अमेरिकी पत्रकारको सिफारिस
डा. कुन्दन अर्याल
करिब एक महिनापहिले पत्रकारिता शिक्षामा चासो राख्ने एक जागरुक युवाले सामाजिक सञ्जालमा अमेरिकाको निर्वाचनसम्बन्धी सामग्रीका बारेमा प्रश्न उठाए । उनले त्यहाँका सम्भावित राष्ट्रपति जो बाइडेनलाई भोट दिन अखबारले गरेको सिफारिसका सम्बन्धमा जिज्ञासा प्रस्तुत गरेका थिए । उनको प्रश्न थियो– यसो गर्नु स्वतन्त्र पत्रकारिता हो त ?
त्यही समयताका अमेरिकामै चर्चा चलिरहेको थियो, यदि राष्ट्रपतिको निर्वाचन अखबारहरूको सिफारिसका आधारमा जितिने भए, बाइडेनले अमेरिकी इतिहासमै भव्य रूपमा विजय हासिल गर्नेछन् ।
मतदानको बेलासम्म, बहालवाला राष्ट्रपति ट्रम्पलाई मत दिन नाम चलेका केवल छवटा अखबारहरूले सिफारिस गरे । तर, डेमोक्र्याटिक उम्मेदवार बाइडेनको पक्षमा ४० भन्दा बढी सञ्चारमाध्यमहरू सिफारिससहित अग्रसर भए । अमेरिकाको निर्वाचनमा अनिश्चयमा बसेका मतदाताहरूलाई एउटा निधोमा पु¥याउन अखबारहरूले गर्ने सिफारिस प्रभावकारी साबित हुँदै आएका छन् ।
नेपालबाट हेर्दा उही प्रश्न उठ्न सक्छ, कुनै उम्मेदवारको खुलेर पक्षपोषण गर्दै आफ्नोतर्फबाट सिफारिस गर्नु व्यावसायिक पत्रकारिता हो त ? प्रस्ट शब्दमा भन्दा, निर्वाचनका बेला आयोगले विशेष आचारसंहितामा बाँध्ने चलन देखिआएको हाम्रा लागि सिफारिसको प्रयोग व्यावसायिक मर्यादाविपरीत लाग्न सक्छ । किनकि स्वतन्त्र मतदाताहरूका लागि अखबारहरूले उपयुक्त उम्मेदवारको सिफारिस गर्नुपर्छ र ? यस्तो प्रश्न यदाकदा संयुक्त राज्य अमेरिकामै उठ्ने गरेको छ ।
आमसञ्चारका माध्यमहरूले राजनीतिक मामिलालाई कसरी प्रस्तुत गर्छन् भन्ने विषयमा संसारभरि नै प्रशस्त छलफल हुँदै आएका छन् । राजनीतिक मामिलासम्बन्धी सूचना वा विश्लेषणको प्रस्तुतिमा पत्रकारहरूले विशेष ध्यान पु¥याउँदै वस्तुनिष्ठ हुनुपर्छ भन्ने मान्यता छ । खासगरी लोकतान्त्रिक देशमा आमसञ्चार माध्यमहरू उधोगका रूपमा सञ्चालन हुन थालेपछि पत्रकारको पुरानो जमानाका भूमिका परिमार्जित भएका छन् । राजनीतिक आन्दोलन वा राष्ट्रिय मुक्ति अभियानमा अखबारहरूको बेग्लै, लोकतान्त्रिक योद्धाको भूमिका थियो । त्यस जमानामा पत्रकारहरू मूलतः स्वतन्त्रताका सिपाही हुने गर्थे । लोकतन्त्रको स्थापनाका लागि उनीहरू अग्रमोर्चामा डट्ने गर्थे । लोकतन्त्रको बहालीपछिको समयमा भने कुनै पनि समाजमा पत्रकारिता मूलतः पेशा वा व्यवसायका रूपमा स्थापित हुने गर्दछ । तर लोकतान्त्रिक समाजमा आमसञ्चार माध्यमहरूबाट राजनीतिक वा प्रशासनिक तहबाट निसृत काम–कारबाहीको मिहीन अनुगमन वा निगरानी गर्ने भूमिकाको भने झनै बढी अपेक्षा गरिन्छ ।
