विचार/दृष्टिकोण |

मृगतृष्णा नबनोस् मेलम्ची

प्रा.डा. भीमदेव भट्ट

मानिसको दिनचर्या सञ्चालनका लागि पानीको महŒव अहम् छ । यसैकारण पानीलाई अत्यावश्यक वस्तुका रूपमा वर्गीकरण गरिएको हो । विश्वका प्रत्येक राष्ट्रले आफ्ना नागरिकलाई भरपर्दाे, नियमित र शुद्ध खानेपानी उपलब्ध गराउने प्रतिबद्धता जनाएको पाइन्छ । कतिपय राष्ट्रले खानेपानी र सिँचाइका लागि अन्य मुलुकमा निर्भर रहनुपरेको छ भने कतिपय राष्ट्रमा पानीको उपलब्धता भएर पनि खानेपानीको उचित प्रबन्ध मिलाउन नसकेको देखिन्छ । अब पानीयुद्धको सम्भावना औँल्याएकै छन् विज्ञहरूले ।
नेपालमा, चौधौँ योजनाको अन्त्य (आर्थिक वर्ष २०७५÷०७६) सम्म, ८९ प्रतिशत जनसङ्ख्यालाई खानेपानी सेवा पुगेको तथ्याङ्क सार्वजनिक गरिए पनि पन्ध्रौँ योजना (आव २०७६÷७७–२०८०÷८१) को दीर्घकालीन सोचको प्रमुख परिणात्मक लक्ष्यहरूमा आव २१००÷०१ मा ९५ प्रतिशत जनसङ्ख्यालाई उच्च मध्यमस्तरको खानेपानी सुविधा पु¥याउने प्रक्षेपण गरिएको छ ।
नेपालमा विगत ४०÷५० वर्षयता जनसङ्ख्या निरन्तर बढ्दै जानु, वन–जङ्गल नासिँदै जानु र बसाइँ–सराइको क्रम सहरमुखी र त्यसमा पनि राजधानीमुखी हुँदै गएबाट पिउने पानीको समस्या अदृश्य किसिमले चुलिँदै गएको छ । काठमाडौँमा विद्यमान ढुङ्गेधारा, कुवा, इनारमार्फत सर्वसाधारणले पिउनेपानीको व्यवस्था गर्दै आएका थिए । तर, अनियन्त्रित सहरीकरणका कारण ढुङ्गेधाराका मुहान द्रुत गतिमा सुक्दै गए । एकातर्फ उपत्यकामा जनसङ्ख्या बढ्दै जानु र अर्काेतर्फ अतीतदेखि प्रयोगमा आएका पानीको स्रोत सुक्दै, नासिँदै गएपछि समस्या विकराल बन्दै गयो । यसै सन्दर्भमा उपत्यकामा खानेपानीको दीर्घकालीन समस्या समाधान गर्ने हेतुले विक्रम संवत् २०४१ मा विभिन्न २२ विकल्पमध्ये मेलम्ची खानेपानी आयोजना पहिचान गरी विसं २०४८ मा सो परियोजना कार्यान्वयन गरिने निर्णय लिइयो ।
उपरोक्त खानेपानी परियोजनाको निर्माणकार्य यथार्थमा विसं २०५२ मा प्रारम्भ गरियो । यस परियोजनामा नेपाल सरकारलगायत बहुअन्तर्राष्ट्रिय संस्थाको संलग्नता छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको अम्बाथानबाट काठमाडौँको सुन्दरीजलसम्म पानी पु¥याउन २७.५ किलोमिटर सुरुङ निर्माण गर्नुपर्ने भएकाले यो कार्य आफैँमा नौलो र चुनौतीपूर्ण थियो । काम सुरु भएलगत्तै माओवादी द्वन्द्वका कारण कार्यान्वयनमा अनेकौँ समस्या आइलागे । विसं २०६६ मा चाइना रेल्वे व्युरो (चीनको)लाई दिइएको ठेक्कासमेत बीचमा तोडियो । यता आएर इटालीको निर्माण व्यवसायीले ०७४ साल चैत महिनामा सुरुङ खन्ने कार्यलाई निरन्तरता दियो । इटालीको निर्माण व्यवसायीले पनि आफ्नो कमजोर आर्थिक स्थिति दर्शाई एकातर्फी ठेक्का तोडेकाले पछिल्लो समयमा एक वर्षमा बाँकी कार्य पूरा गर्ने सर्तमा सिनो हाइड्रो कर्पाेरेसन, चाइनासित ०७६ असोज १२ गते अर्काे सम्झौता गरी परियोजनालाई निरन्तरता दिइएको छ ।
