किर्गिस्तानमा राजनीतिक सङ्कट
रामप्रसाद आचार्य
मध्य एसियाली मुलुक किर्गिस्तानमा राजनीतिक अन्योल बढेको छ । विपक्षीको विरोध सामना गर्न नसकेपछि त्यहाँका प्रधानमन्त्री कुबाटबेक बोरोनोभले राजीनामा दिनुभएको छ । हालै सम्पन्न संसदीय निर्वाचनसँगै विरोध प्रदर्शन उग्र भएपछि प्रधानमन्त्री बोरोनोभले राजीनामा
दिनुभएको हो ।
विपक्षी प्रदर्शनकारीले जेलमुक्त गराएका सदिर जापारोभ नयाँ प्रधानमन्त्री नियुक्त हुनुभएको छ । प्रधानमन्त्री बोरोनोभले राजीनामा गर्नुअघि प्रदर्शनकारीले संसद् भवन नियन्त्रणमा लिएका थिए । प्रदर्शनकारीको दबाबमा त्यहाँको निर्वाचन आयोगले गएको आइतबार घोषणा गरिएको संसदीय निर्वाचनको नतिजा रद्द गर्न बाध्य भएको छ ।
निर्वाचन नतिजामा राष्ट्रपति सुरोन्बाई जिन्बेकोभले गठबन्धन गर्नुभएको दलले अधिकांश सिट जितेको घोषणा गरिएको थियो । निर्वाचनमा १६ वटा राजनीतिक दलले भाग लिएकोमा चार राजनीतिक दलले मात्रै निर्धारित थ्रेसहोल्ड कटाएका थिए । जसमध्ये तीन राजनीतिक दल राष्ट्रपति जिन्बेकोभ नजिकका थिए । उहाँमाथि पनि राजीनामा गर्न दबाब बढेको छ । तर पनि राष्ट्रपति जिन्बेकोभ अझै सत्तामा हुनुहुन्छ । मुलुकको सङ्कट समाधान गर्न उहाँले आफू राजीनामा गर्न तयार रहेको बताउनुभएको छ ।
एकजना क्षेत्रीय गभर्नरलाई बन्धक बनाएको आरोपमा ११ वर्षको कारागार सजायँमा रहेका जापारोभसहितका दर्जनौँ कैदीलाई प्रदर्शनकारीले सरकारी भवन तथा कारागार नियन्त्रणमा लिएर कैदमुक्त गरेका थिए । यसरी मुक्त हुनेमा भ्रष्टाचार अभियोगमा ११ वर्षको कैद सजायमा रहेका पूर्वराष्ट्रपति अल्माज्बेक अताम्बाएभ
पनि हुनुहुन्छ । विपक्षी प्रदर्शनकारीहरूले सम्पन्न निर्वाचनमा धाँधली भएको र नयाँ चुनाव गराउनुपर्ने माग गरेका छन् ।
प्रदर्शनकारीसामु टिक्न नसकेर राजीनामा गर्नुभएका प्रधानमन्त्री र राजीनामा गर्ने मनस्थिति बनाउनुभएका राष्ट्रपतिको सुरक्षामाथि एकातिर चुनौती थपिएको छ भने अर्कातिर अब मुलुक कता जाने हो भन्ने अन्योल
बढेको छ । यो मुलुकमा लामो समयदेखि सत्ताको मात्र खेल भयो । जसरी पनि सत्तामा जाने र कमाउने सोच नेताहरूले बनाए । प्रमुख राजनीतिक दलहरूबीच न्यूनतम राष्ट्रिय सहमति हुन सकेन । एकले अर्कालाई पछार्ने र सत्तामा गएर एकलौटी गर्ने कार्यले मुलुक पछाडि प¥यो । जनजीविकाका समस्या समाधान भएनन् । बारम्बारको राजनीतिक अन्योल र अस्थिरताले विकास निर्माणले गति लिन सकेन । नेताहरू बदनाम भए । सत्तामा गएर कमाउने सोच बनाएपछि नेताहरू भ्रष्टाचारमा मुछिए । जनतालाई कुन पार्टी, कुन नेता ठीक भनी छुट्याउन गाह्रो भयो । जसले गर्दा मुलुक सङ्कटको दलदलमा फसिरह्यो ।
किर्गिस्तान आठौँ शताब्दीमा अस्तित्वमा आएको सानो मुलुक हो । अरबीहरूले कब्जा जमाई बसोवास सुरु गरेपछि त्यहाँ मुसलमानहरूको आधिपत्य बढ्दै गयो । सन् १६८५ मा यो मुलुक टर्कीको अधीनमा गयो । सन् १७५८ मा टर्कीलाई पराजित गरेपछि किर्गिस्तान चीनको अधीनमा पुग्यो । सन् १८७६ मा रूसी सेनाले यो मुलुकलाई आफ्नो कब्जामा लियो ।
रूसमा अक्टोबर क्रान्तिपछि किर्गिस्तानमा सुधारको अभियान चलाइयो । रूसी गणराज्य बनेको यो मुलुकमा रूसमा कम्युनिस्ट शासन कायम रहँदासम्म केही प्रगति पनि भयो । सोभियत सङ्घ विघटन भयो र यसका १५ गणराज्य स्वतन्त्र भए । यहीक्रममा किर्गिस्तान पनि सन् १९९१ मा रूसबाट स्वतन्त्र भयोे । अस्कर अकाएभ नयाँ राष्ट्रपति बन्नुभयो । सन् १९९२ मा यो मुलुक संयुक्त राष्ट्रसङ्घमा आबद्ध भयो । सन् १९९३ देखि रुबलको सट्टा नयाँ मुद्रा सोम प्रचलनमा ल्याइयो ।
