विचार/दृष्टिकोण |

भू्रणावस्थादेखिको लैङ्गिक विभेद

प्रेमबहादुर थापा

भन्ने गरिन्छ, ‘महिला र पुरुष एक रथका दुई पाङ्ग्रा हुन् ।’ यस पङ्तिले भन्छ– छोरा र छोरी समान हुन् । दुवैको महŒव बराबर छ । तर, व्यवहारमा अर्कै देखिन्छ । हाम्रो समाजमा छोरा जन्माउनुलाई विशेष महŒवका रूपमा लिएको पाइन्छ । छोरा जन्माएमा बुढ्यौलीमा आमाबुवाको सहारा बन्ने, मरेपछि काजकिरिया गर्ने तर छोरीले दिएको दागबत्ती, किरिया र पिण्ड नचल्ने साथै छोरीलाई पराईको दृष्टिकोणले हेर्नेजस्ता प्रवृत्तिहरू अझै विद्यमान छन् । छोरा नजन्माए दोस्रो विवाह गर्ने तथा हिंस्रक प्रकृतिका व्यवहार गर्नेजस्ता कुप्रचलनहरू आजसम्म पनि पाइन्छन् ।
समाजमा छोरा नजन्मेसम्म बच्चा जन्माइरहने सोच अझै छ । छोरीमात्र जन्माउने आइमाई भनेर पीडित महिला नै श्रीमान्, घरपरिवार तथा समाजबाट अपहेलित हुन पुगेको पाइन्छ । यस्ता विभिन्न परम्परागत सोच, धारणा र अन्धविश्वासबाट ग्रसित दुव्र्यवहारले महिलालाई स्वस्थ शिशु जन्माउने आमाका रूपमा नलिएर बच्चा जन्माउने एउटा मेसिनका रूपमा उपयोग गरिएको कहालीलाग्दो यथार्थ छ । यिनै विभेदात्मक व्यवहार सहेर कतिपय ठाउँमा महिलाहरू नारकीय जीवन व्यतीत गरिरहेका पाइन्छन् । यस्ता विविध भ्रामक प्रवृत्ति, कुसंस्कार र अन्धविश्वास सभ्य समाजका लागि बाधक बन्न पुगेका छन् । अतः छोरा होस् या छोरी जे भए पनि एक वा दुई सन्तानपछि बच्चा जन्माउने
कार्यलाई रोक्नुपर्छ ।
समाजमा अर्काे एउटा सम्भ्रान्त वर्गभित्रको परिवार छ, जो छोराको लालसामा गर्भमा रहेको भ्रुणको लिङ्ग पहिचान गराएर भु्रण हत्या गर्ने अथवा गर्भपतन गराउँछ । कानुनी प्रावधानसमेत उल्लङ्घन गरी यस कार्यमा केही अस्पताल तथा क्लिनिकले भ्रुण हत्या गराउनमा मलजल पु¥याएका छन् । यिनै व्यवहारहरूले वास्तवमै ‘भु्रणावस्थादेखि नै लैङ्गिक विभेद’ सुरु हुने पुष्टि गर्छन् । तसर्थ, कस्तो नियतले गर्भपतन गराउन लागेको हो भन्ने कुरा पहिचान गर्नुपर्छ । सुरक्षित गर्भपतन सेवा दिने कुनै त्यस्ता अस्पतालदेखि लिएर सरकारी मान्यताप्राप्त संस्थाहरूलाई समेत अनुसन्धान र सूक्ष्म निगरानीको घेरामा राखेर कानुनको दायरामा ल्याइनुपर्छ ।
छोरा वा छोरी हुनुको वास्तविकता छोरा वा छोरी जन्मिनुमा पुरूष यौन कोषिका (स्पर्म) र स्त्री यौन कोषिका (ओभम) को मिलनबाट मानव जीवनको सुरूवात हुन्छ, यस प्रक्रियालाई गर्भधारण भनिन्छ । छोरा वा छोरी जन्मिन स्त्री र पुरूष सम्भोग क्रियाबाट पुरूषको अण्डकोषबाट शुक्रकीट र महिलाको डिम्बाशयबाट डिम्ब निस्कन्छ । यसरी निस्किएका परिपक्व यौन कोषहरूको मिलन हुन