नेकपा बहसका पराकम्प
खिमलाल देवकोटा
नेपाल कम्युनिस्ट पार्टी यतिबेला गम्भीर बहसमा छ । त्यसो त विश्व कम्युनिस्ट आन्दोलन र नेपाली कम्युनिस्ट आन्दोलन दुवै कहिल्यै बहसविहीन भएनन् । नक्कली नै भए पनि प्रमुख दुस्मन खडा गरेर त्यसकाविरुद्ध निशाना सोझ्याउन पर्ने, जसोतसो आफैँभित्र पनि विपरीत तŒव करार गरी अन्तरसङ्घर्ष सञ्चालन गर्न पर्ने ! जीवन्त पार्टीमा अन्तरसङ्घर्ष चलिरहन्छ, हरेक सङ्घर्षले पार्टीलाई रूपान्तरण गर्न मद्दतै गर्छ भनेर चित्त बुझाउने पुरानो चलनमा आज पनि कमी आएको छैन । हरेक विवादलाई राजनीतिक जामा पहिराउन सिपालु कम्युनिस्ट भाष्य आज पनि कायम छ । मन परेन भने कसैको एजेन्ट वा कसैको उक्साहटमा भनिदिने र राजनीति ध्वस्त बनाइदिने जानेमानेको चलन भन्ने कुरालाई हाल पार्टीको बहसको तरिका र स्तरले पुनर्पुष्टि गरेको छ ।
पार्टी एकताको झन्डै तीन वर्षसम्म पनि महाधिवेशन नहँुदासम्मको सर्वोच्च अङ्ग मानिएको केन्द्रीय कमिटीको जम्माजम्मी दुई बैठक बस्ने र अर्को महाधिवेशन हुनुपर्ने अवधिसम्म पार्टी एकताका बाँकी काम नसकिने हदै दर्जाको पार्टी गतिविधि छ । समाजवादउन्मुख जनताको जनवादको तत्कालीन कार्यक्रमसहितको कम्युनिस्ट पार्टी नेतृत्वको सरकार सुशासनको मामलामा प्रश्नै प्रश्नले घेरिने अवस्था र सगरमाथाको उचाइझैँ चुलिएको जनताको अपेक्षा पूरा गर्न नसकिएको अवस्थामा जुन जोगी आए पनि कानै चिरेका भन्ने उखान चरितार्थ गर्दै राजावादीहरूका एकाध झाँकीहरू प्रहसन हुने गरेको छ । यो अवस्थाले जोकोही पनि नेकपाका समर्थक, शुभचिन्तकहरूकोे चित्त प्रसन्न छैन ।
पार्टीका कार्यकारी अध्यक्षको १९ बँुदे फिरादको प्रतिउत्तरमा प्रथम अध्यक्षको ३८ बुँदे प्रतिउत्तरले सामाजिक सञ्जाल र अनलाइनकारिताले हर्षबढाइँ गरिरहेका बखत पार्टीको नेतृत्वपङ्ति घँुडा धसेर बहसमा उत्रेको दृश्य धुम्बाराहीमा देखिन्छ भने देशैभरि नेता, कार्यकर्ता, समर्थक र शुभचिन्तकहरू यो वा त्यो कित्तामा विभाजन भई मल्लयुद्धको पूर्वाभ्यास गर्दै छन् । पर्सा घटना यसको एक प्रतिछाँयामात्रै हो । दुई अध्यक्ष वादी प्रतिवादी अरू नेताहरू फड्के किनाराका साक्षी, केही वाक््पटुता भएकाहरू रफुचक्करबाजझैँ रफु भर्ने धुनमा रेडियो, टेलिभिजनमा व्यस्त, जनता निराश यतिबेलाको यथार्थ यही हो । कम्युनिस्ट पार्टीको जीवन बहसमा निर्भर गर्छ । माक्र्सवादी भाष्यमा यसलाई आन्तरिक जनवाद भनिन्छ । जनवादी केन्द्रीयता लेनिनवादी सङगठनात्मक सिद्धान्तको मर्म हो भन्दै गर्दा युद्धका बेला केन्द्रीयता र शान्तिका बेला जनवाद भनिन्छ । आवश्यकता र स्वतन्त्रताको बहसको कुरा गर्दा सङ्कटको बेला आवश्यकता र फुर्सदको बेला स्वतन्त्रता भन्ने पनि नगरिएको हैन । राजनीतिलाई पेशा बनाएका जनहरूका लागि जे गर्दा पनि फाइदा होला र हरेक बहसले पार्टीलाई नयाँ उचाइमा पु¥याउँछ भनिएला तर आमजनता, समर्थक, शुभचिन्तकका लागि विवाद निराशाको अस्त्र बनेर आउँछ भन्ने बुझ्न कत्ति पनि कठिन हुँदैन । त्यसैमा पनि खास मान्यतामा आधारित बहसले राम्रै परिणाम निकाल्छ भन्ने विश्वास गर्दा पनि यतिबेलाको माहोलले घोषणा गर्दै छ कि यो बहस पद्धतिसम्मत् पनि छैन, न त मित्रवत् । दन्केको आगोमा रोटी सेक्नेहरूको कमी छैन, हेक्का राखिएन भने आगो नेकपाले फुक्ने रोटी अर्कैले सेक्ने नहोला भन्न सकिन्न ।
