मिलनबिन्दुको चाड
दीर्घराज प्रसाई
नेपालका साँस्कृतिक मान्यताहरूमध्ये दसैँ यस क्षेत्रको मौलिक चाड हो । घटस्थापनादेखि नवरात्रसम्म गरिने बडादसैँ अर्थात् नवदुर्गा भवानीको पूजा अति प्राचीन परम्परा हो । घटस्थापनामा नवदुर्गा भवानीको नवरात्रिसम्म पूजा गर्न कलश थापी, जमरा राखी, परम्परागत शास्त्रीय विधिविधानअनुसार दसैँ प्रारम्भ हुन्छ । घटस्थापना प्रायः सबैतिर एउटै प्रकारको चलन भए पनि जुम्लाको चन्दननाथ र भैरवनाथ मन्दिरमा ५२ हात लामो लिङ्गो ठड्याइने परम्परा छ । वर्षमा ५२ हप्ता हुन्छ भनेर ५२ हाते लिङ्गो ठड्याइँदोरहेछ । यो परम्परा विक्रम संवत् १४९८ देखि प्रारम्भ भएको बताइन्छ । परम्परागत धार्मिक चलनअनुसार लिङ्गो ठड्याएर विधिविधान अनुसार घटस्थापना प्रारम्भ गरिन्छ ।
घटस्थापनादेखि दशमीका दिनसम्म भ्याएसम्म सबै शक्तिपीठहरूमा सबै जातका नेपाली आराधनाका लागि पुग्ने गर्छन् । गोरखामा गोरखकाली, मनकामना, पाल्पामा तानसेन भगवती, पूर्वमा पाथिभरा, तेह्रथुमको सिंहबाहिनी, धरानमा दन्तकाली, विराटनरगरमा माइस्थान, राजविराजमा षखडादेवी, धनुषामा राजदेवी, वीरगन्जमा माइस्थान, बारामा गढीमाई, मकवानपुरमा चुरियादेवी, भुटनदेवी, काभ्रेमा चन्द्रेश्वरी तथा पलाञ्चोक भगवती, दोलखामा कालिञ्चोक भगवती, काठमाडौँ उपत्यकामा गुह्येश्वरी, दक्षिणकाली, भद्रकाली, नक्साल भगवती, कालिकास्थान, मैतिदेवी, शोभाभगवती, सङ्कटा, रक्तकाली, इन्द्रायणी, नवदुर्गा, बङ्गलामुखी, हनुमानढोका–तजेलु भवानी, बज्रयोगिनी, डोल्पामा त्रिपुरासुन्दरी, बाग्लुङमा कालिका माइस्थान, स्याङ्जामा चण्डिकालिका, नेपालगन्जमा बागेश्वरी, कास्कीमा विन्ध्यावासिनी, डोटीमा शैलेश्वरी, डडेलधुरामा उग्रतारा, कालिकोटमा बडिमालिकादेवीलगायत नेपालभरका अनेकौँ शक्तिपीठहरूमा भक्तजनहरूको ठूलो उपस्थिति हुन्छ । देवीपुराणमा उल्लेख छ, ‘रामले आश्विन–शुक्लको नवरात्रमा भगवतीको उपासना गरेर विजयदशमीको साइतमा लङ्कामा रावणविरुद्ध युद्ध गर्न प्रस्थान गरेका थिए ।’ यसरी नै पद्मपुराणमा उल्लेख छ, ‘चैत्र शुक्ल चतुर्दशीका दिन रामले रावणको वध गरेका थिए ।’ कतिपय धार्मिक विद्वान्हरूले विजयादशमीमा नै रावणको वध भएको थियो भन्ने अर्थ लगाउने गर्छन् । तर, देवी पुराण र पद्मपुराणमा उद्धृत वाक्यलाई नै प्रमाणित मानिन्छ । अनादिकालमा महिषासुर नामको राक्षसले गरेको अत्याचार र पीडाबाट मुक्त हुन आराधना गर्दा दुर्गा भवानीले महिषासुर राक्षस मारेर खुसियाली मनाएको विजयदशमीको दिनदेखि शुभदिनका रूपमा हिमवत्खण्ड तथा भारतखण्डमा मानिँदै आएको हो । असत्यमाथि सत्यको विजयको प्रतीक चाड हो– दसैँ ।
