विचार/दृष्टिकोण |

निर्वाचनको नतिजा ; एकताको सन्देश

 

ध्रुवहरि अधिकारी

संयुक्त राज्य अमेरिका चीनसँग प्रतिस्पर्धा गर्ने विश्वशक्ति भएको हुनाले अमेरिकी निर्वाचन संसारभरि नै अभिरुचिको विषय बनेको हो । अनि, राष्ट्रपति कार्यकारी अधिकारप्राप्त पदाधिकारी भएकाले हरेक चार वर्षमा हुने यस चुनावमा जनरुचि स्वभावतः बढी हुन्छ । ४३८ सदस्य रहने प्रतिनिधिसभा (हाउस)का लागि प्रतिनिधि छान्ने कार्य हरेक दुई वर्षमा हुन्छ भने संसद्को अर्को सदन (सिनेट)का एक सय स्थानमध्ये एकतिहाइ स्थानका लागि पनि दुई–दुई वर्षमा मतदान गर्ने कानुनी व्यवस्था छ । अर्थात् चार–चार वर्षको अन्तरालमा हुने राष्ट्रपतिको निर्वाचनकै बेला संसदीय निर्वाचनको अभ्यास पनि भइरहेको हुन्छ । यसपालि कात्तिक १८ गते (३ नोभेम्बर) भएको मतदानमा हाउसतर्फ डेमोक्र्याटिक पार्टीको बहुमत कायम रहेको परिणाम आएका छन् भने शक्तिशाली सदन सिनेटमा रिपब्लिकन पार्टी नै आगामी दुई वर्ष हाबी रहने स्थिति देखापरेको छ ।
सङ्घीय ढाँचामा आबद्ध ५० वटा अमेरिकी राज्यमध्ये केहीमा गभर्नरको निर्वाचन पनि यसै बखतमा हुने गर्छ । स्थानीय निकायका मेयर र राज्यस्तरका कतिपय पदाधिकारीको चयन मतदानद्वारा गर्ने काम पनि यसैक्रममा सम्पन्न गरिएको हुन्छ । अमेरिकी लोकतन्त्रमा चुनावसम्बन्धी व्यवस्था विशिष्ट छन् । जस्तो, मतदानको दिन मतदान केन्द्रमा गएर लाम लागेर मतपत्रमा चिनो लगाई भोट खसाल्ने पद्धतिको साथसाथै अमेरिकी मतदातालाई घरमै मतपत्र भरेर हुलाकमार्फत निर्वाचन कार्यालयमा पठाउने सुविधा पनि प्राप्त छ । यसपालि हुलाकको सेवा लिने मतदाता अधिक हुनाको मुख्य कारण कोरोनाको महामारी मानिएको छ । तर, बहालवाला राष्ट्रपति तथा यस वर्ष रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले भने हुलाकी माध्यम भरपर्दो हुँदैन भनेर चुनाव प्रक्रिया सुरू हुनुभन्दा हप्तौँ पहिलेदेखि सिकायत गर्न थाल्नुभएको थियो ।

