अभौतिक कार्यप्रणाली
लक्ष्मी खतिवडा
विश्वभर फैलिएको कोभिड–१९ महामारीले विश्व अर्थतन्त्र, स्वास्थ्य सुरक्षा, शिक्षा प्रणाली र आमजनजीवनमा गम्भीर असर पुगेकोे छ । महामारीको चक्र लामो समयसम्म चल्दा कार्यप्रणालीका विकल्पहरूको खोजी पनि सँगसँगै भइरहेको छ । बन्दाबन्दीका बेला घरमै बसेर कार्यालयको काम गर्ने विकल्प प्रयोगमा आएको छ । बन्दाबन्दीपछिको समयमा घरबाटै काम (वर्क फ्रम होम)को राम्रो अभ्यासकोे सुरुवात भएको छ । भौतिक रूपमा उपस्थित नभए पनि हुने कामहरू घरबाटै गर्ने अभ्यास नेपालमा नयाँ हो ।
अहिले अधिकांश कार्यालयका कर्मचारीसमक्ष सेवाग्राहीले प्रत्यक्ष उपस्थिति दर्शाउनुपर्ने कामहरू घरबाटै हुने गरेको छ । कलेज र विद्यालयको शिक्षा घरबाटै लिन–दिन थालियो । अनलाइन व्यापार व्यवसाय फस्टाउन थाले ।
भौतिक रूपमा उपस्थित भएर सेवा दिनुपर्ने कार्यालयहरूले कार्यप्रणालीलाई सहज बनाउने प्रयास गरिरहेका छन् । काम गर्ने शैलीमा परिवर्तन भएको छ । बैठक, सेमिनार, सभा, सम्मेलनहरू ‘वेभ’मार्फत भइरहेको छ । सेमिनारहरूलाई अब ‘वेभिनार’ भनिएको छ । सङ्घ संस्थाहरूका साधारणसभा, भेलाजस्ता महŒवपूर्ण कार्यक्रमहरू इन्टरनेटको माध्यमबाट भर्चुअल रूपमा हुन थाले । संयुक्त राष्ट्रसङ्घलगायत अन्तर्राष्ट्रिय संस्थाहरूले वेभिनार र रेकर्डेड भिडियो संवादलाई प्राथमिकता दिइरहेका छन् । सरकारले समेत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चबीचको छलफल, संवाद, वार्ता र सम्मेलनमा भर्चुअल माध्यमलाई प्राथमिकता दिइरहेका छन् । कार्यालयदेखि पारिवारिक संवाद ‘भर्चुअल’ संवादबाट गरिरहेका छन् ।
घरबाटै काम
प्रविधिको प्रयोगमार्फत घरबाटै कार्यालयका कार्यसम्पादनको नयाँ अभ्यासलाई सम्बन्धित कार्यालयले दीर्घकालीन योजनासहित प्रविधिमैत्री बनाउँदै त्यसअनुरूप कर्मचारीको व्यवस्थापन गर्दै जाने हो भने कार्यसम्पादन चुस्तदुरुस्तका साथै महामारी रोकथाममा समेत सहयोग पुग्नेछ । अब कार्यालयहरूले आफ्नो कामको वर्गीकरण गरी घरमै बसेर गर्न सकिने र कार्यालय आउनैपर्ने कामको पहिचान गर्न आवश्यक छ । सोहीअनुसारको व्यवस्थापन गर्ने नीति अवलम्बन गर्नु प्रविधिमैत्रीमात्र नभएर, सहरको जनजीवन वातावारणमैत्री पनि हुने विज्ञहरू औँल्याइरहेका छन् । दिगो सहरी विकासका लागि आवश्यक विभिन्न पूर्वाधारहरूमध्ये सहरमा मानवीय आवागनको व्यवस्थापन सबैभन्दा महŒवपूर्ण कुरा हो । अत्यधिक मानिसले सेवा लिने र दिने कार्यालयहरूले सुरु गरेको भर्चुअल कार्यप्रणालीको नयाँ अभ्यासलाई अब सबै कार्यालयहरूले अवलम्बन गर्नुपर्ने देखिन्छ । मानिसलाई अब अनावश्यक कामका लागि बाहिर नजाने र आवश्यक काम घरैबाट पनि गर्न सकिन्छ भन्ने राम्रो प्रभाव परेको छ । बन्दाबन्दीपछिको अवस्थाले आममानिसको जनजीवनमा मात्र होइन, जीवनशैलीमा नै परिवर्तन ल्याएको छ । विद्यार्थीको पनि अध्ययन गर्ने अर्थात् ज्ञान लिने शैली नै परिवर्तन भएको छ ।