लोकतान्त्रिक परिपाटीको प्रमुख आधार स्तम्भ निर्वाचनमा आमसञ्चार माध्यमको भूमिकाका सम्बन्धमा मतदातासँगको संवाद नै हो । अमेरिकी पत्रकारहरू निर्वाचन अवधिमा आमसञ्चारले जनतासँगको संवादको मूल विषय उम्मेदवारहरूको क्षमता र इमानदारीलाई बनाउनैपर्छ भन्ने ठान्छन् । जसअनुसार मतदातालाई उनीहरूका सामु उपलब्ध छनोटहरूका सम्बन्धमा बताउँदै पत्रकारहरूले आफ्नो वस्तुनिष्ठ अवलोकन, अनुसन्धान अनि इमानदार र निःस्वार्थ बुझाइका आधारमा कुनै एक उम्मेदवारको पक्षपोषण गर्नुपर्छ भन्ने मान्यता स्थापित छ । स्वाभाविक रूपमा पत्रकारहरूबीचमा पनि बुझाइमा एकरूपता हुँदैन । तर, जनतालाई सुसूचित छनोटको अवसर उपलब्ध गराउने मिडियाको यस्तै भूमिकाले बहुलवाद बलियो हुन्छ भन्ने विश्वास त्यहाँ रहिआएको छ । यसरी एकातिर पत्रकारको पहुँच र सीमितताका सम्बन्धमा कानुनी व्यवस्था गरिएका छन्, अर्कोतिर पत्रकारले संविधानको पहिलो संशोधनबाट प्राप्त स्वतन्त्र अभिमत राख्न पाउने अधिकारको सम्मान गर्ने परिपाटी बसाइएको छ ।
यद्यपि, अमेरिकामा पनि मतदान केन्द्रहरूमा पत्रकारको उपस्थिति वा पत्रकारलाई बन्देज लगाउनेसम्बन्धी अधिकार ढुङ्गामा लेखिएको हुँदैन भन्ने गरिन्छ । खास परिस्थितिमा बन्देजको औचित्यलाई मनासिब कारणसहित साबित गर्ने गरिन्छ । सामान्यतः अमेरिकी संविधानको सन् १७९१ को पहिलो संशोधनका आधारमा पत्रकारहरूले मतदान केन्द्रबाहिरको समाचार सङ्कलन गर्न अधिकार पाएको व्याख्या गर्ने गरिन्छ । कतिपय राज्यहरूमा हिजोआज मतदातालाई दुष्प्रभावित गर्ने प्रयास नहोस् वा धाँधली गर्नेलाई सघाउ नपुगोस् भन्ने तर्कसहित मतदानकेन्द्रमा रोक लगाइएको पनि छ । तर, निर्वाचन परिणामको पूर्वानुमानलाई रोक्न बनाइएको कानुनलाई भने न्यायालयले रद्द गरिसकेको छ । रोकसम्बन्धी कुनै पनि किसिमको कार्यपालिकाको प्रयत्नलाई वाक् स्वतन्त्रता वा समाचार सङ्कलनको कार्यविपरीत पाइएको अवस्थामा न्यायालयले खारेज गर्ने गरेको छ । तर, कुनै उम्मेदवारका बारेमा अफवाह फैलाउन खोज्ने र निर्वाचन प्रक्रियाको सुरक्षा–सुव्यवस्थामा खलल पु¥याउने कार्यलाई रोक्नु भने मनासिब मानिन्छ । निर्वाचन स्थलभन्दा कम्तीमा पच्चीस फिटको दूरी कायम गरी रिर्पोटिङ गर्ने प्रावधान यस्तै मुनासिब प्रतिबन्धको दृष्टान्त हो ।
‘युएस इलेक्सन एसिसटेन्स कमिसन’ले जारी गरेको निर्वाचन व्यवस्थापन निर्देशिकामा जनतासँगको संवाद वा सञ्चारअन्तर्गत मिडियाको भूमिकालाई महŒवपूर्ण र आवश्यक ठानिएको छ । निर्देशिकामा निर्वाचनहरू सबैको नजरमा हुन्छन् र मतदाता एवम् उम्मेदवारहरूले चुनाव प्रक्रियासम्बन्धी सूचना विभिन्न माध्यमहरूबाट प्राप्त गरिरहेका हुन्छन् भन्ने तथ्यलाई हृदयङ्गम गरिएको छ । त्यसैले निर्देशिकामा निर्वाचनमा संलग्न व्यक्तिहरूले जनतासँग प्रभावकारी संवाद कायम गर्नका लागि सूचना वितरणको समय र प्रक्रियासम्बन्धी योजनाका साथै उपयुक्त सामग्रीको तयारीका प्रावधानसमेत समाविष्ट गरिएका छन् । टेलिभिजन, रेडियो र अखबारजस्ता परम्परागत आमसञ्चार माध्यमहरूलाई मतदातासँग संवाद कायम गर्ने महŒवपूर्ण माध्यम ठानिएको छ । त्यही कारण, निर्देशिकामा निर्वाचनमा खटिएका कर्मचारीहरूले कुनै पनि मिडियामा आएका समाचार कथाको सत्यापन गर्नुपर्ने कुरामा जोड दिइएको छ । निर्वाचनसम्बन्धी अधिकारीहरूको मिडियासँगको खुला र सहयोगी व्यवहार एवम् अन्तक्र्रियाबाट जनताले सुसूचित हुने अवसर प्राप्त गर्ने तथ्यमा पनि निर्देशिकामा प्रस्ट उल्लेख गरिएको छ ।
