विचार/दृष्टिकोण |

नेकपाको युवा नेतृत्व

चम्फासिंह भण्डारी

नेपाल कम्युनिस्ट पार्टीको ‘एकता महाधिवेशन’ आगामी चैत महिनामा गर्ने भनिएको छ । ‘एकता महाधिवेशन’ले नेपाल कम्युनिस्ट पार्टीलाई एकताबद्ध, अनुशासित र गतिशील पार्टीका रूपमा अघि बढाउनका लागि विशेष कामहरू सम्पन्न गर्नु आवश्यक छ । देश र नागरिकको आशा, भरोसाको केन्द्रका रूपमा स्थापित तथा अनुमोदित नेकपाको भविष्य अब युवा पुस्ताको हातमा रहेको छ । फेरि पनि शीर्षनेताहरूको दौराको फेर समातेर एउटा गुटमा रमाउँदै बस्ने कि देश र जनताको आशा र भरोसाको केन्द्रलाई एउटा आदर्श, नैतिकवान, अनुशासित र गतिशील विचार केन्द्रका रूपमा, श्रमजीवी सर्वहारा वर्गको मुक्ति आन्दोलनका रूपमा, राष्ट्रियता, सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता, समाजवादी अर्थतन्त्रको विकासका माध्यमबाट समृद्धिको नायक बन्ने ? निक्र्यौल नेकपामा सङ्गठित युवा पुस्ताले गर्नुपर्छ ।
नेकपाभित्र धेरै आसलाग्दा र देश÷नागरिकलाई गोलबन्द गरेर शासन प्रशासन हाँक्ने क्षमतावान युवाको ठूलो पङ्ति छ । विगतबाट शिक्षा लिँदै, सङ्घर्षहरूको नेतृत्व गर्ने निष्ठावान आदरणीय श्रद्धेय नेताहरूप्रति उच्च सम्मान र आदरभावका साथ पार्टीको संरक्षकका रूपमा, सल्लाहकारका रूपमा उहाँहरूको स्थान सुरक्षित गर्दै गतिशील पार्टी निर्माण र परिचालनका लागि आगामी महाधिवेशन तयार हुनुपर्छ । यो काम अहिलेसम्मका अनुभवहरूलाई हेर्दा सहज भने देखिँदैन । कुनै पनि व्यक्तिको क्षमता सङ्कटको बेला पहिचान हुन्छ । सिङ्गो कम्युनिस्ट आन्दोलनलाई रूपान्तरणकारी र क्रान्तिकारी बनाइराख्नका लागि युवाको हस्तक्षेपको समय भने घर्किन लागेको छ । आगामी महाधिवेशन र युवा नेतृत्व स्थापित गर्नका लागि देहायबमोजिमका कामहरू तत्कालै सुरु गरिहाल्नुपर्नेछ ।
नयाँ विषयहरूमा वैचारिक बहस
नेपालको कम्युनिस्ट आन्दोलनमा अहिलेसम्म नेपालको कृषि, परराष्ट्र, युवा, संंस्कृति, औद्योगिक, शिक्षा, सञ्चार, विकास आदि विषयका नीति कस्तो हुने ? यी कुरामा भएको बहसले कम्युनिस्ट आन्दोलनमा विभाजन भएको देखिँदैन । नेपालको कम्युनिस्ट आन्दोलन विश्व शक्ति राष्ट्रहरूलाई हेर्ने दृष्टिकोण, साम्राज्यवाद तथा विस्तारवादको बहसमा छ । अझ सिधै भन्दा अमेरिका, भारत र अन्य मुलुकका शासक वर्गहरूको विश्लेषणका नाममा विभाजित भएका छन् यहाँ । नेपालको कम्युनिस्ट आन्दोलन वीरता र सङ्घर्षका इतिहासहरूले भरिपूर्ण र देशभक्तिपूर्ण आन्दोलन हो । अबको बहस नेपाललाई कसरी समृद्ध बनाउन
