विचार/दृष्टिकोण |

गहन छ सांस्कृतिक पर्यटन

 

यमबहादुर दुरा
दुनियाँको मिजास पहिचान गर्ने सबैभन्दा भरपर्दो माध्यम घुमघामलाई नै मानिँदै आएको छ । धर्मशास्त्री सेन्ट अगस्टिनको युगौँ पुरानो कथन उद्धरणीय हुन आउँछ । उनले भनेका छन्, ‘संसार पुस्तक हो । दुनियाँको घुमघाम नगर्नेहरूले संसाररूपी पुस्तकको एउटा पानामात्र पढ्छन् ।’ सेन्ट अगस्टिनको भनाइले भ्रमणको महत्वलाई प्रष्ट पार्छ । ज्ञान र अनुभव आर्जनका लागि भ्रमणको अतुलनीय महत्व छ । भ्रमणशील व्यक्तिहरूले संसारलाई नजिकबाट चियाउने सुनौलो अवसर पाउँछन् । पर्यटनसम्बन्धी विश्वसंस्था ‘वल्र्ड टुरिजम अर्गानाइजेस’ का अनुसार अवस्था सामान्य रहँदा हरेक वर्ष अन्तर्राष्ट्रिय पर्यटकको सङ्ख्या बढेको देखिन्छ ।
उद्देश्य र प्रयोजनका दृष्टिले भ्रमण (पर्यटनकर्म) का अनेकन् स्वरूप छन् । तीमध्ये एक हो, सांस्कृतिक पर्यटन । यो आपैmँमा बृहत्तर अवधारणा हो । यसमा सम्बन्धित गन्तव्यको जीवनशैली, भूगोल, इतिहास, पूरातत्व, वास्तुकला, धर्म, मूर्त एवं अमूर्त कलालगायत सबै सांस्कृतिक आयाम समेटिन पुग्छन् ।
‘वल्र्ड टुरिजम अर्गानाइजेस’ को आँकडाअनुसार विश्वमा सांस्कृतिक पर्यटनले ३७ प्रतिशत हिस्सा ओगटेको छ । नेपालको सन्दर्भमा सांस्कृतिक पर्यटनले कति ठूलो हिस्सा ओगटेको छ भन्नेबारे यकिन आँकडा भेटिँदैन । यद्यपि, नेपाल सांस्कृतिक पर्यटनका दृष्टिले सम्भावनायुक्त देश रहँदै आएको छ ।
प्राचीनकालमा विदेशी तीर्थयात्रीहरूले गरेका वर्णनले यहाँको सांस्कृतिक पर्यटनको महत्त्व युगौँ अघि नै उजागर भइसकेको छ । प्राकृतिक तथा सांस्कृतिक सम्पदाको धरोहर मानिने नेपाल ऋषिमुनिहरूको तपोभूमिको रूपमा चित्रण हुँदै आएको छ । यससँगै यहाँको विविधतापूर्ण भूगोल, सांस्कृतिक विविधता, जैविक विविधता, पूरातात्विक तथा धार्मिक महत्वका स्थलहरूको प्रचुरताले सांस्कृतिक पर्यटनका लागि नेपाल उपयुक्त गन्तव्यको रूपमा दरिंदै आएको छ ।
धार्मिक तथा आध्यात्मिक भ्रमण (तीर्थयात्रा) का क्रममा छिमेकी मुलुकबाट पर्यटकहरू हरेक वर्ष नेपाल भित्रिने परिपाटी एउटा स्थापित सांस्कृतिक तथा पर्यटकीय परम्परा हो । यसलाई सांस्कृतिक पर्यटनको एउटा हाँगाको रूपमा लिन सकिन्छ । नेपालमा २०५० को दशकमा शुरु भएको ‘होमस्टे’ लाई एक अर्थमा सांस्कृतिक पर्यटनकै एक हिस्सा मान्न सकिन्छ । अबको सवाल भनेको विद्यमान सांस्कृतिक पर्यटनमा नयाँ आयाम थप्दै यसलाई कसरी व्यवस्थित र फलदायी बनाउने भन्ने हो ।
नेपाल सरकारले तयार पारेको ‘पर्यटन नीति, २०६५’ ले सांस्कृतिक पर्यटनलाई समेटेको छ । सरकारद्वारा जारी पर्यटन नीतिमा पर्यटनका किसिमबारे चर्चा गर्ने क्रममा बुँदा नं. ६ मा विभिन्न जातजातिका मौलिक संस्कृतिलाई समेटी सांस्कृतिक पर्यटनसम्बन्धी क्रियाकलाप सञ्चालनमा स्थानीय निकाय (तह) र जनसमुदायलाई प्रोत्साहन गरिने उल्लेख छ ।