अनलाइन कारोबारमा वृद्धि
बन्दाबन्दीपछि इन्टरनेटबाट हुने प्रायः सबै कामहरूको कारोबार बढेको छ । कार्यालयहरूले वर्क फ्रम होमको अवधारणा अवलम्बन गर्दा बैङ्कहरूले पनि आफ्नो ई–बैङ्किङ सेवा बढाएका छन् । इ–बैङ्किङ प्रणालीको प्रयोग गर्नेको सङ्ख्या वृद्धि भएको छ । राष्ट्रबैङ्कको पछिल्लो तथ्याङ्कअनुसार मोबाइल बैङ्किङ कारोबारको सङ्ख्या बढेको छ । २०७७ असारसम्म मोबाइल बैङ्किङ कारोबार गर्नेको सङ्ख्या ५८ लाख १७ हजार ६८१ थियो भने साउनमा ५९ लाख २३ हजार ४११ पुग्यो । यसबाट नै बुझिन्छ– कार्यालयमै गएर काम गर्नेभन्दा पनि घरमै बसेर अनलाइनबाट कारोबार गर्नेहरूको सङ्ख्या र कारोबारको प्रकृति पनि बढिरहेको छ । इन्टरनेटको पहुँचमा हुनेहरू घरबाहिर नगई, आफ्नो काम सम्पन्न गरिरहेका छन् ।
प्रविधिमैत्री कार्यप्रणालीको सुरुवात
बन्दाबन्दीपछि कार्यालयहरूले डिजिटल माध्यमको प्रयोग गरेर कार्यप्रणालीलाई सहज बनाउन गरिरहेको नयाँ अभ्यासकोे मुख्य उद्देश्य व्यक्तिको भौतिक उपस्थितिलाई अत्यन्त कम गर्ने र छिटोछरितो सेवा प्रवाह गर्नु नै हो । बैङ्किङ क्षेत्रपछि अत्यधिक मानिसको भीड हुने कर कार्यालयहरू, कम्पनी रजिष्ट्रारको कार्यालय पनि हुन् । त्यहाँ पनि अबदेखि व्यक्ति स्वयम् जानुपर्दैन । अनलाइनबाटै कर तिर्न वा कम्पनी दर्ता गर्न सकिने व्यवस्था छ ।
हरेक दिन करिब १५ लाख सवारीसाधन गुड्ने गरेको काठमाडौँको ट्राफिक (यातायात साधन) जामले कुनै पनि व्यक्ति तोकिएको समयमा गन्तव्यमा पुग्न नसक्ने समस्या नियमित भइसकेको छ । अर्कोतर्फ सवारी दुर्घटनाको जोखिम पनि उच्च रहेको छ । बन्दाबन्दीपछिको समयमा ४४ प्रतिशतले सडक दुर्घटनामा कमी आएको छ । कोभिड–१९ पछिको अवस्थालाई मध्यनजर गर्दै सहरमा मानिसको अनावश्यक भीड कम गर्न, सवारीसाधनहरूलाई प्रविधिमैत्री तरिकाले व्यवस्थापन गर्न र छिटोछरितो सेवा उपलब्ध गराउन महानगरीय ट्राफिक प्रहरी महाशाखाले अनलाइन सेवाहरू सुरु गरेको छ । लाइसेन्स हराउँदा, ब्लुबुक हराउँदा वा जरिवानामा पर्दा कार्यालयमा जानु नपर्ने र तत्कालै मोबाइलबाटै सूचना पाइने व्यवस्था गरेको छ । यस्तै, यातायात व्यवस्था विभागले पनि छिट्टै नै जीपीएस (ग्लोबल पोजिसनिङ सिष्टम) प्रणाली लागू गर्ने जनाएको छ । सहरलाई प्रविधिमैत्री र वातावरणमैत्री बनाउँदै यस्ता अभ्यासहरूलाई बढाउँदै लैजान सके ‘हाम्रो सहर राम्रो सहर’ हुनेछ भने जनजीवन पनि स्वस्थ्य र समृद्ध बन्नेछ ।
स्वस्थ सहर