सकिन्छ ? नेपालको गरिब, भूमिहीन सर्वहारा श्रमजीवी वर्गको जीवन कसरी सहज बनाउन सकिन्छ ? नेपालको राजनीतिक प्रणाली, शासन प्रशासन प्रणालीलाई कसरी जनमुखी बनाउन सकिन्छ ? निर्वाचनमा गरिब, सर्वहारा भूमिहीन वर्गमा जन्मेको युवालाई कसरी उम्मेदवार बनाएर लैजान सकिन्छ ? हाम्रै पुँजीपतिलाई कसरी राष्ट्रनिर्माणमा उपयोग गर्न
सकिन्छ ? राज्यलाई कसरी अझ बढी सुशासित, जनउत्तरदायी बनाउन सकिन्छ ? कसरी असारे विकास रोक्न सकिन्छ ? युवालाई कसरी रोजगारी दिन सकिन्छ ? देश र नागरिकको जीवनसँग सम्बन्धित यस्ता विषयमा नेकपाको अवधारणाको खाका तयार गर्नुपर्छ ।
नेकपाको सिद्धान्त, विचार र कार्यनीतिहरू नेपाली समाजसँग, नेपाल राज्यसँग सम्बन्धित हुनुपर्छ । यद्यपि, विश्वको शक्ति संरचना, शासकीय अवस्था र विश्व कम्युनिस्ट आन्दोलनको चित्रण र त्यसको दिशामा छलफल हुनुलाई स्वाभाविक मानिनेछ । जनताको बहुदलीय जनवाद र जनताको जनवादमा भाषिक भिन्नताहरू छन् तर सारमा विवाद आवश्यक नै छैन । आगामी एकता महाधिवेशनको मिति तोकिएको तीन महिनाअघिदेखि नै वैचारिक बहसलाई खुला गर्ने, हरेक कमिटीहरूमा त्यसलाई बहसको विषय बनाई प्राप्त विचार, सुझाव र सल्लाहलाई आधार मानी एक महिनाअघि नै दस्तावेजहरू छलफलका लागि प्रकाशन गर्ने र फेरि त्यसमाथि सबै पार्टी सदस्यहरूसम्म कमिटीगत रूपमा छलफल सञ्चालन गर्न आवश्यक छ । प्राप्त विचार, सुझावहरूलाई लिपिबद्ध बनाई महाधिवेशनमा प्रस्तुत गर्ने पद्धति आवश्यक छ ।
प्रतिनिधि छनोट
नेकपाको आगामी एकता महाधिवेशनका लागि छनोट गरिने प्रतिनिधिहरूको मापदण्ड निर्धारण गर्दा नेकपाको सिद्धान्त, विचार, कार्यनीति, कार्यशैली, व्यक्तिगत आचरण, कम्युनिस्ट अनुशासन, नैतिकवान र श्रमजीवी वर्गप्रति इमानदार हुनुपर्छ । यस्ता कुरा बुझेको र अरूलाई सहज रूपमा बुझाउन सक्ने, उमेरहद बढीमा ५५–६० वर्ष, एउटा महाधिवेशनपश्चात् अर्को महाधिवेशनमा प्रतिनिधि हुन नपाउने, महाधिवेशन प्रतिनिधिहरू छान्दा महिला र पुरुष बराबरी हुने, सामाजिक समावेशीकरणको सिद्धान्तअनुरूप छनोट भई आउनुपर्नेजस्ता सर्त बनाउनुपर्छ । यस्ता मापदण्डहरू निर्धारण गरी त्यसको कार्यान्वयन भएमात्रै युवा नेतृत्व सुनिश्चित हुन्छ । पर्यवेक्षकका रूपमा शीर्षस्थ नेतृत्वलाई हरेक महाधिवेशनमा सहभागितालाई सुनिश्चत गर्ने र उहाँहरूको अनुभवले आन्दोलनलाई थप ऊर्जाशील बनाउने कुरामा विश्वास गर्नुपर्नेछ ।