मेलम्चीको खानेपानी परियोजनाबारे समय–समयमा सञ्चारमाध्यममा विभिन्न समाचार सार्वजनिक हुँदै आएका छन् । केही वर्षपहिले पानी वितरणका लागि काठमाडौँ उपत्यकामा यत्रतत्र पाइप बिछ्याउने कार्य प्रारम्भ गर्दा यसले नगरवासीमा नौलो आशा जगायो । यसै सन्दर्भमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले १७ फागुन २०७३ मा राष्ट्रका नाममा गर्नुभएको सम्बोधनमा ‘अबको छ महिनाअघि नै मेलम्चीको पानी काठमाडौँ आउनेछ’ भन्नुभएको थियो । लगत्तै २०७४ सालको बडादसैँको मिति कार्यसम्पादनका लागि तोकियो । यसै सन्दर्भमा खानेपानी मन्त्रालयका तत्कालीन मन्त्री महेन्द्र यादवले २० भदौ २०७४ मा संवाददाताहरूबीच मेलम्चीका खानेपानी पुस महिनाभित्रै राजधानी आउने जानकारी दिनुभयो । तर, सरकारका कुनै पनि उद्घोष र आश्वासनले मूर्त रूप लिन सकेनन् ।
यसै सन्दर्भमा पछिल्लोपटक २२ असार २०७७ सालको गोरखापत्र मुखपृष्ठमा ‘मेलम्चीको पानी दुई महिनापछि सुन्दरीजलमा’ भन्ने समाचार छापियो । उक्त समाचारमा खानेपानी मन्त्रालयका मन्त्री बीना मगरले ‘मेलम्चीसँगको लामो समयको प्रतीक्षा, निराशा र प्रश्नहरूको अन्त्य भएको छ, प्राविधिक रूपमा निकै कठिन काम सम्पन्न भएका छन्, बाधा अवरोध चिरेर निरन्तरताको प्रयासले हामी सफल भएका छौँ । अब सरकार र नेतृत्वसँग छलफल गरेर उद्घाटनको मिति छिट्टै तोक्छौँ भन्ने अर्काे आश्वासन बाँड्नुभयो । यस समाचारले काकाकुल नगरवासीलाई उद्वेलित नबनाउने
कुरै थिएन ।
उपरोक्त खुसीको खबरको मसी सुक्न नपाउँदै मेलम्चीको पानी सुरुङमा पथान्तरणको क्रममा असार ३० गते एकजना इन्जिनियरको मृत्यु, एकजना बेपत्ता र दुईजना घाइते भएको दुःखद समाचार आयो । जडित दुईवटा गेटका नटबोल्ट फेल (चुकुल असफल) भई सो दुर्घटना हुन पुग्यो । सुरुङभित्र ५२ मिटर उचाइसम्मको पानीको दबाब थेग्न सक्नेगरी निर्माण गरिएको द्वारले १६ मिटर उचाइकै द्वारको दबाब थेग्न सकेन । यस कार्यमा ठूलो प्राविधिक गल्ती भएको साबित भयो । बिग्रिएको ढोका पुनः जडान गर्नेबारे विदेशी परामर्शदातालाई सहभागी तुल्याई काम अघि बढाइएको छ । यसरी २०७४ सालको दसैँमा मेलम्चीको पानी वितरण गर्ने लक्ष्य राखिए पनि अर्काे तीन दसैँ बिताइसक्दा पनि यो काम सम्पन्न हुन सकेको छैन । यसबारे संसद्को राष्ट्रिय सरोकार तथा समन्वय समितिले समेत पटक–पटकको बैठकमा विषयवस्तुबारे जानकारी लिएको र परियोजना सक्दो छिटो पूरा गर्न निर्देश गरेको छ । यस सन्दर्भमा आयोजनामा संलग्न ‘चाइना सिनो हाइड्रो कर्पाेरेसन’ले पुस मसान्त २०७७ सालमा सम्झौताअनुसारको सबै काम सम्पन्न गरिसक्ने भएकाले यस वर्षको अन्तिम महिनासम्म काठमाडौँमा खानेपानी वितरण गरिने नयाँ मिति परियोजनाबाट अवगत गराइएको छ ।
