विचार/दृष्टिकोण |

सम्झिएका लेनिन र बिर्सिएका सन यात् सेन

 

भागवत खनाल

सन् १९११ को डिसेम्बर महिना । ब्रिटिस उपनिवेश हिन्दुस्तानको नयाँ राजधानी दिल्लीमा ब्रिटिस सम्राट जर्ज पञ्चमको भव्य अभिनन्दन हुँदै थियो । ‘जन गण मन भारत भाग्यविधाता’को सुरम्य धुनमा गाइएको सो गानमा विदेशी सम्राटलाई भारतको भाग्यविधाताका रूपमा महिमामण्डित गरियो । झन्डै दुई हजार ८०० जना व्यक्तिले वादशाहबाट ‘मेडल’ प्राप्त गरे, जसमा ‘युनियन ज्याक’मुनि आबद्ध हिन्दुस्तानी रजौटासमेत थिए ।
ठीक त्यही समयमा छिमेकी देश चीन र रूसमा स्वदेशी सम्राटलाई गद्दीच्यूत गरी गणतन्त्र स्थापना गर्न क्रान्तिको ज्वाला बलिरहेको थियो । तत्कालीन विश्व जनसङ्ख्याको एकतिहाइभन्दा बढी मानिस बसोवास गर्ने ती दुई देशमा ऐतिहासिक महŒव राख्ने दुईजना महान् क्रान्तिकारीले नेतृत्व गरेका थिए । सन यात् सेन र लेनिन ।
सन् १८६६ मा दक्षिण चीनको एउटा गाउँको गरिब परिवारमा जन्मेका थिए– सन यात् सेन । चौध वर्षको उमेरमा आफ्नै दाइले स्थापना गरेको व्यापारमा सहयोग गर्न होनोलुलु पुगे उनी । त्यहाँ उनी निकै रमाए । उनी काम सँगसँगै पढाइमा पनि लागे । क्रिश्चियन स्कुलमा भर्ना भएका प्रतिभावान किशोर सन यात् सेन क्रिश्चियन धर्मबाट प्रभावित भए । उनी परिवारलाई थाहै नदिई क्रिश्चियनमात्र बनेनन्, अङ्ग्रेजी सिक्नुका साथै पश्चिमी जीवनशैलीमा चुर्लुम्म डुब्न पुगे ।
त्यहाँ उनले कहिल्यै नसुनेको ‘प्रजातन्त्र’ र ‘पश्चिमी समाजवाद’ सुने । यी सबै उनका लागि नयाँ र रोमाञ्चकारी कुरा थिए । उनी अचम्मित । संसारमा यस्ता कुरा पनि रहेछन् । भाइको चालामाला दाइलाई निको लागेन । दाजुले सन यात् सेनलाई चीनतिर लखेटेर पठाए । नयाँ संसार चाखेर फर्केको क्रिश्चियन किशोर । गाउँका मन्दिर र मूर्तिबारे अनर्गल कुरा गरेको आरोप लगाएर गाउँका मानिसले उनलाई निकाला गरिदिए । उनी भौँतारिँदै हङकङ पुगे । नयाँ विचारको भोक, प्रजातन्त्र र समाजवादको चस्का । यस्ता कुरा चीनको दुर्गम गाउँका गरिब मानिसलाई कसरी बुझाउनु ? गम्भीर प्रश्न थियो । नयाँ जीवनमूल्य र मानवीय स्वतन्त्रताका पक्षधर युवक । उनले धेरै साथी बनाए । लामा–लामा बहसमा सामेल हुँदै आफूलाई प्रखर बनाउँदै थिए । अचानक घरबाट ‘विवाह गर्न आ’ भनेर खबर आयो । भविष्यमा चिनियाँ जनताको मुक्तिका लागि धेरै थोक गर्ने सपना देखेका युवक कहिल्यै नदेखेकी कन्या विवाह गर्न राजी हुँदै घर फर्के ।
