विचार/दृष्टिकोण |

व्यक्ति र राष्ट्र

शीतल गिरी
उन्नाइस वर्षको उमेरमा कलेजको पढाइ बीचमै छाडेर देवेन्द्र सत्यार्थी घुम्नका लागि निस्के । उनले आफ्नो उमेरको धेरै समय गाउँ–सहर घुम्दै लोकगीत सङ्कलनमा लगाए । गाउँको धूलो भरिएको गोरेटोबाटोमा बरालिँदै, धरतीभित्रबाट प्रस्फुटन भएका थरीथरीका रङ र भावभूमिका लोकगीत देखे । त्यसको पछाडि लुकेको पीर–व्यथा, करुणा, प्रेम र मानवीय भावनाले उनको हृदय लपक्कै भिज्यो । उनले थाहा पाए– धर्तीको काखमा जन्मेको अन्नझैँ जन्मिन्छ लोकगीत पनि । धर्ती र मानिसको पीर–व्यथा र अवस्थासँग लोकगीतको अनन्य सम्बन्ध रहेकाले एक अर्कालाई छुट्याएर हेर्नु हुँदैन । जहाँकहीँ पनि राम्रो लोकगीत सुनिन्थ्यो, उनी त्यहीँ बसेर कापीमा लेख्न थाल्थे  ।
भाषाको समस्या आउँदा सोधी सोधीकन त्यसको अर्थ पनि लेख्थे । कापी भरिँदै गयो तर राम्रा लोकगीत सङ्ग्रह गर्ने उनको भोक बढ्दै गयो । राम्रा लोकगीत सङ्ग्रह गर्ने भोकको कुनै अन्त नै थिएन ।
कहीँकतै केही पाए भने खाए, नत्र भोकै सुते ।

उनको भोक भनेको कुनै राम्रो लोकगीत पाइयो भने कापीमा लेख्न सकियोस् भन्ने नै थियो ।
विवाह भएपछि पत्नी पनि उनकै साथमा हिंँँडिन् ।
यात्रा गर्दै जाँदा बाटोमा छोरी जन्मिई तब ती पनि सानी लोकयात्री बनिन् र असीम लोकयात्राको बाटोमा यी असीम यात्रीको पाइला
बढ्दै गयो ।
जब पनि सत्यार्थीजी लोकगीत सङ्कलन गर्न जान्थे तब उनको सम्मुखमा एक किसिमको समस्या देखा पथ्र्यो । प्रायजसो लोकगीत आइमाईहरूलाई नै थाहा हुन्छ, जस्तो पर्व र विवाह
आदिको गीत ।
वास्तवमा, आइमाईहरूकै कारण लोकगीत अहिलेसम्म बाँचेको हो । स्वयं आइमाईहरूका जीवनको धेरैजसो पीर, व्यथा र प्रस्फुटित हुन नसकेका इच्छाहरू लोकगीतमा लुकेको पाइन्छ । यसकारण लोकगीतमा यति मिठास, यति पीडा छ र त शरीरको भित्री तहसम्म पुगेर मनलाई छुने गरेको छ । वास्तवमा लोकगीतसँग लोकपरिवेश पनि जोडिएको हुन्छ । ग्रामीण मानिसका केही अन्धविश्वास, रुढी र मानसिक सङ्कीर्णताहरू पनि यिनीहरूसँग साक्षात्कार नगरेसम्म लोकगीत र त्यसको लयसम्म पुग्न सकिन्न किनभने ऐँसेलुको रसिलो फल खान केही थोपा रगत त बगाउनै पर्छ । लोकगीत सङ्कलन गर्न धेरै सजिलो हुन्छ भन्ने ठानिन्छ तर त्यो सङ्कलन गर्दा केकस्तो कठिनाइको सामना गर्नुपरेको थियो त्यो देवेन्द्र सत्यार्थीको जीवनी अध्ययन गर्दा थाहा हुन्छ ।
सत्यार्थीकी छोरी कविता यात्राकै क्रममा जन्मिइन् र यात्राकै क्रममा आमाको काखमा हुर्किएर लोकयात्री बनिन् । कविताले एउटी छोरी जन्माएर असमयमै यस लोकलाई त्यागिन् । स्वयं ‘इतिहास’ बनिसकेका सत्यार्थीको लोकयात्रामा छोरी कविताको धेरै स्मृतिहरू जोडिएका छन् । छोरी कविताको कसैले कुरा कोट्याउँथ्यो भने उनको मुहारमा हाँसो र करुणा एकैसाथ देखापथ्र्याे ।
वास्तवमा सत्यार्थीका तीन छोरीमा साहित्यप्रति रुचि भएकी कविता सुरुदेखि नै अरूभन्दा पृथक् र प्रतिभाशाली थिइन् ।
