सवारीमा पनि अङ्ग्रेजी
डा. धनपति कोइराला
विश्वका कैयौँ देशहरू यस्ता छन्, जुन राष्ट्रभाषाकै सर्वाङ्गीण विकास गर्नमा दत्तचित्त रहिरहेछन् । आधारभूत तहदेखि महाविद्यावारिधिसम्मका सम्पूर्ण शैक्षणिक कार्यकलाप राष्ट्रभाषामा नै सम्पादन गरिन्छन् । अङ्ग्रेजीबाहेकका सम्पूर्ण विषयका पाठ्यपुस्तकहरू राष्ट्रभाषामा नै लेखिन्छन् । बोलीचालीदेखि सम्पूर्ण कार्यालयीय व्यवहार पनि राष्ट्रभाषाबाटै सम्पादन भइरहेको हुन्छ । वस्तुको विज्ञापनदेखि र फलानो चीजको पसल भन्ने जानकारीका निम्ति राखिने पाटी र कार्यालयीय प्रयोजनका निम्ति राखिने अभिलेखीकरणहरू पनि राष्ट्रभाषामै राखिन्छन् । चाहे त्यो यातायातका साधनहरूमा राखिने सूचकाङ्कहरू हुन् चाहे आफ्नो देशभित्र किनबेच गरिने वस्तु आदि–इत्यादिका खोलहरूमा नै किन नहोस्– स्वराष्ट्रभाषाकै उपयोग हुने गरेको देखिन्छ । सर्वसाधारण जनता पनि स्वभाषा र मातृभाषाका जानकार हुन्छन् र आफ्नो भाषाप्रति पनि उत्तिकै लगाव राख्छन् । उनीहरूमा आफ्नो देशीय भाषा भनेपछि हुरुक्क हुने प्रवृत्ति देखिन्छ ।
यदि दोस्रो, तेस्रो मुलुकहरूमा निर्यात गरिने वस्तु, पदार्थ आदि–इत्यादि भएमा मात्र अन्तर्राष्ट्रि««य भाषा उपयोग गरिन्छ । त्यहाँ पर्यटन क्षेत्रमा काम गर्ने, अन्तर्राष्ट्रिय सम्पर्क र सम्बन्ध विस्तार गर्ने निकायदेखि कूटनीतिक क्षेत्रमा कार्य गर्न रुचि राख्नेले मात्र अङ्ग्रेजीको अध्ययन गर्छन् । अन्यथा सबै व्यवहार स्वराष्ट्रभाषाकै माध्यमबाट सम्पादन हुने गर्छन् । त्यसैले त्यहाँका नागरिकमा राष्ट्रिय चेतना र भावना सबलमात्र नभई, राष्ट्र र राष्ट्रिय भाषाहरू समृद्ध बन्न गएका छन् । उदाहरण चीनको राष्ट्रभाषा र जापानको राष्ट्रभाषा हेरे पुग्छ ।
यी देशले भाषिक, सामाजिक, साँस्कृतिक आदि दृष्टिले मात्र नभई, औद्योगिक तथा व्यावसायिक क्षेत्रमा समेत उल्लेख्य प्रगति हासिल गरेका छन् । उनीहरूले सञ्चार र सञ्जालका क्षेत्रमा गरेको क्रान्ति विश्वका निम्ति अनुकरणीय बन्दै आएको पनि छ । आर्थिक तथा गार्हस्थ उत्पादकत्वका आधारमा समेत उनीहरू अगुवा नै देखिँदै आएका छन् । त्यहाँका नागरिकदेखि नेतृत्वपङ्तिमा समेत स्वाभिमान र स्वत्वबोध झन् कति अनुकरणीय छ । कम बोल्ने, बढी काम गरेर देखाउने, काम गरिसकेपछि मात्र जानकारी दिने, अनावश्यक नबोल्ने, जति बोल्नु अपेक्षित छ, त्यतिमात्र बोल्ने, बोलीमा भन्दा काममा विश्वास गर्ने प्रवृत्ति झन् अझ उन्नत सोच लाग्छ । यो मातृभाषा र मातृभाषाजन्य संस्कारले जन्माएको हो । यी सारा शक्ति र ताकतको स्रोत हो– स्वराष्ट्रभाषा र यसको सुगन्ध । यसैले उनीहरूभित्र खँदिलो अस्तित्व र ऐश्वर्य प्रदान गरेको देखिन्छ ।
