निकासी प्रवद्र्धनका उपाय
डा. सुमनकुमार रेग्मी
वस्तुको कम उपलब्धता, गुणस्तरमा कमी, अनुत्पादकमा बढी लगानी र निकासीमा कम मेहनत, लगानीमा छिटो प्रतिफल पाउने आशाले लगानी, निकासी बजारको खोजीमा सम्बन्धित सरकारी निकायको कम चाख र निकासी वातावरणमा औद्योगिक अशान्तिको असरले नेपालको निकासी बढ्न सकेको छैन ।
वीरगन्ज र विराटनगरको सुख्खा बन्दरगाह भारतका मुख्य सहरसँग रेल्वे सञ्जालमा आबद्ध भइसकेको पनि धेरै भईसकेको छ। सुख्खा बन्दरगाहमार्फत तेस्रो मुलुकबाट आयात बढी भएको छ । सुख्खा बन्दरगाहका क्षमता पूर्ण रूपमा चालु छैनन् । ती सुख्खा बन्दरगाहले भारत र तेस्रो मुलुकसँगको ढुवानी खर्चमा ३० देखि ४० प्रतिशतसम्म कटौती हुने अपेक्षा गरे पनि सो खर्च घटेको देखिँदैन । नेपाल र भारतबीचको गैरभन्सार अवरोध कम गर्न प्रयोगशाला सुधार र प्राविधिक कर्मचारीको क्षमता वृद्धि गर्ने नेपाल–भारतबीचका पछिल्ला व्यापार सन्धिमा उल्लेख छ तर यो प्रावधान कार्यान्वयनमा ध्यान गएको देखिँदैन ।
मुख्य भूमि चीन र तिब्बतको राजधानी ल्हासा र सिगात्से जोड्ने रेलमार्गको सञ्चालनबाट नेपाल र चीनबीचको व्यापार बढ्ने ठानिए पनि त्यतिविधि बढ्न सकेको देखिँदैन । यो रेल सञ्चालनपछि नेपाललगायत एसिया क्षेत्रको व्यापार वृद्धि हुने विश्वास लिइएकोे थियो । रेलमार्गले चीन–नेपाल व्यापार अभिवृद्धिका लागि ऐतिहासिक अवसर उपलब्ध गराएको छ । केरुङमा चीनले आफ्नोतर्फ पूर्वाधार विकास गरिसकेको छ । तर, नेपालतर्फ पूर्वाधार केही छैन भने पनि हुन्छ । नेपालले चीनको तीनवटा सुख्खा र चारवटा सामुद्रिक बन्दरगाह व्यापार तथा यातायात सन्धि र प्रोटोकलमा सही गरेर सञ्चालनमा ल्याउन सकिने भएको छ ।
दुई ठूला मुलुक भारत र चीनको बीचमा रहेको भूपरिवेष्ठित नेपालको आफ्नो भूमिसम्म यो रेल सञ्जाल विस्तार गर्न लामो समयदेखि चीनसँग आग्रह गर्दै आएको थियो । चीनको रेल्वे सञ्जाल राजधानी बेइजिङ र अन्य सबै ठूला सहरमा जोडिएकाले पनि यसको महŒव बढी छ । नेपालले वैदेशिक व्यापारमा भारतको हिस्सा करिब ७० प्रतिशत जति छ । चीनसँग पनि अघिल्ला वर्षभन्दा २०६९–७० पछाडि २०७६–७७ आउँदा निकासी र पैठारी बढ्दै गरेको अवस्था भए पनि २०७२ को भुँइचालो र २०७६ को कोरोना भाइरसले नेपालको निकासी तथा पैठारीमा असर गरेको छ ।
चीनले नेपालबाट निर्यात हुने केही वस्तुलाई शून्य भन्सार सुविधा दिन सहमति भएको धेरै भएको छ । यसले मध्यचीन तथा तिब्बतमा नेपाली उत्पादनको प्रतिस्पर्धात्मक क्षमता बढ्ने र निर्यातको थप ढोका खुल्ने भनिएको थियो र छ । खासगरी कृषिजन्य उत्पादन, हस्तकला, ध्यु, भाँडाकुँडा, चाउचाउ, मैदा, निर्माणसामग्रीलगायतका वस्तुहरूले बढी फाइदा लिन सक्नेछन् । चीनले दुई सय ७८ शीर्षकमा सुविधा दिन सहमति जनाए पनि धेरै वस्तु नेपालबाट निर्यात हुने प्रकृतिका छैनन् ।