 धाँधलीको आरोप
दर्ता नै नभएका मानिसले भोट हाल्ने, सम्बन्धित राज्यमा बसोवास नै नभएका मानिसको नामबाट मतपत्र पठाइने र कतिपय मामिलामा मृत्यु भइसकेका मानिसको नामबाट हुलाकी–भोट खसालिनेजस्ता धाँधली भएको छ, त्यसैका आधारमा विपक्षी डेमोक्र्याटिक पार्टीका उम्मेदवार जो बाइडेनले चुनाव जितेको घोषणा गरिएको हो भन्ने ट्रम्पको जिकिर, जिरह रहँदै आएको छ । तर, धेरैवटा राज्यका निर्वाचित पदाधिकारीले सिकायत गरिएजस्तो अनियमितता भएको प्रमाण पाइएन भनेर उजुरीहरू नै खारेज गरिदिएका छन् । र, यसो गर्ने केही अधिकारी ट्रम्पकै पार्टीका पनि छन् । निर्वाचनको काम गर्ने गराउने जिम्मेवार निकायका तर्फबाट यसपटकको चुनाव अमेरिकी इतिहासमै ‘सर्वाधिक सुरक्षित’ चुनाव रहेको भनेर औपचारिक वक्तव्य नै दिइएको छ । ट्रम्प आफैँले सन् २०१६ को निर्वाचनमा प्रशस्त हुलाकी–भोट पाउनुभएको हो र त्यसबखत धाँधलीको कुरा निकाल्नुभएको थिएन । यसपालि भने एकाएक हुलाकी माध्यमको विश्वसनीयतामा प्रश्न उठाइयो यद्यपि अमेरिकामा हुलाक सेवा एक स्थापित र भरपर्दो सेवा मानिँदै आएको छ ।
अमेरिकी प्रेसका अधिकांश माध्यमले दिएका समसामयिक विवरणमा आधिकारिक स्रोतहरूको हवाला दिँदै के लेखेका छन् भने सन् २०२० को निर्वाचन मतदाताहरूको अत्यधिक सहभागिता भएको निर्वाचन हो । १६ करोड मतदाताले भाग लिए, जुन कुल मतदाता सङ्ख्याको ६७ प्रतिशत हो । यति ठूलो प्रतिशतको सहभागिता विगत १२० वर्षमा पहिलोपटक भएको हो भन्ने चुनाव विश्लेषकहरूको दाबी छ । यसै कारण दुवै उम्मेदवारका पक्षधरहरूले यति ठूलो सङ्ख्यामा परेका मतहरूको गणना ठीकसँग हुनुपर्छ, एक पनि वैध मत खेर जान दिनुहुन्न भनेर आवाज घन्काएका हुन् । ट्रम्प र बाइडेन दुवै उम्मेदवारले प्रचार–अभियान (क्याम्पेन)को क्रममा आ–आफ्ना पक्षका मतदातालाई भोट खसाल्दिने काममा सकेसम्म जाँगरिलो रहन हौसला दिएका थिए । ट्रम्पले दोस्रो कार्यकाल पाएमात्र अमेरिका सुरक्षित, समृद्ध र महान् रहनेछ भन्ने सन्देश अमेरिकाका ग्रामीण इलाकाहरूमा पु¥याउन ट्रम्प समर्थकहरू सफल भए, त्यसैकारणले ट्रम्पले राष्ट्रपति पदमा पुग्न आवश्यक पर्ने निर्वाचक–मत (इलेक्टोरल भोट) नपाए तापनि रहरलाग्दो सङ्ख्यामा लोकप्रिय मत हासिल गर्न सफल
भएको देखियो ।
 भेदभावको नीति
जो बाइडेनका समर्थकहरूले गत चार वर्षमा ट्रम्पले अमेरिकालाई आन्तरिक रूपमा विभाजित गराए र अन्तर्राष्ट्रिय मञ्चमा अमेरिकाको प्रभाव घटाए भन्ने मूल्याङ्कन मतदाताहरूबीच पु¥याउने प्रयत्न गरे । ट्रम्पले गोरो छाला भएका मानिसमात्र अमेरिकाका रैथाने बासिन्दा हुन्, काला र अन्य अश्वेतहरू आप्रवासी हुन् भनेर आफ्नै देशका नागरिकलाई चिढ्याउने नीति, नियम बनाए । आदेशहरू कार्यान्वयन गराए । छिमेकका देश क्यानाडा र मेक्सिकोसँगका व्यवहार एवम् कारोबार समानता र सम्माजनक हुन छोडे । मुस्लिम देशहरूको नामै किटेर त्यहाँका मानिसलाई प्रवेशाज्ञा (भिसा) नदिने आदेशका कारणले कत्तिका परिवारजनसँगै बस्न नपाउने भए । मानवअधिकारको उल्लङ्घन भयो भनेर उठाइएको आवाजको बेवास्ता गर्ने ट्रम्प प्रशासनको कार्यशैलीले अमेरिका अझ अनुदार हुँदै गएको अनुभव हुन गयो ।
विश्व जलवायु परिवर्तनमा अमेरिकालाई आफ्नो सकारात्मक योगदान गर्ने दायित्वबाट अलग गराइयो । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)बाट अमेरिकी भूमिका समाप्त पार्ने काम भयो । कोरोनाको विश्वव्यापी महामारीसँग कसरी सामना गर्ने त्यसबारे कार्ययोजना बनाएर काम गर्नुको साटो ‘यो चिनियाँ भाइरस हो’ तसर्थ चीनले नै सम्पूर्ण जिम्मेवारी लिनुपर्छ भनेर ट्रम्पले भाषण गर्नमै आफूलाई सीमित राख्नुभयो । वैज्ञानिक, चिकित्सकहरूका राय सुझाव मान्नुभएन । खालि व्यापार व्यवसाय चौपट हुने भयो, अर्थतन्त्र तहसनहस भइरहेछ भन्नेमात्र चिन्ता छ । स्वास्थ्य सेवा नपाएर लाखौँको सङ्ख्यामा अमेरिकीहरूको ज्यान गइरहेकोमा ट्रम्पलाई खास चिन्ता नभएको देख्दा अमेरिकामात्र हैन, बाँकी विश्वका मानिससमेत विस्मयमा परेका थिए । त्यसै हुनाले अमेरिकी सञ्चारमाध्यमले जो बाइडेन विजयी भएको समाचार प्रसारण गर्नासाथ विश्वभरमा एकप्रकारको राहत महसुस भयो । नवनिर्वाचित राष्ट्रपति बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई केही अपवादबाहेक चीन, बेलायत, फ्रान्स, जर्मनी र भारतसमेतका नेताहरूले ढिलो नगरीकन बधाइ सन्देशहरू पठाए ।