तर, हाम्रा सन्दर्भमा अन्तर्राष्ट्रिय भाषा ग्रहण गर्ने निहुँमा राष्ट्रभाषामाथि कुठाराघात गरिरहेको परिस्थिति छ । यसबाट राष्ट्रभाषामात्र नभई, तमाम मातृभाषा र क्षेत्रीय भाषाहरू पनि चितामा पुगिरहेछन् । कतिपय भाषाहरू मृतप्रायः अवस्थामा पुगिरहेछन् ।
कारण हो– अङ्ग्रेजी भाषाप्रतिको अतिशय मोह । यसले राष्ट्रिय चेतना र भावना कमजोर त बनिरहेछ नै सारा शक्ति र स्रोतहरू नै खडेरी परेका बेलाको खोलाजस्तै बन्दै गइरहेछन् । हामीकहाँ पनि अङ्ग्रेजी अन्तर्राष्ट्रिय सम्पर्क र सम्बन्ध विस्तारका साथै अङ्ग्रेजी भाषामा लिखित ज्ञान ग्रहण गर्नका निम्ति सिकिनुपर्ने हो तर त्यसको ठीक उल्टो भइरहेछ यहाँ । सम्पूर्ण शैक्षिक योग्यता हासिल गर्ने यो माध्यम बनिरहेछ । नेपाली विषयबाहेकका सबै विषय शिक्षणमा अङ्ग्रेजी नै उपयोग भइरहेछ । पूर्वआधारभूत तहदेखि माथिल्लो तहसम्मका शैक्षणिक पाठ्यपुस्तक र सामग्रीहरू पनि अङ्ग्रेजीमा नै हुनु सामान्य बनिरहेछ हामीकहाँ ।
विज्ञान, लेखाशास्त्र आदि विषयहरूको पठनपाठनका निम्ति लेखिने पाठ्यपुस्तक नेपालीमा पाइन्नन्, सारा अङ्ग्रेजीमा मात्रै लेखिन्छन् । स्नातक तहका नेपाली विषयबाहेकका प्रायः सबैजसो कक्षाहरूको सिकाइ माध्यम र परीक्षाका माध्यम भाषा नै अङ्ग्रेजीमात्रै बन्ने गरेको छ अहिले । लब्धाङ्कपत्र र प्रमाणपत्र आदि–इत्यादिसमेत अङ्ग्रेजीमा नै लिनु र दिनुलाई गौरवका रूपमा हेरिने गरेको छ । यहाँसम्म कि संस्थागत प्रणालीअनुरूप खोलिएका विद्यालय र महाविद्यालयहरूको नाउँ पनि अङ्ग्रेजीमा राख्नु र त्यहाँ पढ्नु पढाउनुलाई समेत गौरवका रूपमा हेर्ने गरिएको छ ।
बैङ्कका सेवाग्राहीहरू प्रायः नेपाली पनि बडा मुस्किलले चिन्ने र लेख्ने गर्छन् । तर दुर्भाग्य, त्यहाँका भौचरदेखि चेक आदि–इत्यादि सबै अङ्ग्रेजीमा । त्यसको के अर्थ हुन्छ ? जब कि बैङ्कका सेवाग्राहीहरू न त्यस्ता कोही विदेशी हुन्छन् न त अङ्ग्रेजीमात्र जान्ने नेपालीमात्र हुन्छन् । यस्तोमा बैङ्कहरूको अङ्ग्रेजीमोह स्वाभिमान, स्वराष्ट्रिय ज्ञान र चेतनाका निम्ति दुर्भाग्यपूर्ण लाग्छ । यतिमात्र होइन कि अहिले विभिन्न पसलहरूका नाउँ र विज्ञापनहरू हेर्ने हो भने प्रायः अङ्ग्रेजीमा भाषामा लेखिएका भेटिन्छन् ।