पत्नी र छोरी कविताको साथमा सत्यार्थीले सन् १९४० मा लङ्काको यात्रा गरेका थिए । कविता यस्तै छ सात वर्षकी थिई होली । सो समयमा सत्यार्थी स्वयं पनि ३२ वर्षका युवा थिए । सत्यार्थीसँग लङ्का–यात्रासँग जोडिएका रोचक प्रसङ्ग धेरै थिए । लङ्का–यात्रा गर्नुभन्दा पहिले उनी केही समय चेन्नईमा रहेका थिए । यात्राको क्रममा सत्यार्थीको भेट महामना मदनमोहन मालवियसँग भयो ।
लोकगीत सङ्ग्रह गर्नमा अनौठो काम गरेकोमा हृदयदेखि प्रशंसा गरेर मालवीयले पहिले नै सत्यार्थीलाई पत्र लेखेका थिए । यस्तै यात्रामा एक पटक देहरादुनमा मालवियसँग सत्यार्थीको भेट भयो । लोकगीतको खोजीमा भौँतारिइरहने सत्यार्थीसँग राम्रो कपडा कहाँबाट आओस् ? न त कहिल्यै गञ्जी लगाए न गोडामा मोजा नै हुन्थ्यो । उनको कपडा मात्र होइन गोडा पनि धुलौटे बाटोमा यात्रा गरेको साक्षी थियो । तब मालवीय दुःखी हुनुभयो र मोजा मगाएर आफ्नो हातले उनको गोडामा लगाइदिन थाल्नुभयो । सत्यार्थीले विरोध गरेपछि मालवियले आफ्नो छोराको हातबाट मोजा लगाउन लगाए ।
सत्यार्थीको यात्रामा ठूलठूला अप्ठ्याराहरू पनि आउँथे तर सहयोगी पनि भेटिन्थे जो उनका लागि हृदय खोलेर सहयोग गर्न तयार रहन्थे ।
सत्यार्थीलाई मालवियले मात्र होइन, रवीन्द्रनाथ टैगोर, आचार्य हजारीप्रसाद द्विवेदी, गङ्गाप्रसाद विमल, बलराज साहनी, रामानन्द चटर्जी, प्रोफेसर तेजासिंह लगायतकाले आदर गर्ने गरेका थिए । देवेन्द्र सत्यार्थी घरबाट भाग्नु एक किसिमले स्कुलबाट भागेर जीवनको पाठशालामा प्रवेश गर्नु बन्न गयो । लोकगीत सङ्कलन गर्ने यात्रामा सहयोगीहरूले आफ्नो घरमा राखेर खानपिनको प्रबन्ध मात्र होइन यात्राका लागि बस, रेलको टिकटसमेत किनेर दिन्थे ।
यस्तै सहयोगी सहृदयी मानिसहरूका कारण भाषाको समस्याले पनि अप्ठ्यारो पारेन, कतिपय राम्रा भावका गीत पाउँदा, उनले मानिसहरूसँग सोधेर त्यसको अर्थ लेख्ने गर्थे ।
हिँड्दै जाँदा बाटोमा स्कुल अथवा कलेज पाइएमा त्यहाँ गएर लोकगीतको बारेमा व्याख्या गर्थे ।
यसरी व्याख्या गर्नुको कारण बाटोका लागि केही आर्थिक सहायता जुटाउनु पनि रहेको थियो, अनि उनी आफ्नो बाटो लाग्थे । सत्यार्थी भारतका गाउँ घरमा घुम्दाताका त्यहाँको जीवनमा सादगी र भावनात्मक लगाव धेरै गहिरो थियो । सम्बन्ध र मानवीय भावनाको मूल्य मानिस बुझ्थे ।
सत्यार्थीलाई बाल्यकालदेखि नै घुमफिर गर्ने धेरै रुचि भएको हुँदा नै पढाइ छाडेर भागेका थिए । उनलाई टाढा–टाढाको स्थान, नदी, पहाडले लोभ्याउँथ्यो । नाम सुनेको भरमा बाटो सोध्दै यात्रा थालिहाल्थे । यसकारण उनको घरका मानिस र परिचित भन्ने गर्थे– “यस केटाको खुट्टामा चक्र छ । हो कतै अडेर बस्न नै सक्दैन ।” घुमफिर गर्ने रुचि त थियो नै तर यो रुचि मन बहलाउनमा सीमित थिएन । यसको पछाडि लोकगीत सङ्ग्रह गर्ने धुन र देशको सबै रङ, रूप र विविधताको बारेमा थाहा पाउने पनि रहेको थियो ।
