नेपाल–चीन सम्बन्धका तीन व्यक्तित्व
शैलेन्द्रबहादुर थापा
नेपालको उत्तरी सँधियार मित्रराष्ट्र चीनको पहिलो सिया राजवंशकालको अवधि ईशापूर्व २०७० देखि ईशापूर्व १६०० सम्म रहेको पाइन्छ । त्यसयता ईशापूर्व ७७० ईशापूर्व ४७६ सम्मको चिनियाँ ‘वसन्त र शरद ऋतुकाल’भित्र गौतम बुद्ध, लाओत्सेजस्ता दार्शनिकहरूको उदय भएको देखिन्छ । विशेषतः नेपाल–चीन ऐतिहासिक सम्बन्ध–सूत्रका तीन प्रमुख व्यक्तित्वहरू ‘गौतम बुद्ध’, ‘भृकुटी’ र ‘अरनिको’सम्बन्धी तथ्यहरू स्मरणीय छन् ।
गौतम बुद्ध
चिनियाँ ‘वसन्त र शरद ऋतुकाल’अन्तर्गत ईशापूर्व ६२३ को वैशाख शुक्लपूर्णिमामा सिद्धार्थ गौतम जन्मेको तथ्य लुम्बिनी विकास कोषको परिसर, लुम्बिनीमा राखेको सूचना बोर्डले प्रस्तुत गरेको छ । चिनियाँ पात्रोअनुसार ६२३ को वैशाख शुक्लपूर्णिमाको दिन, चिनियाँ चारौँ महिनाको आठौँ दिन ‘शथ्वानथौ पर्व’ पर्ने देखिन्छ । चीनका धर्मगुरु लाओत्सी अर्थात् लाओत्सुको जन्म ईशापूर्व ६०१ मा भएकाले लाओत्सीभन्दा सिद्धार्थ गौतम २२ वर्षले जेठो हुन आउँछन् (थापा, शैलेन्द्रबहादुर, विक्रम संवत् २०७६ ‘क’, ‘बौद्ध सभ्यताको परिपथ’, गोरखापत्र शनिबार, असार २१, वर्ष ११९, अङ्क ६१, काठमाडौँ) ।
जीवन र जगत्को अर्थ सिद्ध गर्ने हुँदा नवजात राजकुमारलाई ‘सिद्धार्थ’ नामाकरण गरेको देखिन्छ । रानी मायादेवीले नेपालको तिलौराकोटस्थित राजप्रासादबाट हालको नवलपरासीस्थित रामग्राम (देवदह) मा रहेको माइतीघर जानेक्रममा लुम्बिनीको एउटा वनमा आराम गरी त्यसै स्थानमा रहेको साल वृक्षको हाँगो समाती सिद्धार्थ गौतमलाई जन्म दिनुभएको पाइन्छ (राजकर्णिकार, घनश्याम, विसं २०७०, ‘बौद्ध तीर्थयात्रा नालन्दादेखि लुम्बिनीसम्म’, काठमाडौँ ः डिकुरा पब्लिकेसन प्रालि, पृ.९४–१०१) । सिद्धार्थ गौतम करिब २५ वर्षको उमेरसम्म नेपालमै रहनुभएको देखिन्छ (राजकर्णिकार, घनश्याम, विसं २०५४, ‘बुद्धको सम्झना कल्याणको कामना’, काठमाडौँ ः श्रीमती दीपा ताम्राकार, पृ.२१) । सानै उमेरदेखि ‘शान्ति’ र ‘सत्यको’ खोजीमा हिँड्ने सिद्धार्थ २५ वर्षको उमेरपछि भारतका विभिन्न ठाउँहरूमा जानुभएको देखिन्छ ।
सिद्धार्थको उमेर ३५ वर्षको भएपछि ईशापूर्व ५८८ को वैशाख पूर्णिमाको रातमा भारतको गयामा रहेको एउटा रूखमुनि ध्यानमग्न अवस्थामा आफूले खोजेको ज्ञान प्राप्त भएको पाइन्छ । सोही दिनदेखि सिद्धार्थ गौतमलाई ‘बुद्ध’, त्यो रूखलाई ‘बोधीवृक्ष’ र उनको ज्ञानलाई ‘बुद्ध धर्म’ भन्न थालेको देखिन्छ । सिद्धार्थले आफ्ना सहयोगी शिष्य आनन्दलाई ‘सुजाताले दिएको खीर ग्रहण गरेपछि आफूले