नेपाल प्राकृतिक र साँस्कृतिक हिसाबमा विश्वको नै धनी राष्ट्र छ । नेपालीहरूका चाडबाडहरू मौलिक छन्, कतैबाट नक्कल गरिएका होइनन् । पृथ्वीनारायण शाहले नेपाल एकीकरणको अभियानमा काठमाडौँ उपत्यका विजयपछि इन्द्रजात्राको शुभदिनमा कुमारीको हातबाट टीका ग्रहण गरी हनुमानढोका सिंहासनमा आरोहण गरेका थिए । काठमाडौँ उपत्यका विजयपछि पृथ्वीनारायण शाहबाट दसैँमा फूलपाती र जमरा गोरखाको गोरखकाली मन्दिरबाट मगर जातिको पुजारीबाट दसैँको सप्तमीका दिन बढाइँसाथ काठमाडौँ ल्याउने परम्परा बसाएका थिए । यो साँस्कृतिक सम्मिलनको परम्परा अद्यावधि छ ।
वैदिक हिन्दु सनातन धर्म पञ्चदेवका उपाशक हुन्छन् । ॐकार जगत् नै वैदिक हिन्दु पञ्चदेवका उपाशक हुन् । पाञ्चायन देवतामा गणेश, भगवती, सूर्य, शिव, विष्णुको पूजा अपरिहार्य हुन्छ । पाञ्चायन देवीदेवताको आराधनाको आ–आफ्नै समय हुन्छ । घटस्थापनादेखि नौ दिनसम्म शक्तिकी प्रतीक भगवतीको आराधना गर्ने समय हो । हामी सबै हिन्दु तथा बौद्धहरू नेपालमा कुनै न कुनै प्रकारले पाञ्चायन देवीदेवताको आराधना गर्छाैं ।
दशमीको दिन विजयदशमी भनेर दही अछेता मिसाएर शुभघडी हेरेर बाजे, बराजु, आमाबाबु अथवा आफूभन्दा बूढापाका गुरुहरूबाट टीका लाउने प्राचीन परम्परा छ । तर, कतिपय व्यक्तिहरू इसाईहरूको पारामा लागेर दसैँलाई बहिष्कार गर्ने अभियानमा सरिक भएको देखिन्छ । दसैँको बहिष्कार विषयमा स्वामी प्रपन्नाचार्यले उसैबेला व्यक्त गर्नुभएको थियो, ‘दुर्गा, चण्डी र सुम्निमा तथा युसाहाम एउटै देवीको नाम हो । इष्टदेव महादेव, पार्वतीलाई पारुहाङ तथा सुम्निमाका रूपमा मान्ने गरिएको छ । लिम्बूहरू धावासाम, युमासाम भनेर महादेव र पार्वतीलाई इष्ट देवदेवीका रूपमा मान्छन् । नवदुर्गाको पूजा नवरात्रमा गर्ने अति प्राचीन परम्परा हो । दशमीको दिन विजयदशमी भनेर दही अछेता मिसाएर शुभघडी हेरेर बाजे, बराजु, आमाबाबु अथवा आफूभन्दा बूढापाका गुरुहरूबाट टीका लाउने प्राचीन संस्कृतिलाई दूषित पार्नु बुद्धिमत्ता होइन ।’ हो, नेपालको सम्पूर्ण पहिचान, परम्परा, मान्यताहरूमाथि विवाद ल्याएर आफ्नो स्वार्थसिद्ध गर्न विदेशीहरूलाई खुसी पार्ने कुरा आत्मघाती हो ।
बलि विवाद
दसैँमा पशु बलिको विषयमा धेरैको मतभिन्नता छ । कृष्ण प्रणाली, वैष्णव, जैन धर्मावलम्बीहरू पशुबलिलाई अमानवीय विकृति ठान्छन् । डा. गोविन्द टण्डन भन्नुहुन्छ, ‘विजयादशमीको धार्मिक, साँस्कृतिक एवम् दार्शनिक महŒव अति नै छ । नवरात्रभरि शक्तिरूपा देवी दुर्गाको विविध स्वरूपको आराधना गरी काम क्रोध, मोह, मदजस्ता दुर्गुणलाई त्याग्न साधना स्वरूप पशुबलि गर्नु मुख्य चाडजस्तो बन्न गएकाले खसीबोका चाडका रूपमा विकसित हुँदै जानु ज्यादै दुःख छ । धर्मको महŒव, गौरव र शालीनतालाई नै पशुबलि परम्पराले यस्तो मोडमा धेकेलेको छ ।’ यसै विषयमा डा. रामचन्द्र गौतम लेख्नुहुन्छ, ‘हाम्रा धर्मशास्त्रहरूले राजश, तामस यासाŒिवक पूजाविधि चयन गर्न अधिकार दिएका छन् । बलि नदिई पनि पूजा गर्न सकिन्छ तर बडादसैँमा आराधना गर्दै महाकाली, महालक्ष्मी र महासरस्वती स्वरुपिणी दुर्गा भवानीका लागि बलि आवश्यक छ । देवीहरूको बलिबाट शक्ति आर्जन गर्छन् भन्ने भक्तजनहरूले पनि बलि चढाएर शक्ति आर्जन गर्छन् । राज्य शक्तिका लागि पनि बलि अनिवार्य छ । राज्य शक्ति अथवा प्रभुसत्ता सरकारका लागि बलि अनिवार्य भएकाले राज्यका तर्फबाट प्राचीनकालदेखि नै पशुपक्षीहरूको बलि दिने व्यवस्था रहँदै आएको छ ।’
महादसैँमा बलिको सन्दर्भमा पञ्चरत्न पांधुश्रेष्ठ लेख्नुहुन्छ, ‘बलिप्रथा नगर्ने हो भने कुलाचारीको बदला दुराचारीमा परिणत हुन जानेछ । शक्ति साधना मरुल चाड मानिएको बडादसैँको पूजाविधि हाम्रो मौलिक परम्परा हो । प्रारम्भिककालदेखि नै सनातन धर्मको नाममा वेद र तन्त्रको संयुक्त विधिविधान हो यो । पुराणले भनेको छ– मोहले वा अहङ्कारले दसैँ चाडमा बलिपूजा नगरेमा भगवती रिसाउनुहुन्छ र उसको सर्वनाश हुन्छ ।’
यसरी नेपाली समाजलाई बलिप्रथाले प्रभाव पारेको छ । तर, कतिपय क्रिस्चियन प्रभावमा परेका जनजातिका अगुवाहरू यस क्षेत्रको साँस्कृतिक अध्ययन नै नगरी भन्छन्– ‘पृथ्वीनारायण शाहले जबर्जस्ती लादेको हो ।’ दसैँबारेमा भ्रम खडा गर्न खोज्नेहरू छन् । ‘दसैँ सम्पन्नहरूले मात्र मनाउन सक्ने पुरातनवादी संस्कृतिको उपज हो,’ भन्नेहरू पनि हाम्रै नेता छन् । दसैँलाई पशुपक्षीको बलि चढाएर मनाउने र बलि नदिई फूलपाती चढाएर पनि मनाउने गरिएको छ ।
दसैँमा दहीमा मुछेर निधारभरि सेतो अछेताको टीका लगाउने चलन जनजातिहरूमै छ । काठमाडौँ उपत्यकालगायत कतिपय ठाउँमा रातो अक्षताको टीका लगाउने परम्परा छ । स्वदेशमा केही मान्छेले बाह्य प्रभावमा दसैँ बहिष्कार गर्ने कुरा उठाए पनि विदेशमा बस्ने हरकोही नेपालीले नेपाली मौलिक चाड हो भन्ने आत्मसात् गरेर हर्षोल्लासपूर्वक मनाउँछन्् । दसैँझैँ तिहारलाई दार्जिलिङ, सिक्किम, डुबर्स, आसाम, देहरादुनमा त दसैँ र तिहारलाई गोर्खाहरूको एकताको बिँडो ठान्छन् । नेपालीमूलका जो जहाँ रहेका होऊन्, तिनले आ–आफ्नै ढङ्गले मनाउने दसैँ समन्वयको चाड हो । हिन्दु र बौद्धबीचको सामन्जस्यका कारण हो– पशुपतिनाथ र स्वयम्भूनाथबीचको पारस्पारिकता । पशुपतिनाथमा बुद्धपूर्णिमाका दिन बुद्धको मुकुट पहिराएर पूजा गर्ने गरिन्छ । बौद्धहरू पशुपतिनाथको पूजाआजा गर्छन् । काठमाडौँ उपत्यकामा बौद्धहरू आठवटा शिवलिङ्गलाई अष्टवैतरागको रूपमा पूजा गर्छन् । स्वयम्भूनाथमा पनि हरेक हिन्दुहरू मञ्जुश्रीलाई सरस्वती मानेर पूजा गर्छन् । यस्ता धेरै उदाहरण छन् । यस्तो धार्मिक समिश्रण भएको समाजमा हामी नेपालीहरूले विश्वभर साँस्कृतिक सामन्जस्यको अनुपम उदाहरण प्रस्तुत गर्न सकौँ । हाम्रा अनेकौँ चाडबाडहरू नेपाली समाजका जीवनपद्धति हुन् ।
(लेखक धर्म संस्कृति अध्येता हुनुहुन्छ ।)