चीनसँगको व्यापार घाटा धान्नै नसक्नेगरी बढेपछि नेपालले शून्य भन्सारको प्रस्ताव गरेको हो । चीनसँग नेपालको कुल व्यापार घाटा ६५ अर्बभन्दा बढी रहँदै आएको थियो ।
चीन सरकारले नेपाली उत्पादनको शून्य भन्सार दरको सूची थप गरेको छ । विगतमा सात हजार आठ सय नेपाली उत्पादनलाई भन्सार सहुलियत प्रदान गर्दै आएकोमा यसलाई बढाएर आठ हजार ३१ पु¥याइएको छ । नेपाली वस्तुको प्रतिस्पर्धात्मक क्षमता बढाई व्यापार विस्तारका लागि सहयोग पु¥याउन यस्तो सुविधा दिएको हो । चीनले दिएको सुविधाबाट नेपालले भरपूर फाइदा लिन नितान्त आवश्यक छ । तर, कार्यविधि र तल्लो तहसम्मको पूर्वाधारको व्यवस्था तयार नहुने अवस्था विद्यमान छ । नेपालको पूर्वाधार, ल्याब तथा आन्तरिक कमीकमजोरीका कारण चीनसहित अरू देशले दिएका सुविधा नेपालले पाउन नसकेकाले नेपालको निकासी वृद्धि सपनाजस्तो रहँदै आएको छ ।
चीन नेपालका लागि भारतपछि ठूलो व्यापारिक देश हो । हरेक वर्ष नेपालको चीनसँग व्यापार घाटा उच्च दरले बढ्दै छ । आव २०७५–७६ र २०७६–७७ मा नेपालबाट चीनमा क्रमशः करिब १.९६ र १.१४ अर्बको निकासी भएको छ । नेपालको भारतसँगको व्यापार अवस्था पनि त्यत्तिकै कहालीलाग्दो छ । विश्व व्यापार सङ्गठनको सदस्य नेपालको कुल व्यापारमध्ये भारतसँग मात्र ६५–७० प्रतिशत भएको छ । नेपालको भारतसँग मात्र वार्षिक सात सय ६३ अर्ब रुपियाँभन्दा बढीको व्यापार छ । अन्तर्राष्ट्रिय व्यापारमा करिब ३५ प्रतिशतभन्दा कम व्यापार भारतबाहेक तेस्रो मुलुकसँग हुने गरेको छ । नेपालको वैदेशिक व्यापारका समस्यामा निर्यात व्यापारका समस्या बढी छन् । विकासोन्मुख देश नेपालमा यो समस्या अझ धेरै हुनु स्वाभाविक हो । निर्यात व्यापारका लागि उपयुक्त वातावरण हुनु आवश्यक छ । कृषि क्षेत्रका वस्तुहरूको उत्पादन निर्यातलाई लक्षित गरी व्यावसायिक रूपमा विकास हुन नसक्नु, विकसित वस्तु अन्तर्राष्ट्रिय मापदण्डअनुसार गुणस्तर नहुनु, निर्यातयोग्य वस्तुको उत्पादन विकास द्रुत गतिमा नहुनु नेपालको निर्यातका समस्याका रूपमा छन् । यस्तै निर्यातयोग्य वस्तु विश्व बजारका क्रेताको जानकारीमा नआउनु, निर्यातमा अग्रस्थान ओगट्न सफल प्रमुख वस्तुहरूको मुख्य कच्चा पदार्थ पूर्णतया पैठारीमा निर्भर हुनु र निर्यातबाट आर्जित रकमको अत्यधिक हिस्सा कच्चा पदार्थको पैठारीमा खर्च गर्नुपर्ने बाध्यता छन् ।