पुगेपछि गर्भधारण सुरू हुन्छ । गर्भाधानको समयमा निस्किएको शुक्रकीट र डिम्ब निशेचनबाट नयाँ जीवकोषको निर्माण हुन जान्छ । उक्त नयाँ जीवकोषमा पुरूष कोषमा २३ एक्स र वाई साथै महिला कोषमा २३ एक्स गुणसूत्रहरू हुन्छन् । यसरी दुईप्रकारका गुणसूत्रहरू मिलेर लिङ्ग निर्धारण हुन्छ । गर्भाधानबाट प्राप्त ४६ गुणसूत्रहरूमध्ये पुरूषबाट प्राप्त वाई गुणसूत्रहरू र महिलाबाट प्राप्त एक्स गुणसूत्रहरूको निशेचनबाट छोराको लिङ्ग निर्धारण हुने गर्छ भने पुरूषबाट प्राप्त एक्स गुणसूत्रहरू र महिलाबाट प्राप्त एक्स गुणसूत्रहरूको निशेचनबाट छोरीको लिङ्ग निर्धारण हुने गर्छ । छोरा हुनका लागि एक्स र वाई गुणसूत्रको आवश्यकता पर्छ र छोरी हुनका लागि एक्स–एक्स गुणसूत्र आवश्यक पर्छ । छोरो हुने वाई गुणसूत्र पुरूषसँग मात्र हुन्छ । त्यसैले छोरा वा छोरी के जन्माउने भन्ने कुरा पूर्ण रूपमा पुरूषमा मात्र निर्भर हुन्छ । छोरा पाउन नसक्ने, छोरीमात्र जन्माइरहने भन्ने कुराको दोष महिलालाई दिने प्रवृत्ति नितान्त गलत छ ।
सन्तानै नहुनेलाई छोरा वा छोरी जे भए पनि सन्तान जन्माउने रहर हुनु, छोरामात्र हुनेलाई एउटा भए पनि छोरी जन्माउने रहर हुनु र छोरीमात्र जन्माउने दम्पतीलाई एउटा भए पनि छोराको रहर हुनु एकपक्षीय दृष्टिकोणबाट हेर्दा ठीक हुन सक्ला । तर, छोरा पाउने लालसामा धेरै सन्तान जन्माउने साथै गर्भमा रहेको भ्रुण पहिचान गरी छोरी भएमा गर्भपतन गराउने कार्यले भु्रणावस्थादेखि नै लैङ्गिक विभेद सुरु हुने कुराको पुष्टि गर्छन् । यस्तो कार्यले महिलाको सुरक्षित मातृत्व र बच्चाको मौलिक अधिकार हनन भएकोसमेत स्पष्ट हुन्छ ।
लैङ्गिकमैत्री समाज निर्माण आजको आवश्यकता हो । सृष्टिको निरन्तरताका लागि महिला र पुरुषको समान सहभागिता हुनु आवश्यक छ । तर, लिङ्गका आधारमा कुनै पनि दृष्टिकोणबाट कसैलाई पनि मानवअधिकारबाट वञ्चित गरिनुहुँदैन । संविधानले व्यवस्था गरेको मौलिक हक सुनिश्चित गर्न महिलाले आफ्नो इच्छाअनुसार गर्भवती हुन वा नहुन पाउनुपर्छ । गर्भवती भएको अवस्थामा स्वस्थ रहन, सुरक्षित रूपमा प्रसूति हुन वा स्वस्थ शिशु जन्माउन, सुत्केरी भइसकेपछि स्वस्थ रहन पाउनुपर्छ । जन्मिएको शिशुलाई पनि स्वस्थ राख्न गुणस्तरीय स्वास्थ्य सेवाहरूको उपलब्धता साथै पारिवारिक हेरचाह र मायाममताजस्ता व्यवहार विनाभेदभाव हुनुपर्छ । सुरक्षित मातृत्वको यही अवधारणालाई व्यवहारमा उतार्ने हो भने छोरा होस् या छोरी स्वस्थ र सुखी परिवार अनि समृद्ध नेपालको परिकल्पना साकार पार्नमा टेवा पु¥याउन सकिन्छ ।
(लेखक प्राविधिक सहायक (पाँचौँ) हुनुहुन्छ ।)