त्यसबखत चीनमा विदेशीहरूको भयानक घुइँचो थियो । पश्चिमी सामानले भरिभराउ हुन्थे– चिनियाँ बन्दरगाहरू । आज चीनले सारा पश्चिमी जगत्लाई आफ्नो बजार बनाएको छ । उसबखतको चीन पश्चिमी मालको ठूलो बजार बनेको थियो । चिनियाँ साम्राज्यको पतनको दियो जलिसकेको थियो । किन्तु बेखबर साधारण जनता मध्यकालीन बर्बरतामै अभ्यस्त थिए ।
पुनः हङकङ गएका उनी अमेरिकन मिसनरीको सम्पर्कमा पुगे । अब उनीसँग दुई विकल्प थिए, मिसनरीको पछि लागेर सुखी जीवनयापन गर्ने या क्रान्ति गर्ने । उनले क्रान्तिको विकल्प रोजे । यहीक्रममा उनले डाक्टरी पढाइ पूरा गरिसकेका थिए । ‘प्राक्टिस’ गर्न भनी मकाउ पुगेका सन यात् सेनलाई पुर्तगाली मान्यता प्राप्त नभएको शैक्षिक संस्थाबाट मेडिकल डिग्री हासिल गरेको भनेर ‘प्राक्टिस’ गर्न वञ्चित गरियो । उनी फेरि चीन फर्किए ।
क्रान्तिकारी विचारका सन यात् सेनको टाउकाको मूल्य तोकिएको थियो । साथमा पैसा छैन, असहज वातावरण । उनी ‘फन्ड’ जम्मा गर्ने उद्देश्यले फेरि होनोलुलु र त्यहाँबाट लन्डन पुगे । ब्रिटेनमा उनलाई नैतिक समर्थनका साथै पैसासमेत प्राप्त भयो तर क्रान्तिकारीहरूको जीवन कहाँ सहज हुन्छ र ? उनलाई लन्डनस्थित चाइनिज ‘लिगेसन’ ले समातेर थुन्यो । धन्न हितैषी मित्रको दबाबका कारण ब्रिटिस सरकारले लिगेसनबाट बाहिर निकाल्यो । समयमै बाहिर ननिकालेको भए उनलाई चीन लगेर दारुण तरिकाले मारिने पक्का थियो । चीनमा नेतृत्वविहीन विद्रोहहरू भइरहेका थिए । उनले लन्डनमै ‘चाइनिज रिभोलुसनरी लिग’ स्थापना गरे, जसका शाखा युरोप र जापानसम्म फैलिएका थिए । सन यात् सेनका रचनाको चीनसम्म ठूलो प्रभाव पर्न थाल्यो । चिनियाँ सरकारले घोषणा गरेको टाउकाको मूल्य बोकेरै उनी गोप्य रूपमा पटक–पटक चीन गएका थिए । १९११ मा क्रान्तिकारीहरूले आफूलाई गणतन्त्र चीनको प्रथम राष्ट्रपति घोषित गरेको कुरा उनले अमेरिकामा अखबार पढेर थाहा पाएका थिए ।
१९१२ को जनवरीमा सन यात् सेनले राष्ट्रपति पदको शपथ लिएसँगै चीनको हजारौँ वर्ष पुरानो राजतन्त्र सदाका लागि बिदा भयो । उनले ‘नेसनल रिपब्लिकन पार्टी’ (कोमिन्ताङ)को नेतृत्वमा बलियो राष्ट्र स्थापना गर्ने उद्देश्य राखेका थिए । सन यात् सेनका मुख्य रूपमा तीन नारा थिए– राष्ट्रवाद, गणतन्त्र र समाजवाद । स्थिति सहज थिएन । जताततै अराजकता थियो । उनले आफूले परिकल्पना गरेको सिद्धान्तलाई कार्य रूपमा परिणत गर्ने मौकै पाएनन् । यसैबीचमा जनरल युन सी काईले आफैँलाई चिनी सम्राट घोषणा गरे । धन्न उनको छिट्टै निधन भएकाले ठूलो रक्तपात हुन पाएन ।
