विचार/दृष्टिकोण |

मृत्युशøयामा प्रथम राजकुलो

राजाराम श्रेष्ठ
अधिकांश प्राचीन मानव सभ्यता नदीकिनारबाट विकसित हुँदै आएको देखिन्छ । यसको मुख्य कारण पानीको सहज आपूर्ति हो । जीवनका लागि पानी अत्यावश्यक भएकाले प्राचीनकालदेखि नै पानीको सहज आपूर्तिका लागि नदी तथा मुहानको पानीलाई कुलोको सहायताबाट सुरक्षितका साथ मानव बस्तीसम्म ल्याउने गरेको देखिन्छ । त्यतिबेला राजा र प्रजाको सहयोगबाट यस्ता कुलो निर्माण हुने गथ्र्याे । राजाद्वारा धन–राशि र प्रजाजनको श्रम खर्च गरेर निर्माण गरिने कुलो नै
राजकुलो हो ।
लिच्छविकालमा कुलोलाई तिलमक भन्ने गरिन्थ्यो । राजा शिवदेव द्वितीयको ई. ६९७ को ललितपुर सुनागुठी भृङ्गारेश्वरको अभिलेख (धनबज्र बज्रचार्य, लिच्छविकालका अभिलेख, २०३० पृ. ५१९) मा तिलमकको उल्लेख गरिएको छ । यस अभिलेखमा पोखरी, कुलोको थिति बनाएको र सो थिति उल्लङ्घन गर्नेलाई दण्ड दिने कुराको उल्लेख गरिएको छ । त्यस्तै राजा जयदेव द्वितीयको पाटन मिननाथको ई. ७२४ को अभिलेख (धनबज्र बज्रचार्य, लिच्छविकालका अभिलेख, पृ. ५४३) मा उक्त क्षेत्रको कुलो कसैले बिगारेमा नजिकैको किल्ला (कोट्ट) मा जाहेर गरी समाती दण्डका लागि दरबार ल्याउनुपर्ने विधान लेखिएको छ । (डा. जगदीशचन्द्र रेग्मी, नेपालको वैधानिक परम्परा, २०६०, पृष्ठ ५६) लिच्छविकालमा यस्ता कुलो तथा सिँचाईसम्बन्धी काम गर्न लिङ्ग्वल् अधिकरण भन्ने विभागको व्यवस्था गरिएको थियो । जसले कुलो, धारा, हिटीहरू, नहर, खोला तथा तिनको पानीको उपयोगसम्बन्धी काम हेर्ने गथ्र्याे ।
लिच्छविकालकै कामलाई पछ्याउँदै मल्लकालमा पनि राजकुलोहरू निर्माण तथा विस्तार हुँदै आएको पाइन्छ । यसबाहेक काठमाडौँ उपत्यकामा विभिन्न समयमा राजकुलोहरू निर्माण भएको इतिहास अहिलेसम्म जीवन्त छ । कीर्तिपुरका पूर्वमध्यकालीन राजा शिवदेवले निर्माण गरेको राजकुलो, राजा प्रताप मल्लले शिवपुरीबाट हनुमानढोका दरबारसम्म पानी ल्याएको राजकुलो, राजा जितामित्र मल्लले महादेव पोखरीदेखि भक्तपुर दरबारसम्म निर्माण गरेको राजकुलोहरू जस्तै लेलेदेखि चापागाउँसम्म निर्माण गरिएको राजकुलो निकै ऐतिहासिक राजकुलोहरू हुन् ।
मल्लकालमा भने राजकुलोको निर्माण तथा मर्मतसम्भार कुलोको प्रयोगकर्ता स्वयम्ले नै गर्नुपर्ने व्यवस्था गरिएको थियो । यसले गर्दा धेरै लामो समयसम्म राजकुलोहरू सुरक्षित रहन सफल भएका थिए । तर, अहिले सबैजसो ठाउँको राजकुलोहरू अतिक्रमणमा पर्ने, पहिरोले पुरिने, भत्कने तथा अतिक्रमणमा परेर समाप्त हुने अवस्थामा पुगिसकेका छन् । यस्तै चपेटामा परेको राजकुलो हो– टीकाभैरवद्वारा निर्माण गरिएको राजकुलो ।
अध्ययनबाट प्राचीनकालमै निर्माण गरिएको यो राजकुलोलाई प्रथम राजकुलोका रूपमा लिन सकिन्छ । किंवदन्तीका अनुसार केराउबारी हेर्न गएकी छोरी हराएका कारण बालिचाले टीकाभैरवको पूजा गरेका थिए । सोही पूजाबाट खुसी भएपछि टीकाभैरवले बालिचालाई ‘पछाडि नहेरी कोदालो घिसारेर लानु, पानी आउँछ’ भन्ने वरदान दिए । बालिचाले निर्देशन मानेर आफ्नो घर पुग्दा साँच्चि नै त्यहाँसम्म पानी आएको थियो । त्यो नै पछि राजकुलो बन्यो ।