महाधिवेशन आयोजक कमिटीमा रहने सबै व्यक्तिहरू तोकिएको निर्वाचन क्षेत्रबाट निर्वाचित भई आउनुपर्ने प्रावधानसहित अघि बढ्न सक्यो भने नेपालको कम्युनिस्ट आन्दोलनलाई अझ बढी लोकतान्त्रिक संस्कारयुक्त बनाउन योगदान गर्नेछ र यो कामले अरू पार्टीहरूलाई पनि शिक्षा दिनेछ । ६० वर्षको उमेरपछि नेकपाको कुनै पनि कमिटीहरूमा रहेकाहरूले स्वतः अवकाश पाउने वैधानिक व्यवस्था गरेरमात्रै कम्युनिस्ट आन्दोलनलाई गतिशील बनाउन सकिन्छ ।
दुई कालको वैधानिक व्यवस्था
नेकपाको आगामी महाधिवेशनले आफ्नो विधानमा पार्टीको कुनै पनि कमिटीहरूको प्रमुख पदमा लगातार दुई कार्यकालभन्दा बढी बस्न नपाउने र सङ्घीय, प्रदेश तथा स्थानीय तहका तीनवटै सरकार प्रमुखहरू लगातार दुई कार्यकालभन्दा बढी बस्न नपाउने व्यवस्था राख्नुपर्छ । यस्तो वैधानिक व्यवस्थाले पार्टीभित्रको अस्वस्थ प्रतिस्पर्धा समाप्त हुने र लोकतान्त्रिक विधि प्रणालीहरूलाई संस्थागत विकासमा योगदान गर्नेछ । निरन्तर रूपमा पार्टी सङ्गठनमा काम गर्ने युवा नेतृत्वले काम गर्ने मौका र अवसरहरू सिर्जना हुने हुँदा पार्टीभित्र हुर्किने अस्वस्थ प्रतिस्पर्धा र गुटगत गतिविधिहरू स्वचालित रूपमा नियन्त्रण हँुदै जाने प्रणाली स्थापित हुनेछ । पार्टीका नेता तथा कार्यकर्ताहरूमा देखापर्ने निराशा समाप्त भई आफ्नो साङ्गठनिक काम र राजकीय भूमिकाका आधारमा मूल्याङ्कन हुने विश्वास पलाउनेछ । कम्युनिस्ट आचरण, सादगी र अनुशासित नेता कार्यकर्ताको पङ्ति इमानदारीपूर्वक मुलुकको कम्युनिस्ट आन्दोलनमा सहभागी हुने कुरालाई यसले सुनिश्चित गर्दै जानेछ ।
निर्वाचन खर्च राज्यको
नेकपाको आगामी महाधिवेशनले हाम्रो निर्वाचन प्रणाली र यसका असल र खराब पक्षहरूका बारेमा खुलेर बहस गर्ने कुरालाई विशेष ध्यान दिनु जरुरी छ । हाम्रो निर्वाचन प्रणाली औधी खर्चिलो हँुदै गएको छ । यो अवस्थामा परिवर्तन नगर्ने हो भने आगामी निर्वाचनहरूमा श्रमजीवी सर्वहारा किसान, मजदुर वर्गको कुनै पनि अगुुवाले निर्वाचन खर्च बेहोर्न सक्ने छैन । एउटा पालिकाको वडाध्यक्ष जित्नका लागि घरखेत धरौटी राखेर निर्वाचन खर्च बेहोर्नुपरेका ज्यादै कष्टपूर्ण अनुभवहरू छन् । घरखेत बैङ्कमा धरौटी राखेर निर्वाचनको खर्च बेहोर्दै जाने हो भने निर्वाचित प्रतिनिधिहरू क्रमशः या त सुकुम्बासी बनाउने वा भ्रष्टाचार गरेर पार्टीलाई जनताबाट टाढा बन्ने निश्चित छ । हाम्रो निर्वाचन प्रणालीलाई कसरी कम खर्चिलो बनाउन सकिन्छ भन्नेबारेमा बहस र निर्णयमा पुग्नु जरुरी छ । निर्वाचचन खर्च राज्यले बेहोर्नुपर्छ ।
निर्वाचित निकायको व्यवस्थापन