अर्को पनि कुरा थियो– निश्चित किसिमले तोकिएको अध्ययन प्रणालीप्रति उनको रुचि छँदै थिएन । उनलाई लाग्दथ्यो, पढेर के गर्ने ? यसैले विद्यालय, कलेजको अध्ययन उनको जीवनको लक्ष्य बन्न सकेन ।
देवेन्द्र सत्यार्थीलाई त केही अर्कै, कुनै ठूलो काम गर्नु थियो । यही ‘केही अर्कै’ ले नै उनलाई भित्रैदेखिको शक्तिले लोकगीत अध्ययन र सङ्कलनतर्फ धकेल्यो । जुन शक्ति पढाइमा लाग्न सकेको थिएन त्यस शक्तिले लोकगीत–सङ्ग्रह गर्ने रोमाञ्चकारी र केही हदसम्म दुस्साहसी ‘मिसन’ अपनायो । र, एक पटक सत्यार्थीको मनमा दृढतासाथ यो कुरा बसेपछि उनले पछाडि फर्केर कहिल्यै हेरेनन् । पटक पटक घरबाट भागे, भागि नै रहे । जब मन लोकगीतप्रति आकर्षित हुन्थ्यो, निस्कन्थे । यात्रामा धेरै पटक भोकै बसे, आर्थिक समस्याले विजोग बनायो । कैयौँ रात रूखको आश्रयमा या फुटपाथमा भोकै सुते । समय समयमा ज्यालादारी काम गरेर बाँचे । लोकगीतप्रतिको मोहको कारण सत्यार्थी टाटानगरमा जस्तापाता बोक्नेदेखि लिएर पत्रिका बेच्ने, ट्युसन पढाउने, प्रुफ रिडिङ (भाषा शुद्धाशुद्धि हेर्ने) गर्ने जस्ता काम पनि गरे ।
अजमेरको एउटा प्रेसमा ‘सत्यार्थ प्रकाश’ छापिन्थ्यो । त्यहाँ काम गर्दागर्दै उनले आफ्नो नाम ‘सत्यार्थी’ राखे र पारिवारिक नाम ‘बत्ता’ बाट मुक्त भए, जुन नाम उनलाई बाल्यकालदेखि नै मन परेको थिएन । यसो त बत्ता पारिवारिक प्रतिष्ठाको सूचक नामपाटीजस्तै उनको मुहारमा जोडिएको थियो । सत्यार्थी भएपछि उनी सबभन्दा पृथक् भए । उनको आफ्नै एउटा फरक छवि र
पहिचान बन्यो ।
कुनै उपाय नलागेपछि घरका मानिसले पारिवारिक दायित्वको बन्धनमा बाध्नका लागि उनको विवाह गराई दिई । तर विवाह भएपछि पनि उनको घुमफिर गर्ने स्वभावमा परिवर्तन आएन । तरकारी किन्न घरबाट निस्किएको मानिस चार महिनापछि घर पुग्थे । सन् १९२७ मा सत्यार्थी घरबाट पहिलो पटक भागेर श्रीनगर गएका थिए ।
त्यसपछि वर्षौंसम्म पृथ्वी उनका लागि ओछ्यान र आकाश ओढ्ने सिरक बनिरह्यो ।
सन् १९२९ मा दुई वर्षपछि घर फकिएका सत्यार्थीले जुन २९ मा विवाह गरे, अनि पत्नी देवयानीलाई घरमै छाडेर फेरि यात्रामा निस्किए । पहिले कलकत्ताबाट जगन्नाथपुरी अनि दुई महिना कटकमा रहे । कटकबाट बहरमपुरगञ्जमा गए, जहाँ डा. सेनपतिको पाहुना बने, त्यहाँ श्रीमती सेनपति राजरानी देवयानीको अति आत्मीय
दिदी बनिन् ।
अनि पत्नीलाई बरहमपुर गञ्जममा छोडेर, कुनै जानकारी नै नदिई स्वामी सदानन्दको साथमा बर्मा–यात्रामा निस्किए ।
बर्माको माण्डेलामा नै डा. सेनपतिको टेलिग्राम पाएर बहरमपुर गञ्जममा आउँदा चार दिन पहिले नै (१५ अगस्त १९३२ मा) कविताको जन्म भइसकेको थियो ।
सन् १९३३ मा पत्नी देवयानी र छोरी कवितालाई साथमा लिएर मसुरी र देहरादुनको यात्रा गरेर घर फर्किए ।
अनि त्यसपछि एक्लै अमृतसरको यात्रा गरे, त्यहाँबाट कलकत्ता गएर सात महिना बसे । कलकत्ताबाट घर आएर पत्नी र कवितालाई साथमा लिएर कश्मीर–यात्रा गरी श्रीनगरमा बसे, जहाँ बलराज साहनीसँग भेट भयो ।