बुद्धत्व प्राप्त गरेको तथ्य सुनाउनुभएको उल्लेख छ (राजकर्णिकार, घनश्याम, विसं २०७१, ‘बुद्धज्योतिका केही रश्मि’, काठमाडौँ ः बौद्ध प्रवचन समाज, पृ. ५१) । यसरी बुद्धत्व प्राप्त गौतम बुद्ध नेपालको राष्ट्रिय विभूति, एसियाको ज्योति र संसारको शान्ति नायक मानिन्छन् । दार्शनिक बुद्ध भारतको ‘कशिया’ वा ‘कुशीनारा’ (हाल ः ‘कुशीनगर’) मा आफ्नो भिक्षु सङ्घका साथ शिष्य चुन्दको आग्रहलाई स्वीकारी भोजन गरेदेखि बुद्धलाई ‘आउँको रोग’ लागेको पाइन्छ । तर बुद्धले यो घटनालाई सामान्य लिँदै, सोही ठाउँमा रहेको हिरण्यवती नदीमा अन्तिमपटक स्नान गरी नजिकैको सालवनतिर लाग्नुभएको उल्लेख छ । त्यहाँ पुगेपछि आनन्दलाई यहाँका दुई साल वृक्षका बीचमा सुत्ने ठाउँ बनाउन लगाउनुभएको जनाइएको छ । यसक्रममा बुद्धले जीवनको अन्तिम समयमा “वयधम्मा शङ्खरा, अप्पमादेन सम्पादेय” अर्थात् “भिक्षुगण संस्कार सबै अनित्य छ भनी बुझी अप्रमादी भई राम्ररी स्मृति राखी गुण–धर्म सम्पादन गरिलिने प्रयत्न गर्नू” भन्ने वाक्य वाचन गरेको पाइन्छ । बुद्धको यो वाक्य नै अन्तिम उपदेश बन्न पुग्यो । त्यसपछि बुद्धदेव विभिन्न ध्यान भावनामा बसी तदन्तर प्रथम ध्यानबाट क्रमैसँग चतुर्थ ध्यानसम्म पुगेर ईशापूर्व ५४३ मा (८० वर्ष) वैशाख पूर्णिमाको राति तृतीय प्रहरमा सबै संस्कारहरूको अनित्यभाव देखाई महापरिनिर्वाण हुनुभएको पाइन्छ (ऐजन, पृ.९२–९४) ।
‘बुद्धज्योतिका केही रश्मि’मा बुद्धको महापरिनिर्वाण ईशापूर्व ४८३ मा भएको उल्लेख छ तर यसै पुस्तकको मन्तव्य खण्डमा लुम्बिनी बौद्ध विश्वविद्यालयका तत्कालीन उपकुलपति प्रा.डा. तुलसीराम वैद्यले बुद्धको जन्म वर्ष ईपू ६२३ मा, बुद्धत्व प्राप्त वर्ष ईपू ५८८ मा र महापरिनिर्वाण वर्ष ईपू ५४३ मा भएको उल्लेख गर्नुभएको छ । अर्को एउटा महŒवपूर्ण तथ्य यो छ कि, मगधका सम्राट अशोक (अशोका)ले बौद्ध धर्म ग्रहण गरिसकेपछि नेपालस्थित क्रकुच्छन्द बुद्धको जन्मस्थल ‘गोटिहवा’, कनकमुनि बुद्धको जन्मस्थल ‘निग्लिहवा’ र गौतम बुद्धको जन्मस्थल ‘लुम्बिनी’मा तीर्थयात्रा गर्न आई हरेक पवित्र क्षेत्रमा शिलास्तम्भहरू स्थापना गरेको मन्तव्य यस पुस्तकमा छ (ऐजन, पृ. झ–ञ) । यसले गौतम बुद्धबाहेक अन्य केही बुद्धहरूको जन्म पनि नेपालमा भएको तथ्यमाथि जोड दिन्छ । क्रकुच्छन्द बुद्ध पनि चीन (तिब्बत), भियतनामजस्ता देशहरूमा लोकप्रिय रहेको पाइन्छ ।