विक्रम संवत् २०७६ चैत ११ गतेदेखि नेपालमा बन्दाबन्दी सुरु भएको थियो । अनि, नागरिकहरू घरमै रहे । बजार तथा यातायातका साधनहरू बन्द भए । सडकहरू खाली भए । काठमाडौँको आकाश धूलो–धूँवारहित हुन पुग्यो । सफा देखिएको वातावरणको फोटो मिडियामा प्रकाशन प्रसारण भयो । बन्दाबन्दीपछि वातावरण प्रदूषणको मात्रा निकै घटेको तथ्य वातावारण विभागले सार्वजनिक ग¥यो । केही समय अघिसम्म काठमाडौँको वायु प्रदूषणको मात्र पीएम २.५ अर्थात् ५० माइग्रामको परमिटरभित्रै छ । तर, यातायातका साधनहरू बिस्तारै सञ्चालन हुन थालेपछि र वर्षात् कम हुँदै गएपछि सहरमा प्रदूषण बढ्नेक्रम फेरि सुरु भएको छ । बन्दाबन्दीकोे छोटो समयमा सहरको वातावरण र प्रकृति एकैसाथ सन्तुलित भएको थियो । मानिस स्वस्थ्य र निरोगी बनेका थिए । सहर पनि सुन्दर बनेको थियो । अब सहरको दिगो व्यवस्थापनका लागि हामीले बन्दाबन्दीको समयमा पाएको उपलब्धिबाट धेरै कुराहरू सिकेर व्यवहारमा उपयोग गर्न सक्ने अवसर पाएका छौँ ।
यातायात, सडक, फोहोरमैला व्यवस्थापन, भवन निर्माण, सार्वजनिक स्थलको संरक्षण र डिजिटल नेपालको सफलताले ‘दिगो सहर विकास’ सुनिश्चित गरेको हुन्छ । सन् २०२२ सम्ममा विकासशील राज्य तथा सन् २०३० भित्र दिगो विकास लक्ष्य हासिल गर्ने र समृद्ध मुलक बन्ने लक्ष्यतर्फ नेपाल अग्रसर रहेको सरकारी नीति तथा कार्यक्रमहरूमा लेखिएको छ । सन् २०३० सम्ममा हासिल गर्नुपर्ने दिगो विकास लक्ष्यको ११ नम्बर बुँदामा सहर र समुदायहरूको दिगोपना पनि उल्लेख छ । जसले सहरी विकासको दिगोपना र वातावरणमैत्री विकासको माग गर्छ । जल व्यवस्थापन, फोहोरमैला व्यवस्थापन, सार्वजनिक यातायात र ट्राफिक व्यवस्थापनजस्ता सहरी पूर्वाधारका आवश्यक सेवाहरूमा सुधार ल्याई सहरी जीवनको गुणस्तर सुधारका लागि अब घरबाटै छिटोछरितो काम भन्नेतर्फ सबैले ध्यान दिनुपर्ने भएको छ ।
हाल भइरहेको अभ्यासलाई दीर्घकालीन रूपमा लैजान सकियो भने व्यक्ति, समाज र वातावरणलाई सकारात्मक प्रभाव पर्ने निश्चित छ । दिगो सहरी विकासका लागि आवश्यक विभिन्न पूर्वाधारहरूमध्ये सहरमा मानवीय आवागमनको व्यवस्थापन पनि प्रमुख कुरा हो । यसका लागि सरकारले दीर्घकालीन योजनासहित प्रविधिमैत्री तरिकाले थप नीति तथा योजना तर्जुमा गर्न जरुरी छ । अब हरेक कार्यालयले कामको वर्गीकरण गरी घरमै बसेर गर्न सकिने र कार्यालय आउनैपर्ने कामको पहिचान गरी सोहीअनुसारको कर्मचारी व्यवस्थापन गर्ने र कार्यप्रणालीलाई सहजीकरण गर्ने नीति अवलम्बन गरे कोरोना सङ्क्रमणको महामारी नियन्त्रणमा समेत सहयोग पुग्नेछ । अनावश्यक भीडभाड नियन्त्रण भई सहरको वातावरणमा पनि सकारात्मक प्रभाव पर्नेछ ।
(लेखक मुना मासिकका सहसम्पादक हुनुहुन्छ ।)