अमेरिकी चुनावमा विश्वचासो
प्रदीप्नराज पन्त
अमेरिकामा चुनावको सरगर्मी बढेको छ । रिपब्लिकन दलको तर्फबाट वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्र्याटको तर्फबाट पूर्वउपराष्ट्रपति जो बाइडेन स्पर्धी उम्मेदवार हुनुभएको छ । नोभेम्बर ३ मा हुने निर्वाचनमा अमेरिकीहरूले दुईजनामध्ये एकजनालाई चार वर्षका लागि राष्ट्रपति चुन्नेछन् ।
हुन त अमेरिकाको चुनाव पनि अन्य देशको जस्तै नितान्त आन्तरिक मामला हो भन्न सकिन्छ तर अमेरिकाको चुनााव प्रायः अन्तर्राष्ट्रिय बहसको विषय हुने गर्छ । सन् २०१६ मा गरिएको अनुसन्धानअनुसार विश्वका ६८ प्रतिशत मानिस अमेरिकी चुनावलाई ज्यादै महŒवका साथ हेर्ने गर्छन् । सर्वेक्षणअनुसार अमेरिकी चुनावको प्रभाव आर्थिक, सामाजिक र राजनीतिक रूपमा विश्वभरि नै हुने गर्छ । यसकारण अमेरिकाको राष्ट्रपति चुनावलाई विश्वभरि नै महŒवको साथ हेर्ने गरिएको छ ।
राष्ट्रपतीय बहस
अमेरिकामा चुनावअघि रिपब्लिकन र डेमोक्र्याट दुई दलका उम्मेदवारबीच प्रेसिडेन्सियल डिबेट (राष्ट्रपति पदको बहस) हुने गर्छ । यसले जनतालाई भावी राष्ट्रपतिका बारेमा जान्न, बुझ्न र सैद्धान्तिक अवधारणा विकास गर्न मद्दत पु¥याउँछ भन्ने विश्लेषकहरूको दाबी छ । अहिलेको चुनावको पहिलो चरणको बहस सेप्टेम्बर ३० तारिखको दिन भएको थियो । तर, त्यो बहस अहिलेसम्मकै अमेरिकी राष्ट्रपतीय इतिहासमा अत्यन्त निराशाजनक र मर्यादाविहीन भएको विश्लेषकहरू बताउँछन् । उक्त बहसमा दुवै उम्मेदवारहरूले एक–अर्कालाई आरोप प्रत्यारोप गरे र व्यक्तिगत रूपमा ज्यादै असभ्य, अश्लीलताको समेत झल्को दिने भाषाको प्रयोग भएको देखियो ।
उहाँहरूको यो बहस हेर्दै गरेका प्रत्यक्ष तथा टीभीका दर्शकहरूलाई हात हालाहाल नै गर्न लागेका हुन् कि भन्ने शङ्का भयो । र, कार्यक्रमका मोडरेटर (सहजकर्ता) फक्स न्युजका क्रिस वालेसले पटक–पटक राष्ट्रपति ट्रम्पलाई ‘स्टप टकिङ’ र बाइडेनलाई आफ्नो भनाइ पूरा हुन दिनुस् भन्नुप¥यो । अन्त्यमा ज्यादै रिसाएजस्तो गरेर बाइडेनले राष्ट्रपति ट्रम्प ‘इतिहासकै खराब राष्ट्रपति’ भन्नुभयो । उहाँ दुवैजनाले हात पनि मिलाउनुभएन, टाढै बसेर एक–अर्कालाई अभिवादन पनि गर्नुभएन ।
अमेरिका विश्वका सबै राजनीतिमा हुन्छ भन्ने चलन छ । यसकारण विश्वभरकै चुनावमा अमेरिकाको चलखेल भन्ने चलन सामान्य छ । नेपालको राजनीतिमा पनि विदेशी चलखेल हुन्छ भन्ने जानिएकै हो । आमचुनावमा पनि अन्तर्घात, पैसाको खोलो बगाउनुको साथै देशीविदेशी प्रभुहरू लागेर मलाई हराए भन्ने नेताहरू नेपालमा पनि प्रशस्त छन् । विदेशी शक्ति लगाएर मलाई हराइयो भन्नेहरू नेपालमा पनि छन् । तर, यसपालि सबै विश्वको चुनावमा प्रभाव पार्ने भनेर चित्रित अमेरिकाकै राष्ट्रपतिका उम्मेदवारहरूले एक–अर्कालाई विदेशीबाट परिचालित भन्ने सार्वजनिक आरोप लगाए ।
ट्रम्पले आफूलाई हराउन चीन र इरान लागेको तथा जो बाइडेनले चाहिँ ट्रम्पलाई जिताउन रूसका राष्ट्रपति भ्लादिमिर पुटिन खुला रूपमा लागेको भन्नुुभयो । उहाँहरूको बीचमा आरोपमात्रै होइन, अत्यन्त निकृष्ट र अमर्यादित भाषाको जुहारी नै चलेको छ, जसलाई कतिपय प्रेसहरूले छाप्न र उद्धृत गर्नसमेत चाहेनन् ।