विगत २५ वर्षदेखिको अथक प्रयास र करिब २९ अर्ब रुपियाँ खर्च भइसकेको यस राष्ट्रिय गौरवको योजनाले कहिले मूर्त रूप लिने हो ? यसै भन्न सक्ने अवस्था देखिन्न । विगतमा नेपाल विद्युत् प्राधिकरणका केही स्वार्थी व्यवस्थापकका कारण नेपाली जनताले बीसौँ वर्षसम्म लोडसेडिङ बेहोर्नुप¥यो । कतै यही नियति मेलम्ची खानेपानी परियोजनाले त भोग्नुपरिरहेको छैन भन्ने शङ्कासमेत उत्पन्न भएको छ ।
वर्तमान समयमा विश्वमा फैलिएको कोभिड–१९ को कहरले नयाँ समस्या सिर्जना गरेको छ । यस्तै र अन्य कतिपय बाहनामा परियोजनाको अवधि लम्ब्याउने दुश्चक्र चल्ने त छैन ? आशा गरौँ, काकाकुल जनताका यस्ता शङ्का गलत साबित हुनेछन् । मेलम्चीबाट प्राप्त पानी उपत्यकावासीको घर–घरमा पु¥याउन पाइपलाइन बिछ्याए पनि अझै धेरै काम गर्न बाँकी नै देखिन्छ । धारामा मिटर जडान गर्न, पाइपलाइनको परीक्षण कार्यले पनि केही समय लेला नै । सुन्दरीजलसम्म पानी आइहाले पुरानै पाइपलाइनबाट पानी वितरण गर्ने योजना खानेपानी संस्थानले लिएको बुझिन्छ । तर, ती पुराना पाइपको अवस्था कस्तो छ, ती पाइपले पानीको चाप लिन सक्छन्÷सक्दैनन्, पानीको चुहावट के–कति भइरहेछ ? आदिबारे थप अध्ययनको आवश्यकता छ । हाल हप्ता÷बाह्र दिनको अन्तरालमा पानी वितरणका समयमा मुख्य सडकमै देखिने पाइपको चुहावट अवस्थाबोध गर्दा पुरानै पाइपलाइनबाट पानी वितरणको सम्भावना कस्तो रहला भन्न सकिन्न । यस विषयमा सम्बन्धित् क्षेत्रका विज्ञले चिन्तासहहितको खबरदारी गर्नु उपयुक्त हुनेछ ।
उपत्यकावासीले खानेपानी प्राप्त गर्न कस्तो सास्ती बेहोरिरहेका छन्, मेसिनले नतानी कति घरधुरीले पानी प्राप्त गरिरहेका छन् ? खानेपानीको अभावसँगै यस प्रयोजनाका लागि कति सङ्ख्यामा मेसिन आयात गरिए ? तिनको मर्मत–सम्भारमा कति खर्च भयो ? कति घरधुरीले बोरिङ (उत्खनन) गरी पानी प्राप्त गरिरहेछन् ? जमिनमुनिबाट तानिएको पानीको सतह कहाँ पुगेको छ ? यसले काठमाडौँ उपत्यकालाई कति खोक्रो तुल्याइरहेछ ? विद्यमान ढुङ्गेधारा, कुवा र इनार कसरी सुक्दै गए, मासिँदै गए ? संस्थानले वितरण गर्दै आएको पानीको नियमितता र सुलभताका साथै शुद्ध र पर्याप्त पानीको अभावका कारण उत्पन्न रोग र सरसफाइमा परेको प्रभाव के
छ ? आदि विषयमा सम्बन्धित निकायले समयमै ध्यान दिन सकेको भए समस्या यति विकराल हुने थिएन । यस विषयलाई लिएर उच्च अध्ययन गर्ने विद्यार्थीले आफ्नो विद्यावारिधिको विषय बनाउनु पनि आवश्यक छ । आजको सवाल मेलम्चीको पानी काठमाडौँ उपत्यकामा झर्छ कि झर्दैन भन्ने होइन, कति समयसम्म भ्रष्ट केन्द्र बनाइने ? भन्ने हो । बहुअन्तर्राष्ट्रिय संस्थासमेत संलग्न यस आयोजनाले मूर्त रूप लिनेमा द्विविधा छैन । तर, अहिलेसम्मको लामो पर्खाइ ज्यादै पट्यारलाग्दो साबित भएकाले यो परियोजना मृगतृष्णा नबनोस् भन्नेमात्र हो । 
(लेखक वरिष्ठ प्रशासनविद् हुनुहुन्छ ।)