संविधानसभाबाट प्राप्त नेपालको संविधानले नेपालको शासकीय स्वरूपलाई परिवर्तन गरेको छ र राज्यको संरचनालाई पुनःसंरचना गरी सङ्घीय शासन प्रणाली स्थापित गरेको छ । सङ्घीय संरचनाअनुरूप सञ्चालित सरकारका विकास प्रयासहरूलाई सकारात्मक रूपमा बुझ्ने, ग्रहण गर्ने र भविष्यलाई सुनिश्चित, दिगो र प्रभावकारी रूपमा सञ्चालन गरी नेपाली नागरिकको जीवन सहज बनाउँदै मुलुकलाई आर्थिक समृद्धिको बाटोमा लैजाने दायित्व मूल रूपमा सरकारकै हो । तर, त्यसलाई दिशानिर्देश गर्ने जिम्मेवारी पार्टीले नै बोक्नुपर्छ ।
सरकारका सकारात्मक प्रयासहरूको निरन्तरता र कमी–कमजोरीहरूलाई सच्याउनेगरी नागरिक समाजको जीवन्त आवाज अहिलेको आवश्यकता हो । निरन्तरको राजनीतिक अस्थिरताको अन्त्य गरी नेपालमा बसोवास गर्ने सबै वर्ग, क्षेत्र र संस्कृतिको साझा देशका रूपमा नेपाललाई अघि बढाउन र विरोध वा असहमति प्रकट गर्ने तरिका वा माध्यमहरूलाई शान्तिपूर्ण बनाउन तथा सरकारलाई शान्तिपूर्ण रूपमा उठेका नागरिक आवाजलाई सम्बोधन गर्ने वातावरण निर्माण गरी सरकारलाई नागरिकप्रति जवाफदेही बनाउनका लागि निरन्तरको सकारात्मक संवाद आवश्यक छ ।
नयाँ संरचना, नयाँ शासन प्रणालीको अभ्यास गरिरहेको सन्दर्भमा हाम्रा सोचविचार, चिन्तन, कार्यशैली र व्यवहारमा रूपान्तरण आवश्यक छ । तीन तहका सरकारहरू, तीन तहकै कर्मचारी प्रशासनको व्यवस्थापन, कार्यसम्पादनजस्ता विषयहरूमा कसैले आफूलाई विज्ञ ठान्ने मुर्खता गर्नुहुँदैन । संसारको सङ्घीय शासन प्रणाली विकेन्द्रित राज्यहरूलाई जोडेर सङ्घीय शासन प्रणाली लागू गरिएका हुन् तर हामी केन्द्रीकृत राज्यको शासकीय स्वरूपमा परिवर्तन वा विभाजन गरी सङ्घीय शासन प्रणालीमा आबद्ध भएका छौँ । यो नेपालको नयाँ अभ्यास पनि हो । नेपालको सङ्घीय शासन प्रणालीलाई दिगो, प्रभावकारी, सरकारलाई नागरिकप्रति जवाफदेही बनाउन, नागरिक संवादलाई घनिभूत र जीवन्त बनाउँदै अवरोधका रूपमा देखापर्ने विविध विषयहरूमाथि विषयविज्ञहरूको विचार सम्प्रेषण गरी राज्य र नागरिक समाजबीचको सम्बन्धलाई खँदिलो र विश्वासिलो बनाउन नियमित विचारहरूको मन्थन गर्ने थलोका रूपमा आगामी पार्टीको एकता महाधिवेशन गर्नु आवश्यक छ । नेपाल कम्युनिस्ट पार्टीले निर्वाचित जनप्रतिनिधिहरूलाई आवश्यक प्रशिक्षण, निर्देशन एवम् सहकार्यका विधि प्रक्रियाहरू अवलम्बन गर्दै श्रमजीवी जनताको जीवन सहज बनाउने अभियान स्थापित गर्नुपर्छ । कम्युनिस्ट कार्यकर्ताहरूको अनुशासन, सादगी र नैतिकतापूर्ण सरल जीवनशैली, नागरिकका बीचको असल र घनिभूत सम्बन्ध निर्माणको कामलाई व्यवस्थित बनाउन सकेमात्रै पार्टीलाई माया गर्ने जनमतको वृद्धि हुनेछ ।
(लेखक सुर्खेतको सहकर्मी समाजमा सक्रिय हुनुहुन्छ ।)