शाक्यमुनि बुद्धदेवले भारतको सारनाथमा आफ्ना पाँच शिष्यलाई ‘संसारका सबै प्राणीहरूलाई दुःख छ’, ‘दुःखका कारण छ ः त्यो कारण हो– इच्छा वा तृष्णा’, ‘दुःखको निरोध छ’ र ‘दुःख निरोध गर्ने उपायहरू छन’् भनी जम्मा चार ‘आर्यसत्य’ र आठ सम्यक (‘दृष्टि’, ‘सङ्कल्प’, ‘वचन’, ‘कर्म’, ‘आजीविका’, ‘व्यायाम’, ‘स्मृति’ र ‘समाधि’) गरी ‘आठ सत्य’ वा ‘आर्य अष्टाङ्गिक मार्गबारे’ दिनुभएको पहिलो उपदेशलाई नै “धर्मचक्र प्रवर्तन” भनिन्छ । यी मार्गहरू प्रकृतिको नियममा आधारित भएकाले ‘सार्वभौमिक’, ‘सार्वजनिक’, ‘सार्वकालिक’ र ‘सार्वदेशिक’ भएको हुँदा यो मार्ग अपनाउने मानिसले दुःखबाट छुट्कारा पाउने (ऐजन, पृ. ५७–६२) उल्लेख छ । यी ज्ञानहरूले सिद्धार्थ गौतमलाई गौतम बुद्ध बनाएका कारण यिनको महापरिनिर्वाणपछि पनि तत्कालीन विश्वमा गौतम बुद्धका अवशेषहरूको महŒव बढेकाले यिनका अवशेषहरू लिन जाने राजाहरूको प्रतिस्पर्धा चलेको देखिन्छ ।
बुद्धदेवका अवशेषहरू ः गौतम बुद्ध महापरिनिर्वाण भइसकेपछि हिरण्यवती नदी जाने बाटोको थाई मन्दिरबाट करिब १५० पाइला अगाडि दक्षिण–पूर्वमा अवस्थित एउटा गाउँमा बुद्धदेवको अवशेष लिन ‘वैशाली’, ‘कपिलवस्तु’, ‘अल्लकप्प’, ‘रामग्राम’, ‘वेठदीप’, ‘पावा’ र ‘मगधबाट’ आएका राजाहरूले कुशीनगरका मल्ल राजालाई आग्रह गर्दा मल्ल राजाले सातजना राजालाई बुद्धको अवशेष दिन नमानेपछि ती राजाहरू मिलेर कुशीनगरको मल्ल राजाविरुद्ध युद्ध गर्ने निर्णय गरेको पाइन्छ । एकजना ज्येष्ठ नागरिक दोण नामका विद्वान्ले आठैजना राजालाई नै बुद्धजस्तो अहिंसावादी शान्तिप्रिय महामानवका नाममा युद्ध गर्न उपयुक्त नहुने भनी सम्झाएर बुद्धको अवशेषलाई आठ भाग बराबर गरी सबैलाई बाँडिदिए । यसमा सबैले चित्त बुझाई आ–आफ्नो भागमा परेका अवशेषहरू लिएर आफ्नो राज्यको उपयुक्त ठाउँमा प्रतिस्थापन गरी त्यसमाथि स्तूप बनाएको उल्लेख छ (ऐजन, पृ. ८१–८२) । जसमध्ये बुद्ध धर्म अवलम्बन गरिसकेका मगधका सम्राट अशोकले ‘बुद्धिस्ट डक्ट्राइनलाई’ फैलाउनका लागि आफूले पाएका बुद्धका अवशेषहरू (रिलिक्स) लाई ईशापूर्व २७२ मा विभिन्न राज्यहरूलाई उपहार दिएको पाइन्छ ।
एक अर्को स्रोतअनुसार अशोकले बुद्धदेवका अवशेषहरूलाई ईशापूर्व २७३ देखि ईशापूर्व २३२ को बीचको समयमा विभिन्न राज्यहरूलाई उपहार दिएको उल्लेख छ । यहाँ एउटा ‘अनुसन्धान ग्याप’ देखिन्छ । मगधका सम्राट अशोकले सायद आफ्नो भागमा परेको बुद्धदेवका अवशेषहरूमध्ये चीनलाई बुद्धको ‘औँलाका हड्डीहरू’, ‘खप्परको हड्डी र दाँतहरू (दन्तधातु)’ उपहार दिएको हुन सक्ने देखिन्छ । यससम्बन्धी छुट्टै नयाँ अनुसन्धान आवश्यक पर्न सक्छ ।