तीन महिना जनवरी, फेब्रुअरी, मार्च पेसावरको यात्रा गरेर पस्तो लोकगीतबारे लेख लेखे, जो न्युयोर्कको ‘एसिया’
पत्रिकामा छापियो ।
यसैबीचमा अप्रिलमा रावलपिन्डीमा बलराज साहनीको पाहुना बने र उनको साथमा गाउँगाउँ पुगेर लोकगीत खोजे ।
यस समयसम्म सत्यार्थीको नाम चारैतिर पुगिसकेको थियो र सम्मान प्राप्त गरिसकेका थिए । साथै उर्दु र पञ्जाबीका नाम चलेका लेखकहरूको पङ्क्तिमा उभिइसकेका थिए ।
पञ्जाबी र उर्दुमा किताब छापिएपछि व्यापक चर्चा पाएको हुँदा महात्मा गान्धी मात्र होइन राजगोपालचारी र सरोजिनी नायडुसँग पनि सत्यार्थीको हिमचिम भयो । मन्टो, अब्दुल रहमान चुगताई, धनीराम चातृक लगायतले उनको प्रशंसा गर्दै माया गर्न थालेका थिए । सन् १९३६ मा घर फर्किएर सपरिवार यात्रा गर्दै अमृतसरमा पुगी धनीराम चातृकको पाहुना बनेर बसे । फेरि पत्नी र कवितालाई घरमा पु¥याएर यात्रामा निस्किए ।
फैजपुरबाट सन् १९३७ मा मुम्बईमा आएर के.एम. मुन्सीको निवासमा बसे, जहाँ पीईएनको तर्फबाट लोकगीतको एउटा कार्यक्रममा सत्यार्थीको सम्मान गरियो ।
सन् १९३८ मा रायपुरबाट अल्मोडा, आगरा, मथुरा, कलकत्ता, राँची र शान्तिनिकेतनको यात्रा गरे ।
पत्नी र कविताको साथमा लङ्का यात्रा गरी सन् १९४० को डिसेम्बरमा लाहौर आएर सन् १९४५ सम्म बसे ।
सत्यार्थीले गरेको लोकयात्रामा अभाव र मनमौजीपनको गजबको संयोग छ । ठूलोभन्दा ठूलो समस्याले पनि उनको अलमस्तपन र सदाबहार हँसिलो व्यवहारमा कुनै असर पार्दैनथ्यो । अग्लो कद, लामो कपाल, लामो दारीमा सत्यार्थी भव्य देखिन्थे र अरूभन्दा पृथक् जसले पनि सहजै चिन्न सक्ने व्यक्तित्वका धनी ।
सत्यार्थीले आफ्नो लोकगीत यात्रामा अनेकौँ रङ र भावनाको गीत सङ्ग्रह गरे । तीमध्ये एउटा अन्धा भिखारीले गाएको गीत, जसमा देशको पराधीनता र अङ्ग्रेजी शासनको वर्णन छ– यो गीतको पहिचान एकदम पृथक् छ ।
सत्यार्थी जब सबभन्दा पहिलो पटक घरबाट भागेका थिए, रेलगाडीमा एउटा अन्धो भिखारीले गाएको गीत उनले आफ्नो डायरीमा लेखेका थिए जसमा तत्कालीन भारतको यथार्थ छ ।
भारतीय लोकवार्ताका देवेन्द्र सत्यार्थी पैदल यात्रा गर्थे । सस्तोभन्दा सस्तो सामान्य क्लासको रेलयात्रा गर्थे । भारतको धेरैजसो गाउँ र सहरमा पुगिसकेका थिए । भनाइ छ, सत्यार्थी लोकगीतको सौन्दर्य टाढैबाट थाहा पाउँथे । धेरै ठाउँको भाषा उनलाई थाहा थिएन । उनले भनेको कतिपयले बुझ्दैनथे । लोकगीतका पारखी सत्यार्थीलाई भाषाले कुनै असजिलो कहिल्यै पारेन । उनले जीवन बडो मजा र सहज रूपमा बिताएको हुँदा आज भारतीय लोकवार्ता धनी छ, गौरव गर्न लायक छ ।
यसरी दत्तचित्त भई साधनामा लीन हुने व्यक्ति राष्ट्रको सम्पत्ति हो । यस्ता साधकलाई घरपरिवार, अभावले उद्देश्यबाट विचलित बनाउन सक्दैन । यस्ता साधकले लोकको प्रेम पाउँछ । आफू जन्मेको राष्ट्रको नाम सार्थक पार्छ । á
(लेखक साहित्यकार हुनुहुन्छ ।)