तिहार पृथ्वीमैत्री चाड
डा. धनपति कोइराला
आजदेखि यस वर्षको तिहार सुरु भएको छ । यो उमङ्ग र शारदीय वहारको सुन्दर चाड हो । यसले मनोसामाजिक तथा भौतिक आरोग्यता प्रदान गर्छ । सँगसँगै पारलौकिकदेखि लौकिक यस लोकसम्मलाई जोड्ने चाडका रूपमा पनि यो प्रसिद्ध छ । धर्ती लोकका चेतनहीन जीव, चेतनशील जीव र वनस्पति सबैलाई सम्मान र सम्बोधन गरेको छ, यसले ।
शरद ऋतुअन्तर्गत कार्तिक कृष्णपक्षको त्रयोदशी, चतुर्दशी, आमावास्या र शुक्लपक्षको प्रतिपदा र द्वितीया तिथिका पाँच दिन हामी नेपालीका तिहार हुन् । यस वर्ष मलमासका कारण पनि केही दिन पछि सरेको छ । हिन्दु मिथकले यी पाँच दिनलाई यम र यमुनासँग जोडेको छ । यस आधारमा पनि यी पाँच दिन यमपञ्चकका नाउँले सम्बोधित हुने गरेका छन् । यमुनाले सधैँ कामले थकित् रहने गरेका आफ्ना दाजु यमराजलाई आफ्ना घरमा निमन्त्रणा गरी पाँच दिनसम्म भव्य सम्मानका साथ राखिन् । उनको सत्कार र सेवाबाट प्रसन्न भएका यमराजले जसले हरेक वर्षका यी पाँच दिनसम्म खुसियालीका साथ चाड मनाउँछ र भाइपूजा गर्छ, उसलाई यमभय हुने छैन भनी आशीर्वचन दिएको शास्त्रीय कथन छ । यसपछि यमपञ्चक मनाउने परम्परा आरम्भ भएको देखिन्छ ।
पहिलो दिन (आज) कागतिहार र दोस्रो दिन कुकुरतिहार पर्छन् । तेस्रो दिन गाईतिहार पर्छ । यसै दिनको सन्ध्याकालीन प्रहरमा धनधान्यकी अधिष्ठात्री महालक्ष्मीको विशेष पूजा पनि हुन्छ । चौथो दिन गोरुतिहार पर्छ । तर, यस वर्ष गोबद्र्धनको पनि पूजा हुन्छ । पाँचौँ दिन अर्थात् अन्तिम दिन भाइतिहार पर्छ । तर, यस वर्ष गोरुपूजा, गोबद्र्धन पूजा र भाइटीका एउटै दिन पर्न गएको छ । प्रतिपदा तिथि र द्वितीया तिथि एकै दिन परेको हुँदा यस वर्ष चार दिनमै सीमित हुन पुगेको छ ।
जे होस् धार्मिक, साँस्कृतिक, प्रकृतिपूजा, लोकव्यवहार, बहुसंस्कृतिको मिलन, बहुचाडका दृष्टिले पनि यसका धेरै विशेषता छन् । काग तिहारको दिन स्वादिष्ट मिष्ठान्न, फलफूल र अछेतासहित कागलाई घर–आँगनमा बोलाएर खुवाउने प्रचलन छ । कुकुरतिहारका दिनचाहिँ फूलमाला र अछेताले अर्चना गरी मिष्ठान्न खुवाएर कुकुरको पूजा गरिन्छ । स्कन्द पुराणको वैष्णव खण्डको कार्तिक महात्म्यअनुसार यी दुई यमदूतको पूजाअर्चना गर्नाले यमराजबाट भय हुँदैन । यसै चतुर्दशीका दिन उषाकालमा नदी–तलाउमा गई दीप प्रज्वलन गर्ने प्रचलन छ । यसबाट अटल शौभाग्य प्राप्त हुने शास्त्रीय कथन छ । साथै उषाकालीन प्रहरमा मासको सिङ्गो बोट आफैँले शिरमा घुमाउँदै शिरको पूजा गर्ने प्रचलन पनि छ ।
अमावास्याका दिन बिहान गाईलाई मन पर्ने मिष्ठान्न, फूलमाला, अछेता, धूपदीप, नैवेद्य आदि पूजाअर्चनाका सामग्री तयार पारी गाईको अग्रभागमा शङ्खचक्रको प्रतिमा बनाई तिनको विस्तृत पूजाअर्चना गर्ने र नैवेद्यादि खुवाउने शास्त्रीय विधान छ । त्यसै दिन सन्ध्याकालीन प्रहरमा सरसफाइ, रङरोगन र ध्वजापताका आदिले घर–आँगन सिँगारिन्छ । साँझमा पाला सजाएर द्वारदेखि पूजा कक्षसम्म लस्करै दीप प्रज्वलन गरी धनधान्यकी अधिष्ठात्री देवी लक्ष्मीलाई स्वागत गर्दै नैवेद्यादिले षोडशोपचारले पूजाअर्चना गरी घरको वरिपरि दीप जलाई अर्चना गरिन्छ । गोरुपूजामा पनि गोरुलाई मन पर्ने मिष्ठान्नादि साथै बालासहितको एक मुठा धानसहित उसको अग्रभागमा शङ्खचक्रादि बनाई पूजाअर्चना गरिन्छ । कृषिकर्ममा सहयोग गर्ने गोरुलाई सबैभन्दा पहिले नवोत्पादित अन्न अर्पण गरी उसलाई सर्वोपरि महŒव दिइने गरिन्छ ।