निर्वाचनमा आफूले निर्वाह गर्नुपर्ने शक्तिशाली भूमिकाका सम्बन्धमा अमेरिकी पत्रकारहरू प्रस्ट छन् । पत्रकारहरूले निर्वाचनका बारेमा प्रस्ट र तथ्यगत सूचना प्रवाह गर्ने मामिलामा एकरूपता कायम गर्न सक्नुपर्छ भन्ने उनीहरूको मान्यता छ । त्यसैले निर्वाचन परिणामसम्बन्धी आधिकारिक सूचना नआएसम्म जनताको जिज्ञासा शान्त गर्न विश्वसनीय सूचना प्रसार गर्ने विषयमा पनि अमेरिकी पत्रकारहरूले विशेष मेहनत गर्दै आएका छन् । देशभरका निर्वाचन कार्यालयहरूबाट आधिकारिक सूचना संविधानबमोजिम सार्वजनिक हुन समय लाग्न सक्छ । त्यस्तो परिस्थितिमा पनि विवाद उत्पन्न नहुनेगरी तथ्यगत सूचना प्रवाह गर्ने विषयमा पत्रकारहरूले नै प्रबन्ध गरेका छन् । अमेरिकी समाचार संस्था एसोसिएटेड प्रेस (एपी)ले करिब एक सय वर्षअघिदेखि देशभरिबाट सूचना सङ्कलन गर्दै अधैर्य मतदातासमक्ष सकेसम्म छिटो परिणामसम्बन्धी सूचना प्रस्तुत गर्दै आएको छ ।
यसरी, एकातिर पत्रकारहरूबीच स्वच्छता र सत्यापनका कठोर नियमहरूको पालना गर्नुपर्ने विषयमा पूर्णतः एकमत कायम भएको पाइन्छ । अर्कातिर, पत्रकारहरूले जनतालाई कुन उम्मेदवार उपयुक्त हुन्छ भन्ने सुझावसमेत दिन सकिने हदसम्मको अभिव्यक्ति स्वतन्त्रताको उपभोग गरिरहेका छन । उल्लेखनीय कुरा के छ भने, उम्मेदवारको सिफारिस गर्दा आमसञ्चार माध्यम वा सुपरिचित व्यक्तित्वहरू तर्क र आफ्नो सिफारिसका आधारहरू भने प्रभावकारी रूपमा प्रस्तुत गर्छन् । सिफारिस–अग्रलेख वा सम्पादकीयमा जोडदार तर्क र संवेदना अनुभूत गर्न सकिन्छ । पाठकले आफूलाई सम्मान गर्दै तथ्य, तर्क र विश्लेषणसहित पक्षधरता दर्शाइएको अनुभव गर्छन् । अमेरिकी पत्रकारहरू भन्छन्– एकपटक मतदातासामु कसैलाई जिताउन सिफारिस गर्दैमा जहिलेसुकै जति बिगार गरे पनि व्यावसायिक पत्रकार उही व्यक्तिको पक्षपोषण गरिरहँदैन । उनीहरू यस्तो प्रचलनलाई बहुलवाद र वस्तुनिष्ठ कार्यशैलीकै परिणाम ठान्छन् । यस्तो प्रचलन पत्रकारले स्वतन्त्र र निर्भीक ढङ्गमा आफ्नो अभिमत व्यक्त गर्ने हिम्मतकै कारण स्थापित भएको उनीहरूको विश्वास छ ।
यद्यपि, अखबारले गर्ने सिफारिसका आधारमा मात्रै ढुलमुलमा रहेका मतदाता उम्मेदवारका सम्बन्धमा अन्तिम निर्णय गर्दैनन् । यो तथ्य अमेरिकाकै निर्वाचनका क्रममा भएका सर्वेक्षणहरूबाट प्रस्ट भइसकेको छ । तर कार्यसूची स्थापित गर्ने आमसञ्चार माध्यमको भूमिका हुन्छ । यसै गर भन्दा मानिसले सजिलै नमान्ने भए पनि आम रूपमा मानिस त्यस्ता सामग्रीका आधारमा केही सोच्न भने बाध्य हुन्छन् । मिडियाको प्रस्तुतिबाटै कसैलाई ठोस निर्णयमा पु¥याइहाल्न नसकिएला । व्यक्तिलाई त्यस विषयमा सोच्न बाध्य भने पार्न सकिन्छ भन्ने सैद्धान्तिक अवधारणा रहिआएको छ । अमेरिकी पत्रकारहरूले यही अवधारणा र आफ्नो विश्वासका साथ, हरेक चुनावमा उपयुक्त पात्रको सिफारिस गर्दै आएको दाबी गर्छन् । उनीहरूको विचारमा यसरी उनीहरूले लोकतन्त्रलाई ठीक बाटोमा हिँडाइरहेका छन् । á
(लेखक त्रिविको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागमा आबद्ध हुनुहुन्छ ।)