‘पर्यटन नीति, २०६५’ को उद्देश्यमा सांस्कृतिक पर्यटनलाई प्रष्ट सङ्केत नगरिए पनि त्यसमा सांस्कृतिक पर्यटनको छनक पाइन्छ । त्यसको बुँदा (ख) मा भनिएको छ, ‘देशका मूर्त–अमूर्त प्राकृतिक, सांस्कृतिक, जैविक तथा मानव निर्मित सम्पदाको खोज, संरक्षण, संवद्र्धन एवं विकास गरी नेपाललाई पर्यटकीय दृष्टिले आकर्षक र प्रमुख गन्तव्य स्थलका रूपमा विकास गर्ने ।’
सांस्कृतिक पर्यटन आपैmँमा गहन अवधारणा भएकाले यसका लागि सोहीअनुसारका आवश्यकता पूरा गर्नुपर्ने हुन्छ । यसले सांस्कृतिक पक्षसँग जोडिएका पूर्वाधारको जोडदार माग गर्छ । यसका लागि नीतिगत स्पष्टता र सही कार्यान्वयन अपरिहार्य हुन्छ । यस दिशामा सरकार र पर्यटन व्यवसायीको अर्जुनदृष्टि आवश्यक छ । अन्य पर्यटकजस्तै सांस्कृतिक पर्यटकका लागि पनि सम्बन्धित गन्तव्यमा पुग्नका लागि यातायातको सुविधा, सुविधाजनक आवास तथा भोजनको व्यवस्था, अन्तरसांस्कृतिक सहिष्णुता, पर्यटकमैत्री व्यावहार, आधुनिक सञ्चार आदि अत्यावश्यक हुन्छ । साथै, सम्बन्धित क्षेत्रको इतिहास र संस्कृतिको ज्ञान भएका पथप्रदर्शक तयार पार्न पनि उत्तिकै आवश्यक पर्छन् । यसैगरी, मौलिक पहिचान भएका गाउँबस्तीको पहिचान जोगाउने र पर्यटकमैत्री बनाउन आवश्यक छ । ऐतिहासिक महत्त्वका स्थल, गढी, स्मारक, धार्मिक स्थलजस्ता सांस्कृतिक सम्पदाहरूको संरक्षण, संवद्र्धन र अभिलेखनको खाँचो छ । यसैगरी, लुकेर रहेका तर पर्याप्त पर्यटकीय महत्व बोकेका ठाउँहरूको खोजी गरी तथ्यपूर्ण विवरण तयार पार्ने काम पनि उत्तिकै आवश्यक छ ।
यस्ता पर्यटकीय महत्वका थलोमा पुग्नका लागि पहुँचमार्ग (पदमार्ग) निर्माण गर्ने तथा ब्रोसरलगायतका तथ्यपरक प्रचार सामग्री हुन्छ । यसका अतिरिक्त स्थानीय जीवनशैली झल्कने सङ्ग्रहालय बनाउने काम पनि आवश्यक छ । यस्ता काम चुड्कीको भरमा सम्पन्न हुँदैन । यसका लागि सुव्यवस्थित योजना, स्रोत–साधनको व्यवस्था तथा साझेदार निकायबीच हातेमालोको खाँचो पर्छ । सामान्यतया सांस्कृतिक पर्यटक मौलिक संस्कृतिका भोका हुन्छन् । उनीहरूका लागि ‘म्याकडोनाल्ड’ शैलीका ‘फास्टफुड’ र ‘डिज्नेल्याण्ड’ शैलीका विकास अपाच्य हुन सक्छन् । यसका सट्टामा उनीहरू परम्परागत जीवनशैली र अग्र्यानिक खाद्यपरिकार (लाइभ फुड) मा बढी रमाउँछन् । आजकल, सबैतिर आधुनिक विकासको बाघपञ्जा पैmलिएको अवस्थामा मौलिक जीवनशैली कायम राख्न धेरै कठिन भइसकेको छ । अझ विकासको नाममा कुनै सोच–विचार विना नै कार्यान्वयनमा ल्याइएका अर्थहीन विकास परियोजनाहरूले सांस्कृतिक जीवनमा थप बर्बादी निम्त्याएको छ । शायद, सांस्कृतिक पर्यटनको सबैभन्दा ठूलो चुनौती यही हो ।
सांस्कृतिक पर्यटनका लागि स्थानीयपन अपरिहार्य सर्त हो । स्थानीयपनमा मौलिक संस्कृतिको मर्म लुकेको हुन्छ, जसमा स्थानीय समुदायको पहिचानका सूत्रहरू भेटिन्छन् । सबैतिर एकै किसिमको चालचलन र खानपान अस्तित्वमा रहने हो भने पर्यटकहरू देशका विभिन्न कुनाकन्दरामा डुलेर समय र धन खर्च गर्नुको खासै औचित्य रहँदैन ।