सन् १९१९ मा प्रथम विश्वयुद्धपछि भएको भर्सेलिजको सन्धिले सन यात् सेनलाई आफ्नो विदेशनीतिमा व्यापक परिवर्तन गर्नुपर्ने परिस्थिति खडा गरिदियो । पश्चिमा देशहरू र जापान मिलेर चीनमाथि गरेको हस्तक्षेपकारी अन्यायले गर्दा सन यात् सेन पश्चिमाहरूलाई त्यागेर सोभियत सङ्घतर्फ उन्मुख हुन बाध्य भए । रूसले हतियार र पैसासमेत दियो । रसियन अफिसरहरूको बाक्लो उपस्थिति हुन थाल्यो चीनमा । यसले गर्दा सानो बालकजस्तो चिनियाँ कम्युनिस्ट पार्टी व्यापक रूपमा फैलिन सफल बन्यो । अराजकता र अस्थिरताबीच नै सन यात् सेन साङ्घाई पलायन हुन बाध्य भए । १९२५ मा मृत्यु हुँदासम्म उनी गृहयुद्धले ग्रस्त चीनका राष्ट्रपति थिए ।
चीनमा चेतनाको लहर फैलाउने पहिलो व्यक्ति हुन्– सन यात् सेन । चिनियाँ जनतामा प्रजातन्त्रको सन्देश पु¥याई स्वतन्त्रताको भोक जगाउने पहिलो अविस्मरणीय नायक हुन् उनी । उनले फुकेकै विगुल हो– जसले चिनियाँ जनमानसमा राष्ट्रिय मुक्तिको तुमुल ध्वनि प्रसारण गरेको थियो । आधुनिक चीन राष्ट्र अझै पनि त्यो प्रतिभावान र दृढनिश्चयी क्रान्तिकारी डाक्टरको ऋणी छ तर उनलाई सम्झिने त्यहाँ खासै कोही छैनन् । इतिहासको आफ्नै बाटो हुन्छ । इतिहास कसैका लागि उपकारी हुन्छ भने कसैलाई विस्मृतिको गर्तमा धकेलिदिन्छ । अहिले आएर चीनले उनलाई किञ्चित याद गर्न थालेको छ । सन यात् सेनलाई सम्झनेहरू केही हङकङमा र सायद केही मकाउमा होलान् । पश्चिमले त सायद बिर्सिसक्यो ।

लेनिन सारा संसारले चिन्ने सर्वहारा मुक्तिका महानायक । कार्ल माक्र्सको जन्म भएको बाउन्न वर्ष, माक्र्सले कम्युनिस्ट घोषणापत्र प्रकाशन गरेको बाइस वर्ष र पुँजीको पहिलो भाग प्रकाशित भएको तीन वर्षपछि जन्मेका थिए– लेनिन (भ्लादिमिर इल्यिच उल्यानोभ) । बाबु विद्यालय निरीक्षक थिए । आमा एक जर्मनी डाक्टरकी शिक्षित छोरी थिइन्, कट्टर लुथरन अनुयायी । धनी र शिक्षित परिवार थियो । लेनिनको बचपन बडो सुख र चैनमा बित्यो । राम्रो विद्यालय शिक्षा, मिल्ने र माया गर्ने दाजु अलेक्जेन्डर उल्यानोभ । सानै उमेरमा किताब पढ्ने र बहस गर्ने बानी थियो दाजुको । दाजु बहिर्मुखी, धेरै साथी थिए उनका । भाइ अन्तर्मुखी र एकान्तप्रिय । साना भ्लादिमिर बाबु र उनका साथीहरूबीच हुने बहस र छलफल सुनेर बस्थे चुपचाप ।