निर्यात कारोबारको मूल्य बढी हुनु पनि निर्यात व्यापारलाई असर पारेको मुख्य तŒव हो । निर्यातका वस्तुहरू सङ्ख्यात्मक रूपमा धेरै भए पनि केही सीमित वस्तुको मात्र निर्यातमा कम मूल्यमा नै बाहुल्यता देखिएको छ । यस्ता वस्तुको निर्यात सीमित देशमा केन्द्रीकृत भएको छ । अन्य निकासी वस्तुहरू परिमाणात्मक रूपमा ज्यादै कम रहेकोबाट क्रेताको मागबमोजिमको परिमाणमा वस्तु उपलब्ध गराउन समस्या देखिएको छ । निर्यातको विकासका लागि अग्र तथा पृष्ठसम्बन्धहरूको विकासमा प्रभावकारिता आउन सकेको छैन । निर्यातको लक्ष्य परिमाणात्मक रूपमा तोकी वस्तुको उत्पादन कार्य समन्वयात्मक किसिमबाट हुन सकेको छैन ।
नेपालको निकासी बढाउन नेपालको निकासी जति हुन्छ, त्यतिमात्र भारतबाट वस्तु आयात गर्न भारतसँग सौदाबाजी गर्नुपर्छ । नेपालको निर्यात वृद्धि गर्न अन्य उपायहरूमा निर्यात व्यवसायलाई आयकरबाट मुक्त गर्नुपर्ने, निर्यातकर्तालाई प्रदान गरिएको सुविधा कार्यान्वयन गर्नुपर्ने, निकासी प्रशोधन क्षेत्रको विकास गर्नुपर्ने देखिन्छ । बाह्य मुलुकमा हाम्रो उत्पादनका बारेमा बढीभन्दा बढी प्रचार प्रसार गरी व्यापार मेलामा भाग लिनुपर्छ । नयाँ वाणिज्य नीतिमा झन्झटिलो नीतिहरूलाई समन्वय गरी निकासी प्रवद्र्धन उन्मुख बनाउँदै जानुपर्ने देखिन्छ । निर्यातमा सरकारले सहुलियतपूर्ण नीति नियम तर्जुमा गर्नुपर्छ । सार्क राष्ट्रसँग प्रतिस्पर्धा गर्न सक्ने किसिमका नीति नियम आवश्यक छ । नेपालको निकासी प्रवद्र्धनमा निकासी वस्तुगत सङ्घहरूले वार्षिक आपूmसँग सम्बन्धित वस्तुहरूको निकासी कम्तीमा पनि वार्षिक रूपमा दुई÷तीन प्रतिशतले मात्र बढ्ने हो भने पाँच वर्षमा नेपालको निकासी वृद्धि हुँदै जान्छ । गुणस्तर परीक्षण कार्य निरन्तर हुन नसक्नु र गुणस्तर विकाससम्बन्धी पूर्वाधार व्यवस्था सामान्य अवस्थामा रहनुको साथै निर्यात वस्तुको विकास व्यवस्था, स्तरीय सम्वेष्ठन, अनुसन्धान तथा वैदेशिक व्यापार व्यवस्थापनसम्बन्धी जनशक्तिको विकास कार्य प्रभावकारी रूपमा हुन सकेको छैन । निर्यात प्रवद्र्धनका लागि प्रवद्र्धनात्मक कार्यक्रमहरू आवश्यक छ । वाणिज्य क्षेत्रको नीतिगत व्यवस्था समयानुकूल परिमार्जन हुन सकेको छैन । निर्यातको प्रक्रियागत कार्यलाई सरलीकरण गर्ने र निर्यात वस्तुहरूको उत्पादन र निर्यातका सम्बन्धमा समय–समयमा आउने अवरोधहरूको
समाधान हुनुपर्नै देखिन्छ ।
कम वजन तथा बढी मूल्यका निर्यात वस्तुको विकास तथा केही निर्यात वस्तुमा मूल्य अभिवृद्धि गर्न सकिने सम्भावना छ । त्यस्ता वस्तुको उत्पादन प्रोत्साहन गरिनुपर्छ ।
(लेखक व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका पूर्वनायब कार्यकारी निर्देशक हुनुहुन्छ ।)