 अगाडिको बाटो
तर, ट्रम्पले लिँडेढिपी छोड्नुभएको छैन । चुनाव मैले नै जितेको छु, धाँधलीबाट मात्र जो बाइडेनलाई जिताएका हुन् भन्ने उहाँको बुझाइ छ । त्यसैअनुरूप उहाँका सहयोगी र सल्लाहकारहरू मुद्दा–मामिला बोकेर अदालत पुगेका छन् । प्रमाणको अभावमा अदालतहरूले पो के गर्छन् र ? ट्रम्पलाई यो कुराको ज्ञान छ, तैपनि सरकारी निवास ‘ह्वाइट हाउस’ छोड्न उहाँलाई गाह्रो परिरहेको छ । चुनावमा पराजय पनि हुन सक्छ भन्ने वास्तविकता स्वीकार गर्न उहाँलाई कठिन भइरहेको छ । उहाँको हठको अगाडि सरकारी कर्मचारी र रिपब्लिकन पार्टीका सांसद तथा नेताहरू नतमस्तक छन् । ट्रम्प रिसाए पार्टीमा मेरो भविष्य छैन भन्ने भयले रिपब्लिकनहरूको ह्याउ हराएको छ ।
तालिकाअनुसार, २० जनवरी २०२१ (आउँदो माघ ७ गते) का दिन नयाँ राष्ट्रपतिले प्रधान न्यायाधीशबाट शपथ लिनुपर्छ । त्यसभन्दा अगावै ट्रम्पले पराजय स्वीकार गर्ने अपेक्षा गरिएको छ । किनभने अमेरिकी सेनालगायतका शासन संयन्त्रलाई नयाँ नेतृत्वको जिम्मा लगाउने कामका लागि छुट्याइएको करिब १० हप्ताको समय खेर जाँदा अनेक जटिलता पैदा हुन सक्छन् । अमेरिकी सुरक्षाविद्हरू त यस्तो बेलामा अमेरिकाप्रति शत्रुता मोलेर बसेका देश र शक्तिहरूबाट हमला हुने खतरासमेत देख्छन् । फेरि यसपालि कोभिड–१९ महामारीले अमेरिका आक्रान्त छ, असाधारण परिस्थितिसँग जुध्नुपर्ने अवस्थामा छ । जो बाइडेनले यसका लागि अनौपचारिक रूपमा एक कार्यदलसमेत बनाइसक्नुभएको छ । पद बहाली गर्नासाथ उहाँ थप अमेरिकीहरूले ज्यान गुमाउनु नपरोस् भनेर काममा लाग्ने अठोट राख्नुहुन्छ । यसै सन्दर्भमा उहाँले ट्रम्पबाट भइरहेको ढिलाइको के असर होला भनेर प्रेसबाट आएको प्रश्नको उत्तरमा भन्नुभएको हो ः मर्ने मानिसको सङ्ख्या बढ्दै जानेछ ।
ट्रम्प किन वास्तविकता स्वीकार गर्न मानिरहनुभएको छैन त ? अमेरिकामै लेखक, टिप्पणीकारहरू के अड्कल गर्छन् भने राष्ट्रपति पदमा छउन्जेल लाग्न नसकेका मुद्दा–मामिला हालको उन्मुक्ति (रक्षाकवच) खोसिनासाथ न्यायालयहरूमा दर्ता हुन थाल्नेछन् । कर छलीका विषय छन्, बैङ्कका कर्जा फिर्ता नभएका घटना छन्, महिलाप्रतिको दुव्र्यवहारका गुनासा छन् । केही दिनअघि रोइटर्स समाचार संस्थाले यसबारेका विवरण चर्चामा ल्याएको थियो । ट्रम्प प्रशासनको लापरबाहीले गर्दा बाबुआमा वा आफन्त गुमाएका अमेरिकीहरूले उहाँमाथि कठोर सजायको माग गर्ने सम्भावना पनि छ ।
यस पृष्ठभूमिमा के अनुमान गर्न सकिन्छ भने ट्रम्पले नयाँ राष्ट्रपतिबाट त्यस्तो ‘क्षमादान’ पाउने वचन लिन खोज्दै हुनुहुन्छ, जसले सबै सम्भाव्य आरोप, अभियोगबाट उहाँलाई उन्मुक्ति देओस् । यस्तो वचन पाएपछि उहाँले चुनाव बाइडेनले जितेको कुरा सार्वजनिक रूपमा स्वीकार गर्नुहुनेछ । परन्तु कानुनका छात्र रहिसकेका बाइडेनले यस्तो सर्त मान्ने सम्भावना छैन । सन् १९७४ मा रिचर्ड निक्सनले बेलैमा राजीनामा गरेर आफूपछिका राष्ट्रपति जेराल्ड फोर्डबाट ‘पूर्ण क्षमादान’ लिन सफल भएका थिए । ट्रम्पले पनि बेला छँदै माइक पेन्ससँग यसैगरी कुरा मिलाएको भए हुन्थ्यो तर अब समय भड्किइसक्यो । परेको बेहोर्नुबाहेक अर्को उपाय छैन । 
(लेखक वरिष्ठ पत्रकार हुनुहुन्छ ।)