लोकप्रियता र निर्वाचन मण्डल
अमेरिकी राष्ट्रपति निर्वाचनको मत सर्वेक्षण अमेरिकालगायत प्रायः सबै देशका मूलधारका पत्रिकाहरूले प्रकाशन गरेका हुन्छन् । बहुसङ्ख्यक पत्रिकाहरूको सर्वेक्षण नतिजा अहिले ज्यादै आश्चर्यलाग्दो छ । चुनावी सर्वेक्षणका आधारमा यहाँ कुरा नगरौँ । अमेरिकी चुनावमा आन्तरिक रूपमा अफ्रिकी अमेरिकी र इजरायली मतदातालगायत भारतीय अमेरिकीहरूको महŒवपूर्ण भूमिका रहिआएको छ । र, अहिले पनि यो समुदायमा डेमोक्र्याटहरूकै पकड देखिन्छ किनभने आप्रवास नीतिमा अमेरिकीहरू विशेषगरेर डेमेक्र्याटिक ज्यादै उदार र रिपब्लिकनहरू पुरातनजस्तो चित्रित देखिन्छ ।
यसकारण डेमोक्र्याटहरूले अल्पसङ्ख्यक अफ्रिकी अमेरिकी, इजरायल र भारतीय अमेरिकीहरूको समर्थन प्राप्त गर्दै आएका थिए र अहिले झन् राष्ट्रपति ट्रम्पको आप्रवास नीति विशेषगरेर एच १ बी भिसामा गरिएको परिवर्तनले यो समूहलाई खासै खुसी बनाउन सकेको देखिँदैन । ट्रम्पले परिवर्तन गर्न खोज्नुभएको एच १ बी भिसाको नियम पहिलाभन्दा कठोर भएको विश्लेषण छ । डेमोक्र्याटले यसलाई सरलीकरण गर्नुपर्ने बताएका छन् । डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनले उपराष्ट्रपति पदका लागि भारतीय आमाबाट जन्मिएकी कमला हारिसलाई मनोनयन गरेर जातीय सन्तुलनको कायम गर्न कोसिस गरी ती समुदायलाई आकर्षित गर्न
खोज्नुभएको देखिन्छ ।
विन्सकन्सिन, पेन्सिलभिनिया, मिसिगन, नेवादा र ओहायोलाई अमेरिका चुनावमा स्वीङ स्टेट या व्याटल ग्राउन्ड (युद्धभूमि) पनि भन्ने गरिन्छ र ती राज्यहरूमा कसले जित्छ भन्ने कुरा पहिले अनुमान गर्न नसकिने भन्ने गरिएको छ । तिनै राज्यको मतले हार जित फैसला हुने गरेको इतिहास पनि छ । प्रायः सबै मूलधारका पत्रिकाहरूको सर्वेक्षणमा (पहिला ती राज्यहरूमा निर्णय नभएको, (अनडिसाइडेड) मतको सङ्ख्या धेरै हुन्थ्यो तर यसपालिको सर्वेक्षणको नतिजाचाहिँ स्पष्ट रूपमा बाइडेनको पक्षमा गएको देखिन्छ ।
न्युयोर्क टाइम्समा प्रकाशित एउटा सामग्रीका आधारमा राष्ट्रपति ट्रम्पले जम्मा ७५० डलर वार्षिक कर तिर्नुभएको मुद्दा पनि यो चुनावमा उठेको छ । ट्रम्पलाई नश्लवादलाई बढावा दिएको आरोप पनि अल्पसङ्ख्यकहरूले लगाएका छन् । काला जातिका जर्ज फ्ल्वोएडलाई प्रहरीले निर्मम तरिकाले हत्या गरेकोमा प्रहरीको असक्षमतालाई हटाउन ट्रम्पले प्रभावकारी कदम चाल्न नसकेको र नश्लवाद बढावा दिएको आरोपसमेत ट्रम्पले खेप्नुपरेको छ । ट्रम्पको विपक्षमा मत सर्वेक्षणमात्र नभई, राष्ट्रिय सुरक्षा परिषद्सँग सम्बन्धित ५० जना रिपब्लिकन अधिकारीहरूले ट्रम्पको विरोध गरेर बाइडेनलाई समर्थन गर्ने घोषणा गरे ।
यी सबै मानिस ट्रम्प प्रशासनमा समेत काम गरेका रिपब्लिकन दलका वरिष्ठ कार्यकारी हैसियतका मानिसहरू हुन् । आर्थिक मन्दी र कोरोना भाइरससँग मुकाबिला गर्न ट्रम्पसँग कुनै नीति नभएको आरोप उनीहरूको छ । तर, विश्लेषकहरू भन्छन्, ‘ट्रम्पको व्यक्तित्व विशिष्ट किसिमको रहेको र विशेषगरेर युद्धभूमि अर्थात् स्वीङ स्टेटमा उहाँले पासा पल्टाउन