भ्लादिमिरले सानै उमेरमा धेरै किताब पढे । पढ्दापढ्दै एउटा सम्पन्न परिवारको सुखी केटो क्रान्तिकारी विचारमा भिज्दै र प्रेरित हुँदै गएको उनी आफैँले चाल पाएनन् । दुई भाइ नै जारको आतङ्क, व्युरोक्रेसी र गुप्तचर पुलिसबारे हरकुरा थाहा पाउँदै गए । लजालु भ्लादिमिर कानुन पढ्न कजान विश्वविद्यालयमा भर्ना भए । यसैबीच दाजुलाई जार शासनले झुन्ड्याएर मा¥यो । यो घटनाबाट क्षुब्ध र क्रोधित भएको लजालु युवकले क्रान्तिको लामो र खतरनाक बाटो समात्ने अटल निर्णय गर्न पुग्यो ।
यही दौरानमा उनले बोल्सेभिक स्थापना गरेका थिए । योग्य युवा व्यारिस्टरको छवि बनेको थियो उनको । परन्तु यो छवि उनलाई केही कामको थिएन । उनले त रसियाभित्र धेरै–धेरै सुरुङ खन्नु थियो ताकि जारका गुप्तचरलाई कुन सुरुङभित्र छुचुन्द्रो छ र कुन रित्तो छ भन्नेमै भ्रम परोस् । १८९० को सुरुदेखि नै लेनिन गुप्तचरको नजरमा परिसकेका थिए । हुनेखाने र इज्जतदार परिवारको भएर पनि दाजु क्रान्तिकारी बनेर मारिएको र भाइ कजानबाट निष्कासित विद्यार्थी । उनी स्वतः शङ्कास्पद तŒव थिए शासनको नजरमा । भ्लादिमिर भूमिगत भए । सस्तो सेल्टर, सस्तो र साधारण खाना । अब सदाका लागि जीवनको कठिन बाटो तय भयो । सन्तको जस्तो सादा जीवन । उनले बस्ने कोठामा सजिलो कुर्सी राख्नसमेत मानेनन् । शरीरलाई सुखमा राखियो भने दिमाग पनि लोसो हुन्छ । व्यक्तिगत स्वार्थ हाबी हुन्छ । नरम बिछ्यौना र नरम तकिया उनीबाट टाढा भए । बुद्ध र गान्धीजस्तो । आमरसियन नागरिकभन्दा कुनै हालतमा माथिल्लोस्तरमा नरहने भीष्मप्रतिज्ञा । जो क्रान्तिपछि पनि कायमै रह्यो ।
उनले आफ्नो जीवनकालमा पार्टीको कुनै पनि नेतालाई जीवनयापनका लागि अत्यावश्यक पर्ने भन्दा बढी सुविधा दिएनन् । आफूले पनि लिएनन् तर विडम्बना । उनका साथीहरू उनीजस्ता थिएनन् । उनी धनी परिवारबाट आएका सबै त्याग्न तयार । गरिब परिवारबाट आएकालाई सायद धनीमानीको जीवनको अनुभव गर्न मन लाग्यो होला । लेनिनको मृत्युपछि कम्युनिस्ट नेताहरूको आलिसान जीवन सुरु भइहाल्यो । जो अन्य देशका कम्युनिस्ट नेताहरूमा समेत सङ्क्रमण भयो र हुँदै छ । भूमिगतकालमा लेनिन कठोर गोप्यता कायम गर्थे । गोर्कीको शब्दमा भन्दा, ‘जब–जब उनी अखबार पढ्थे, उनका आँखा बलिरहेको प्रस्ट देखिन्थ्यो ।’ जति गोप्यता कायम गरे पनि एक न एक दिन भेद खुल्दोरहेछ । भ्लादिमिर पक्राउ परे । १८९७ देखि १९०० सम्मको कठोर साइबेरिया निर्वासन उनका लागि वरदान साबित भयो । जारशाहीले राजबन्दीहरूलाई सश्रम कारावासमा नराख्ने हुँदा उनले धेरै लेख्ने मौका पाए । दर्जनौँ किताबमध्ये केही प्रारम्भिक पुस्तकहरू यसै समयमा लेखिएका थिए । कठोर निगरानीबीच पनि उनका सन्देश बाहिर प्रवाह हुने गर्थे । यही समयमा पहिलोपटक उनले आफ्नो दस्तखत लेनिन उल्लेख गरेपछि नै उनी ‘लेनिन’ बनेका हुन् । सायद लेना नदीकिनारमा निर्वासनमा बसेको हुँदा यो नाम जुराएका हुन् कि ।