भाइटीकाका दिन गच्छेअनुसार दिदीबहिनीहरूले विभिन्न परिकार तयार पार्छन् । साथै, वस्त्रादि उपहारको जोहो गर्छन् । दाजुभाइलाई लगाउने माला त्यसै दिन उन्नुहुन्न भन्ने मान्यता रहेको हुँदा दिदीबहिनीहरूले अघिल्लो दिन नै तयार पार्ने गर्छन् । पानी र तोरीको तेलले दाजुभाइको तीनपटक परिक्रमा गरी केशमा तेल लगाई कपाल कोरिदिएर र कानमा तेल हादिदिएर आफ्नो दाजु वा भाइसँगका ती बाल्यकालीन पलका माया र ममता स्मरण गर्छन् । सप्तरङ्गी टीका लगाई धूपदीप, नैवेद्य र पूmल वस्त्रादिद्वारा पूजाअर्चना सकिएपछि विशेष रूपमा तयार पारिएका परिकारहरू दाजुभाइलाई अर्पित गरी ओखर फोर्छन् । उनीहरूले आफ्ना दाजुभाइलाई आक्रमण गर्न आउने यमदूतहरूलाई पनि त्यसरी नै फोरेर अन्त्य गर्ने वाचा गर्छन् ।
नेवारी संस्कृतिमा भाइपूजा गर्ने दिन नै ‘म्हपूजा’ अर्थात् दिदीबहिनीले दाजुभाइको देहपूजा गर्ने चलन छ ।
देउसी–भैलो
श्रीमद् भागवतअनुसार बलिले स्वर्गमा कब्जा गरेपछि इन्द्रादि देवताहरू चिन्तित भए । उनीहरू विष्णुसमक्ष पुगेर दुःख व्यक्त गरे । विष्णु वामन रूप धारण गरी उनै बलिराजा भएका ठाउँमा पुगे र दानका रूपमा तीन पाउ जमिन दिन आग्रह गरे । आफ्ना गुरु शुक्राचार्यले नमान्दानमान्दै पनि उनले तीन पाउ दिने सङ्कल्प गरे । यसपछि विष्णुले विराट रूप धारण गरे र एउटा पाउ पृथ्वीमा र अर्को पाउ स्वर्गमा टेके । यसपछि उनले अर्को पाउ कहाँ राख्ने भनेर बलिलाई सोधे । बलिले आफ्नो वाचा पूरा हुनेगरी अर्को ठाउँ कहीँ नपाएपछि तेस्रो पाउ राख्न आफ्नै शिर दिए । यसपछि प्रजाजनले उनलाई ‘देउसिरे–देउसिरे’ भन्न सुरु गरे । भगवान् विष्णुबाट अनुगृहीत बनेका राजा बलिले पनि घर–घर गई खुसीपूर्वक साँस्कृतिक चाड मनाउन आफ्ना जनतालाई आदेश दिए । फलस्वरूप उनीहरूले भजनगीत गाउँदै बीचबीचमा देउसिरेले पठाएको भन्दै देउसिरे–देउसिरे दोहो¥याइरहे । यही पछि देउसिरे देउसी भयो । ध्वनिसाम्यका आधारमा ‘भलो गर्ने लक्ष्मी आइन्’ भन्दाभन्दै ‘भैलिनी आइन्’ भएको अनुभूति हुन्छ । सामान्यतया लक्ष्मीपूजा गरेका रात्रिमा मात्र महिलाहरूले भैली खेल्ने प्रचलन रहेको कथनबाट यो तथ्य स्पष्ट हुन्छ ।
स्कन्द पुराणको कात्तिक महात्म्यमा उल्लेख भएअनुसार काग यमदूत हो । कुकुर यमकुलमै जन्मिएको यमदूत हुन् । गाई मोक्षधेनु हुन् । मानिसलाई वैतरणी नदी तार्ने र पापमोचन गर्ने प्राणीका रूपमा गाईलाई लिइन्छ । गाई लक्ष्मी हुन् । गोरुले कृषिकर्ममा सघाउँछ । यसैले गोरुको पूजा गर्ने चलन रहेको कथन छ । प्राकृतिक दृष्टिले कागलाई समाचार संवाहक प्राणीका रूपमा लिइन्छ । यसले यमका सन्देशहरू मानिस समक्ष पु¥याउने लोकविश्वास छ । कुकुरले मरणोपरान्त जीवात्मालाई यमसमक्ष पु¥याउने लोकमत रहिआएको छ । यो भैरवको वाहन पनि हो ।
यी सबै हुन् ः मानिसका सहयोगी प्राणी ।
यस अर्थमा तिहार प्रकृतिप्रति उच्च सम्मान जनाउने चाड होे । स्थलचर र नभचर दुवैखाले प्राणीप्रति श्रद्धाशील । हुन त नागपञ्चमीमा जल तथा स्थल दुवैमा रम्ने नागको अर्चना गरी जलचर प्राणीप्रति पनि उच्च श्रद्धा प्रकट गर्ने शास्त्रीय तथा व्यावहारिक परम्परा छ । तर, यमपञ्चककै चौथो दिन नै सिङ्गो प्रकृतिको प्रतिनिधिका रूपमा गोवद्र्धन बनाएर पूजा गर्ने प्रचलन छ ।
यसप्रकार तिहार बहुसाँस्कृतिक चाड हो । सबैखाले प्राणीहरूको समान सम्मान र महŒव दिने चाड पनि हो ।
(लेखक साहित्यकार हुनुहुन्छ ।)