नेकपाभित्रको यो आरोप–प्रत्यारोपको शृङ्खला आजसम्म आइपुग्दा सबैभन्दा पहिला नागरिक समाज विभाजित भएको छ । एउटा राजनीतिक पार्टीभित्रको आन्तरिक मामला भन्दाभन्दै पनि एकाथरी स्वघोषित नागरिक समाजवालाहरू देशका लागि राम्रै काम गरिरहनुभएका प्रधानमन्त्रीले राजीनामा दिनुपर्दैन र अर्काथरीले भ्रष्टाचारको संरक्षण गरेको आरोप लागेका प्रधानमन्त्रीलाई कुर्चीमा बस्ने नैतिक अधिकार छैन, नैतिकताका आधारमा राजीनामा दिनपर्छ भनी वक्तव्यबाजी गर्न पछि परेनन् । नागरिक समाज आफ्नो सरोकार नभएको क्षेत्रमा प्रवेश गरी वक्तव्यबाजी गरिसकेपछि समाजका अरू अवयवहरू नतानिने भन्ने प्रश्नै रहेन । केही समयअघि पार्टी विभाजन गर्ने अध्यादेश वा संसद् विघटन गरी मध्यावधि चुनाव वा सङ्कटकालको चर्चा गरेर राष्ट्रपतिलाई विवादमा ल्याउने चर्चाले बजार ततायो । अब बजार समाजका हरेक अङ्गमा विभाजन गर्ने र विवादमा ल्याउने हर्कतमा रुमल्लिनेछ ।
यसैगरी, स्थायी सरकार मानिने कर्मचारीतन्त्र जसको आधिकारिक ट्रेड युनियनको चुनाव सायद पार्टीको आन्तरिक कारणले पटक–पटक तोकिँदै र स्थगित हुँदै आएको छ । त्यहाँभित्रको विभाजन खोज्न टाढा जानैपर्दैन । सुरक्षा संयन्त्रभित्र पनि हिजोको जस्तो अवस्था आज छैन । प्रमुख हुनका लागि नेताका घरदैलो चहार्ने अभियानको आरम्भ भइसकेको छ । समाज र राज्यका अवयवहरूमा पर्ने विभाजनकारी मानसिकताका बाछिटाहरूले मुलुकले अङ्गीकार गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्र, तीन तहका सरकार, समावेशी समानुपातिक मान्यता बेवारिसे बन्ने खतरा त्यत्तिकै छ । सुखी नेपाली समृद्ध नेपालको सपना र समाजवाद हुँदै साम्यवादमा पुग्ने नेकपाको परिलक्षित यात्रा बीचैमा अवरुद्ध हुने पक्का छ ।
सबैभन्दा नराम्रो र गहिरो असर पार्टीका नेता, कार्यकर्ता, समर्थक र शुभचिन्तकमा पर्नेछ । पार्टी एकतादेखि फिराद प्रतिउत्तरसम्मको यात्रामा पार्टीको सचिवालयबाहेक सिङ्गो पार्टीपङ्ति औपचारिक रूपमा सामेल छैन । तथापि सत्ताको स्वाद भोगेका, सोको रापतापको आशीर्वाद प्राप्त गरेका र प्राप्त गर्न लालायितहरूको हर्कत बेग्लै हुनेछ । त्योबाहेक अरूहरूका लागि भीरबाट लडे पनि किलो रित्तै बाघले खाए पनि किलो रित्तै भन्ने उखान चरितार्थ हुनेछ । ठूलो पङ्ति यो वा त्यो कित्तामा हैन, निराश हुने र निष्क्रिय बन्नेछ । लामो राजनीतिक उतारचढाव, उकाली–ओराली बेहोरेका र सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गर्नका लागि ठूलो त्याग गरेको पङ्ति यही व्यवस्था जोगाउनका लागि मूकदर्शक बन्ने अवस्था आइपर्ने भनेको नेपाली राजनीतिका लागि त घाटाको विषय हँुदै हो, कम्युनिस्ट आन्दोलनका लागि त अपूरणीय क्षति नै हो । केही ‘चैते’हरूबाट विगत ७० वर्षदेखि त्याग, बलिदान र सङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षा सम्भव छैन । जब प्राप्त उपलब्धि नै धर्मरमा हुनेछ तब फिराद र प्रतिउत्तरको औचित्य पनि स्वतः सकिनेछ । फिराद–प्रतिउत्तरसँगै वादी–प्रतिवादीहरू पनि एकादेशको कथामा सीमित हुने खतरा छ । यसतर्फ हेक्का छ कि छैन कुन्नि ?
