विचार/दृष्टिकोण |

नेपाली भाषामाथि अत्याचार

ऋकेश भण्डारी

नेपालको जेठो पत्रिका गोरखापत्रले आफ्नो सम्पादकीयमा विद्यार्थीले अशुद्ध नेपाली भाषा पढ्न परेको विडम्बनापूर्ण तथ्य प्रकाशित गरेर सबैलाई फेरि एकपटक झकझकाइदिएको छ । नेपाल सरकारले छापेका अधिकांश पाठ्यपुस्तकमा भाषालाई विद्रुप बनाइएको छ । आदरणीय भाषाविद् एवम् कवि मुकुन्दशरण उपाध्याय र त्रिभुवन विश्वविद्यालय तथा प्रज्ञाप्रतिष्ठानबीच भाषिक मतभेद भएको सानै छँदा सुनेको थिएँ । त्यसबखत, भाषामा खासै चासो थिएन । गुरुहरूले जे पढाउनुहुन्थ्यो हामी त्यही नै पढ्थ्यौँ । अहिले पनि विश्वविद्यालय, प्रज्ञाप्रतिष्ठान र शिक्षा मन्त्रालयले जस्तो भाषिक व्याकरणमा पाठ्यपुस्तक छपाउँछन्, त्यही पढ्न विद्यार्र्थी बाध्य छन् । भाषा विज्ञानसम्मत् र व्यावहारिक बनाइएको छैन ।
भाषाविद् मुकुन्दशरण उपाध्यायले विक्रम संवत् २०३४ देखि भाषाका बारेमा कुरा उठाउँदै आउनुभएको छ । उहाँ सधैँ– इनी, तिनी, एस, तेस, शहर, शहीद, बीच, कानून, गरीब, हजूर आदि शब्दहरू नै शुद्ध हुन् र यस, त्यस, यिनी, सहर, सहिद आदि शब्दहरू अशुद्ध हुन् भनेर दृढ हुनुहुन्छ । उहाँ विभक्ति पनि सर्वनामबाहेक अन्त छुट्टै लेख्नुपर्छ भन्नुहुन्छ । उहाँ भगवान् बुद्धका धम्मपद, भानुभक्त, मोतीरामजस्ता ठूला कविहरूको लेखहरू र नेपालका जेठो पत्रिका ‘गोर्खापत्र’ले नै पहिला एस, तेस, इनी, तिनी र विभक्त छुट्याइएको देख्न सक्छौंँ भन्नुहुन्छ । २०३४ सालमा यो कुरा उठाउँदा उहाँ युवक हुनुहुन्थ्यो भने अहिले वृद्ध अवस्थामा हुँदा पनि उहाँले उठाउनुभएको हिज्जे÷व्याकरण सिद्धान्त अलिकति पनि परिवर्तन नभएको पाइन्छ । आज उहाँको भाषामा छापिएका धेरै किताब देखिन थालेका छन् । धेरै कवि, प्राध्यापकहरूले उहाँको भाषामा समर्थन गर्न थालिसकेको देखिन्छ । तर विश्वविद्यालय, शिक्षा मन्त्रालय, प्रज्ञाप्रतिष्ठानबाट निकालिएका पाठ्यपुस्तक र शब्दकोशमा धेरैपटक भाषा फेरबदल गरेको देखिन्छ । प्रज्ञाप्रतिष्ठान भने भाषा परिवर्तनशील हुन्छ भनेर श, ष जस्ता वर्णलाई विस्थापित गर्ने, आगन्तुक शब्दहरूलाई ह्रस्व बनाउने, श, षको ठाउँमा स लेख्नेजस्ता कार्य गर्न थालेको छ । पाँच कक्षामा पढ्दा लेखिएको शहर शब्द आठ कक्षामा पुग्दा सहर लेख्नु र विश्वविद्यालयमा पढिने नेपाली भाषामा भिन्नता हुँदा मजस्ता लाखौँ विद्यार्थी अलमलमा छन् । कुनै किताबमा ‘बीच’ शब्द दीर्घ लेख्छन् कुनैमा ‘बिच’ ह्रस्व लेख्छन् ।
यस्तै– शहर–सहर, शहीद–सहिद, हजूर–हजुर, तीन–तिन आदि यसरी भाषामा एकरूपता नहुँदा प्रज्ञाप्रतिष्ठानले भाषा सजिलो बनाउन श, ष हटाएर स बनाइएको, आगन्तुक शब्दहरूलाई ह्रस्व बनाएको भन्ने कुरा असिद्ध हुन पुगेको छ । किनकि विद्यार्थीले एकै शब्दकोे दुई स्थिति देख्दा झनै अन्योलमा परेको देखिन्छ । आज लाखौँ विद्यार्थी अशुद्ध भाषा पढिरहँदा कसैको पनि खासै चासो रहेको देखिन्न । भाषा यस्तो दर्दनाक अवस्थामा हुँदा पनि प्रज्ञाप्रतिष्ठान, त्रिभुवन विश्वविद्यालय र शिक्षा मन्त्रालयको खासै चासो नदेख्दा यिनीहरू पनि लर्ड म्याकालेको सिद्धान्तअनुरूप काम गर्दै छन् कि भन्ने शङ्का हुन्छ । नेपाली भाषा यति उदार छ कि यसले सबै भाषाको अनुवाद सजिलै गर्न सक्छ । यसमा सबै वर्ण समावेश छन् । भाषा भनेको देशको गहना हो । भाषाले नै हामीलाई संस्कृतिसँग जोडेको छ । त्यसैले भाषा नै अशुद्ध लेखेपछि हाम्रो अस्तित्व पनि धरापमा पर्छ । गोरखापत्रले नै भाषाका बारेमा चिन्ता गर्दा भाषविद्हरूमा झस्का पर्नु स्वाभाविक हो ।

(लेखक संस्कृत माध्यमिक विद्यालय, रानीपोखरी, काठमाडाँैमा कार्यररत हुनुहुन्छ ।)

(लेखक शिक्षण संस्थामा आबद्ध हुनुहुन्छ ।)