निर्वासनबाट फर्केर आउने व्यक्ति पुरानो उल्यानोभ थिएन । एउटा परिपक्व, दृढनिश्चयी र सिद्धान्तमा कठोर ‘लेनिन’ । नयाँ व्यक्तित्व, नयाँ सोच र नयाँ होसियारीपूर्ण जोश । परिमार्जित सिद्धान्तको सूत्रकार र क्रान्तिको सूत्रधार । प्रखर धारणाशक्ति, विलक्षण अनुशासन, दुर्जेय दृढता र सादगीले भरिपूर्ण जीवनशैलीले उनको व्यक्तित्वलाई निखारेको थियो । उनी स्वीटजरल्यान्ड र त्यसपछि लन्डन गए । पत्नी नादेझ्दा क्रुप्स्कायाका साथ उनी लन्डनमा धेरै वर्ष बसे । कार्ल माक्र्सले मजदुर शोषणको केन्द्र मानेको लन्डनले नै माक्र्स र लेनिनलाई शरण दियो । लेनिन बीचबीचमा रूस पनि गइरहने गर्थे । स्वीटजरल्यान्डमा हुँदा उनले इस्क्रा भन्ने पत्रिका प्रकाशन सुरु गरेका थिए । उनका रचनाहरू आगो बनेर पुग्थे समर्थकमाझ । गोप्य रूपमा रूस पुग्ने यो प्रकाशनले लेनिनलाई नयाँ उचाइमा पु¥याएको थियो । उनको भनाइ हुन्थ्यो– हरेक रसियनको एउटा घर होस् । खानलाई अन्न होस् । र, जाडोमा तातो पार्ने एक हिटर । जसले काम गर्छ, उसले खान पाउँछ । योग्यताअनुरूपको काम र आवश्यकताअनुरूपको सुविधा ।
प्रथम विश्वयुद्धको समयमा लेनिन अस्ट्रियामा थिए । अस्ट्रियाले निष्कासन गरेको हुँदा उनी पुनः स्वीटजरल्यान्ड पुगे । १९१७ को मार्चमा अन्तरिम सरकार गठन भएपछि उनी स्वदेश फर्के तर नयाँ सरकारले समेत टाउकाको मूल्य तोकेको हुँदा फेरि अदृश्य भए । सन् १९१७ को नोभेम्बर ७ तारिख (जुलियन पात्रोअनुसार अक्टोबर २५) । ऐतिहासिक बोल्सेभिक क्रान्ति सफल भएको दिन । लेनिनले रैतीलाई मालिक बनाएको दिन । जो अक्टोबर क्रान्तिको नामले विश्वप्रसिद्ध छ । बोल्सेभिक क्रान्ति सफल भएपछि उनले बैङ्क, उद्योग र कृषिको राष्ट्रियकरण गरे । विश्वयुद्धमा संलग्न फौज फिर्ता गरे । विद्रोहहरू रेड आर्मीका कमान्डर ट्राट्स्कीको नेतृत्वमा दबाइए । जार निकोलस द्वितीय र उनकी पत्नी एवम् सन्तानलाई जुलाई १९१८ मा मारियो । सत्तारूढ पार्टीका समर्थकबाहेक सबै सञ्चारमाध्यम प्रतिबन्धित भए । लेखेरै प्रसिद्धि कमाएका र क्रान्तिकारी नेता बनेका लेनिनजस्तो विचारकको यो कदम ठीक थियो ? बहसको विषय हुन सक्छ तर प्रश्न, सुझाव र समीक्षामाथिको प्रतिबन्धले गर्दा कम्युनिस्ट पार्टी आफ्नो कमजोरी सच्याउने मौकाबाट वञ्चित भयो । संसारभरिका कम्युनिस्ट पार्टीहरूमा बिस्तारै फरक विचारप्रति असहनशील हुने संस्कृति विकास हुँदै गयो । लेनिनका उत्तराधिकारीले त प्रश्न गर्ने आफ्ना सहकर्मीलाई समेत बाँकी राखेनन् ।