परिस्थिति गम्भीर छ । गम्भीर परिस्थितिको सामना गम्भीर ढङ्गले नै गर्न जरुरी छ । आन्तरिक जनवादको पक्ष कमजोर भएकै कारणले पार्टी कमजोर भएको हो भन्ने कुरा कमसेकम केही चैतेहरूबाहेक कम्युनिस्ट आन्दोलनका विभिन्न धाराहरूबाट आएकाहरूका लागि बताइरहनुपर्दैन । बहसले पार्टीलाई रूपान्तरण गर्छ भन्ने विश्वास जगाउनका लागि मात्रै भए पनि विवाद र बहसलाई विधि पद्धतिको सीमामा बाँध्न जरुरी छ । बहस कम्युनिस्ट आदर्श, मान्यता र सिद्धान्तका पृष्ठभूमिमा बदल्न जरुरी छ । पार्टीभित्र मौलाएका हर्कतहरू कम्युनिस्टमात्रै हैन, सामान्य बुर्जुवाहरूले समेत कल्पना नगरेका हद र स्तरका छन् । तिनको अन्त्य गरेरमात्रै पुग्दैन, तिनलाई दण्डित नै गर्न जरुरी छ । त्यसो नगरेसम्म कम्युनिस्ट आन्दोलनले पुनर्जीवन प्राप्त गर्ने छैन ।
सत्ताको बागडोर सम्हालेको पार्टीको बेथितिले सिङ्गो समाजलाई नै बेथितिमा धकेल्ने पक्का छ । यो बेथितिको बाँध फुट्दै गर्दा देशभित्र र बाहिर समेतका नेपाललाई माया गर्नेहरूको नूर गिरेको हुनेछ । नेपालप्रति गिद्धेदृष्टि राख्नेहरूका हड्डी हाँसेका हुनेछन् । यस्तो अवस्थामा आन्तरिक झगडाका वादी प्रतिवादी बनेर सत्तामा रहेका वा नरहेका कसैका लागि पनि राजनीति गर्नु उकालोमा ढुङ्गो पल्टाउँदा हुने कष्टबराबर हुनेछ । त्यसपछि भने सत्तारूढ पार्टीभित्रको बहस, समाजवादउन्मुख जनवादको परिकल्पना, समाजवाद हँुदै साम्यवादमा पुग्ने सपना केवल सपनामा नै सीमित हुनेछन् । सुखी नेपाली समृद्ध नेपालको नारा फगत बन्नेछ । अघिल्लो निर्वाचनका बखत जनतासमक्ष गरेका वाचा कबोल झुटका पुलिन्दा हुनेछन् ।
यस्तो विकराल चित्रको परिकल्पना गरेर पार्टीका विवादहरूलाई पार्टीको विधि पद्धतिका आधारमा टुङ्ग्याउने, गलत र ध्वंसात्मक र फुटपरस्त प्रवृत्तिका विरुद्ध सम्झौताहीन तथा विचार र राजनीतिका मुद्दा मैत्रीपूर्ण सङ्घर्षको माध्यमबाट समाधान गर्न हिम्मत गर्ने बेला भएको छ । यो हिम्मतले सङ्कटका बेला नेतृत्वको पहिचान हुन्छ भन्ने उक्तिलाई पनि पुनर्पुष्टि गर्नेछ । अन्ततः सचेत पहलकदमी हुन नसके समयले समाधान दिने कुरा छ त छँदै छ, समय कुर्ने कि सचेत पहलकदमी गरेर नेतृत्वको पहिचान दिने आगे नेताहरूकै जिम्मा ।
(लेखक वरिष्ठ अधिवक्ता हुनुहुन्छ ।)