विभिन्न उत्पादनहरू हेर्ने हो भने पनि तिनका नाउँ पनि राखिएका भेटिन्छन् अङ्ग्रेजीमा नै । अङ्ग्रेजीमा नाउँ राख्नेबित्तिकै उत्कृष्ट रुचिकर र सुग्राह्य बनिहाल्ने र नेपालीमा राख्नेबित्तिकै निम्नत्तर, अरूचिकर र अग्राह्य पनि हुने सोचाइ बन्दै गइरहेछ यहाँ । अङ्ग्रेजीमा पढिए त्यो गुणस्तरीय शिक्षा, पुस्तकहरू पनि गुणस्तरीय नै बन्ने, हरेक विषयहरू पनि उत्कृष्ट नै हुने र नेपालीमा पढिए र पढाइए त्यो अनुत्पादक र अनुत्कृष्ट बन्ने सोच र चिन्तन हामीलाई अङ्ग्रेजीले दियो । हुँदाहुँदा छोराछोरीका नाउँ, उनीहरूलाई गरिने सम्बोधनहरू पनि अङ्ग्रेजी हुँदा प्रियकर, निकटतम बन्ने हुनु स्वाभिमान, स्वजातीय संस्कार, संस्कृति र स्वत्वबोधका हिसाबले अत्यन्त दुःखद र विडम्बनापूर्ण छ ।
सरकारले कम्तीमा पनि नेपाली भाषालाई मान्यता दिएकै थियो । अन्य भाषाहरूलाई पनि राष्ट्रभाषाको दर्जा दिएकै थियो । यस परिस्थितिमा अचानक सरकारले पनि किन र कसरी सवारीसाधनहरूको अभिलेखीकरण गर्ने, नाउँ राख्ने सूचकाङ्कजस्ता (इम्बोस्ड÷एम्बोस्ड) अभिलेखीकरण गर्नका निम्ति अङ्ग्रेजीमा नै लेख्नुपर्ने प्रावधान राख्यो ? यो हरेक दृष्टिले दुर्भाग्यपूर्ण लाग्छ । स्वभाषा, स्वसंस्कृति, स्वसंस्कार, स्वात्म चिन्तन, स्वाभिमानबोध, स्वत्वबोधजस्ता आन्तरिक गुणहीन रहेकाहरूमा अङ्ग्रेजीप्रतिको लगाव, झुकाव र समर्पण एउटा कालरात्रि सदृश हो । यसलाई टुलुटुल हेरिरहनु, कुनै प्रतिरोध गर्न नसक्नु र अन्तर्राष्ट्रिय भाषाको परिधि र सीमामा मात्र राखिरहन नसक्नु हाम्रोजस्तो भौतिक र आर्थिक दृष्टिले कमजोर राष्ट्रका निम्ति दुरुह लाग्ला । तर, चीन र जापानजस्ता देशहरू पनि हिजो जिरोबाटै उठेर माथि आइपुगेका हुन् । त्यो बेला उनीहरूले स्वभाषा र स्वसंस्कार र स्वात्मबोधी चिन्तनकै कारण माथि उठेका हुन् ।
यसर्थ, अङ्ग्रेजी भाषाको मोहले हामीलाई सभ्यता, संस्कृति, संस्कार, वित्त, भौतिक समृृद्धिको गन्तव्यमा कदापि पु¥याउन सक्दै सक्दैन । बरु आफ्नै भाषा, आफ्नै प्रकृति, प्राकृतिक स्रोत साधन, ऐतिहासिक, साँस्कृतिक, धार्मिक आदि सभ्यता र सम्पदाको उचित संयोजन र उपयोगबाट मात्रै हामी लक्ष्यमा पुग्न सक्छौँ । सरकारले इम्बोस्ड÷एम्बोस्ड नम्बरदेखि हरेक क्षेत्र र विषयमा अङ्ग्रेजीलाई महŒव दिने प्रवृत्ति नत्यागेसम्म हामी सम्पन्न र समृद्ध बन्ने होइन, झन्झन् दरिद्र र स्वत्वहीन बन्दै जानेछौँ । यसर्थ, अब सर्वसाधारण नागरिकदेखि देशका उच्च तह र राजनीतिक नेतृत्वले समेत नेपाली माटो, नेपालीपन, नेपाली भाषा, संस्कृति र प्रकृतिलाई उच्च महŒव दिनुपर्छ ।
(लेखक साहित्यकार हुनुहुन्छ ।)