बेर लाग्दैन ।
अनुमान, शङ्का
सर्वेक्षण, गणनाको नतिजा जे–जस्तो भए पनि अमेरिकी चुनावको नतिजा पहिल्यै अनुमान गर्न नसकिने अधिकांश स्वतन्त्र विश्लेषकहरूको दाबी छ । सन् २०१६ मा पनि हिलारी क्लिन्टन नै लोकप्रियतामा राष्ट्रपति ट्रम्पभन्दा अगाडि हुनुहुन्थ्यो र सर्वेक्षणमा उहाँले झन्डै ३० लाख लोकप्रिय मत बढी ल्याउनुभएको थियो । तर, अमेरिकामा निर्वाचन मण्डल प्रणाली (इलेक्टोरल कलेज सिष्टम) बाट चुनावको नतिजा निर्धारण हुन्छ । यसकारण लोकप्रिय मत बढी ल्याउँदैमा राष्ट्रपतिको चुनाव जितिँदैन अमेरिकामा ।
निर्वाचन मण्डल प्रणालीका आधारमा प्रत्येक राज्यको मत तोकिएको हन्छ । कुल ५३८ इलेक्टोरल मत छ र विजयी हुनका लागि कम्तीमा २७० इलेक्टोरल भोट ल्याउनपर्छ । र, यस्तो मतको निर्धारण राज्यले कंग्रेस सदन र सिनेटमा पठाउने प्रतिनिधिका आधारमा हुन्छ र फरक–फरक हुन्छ । अलास्का, डेलावरजस्ता राज्यको मात्र तीन मत छ भने क्यालिफोर्नियाको सबैभन्दा बढी ५५ मत छ ।
ट्रम्प ज्यादै जिद्दी स्वभावको भएको र उहाँ पराजित भए पनि ह्वाइट हाउस छोड्न आनाकानी गर्नेसम्मको विश्लेषण पनि छ, अमेरिकामा । तर, अब मतदानका लागि धेरै दिन बाँकी छैन । यसको साथै अग्रिम मतदान, ‘मेल इन भोट’को प्रक्रिया जारी छ । लाखौँ मतदाताहरूले चुनावमा भाग लिइसके । र, नोभेम्बरको पहिलो सप्ताहको चुनाव अमेरिकी कानुनको हिस्सा नै हो तर पनि अमेरिकाको संसद्ले चाह्यो भने चुनाव सर्न सक्छ तथापि अमेरिकाको संसद्ले, अमेरिकी मूल्य–मान्यतालाई ध्यानमा राखेर जस्तोसुकै परिस्थितिमा पनि चुनावचाहिँ सार्न सक्दैन भन्ने विश्लेषण गरिन्छ । अमेरिकामा पराजित उम्मेदवारले पराजय स्वीकार गर्ने चलन पनि छ । अहिले शङ्का ट्रम्पले ह्वाइट हाउस नछाड्ने भनेको पनि पराजय भए पराजयलाई स्वीकार नगर्ने भन्ने नै हुन सक्छ तर अमेरिकामा एउटा निश्चित अवधिपछि राष्ट्रपति कार्यभार स्वतः समाप्त हुन्छ र ह्वाइट हाउस छोड्ने÷नछोडने प्रश्न नै उठ्दैन । राष्ट्रपति कार्यकाल सकिएपछि ह्वाइट हाउस र त्यहाँको प्रशासनिक काम छोड्नैपर्छ । यसकारण अमेरिकी जनताले अर्को वर्ष निर्वाचित राष्ट्रपति पाउनेछन् ।
अहिले सर्वेक्षणको नतिजामा जो अगाडि देखिए पनि स्वीङ भोटरले नै अमेरिकाको चुनावमा प्रभावित पार्नुको साथै लोकप्रिय मतभन्दा पनि इलेक्टोरल मताधारमा चुनावको नतिजा हुने भएकाले चुनावको नतिजा नआउन्जेलसम्म केही राज्यहरूमा गरिएको सर्वेक्षणले निर्णायक भूमिका खेल्न सक्दैन । अत्यन्त प्रजातान्त्रिक तरिकाले हुने अमेरिकी राष्ट्रपति चुनावले त्यहाँका जनताको जित निश्चित छ किनभने अमेरिकामा कुनै दलविशेषको भन्दा पनि राष्ट्रपति भइसकेपछि राष्ट्रपतिकै रूपमा बढी हेर्ने गरिन्छ । प्रजातान्त्रिक चुनावको सबैभन्दा ठूलो विशेषता यही हो । अमेरिकाको चुनाव धेरै कारणले संसारका लागि पनि अनुकरणीय छ ।
(लेखकसँग अन्तर्राष्ट्रिय सङ्घसंस्थामा काम गरेको लामो अनुभव छ ।)