सन् १९९५ मा अकाएभ पुनः राष्ट्रपतिमा निर्वाचित हुनुभयो । सन् १९९६ मा संविधान संशोधन गरी राष्ट्रपतिलाई अधिकार बढाइयो । मुलुकमा सुधारका कोही कार्यक्रम ल्याइयो । सन् २००० मा पनि अकाएभ अर्को कार्यकालका लागि निर्वाचित हुनुभयो । सन् २००२ मा चीनसँगको सीमा विवाद समाधान भयो । तर, त्यही वर्षको अन्त्यतिर राष्ट्रपतिको राजीनामा माग्दै हिंसात्मक प्रदर्र्शन सुरु भयो । सन् २००३ को फेबु्रअरीमा संविधान संशोधन गर्न जनमतसङ्ग्रह भयो । राष्ट्रपतिको केही अधिकार संसद्लाई दिने सहमति गरियो । त्यही वर्ष एकातिर अमेरिकी हवाई अखडा र अर्कोतिर रूसी हवाई अखडा राख्न दिने सहमति पनि भयो । यो सहमतिसँगसँगै विवाद पनि सुरु भयो । सन् २००५ को निर्वाचनमा स्वतन्त्र र विपक्षी उम्मेदवारले चुनाव लड्न पाएनन्, जसले गर्दा विवाद चर्कियो । राष्ट्रपति अकाएभविरुद्ध हिंसात्मक प्रदर्शन भयो । प्रदर्शन रोक्न असफल भएपछि उहाँ भागेर रूस जानुभयो । विपक्षी नेता कुर्मानवेक बकियाभलाई कार्यवाहक राष्ट्रपति बनाइयो ।
त्यस वर्ष गरिएको राष्ट्रपति निर्वाचनमा बकिएभ पूर्ण बहुमतसहित राष्ट्रपति निर्वाचित हुनुभयो । सन् २००६ मा नयाँ संविधान जारी गरी राष्ट्रपतिको अधिकार कटौती गरियो र संसद्को अधिकार बढाइयो । राष्ट्रपति र संसद्बीच शक्ति सङ्घर्ष सुरु भयो । राष्ट्रपतिले सन् २००७ मा संसद् विघटन गरी नयाँ चुनाव घोषणा गर्नुभयो । सन् २००९ मा भएको राष्ट्रपति निर्वाचन पनि बकिएभले जित्नुभयो । तर, विपक्षीहरूले चुनावी परिणाम अस्वीकार गर्दै हिंसात्मक प्रदर्शन गरे । हिंसा नरोकिएपछि सन् २०१० को मेमा बकिएभले राजीनामा दिनुभयो । त्यसपछि रोजा ओटन्वाएवा अन्तरिम राष्ट्रपति बन्नुभयो । त्यसै वर्ष किर्गिज र उज्वेक आदिवासीबीच चरम विवाद भयो । दुवै पक्षबीच भिडन्त हुँदा दुई सयभन्दा बढीको ज्यान गयो । हजारौँ विस्थापित भए ।
सन् २०११ को अक्टोबरमा प्रधानमन्त्री अल्माज्बेक अताम्बाएभले राष्ट्रपति चुनाव जित्नुभयो । उहाँ राष्ट्रपति बनेपछि राजनीतिक सहमति हुने अपेक्षा गरिएकोमा त्यसो हुन सकेन । राजनीतिक खिचातानी जारी रह्यो । तैपनि उहाँले कार्यकाल पूरा गर्नुभयो । पछि उहाँ भ्रष्टाचार मुद्दामा जेल पर्नुभयो । सन् २०१४ मा त्यहाँबाट अमेरिकी हवाई अखडा हट्यो तर रूसी हवाई अखडा यथावत् छ । सन् २०१७ को अक्टोबरमा राष्ट्रपति निर्वाचन भयो । अताम्बाएभले चुनाव हार्नुभयो । निर्वाचनमा सुरोन्वाई जिन्बेकोभ राष्ट्रपति निर्वाचित हुनुभयो । उहाँले राष्ट्रिय सहमतिका लागि प्रयास गर्नुभयो । राजनीतिक सहमतिका लागि विभिन्न योजना अगाडि सार्नुभयो । तर पनि सत्ता पक्ष र प्रतिपक्षबीच सहमतिको वातावरण बन्न सकेन ।
हालै सम्पन्न संसदीय निर्वाचन विवादको मूल कारण बनेको छ । विपक्षीहरूले संसद् कब्जा गरेका छन् । प्रधानमन्त्रीले राजीनामा दिइसकेको अवस्था छ । राष्ट्रपति पनि राजीनामा गर्ने पक्षमा हुनुहुन्छ । यस्तो अवस्थामा त्यहाँ राष्ट्रिय मेलमिलाप गरी सहमतिमा नयाँ निर्वाचन गराई मुलुकलाई निकास दिनु आवश्यक छ । कानुन हातामा लिने, संसद् कब्जा गर्ने प्रवृत्तिले राजनीतिक समस्या समाधान हुन सक्दैन । किर्गिस्तान मुस्लिम बाहुल्य मुलुक हो । लामो समयसम्म टर्कीको उपनिवेश बनेकाले यहाँ टर्किज मुस्लिम जाति बढी छन् भने अल्पसङ्ख्यक इसाई । एक लाख ९९ हजार नौ सय वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको, ६२ लाख जनसङ्ख्या रहेको योे मुलुकमा सीमित मात्रामा तेल, ग्यास र सुनखानी छ । गरिबी र जातीय तथा राजनीतिक विभाजन यहाँको मुख्य समस्या हो ।
(लेखक गोरखापत्रका नायब कार्यकारी सम्पादक हुनुहुन्छ ।)