स्थानीय जनजीवनमा पाइने पृथक्पनको रसास्वादनका लागि पर्यटकहरू बेग्लाबेग्लै गाउँठाउँ डुलेर पैसा खर्च गरुन् भन्नका लागि स्थानीयपन जोगाउन आवश्यक छ । स्थानीय उत्पादनहरूलाई बेग्लै ब्राण्डको रूपमा विकास गर्न आवश्यक छ । बहुराष्ट्रिय कम्पनीका उत्पादनहरू गाउँगाउँमा घुसेर दुनियाँको बानी बिगारेको अभिशप्त समयमा स्थानीय उत्पादनहरूलाई बेग्लै ब्राण्डको रूपमा विकास गर्नु अर्को भयानक चुनौती हुन गएको छ ।
स्थानीयपन जोगाउनका लागि परम्परागत ज्ञान तथा लोकविधिविज्ञान (इथ्नोमेथडोलजी) मा आधारित हस्तकला, पाककला तथा अन्य स्थानीय सीपहरू जोगाइराख्नु अपरिहार्य छ । सँगसँगै ‘डेक संस्कृति’ लाई विस्थापन गर्दै स्थानीय गीत र नाचलाई प्राथमिकता दिनुपर्ने हुन्छ । स्थानीयपन झल्कने प्रहसन तथा लोककथा वाचनलाई उच्च स्थान नदिई हुन्न । सांस्कृतिक मिथकहरूलाई खोजीखोजी अभिलेखीकरण गर्नुपर्छ ।
नयाँ पुस्तालाई यस्ता बहुमूल्य सांस्कृतिक सम्पदातिर अभिमुखीकरण गर्नु अत्यावश्यक छ । टेलिसंस्कृतिले युवापुस्तालाई अर्कै गोरेटोतिर डो¥्याइरहेको अवस्थामा उनीहरूलाई परम्परागत जीवनशैलीतिर फर्काउनु फलामको च्युरा चपाउनुसरह हुनसक्छ । यस किसिमको जटिल ‘कोर्स करेक्सन’ का लागि एकल प्रयास अपर्याप्त हुन्छ, जनस्तर र सरकारबीच व्यापक समन्वय र सहकार्य अत्यावश्यक हुन्छ । सही किसिमले व्यवस्थापन गर्न सकिएमा सांस्कृतिक पर्यटन समाज र संस्कृतिका लागि धेरै अर्थमा हितकर मानिन्छ । सांस्कृतिक पर्यटनमा निस्कनेहरूमा मूलतः अध्येता, शोधकर्ता, लेखक, आध्यात्मिक गुरु, पुरातत्वविद, विद्यार्थी र संस्कतिमा रुचि राख्ने जो–कोही पनि हुन सक्छन् । यस किसिमको पर्यटनकर्म अध्ययन–अनुसन्धानका दृष्टिले पनि फलदायी हुनसक्छ । यसबाट ज्ञान निर्माणमा सहयोग पुग्छ ।
भ्रमण सकेर फर्किएपछि सिर्जनशील पर्यटकहरूद्वारा भ्रमण गरिएका स्थानबारे पुस्तक लेखिन सक्छन्, रसिलो यात्रा–संस्मरण कोरलिन सक्छन् एवं वृत्तचित्र निर्माण हुन सक्छन् । शोधपत्रहरू तयार पारिन सक्छन् । यस्ता प्रकाशनजन्य प्राज्ञिक गतिविधिबाट स्थानीय सांस्कृतिक सम्पदाको यश र कृति दुनियाँको फराकिलो घेरासम्म पुग्नसक्छ, जुन संस्कृति प्रवद्र्धनको एउटा सुन्दर उपाय हो ।
नेदरल्याण्ड्सस्थित टिलबर्ग विश्वविद्यालयका प्राध्यापक ग्रेस रिचर्डस्ले आपूmद्वारा सम्पादित पुस्तक ‘कल्चरल टुरिजम् ः ग्लोबल एण्ड लोकर पस्र्पेक्टिभ्स्’ (सन् २००७) मा सांस्कृतिक पर्यटनले संस्कृति संरक्षण श्रीवृद्धि गर्न सघाउने विचार अघि सारेका छन् । उनले सांस्कृतिक पर्यटनलाई गुणस्तरीय पर्यटन मानेका छन् ।
संयुक्त राष्ट्रसङ्घीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले सांस्कृतिक पर्यटनलाई विश्वसम्पदा जोगाउने उपाय मानेको छ । युरोपेली आयोगले सांस्कृतिक पर्यटनलाई महत्वपूर्ण उद्योगको दर्जा दिएको छ । यी दुई संस्थाले सांस्कृतिक पर्यटनबारे गरेको ठहर मननीय छ । 
(लेखक पत्रकारिता प्राध्यापन गर्नुहुन्छ ।)