बैङ्क र कृषिको पूर्ण राष्ट्रियकारण असफल सिद्ध भएको हुँदा त्यसलाई लेनिनले अलि ‘मोडरेट’ गरेका थिए । राष्ट्र र पार्टीलाई स्थिर र समृद्ध बनाउने प्रयत्न गर्दागर्दै ३० अगस्ट १९१८ का दिन एकजना युवतीले उनलाई गोली प्रहार गरिन् । उनी गम्भीर रूपमा घाइते भए । लेनिन कमजोर हुँदै गए । अटल सुरक्षाका बीच गोली लाग्नु दुःखद घटना थियो । पटक–पटकका ‘स्ट्रोक’ले गर्दा उनको बोली गयो । दिमाग पूर्ववत् सक्रिय तर वाणी नभएका लेनिनलाई पोलिटव्युरोको मिटिङमा एउटा कुर्सीमा बसालिन्थ्यो । मिटिङको सिलसिलामा स्टालिन र ट्राट्स्कीबीच हुने आपसी कुवाच्य र घोचपेचहरू चुपचाप सुन्न विवश थिए लेनिन । उनको देहान्त १९२४ मा भयो । आज लेनिनको देशमा उनको पार्टीको शासन छैन । उनका धेरै र स्टालिनका सबै सालिक ध्वस्त भए । आज उनलाई मुक्तिदाता भनेर नाम जप्ने पुस्ता छैन त्यहाँ । तर, अझै पनि रसियामा उनका पदचापहरू सुनिन्छन् र निरन्तर सुनिइरहनेछन् । उनी अमर छन्, एउटा अटल किल्लाझैँ ।
उनको गुरुमन्त्रअनुसार क्रान्ति गरेका धेरै शासनसत्ता ढलिसके । कम्युनिस्ट पार्टीको नाममा शासन गर्ने देशमा पनि उनको मार्गदर्शनअनुसारको शासन छैन । तथापि करोडौँले उनका रचना र जीवनी पढ्छन् । उनको सिद्धान्त संसारका धेरै विश्वविद्यालयको पाठ्यक्रममा राखिएका छन् । अझै पनि उनको नाम जोडिएका पार्टीहरू जीवितै छन् । संसारका लाखौँ घरका बैठक कोठामा उनका तस्बिरहरू सजाएर राखिँदै छन् ।
सन् यात सेन एउटा क्रान्तिकारीमात्र थिए । लेनिन सिद्धान्तकार र क्रान्तिकारी । कार्ल माक्र्सको विकसित पुँजीवादी देशमा मात्र क्रान्ति सम्भव छ भन्ने सिद्धान्तलाई लेनिनले व्यावहारिक रूपमै गलत साबित गरिदिए । सिद्धान्तकार र क्रान्तिकारीहरू आफ्नो समयका उपज हुन् । उनीहरूको सिद्धान्त र सन्देश सबै युगमा बराबर लागू नहुन सक्छ । तर, समाजलाई आजको अवस्थासम्म ल्याउन उनीहरूको योगदान अविस्मरणीय रहेको हुन्छ ।
ब्रिटिस लेखक एलिन बिगल्यान्डले लेखेका थिए– रसियनहरूका लागि लेनिन एक मानवमात्र होइन, ‘रिलिजन’समेत हुन् । 
(लेखक नेपाल सरकारका पूर्वसहसचिव हुनुहुन्छ ।)