गौतम बुद्धका हातको ‘औँलाको हड्डी’ चीनको शान्सी प्रान्तको फुफङ काउन्टीबाट करिब १० किलोमिटर उत्तरमा रहेको फमेन सहरमा अवस्थित ‘फमेन मोनस्ट्री (मन्दिर)’ को ‘अन्डर ग्राउन्ड’भित्र अहिले पनि सुरक्षित रूपमा राखेको पाइन्छ । यो मन्दिर पश्चिम हान राजवंश (सन् २५ सन् २२०) को पालामा निर्माण गर्न लगाएको देखिन्छ । अथवा चीनको शान्सी प्रान्तको सियानबाट करिब ११० किलोमिटर पश्चिममा पर्ने फुफङ काउन्टीमा स्थापना गरेको फमेन मोनस्ट्रीभित्र गौतम बुद्धको ‘औँलाको हड्डी’ राखेको पाइन्छ । एक अर्को स्रोतले बुद्धका ०३ वटा अवशेषहरू चीनमा रहेको देखाउँछ । उनको दाँत (दन्तधातु) को अवशेष बेइजिङको लिङक्वाङ मन्दिरमा र खप्परको टुक्रा चीनको जियाङसु प्रान्तको राजधानी नानजिङस्थित छिसिआ मन्दिरमा राखेको पाइन्छ । कतिपय स्रोतअनुसार बुद्धदेवको माझीऔँलाको अवशेष चीनको सियानमा रहेको उल्लेख छ ।
चीनले समय–समयमा विभिन्न अवसरमा गौतम बुद्धका यी अवशेषहरूलाई विभिन्न देशहरूमा र चीनका विभिन्न क्षेत्रहरूमा लगेर प्रदर्शन गर्ने गरेको छ । चीनले बुद्धको अवशेषलाई सन् १९९४ मा थाइल्यान्डमा, सन् २००२ मा चीन (ताइवान) मा, सन् २००४ मा चीन (हङकङ) मा, सन् २००५ मा गणतन्त्र कोरियामा लगेर प्रदर्शन गरेको पाइन्छ । बुद्ध जन्मभूमि नेपालमा पनि बुद्धको अवशेष प्रदर्शन गर्नु उचित हुनेछ ।
भृकुटी
हुन त उदयदेवकी छोरी भृकुटीका बारेमा पनि धेरै विषयवस्तुहरू सार्वजनिक भइसकेका छन् । तर, यस लेखमा उनको विवाह–प्रसङ्गलाई केलाइएको छ । भृकुटीको विवाह तिब्बतका राजा स्रङचङ गम्पो (स्रङचङको जन्म सन् ६१७ मृत्यु सन् ६५० (३३ वर्ष बाँचेको देखिन्छ)सँग भएको विषय जगजाहेर छ । कतिपय नेपाली स्रोतअनुसार भृकुटीको विवाह सम्पन्न भएको मिति पनि फरक–फरक देखिएको छ । तर, कतिपय नेपाली तथा चिनियाँ (तिब्बती) स्रोतहरूको अध्ययन गर्दा भृकुटीको विवाह भएको मिति सन् ६३३ रहेको (तोङफान, लिआओ, सन् २००८, ‘दि एनेक्डोट्स् एबाउट ल्हासा’, बेइजिङ ः चाइना तिब्बतोलोजी पब्लिसिङ हाउस, पृ.२२) विषयलाई प्रसिद्ध लेखक गेदु चोफेलले पनि आफ्नो पुस्तकमा उल्लेख गरेको पाइन्छ । चिनियाँ ताङवंशीय सम्राट ताइजोङकी छोरी राजकुमारी वेनच्छेनको विवाह पनि उनै भृकुटीका पति स्रङचङ गम्पोसँग सन् ६४१ मा भएको पाइन्छ ।
‘नेपाल र चीन–तिब्बत सम्बन्ध समीक्षात्मक इतिहास’का अनुसार तिब्बती राजकुमारी वेनच्छेन (कोङ्चो पनि लेखेको पाइन्छ) विसं ६९८ तद्अनुसार सन् ६४१ मा तिब्बत आइपुगेकी, स्रङचङ गम्पो र वेनच्छेनको भेट हुन करिब छ वर्ष लागेको, स्रङचङको चिनियाँ शाहज्यादीसँग विवाह हुँदा ३१ वर्ष पुगेको अर्थात् सन् ६४७ मा स्रङचङ गम्पो र वेनच्छेनको विवाह