ तर आफ्नो अमूल्य सम्पत्तिलाई नचिनेर र त्यस्ता सम्पत्ति दबिएर भिखारी बन्दछ । मानिसभित्र रहेको खुसी, प्रेम, उमङ्ग, मानसिक शान्ति, उत्साह, आनन्दजस्ता अपार सम्पदालाई उजागर गर्न सकेमा कोही पनि दुःखी हुनुपर्दैन । सबै तनाव डिप्रेसन यसले दूर गराउँछ ।
योग र ध्यानका लागि हाम्रो देश उत्कृष्ट मानिन्छ । प्रकृति, योग, अध्यात्म र संस्कृतिले हामीलाई भरिपूर्ण बनाएको छ । यसलाई हामीले प्रचारप्रसार, संरक्षण र संवद्र्धन गर्नुपर्छ । á
(लेखक ओशो ध्यान साधक हुनुहुन्छ ।)