सम्पन्न गरेको उल्लेख छ (नेपाल, ज्ञानमणि, विसं २०७३, ‘नेपाल र चीन–तिब्बत सम्बन्ध समीक्षात्मक इतिहास’, काठमाडौँ :भृकुटी एकेडेमिक पब्लिकेसन्स, पृ. ३८–३९) । तर, अधिकांश नेपाली र चिनियाँ (तिब्बती) स्रोत, अनलाइन स्रोतहरूमा स्रङचङ गम्पो र चिनियाँ राजकुमारी वेनच्छेनको विवाह सन् ६४१ मा भएको तथ्य भेटिन्छ । यस शोधार्थीको विचारमा अधिकांश प्राप्त चिनियाँ आधिकारिक स्रोतहरूमा उल्लेख गरेअनुसार स्रङचङ गम्पो र चिनियाँ राजकुमारीबीच विवाह भएको वर्ष सन् ६४१ हुन सक्ने अनुमान गर्न सकिन्छ ।
अरनिको (आनिक वा आनिगो)
नेपालका राष्ट्रिय विभूति अरनिकोले चीनमा पेगोडा शैलीका विश्वप्रसिद्ध मन्दिर, चैत्य निर्माण गर्नुभयो । उहाँको पहिलो विवाह नेपाली चेली चैत्यलक्ष्मीसँग सन् १२७६ मा चीनको तत्कालीन पेकिङमा सम्पन्न भएको अध्ययनबाट देखिन्छ । अरनिकोको कृति तथा योगदानका विषयवस्तुहरू सर्वत्र जगजाहेर नै छन् । यसका अतिरिक्त ‘एडमिनिस्ट्रेटिभ अफिस अफ बेइजिङ ह्वाइट डगोवा टेम्पल’ले सम्पादन गरी ‘नेपाल थियानली पब्लिकेसन एन्ड कल्चर कम्पनी प्राइभेट लिमिटेड’ले तिब्बती भाषामा प्रकाशन गरेको अरनिकोको वंशवृक्षसम्बन्धी पूर्णपाठ शोधकार्यका सिलसिलामा यस शोधार्थीलाई प्राप्त भएको छ । यो कृतिलाई सर्वप्रथम पुण्यप्रसाद पराजुली र वुरिङचेनले नेपाली भाषामा अनुवाद गरी यसरी प्रस्तुत गरिएको छ :
यसप्रकार अरनिकोका एउटी नेपाली, दुईवटी मंगोलियन र सातवटी चिनियाँ श्रीमतीहरू रहेको पाइन्छ । ललितपुर जिल्लाको ‘युपग्राम’ अर्थात् ‘पाटन’ निवासी (कतिपय स्रोतले ‘बनेपा’ निवासी पनि भनेको पाइन्छ) अरनिकोले सन् १२६० मा नेपालको पाटनबाट चीन जाँदा पहिलोपल्ट पाटनको नेपाली ‘पालुङ्गो सागको बीउ–विजन, बिरुवा’ लगी चीनमा रोपेको बुझिन्छ । पालुङ्गो साग ‘नेपाल–चीन सांस्कृतिक सागका’ रूपमा रहेको तथ्यलाई संस्कृतिविद् सत्यमोहन जोशीले आफ्नो पुस्तकमा उल्लेख गर्नुभएको छ । आज चिनियाँहरूमाझ ‘पालुङ्गो साग’ (चिनियाँ भाषामा ‘पोछाइ’) लोकप्रिय छ । चिनियाँ पश्चिम हान राजवंशकालको अन्तिम समय सन् २५ अघि र पछि बुद्धदूतहरू ‘नेपाल–चीन’ आवत्जावत् गरेको समयदेखि यता चीनमा भृकुटीदेवी र अरनिकोले पु¥याएको योगदानलाई ‘नेपाल–चीन सम्बन्धमा’ निकै महŒवपूर्ण मानिन्छ । यसरी त्यो सम्बन्धदेखि यता आधुनिक समयसम्म आइपुग्दा नेपाल–चीन पारस्परिक सद्भाव, सहकार्य र सहअस्तित्वको असल ऐतिहासिक। साँस्कृतिक सम्बन्ध विकास हुँदै आएको पाइन्छ ।
(लेखक त्रिभुवन विश्वविद्यालयबाट ‘नेपाल–चीन सम्बन्धमा’ विद्यावारिधि शोध गरिरहनुभएको छ ।)