यो राजकुलो निर्माण लिच्छविकालीन राजा जयदेव द्वितीयको पालामा गरेको मानिन्छ । लेलेदेखि चापागाउँ (लिच्छविकालीन बस्ती लेम्बवटी द्रङ्गदेखि स्थरुद्रङ्ग) सम्म यो राजकुलो निर्माण गरेको देखिन्छ । पछि मल्लकालमा पाटनका राजा सिद्धिनरसिंह मल्लले चापागाउँदेखि लगनखेलसम्म विस्तार गरेको देखिने डा. सन्ध्या खनाल पराजुलीले ‘काठमाडौँ उपत्यकाको ऐतिहासिक राजकुलो’ शीर्षकको अनुसन्धानमूलक लेखमा उल्लेख गरेकी छन् ।
मल्लकालमा राजदरबारका लागि पानीको आवश्यकता महसुस गरी पाटन दरबार क्षेत्रसम्म पानीको व्यवस्था गर्न लगभग १३ किलोमिटर ललितपुरको दक्षिण भेगमा पानीको मुहानका रूपमा लेले टीकाभैरव खोलालाई बनाएको देखिन्छ । मल्लकालमा निर्मित पाटन राजकुलोको नामले पनि चिनिने यो राजकुलो टीकाभैरवबाट सुरु हुन्छ । यो प्राचीन राजकुलो लेले, टीकाभैरवबाट प्याङगाउँ, पाउली, चापागाउँ, झ्यालीपाटी, ठेचो, सुनागुठी, खुमलटार, जावलाखेल हुँदै कुपन्डोलसम्म बग्ने गथ्र्याे । यही टीकाभैरव खोलाको पानी राजकुलोमार्फत चापागाउँको भन्सार पोखरी, न्हाकँद पोखरी, वखा पोखरी, कमलपोखरीमा पुग्ने व्यवस्था मिलाइएको छ । ठेचो, सुनागुठीको कतिपय पोखरी तथा पाटन सहरको सबै सप्तपाताल, प्रयागपोखरी, ढुङ्गेधारा तथा पाटन दरबार स्क्वायरभित्रको राजकीय ढुङ्गेधारासम्म यही राजकुलोबाट पानी जाने व्यवस्था गरिएको थियो । लगनखेल, सप्तपाताल पोखरीको ठाउँबाट प्रयाग पोखरी, नाøक्यब
(कसाईको बारी), चा वहाः ठाउँबाट बालकुमारी अगाडि हःखा गल्लीको मूलसडकको सिंहको ध्वंप्वाः (पानी जाने निकास) ठाउँबाट भण्डारखाल बगैँचासम्म पानी जाने व्यवस्था गरेको भन्ने पनि राम महर्जनले एक लेखमा उल्लेख गरेका छन् । (न्हु प्रस्टिज नेपाः, २०७७ जेठ, वर्ष १७, अङ्क २,
पृष्ठ २४) ।
सन् २००९ मा ललितपुरको प्रथम राजकुलो ललितपुर महानगरपालिका वातावरण तथा सम्पदा संरक्षणले जीर्णोद्धार गरेको थियो । यसको विक्रम संवत् २०१६ सालमा पनि जीर्णोद्धार भइसकेको छ । सधैँजसो भत्किरहने, पहिरोले पुरिरहने, सर्वसाधारणले अतिक्रमण गर्नेजस्ता विभिन्न कारणले नियमित पानी बगाउन र खेतका लागि पानी प्राप्त गर्न किसानहरूका लागि समस्या पर्ने गरेको छ । सरकारले विसं २०२४–२५ सालमा चक्रपथ निर्माण गरेको कारणले ललितपुरको सहरी क्षेत्रमा यो ऐतिहासिक राजकुलो नष्ट भइसकेको छ । अहिले लेलेको टीकाभैरव खोलाको पानी चापागाउँ हुँदै ठेचो, सुनागुठीसम्म मुस्किलले ५ किलोमिटरको क्षेत्रमा मात्र बग्ने गरेको छ । यसको हेरचाहका लागि पहिले ३२ जनासम्मको धलपाः (राजकुलोको हेरचाह गर्ने व्यक्ति) रहेका थिए । धलपाःहरू सरकारी स्तरबाट तलब खाने कर्मचारी हुन् । विसं २०४६ सालमा धलपाःको खारेजीपछि यसको रेखदेखमा कमी आउन थालेको हो । राजकुलोमा नियमित पानी सञ्चालन हुन नसक्दा चापागाउँ, ठेचो, सुनागुठी, पाटनका विभिन्न पोखरीहरूमा पानी भर्न समस्या आउने गरेको छ । यस्ता पोखरीहरूमा पानी नभएमा वरिपरिका ढुङ्गेधारा, इनारमा समेत पानी नहुने समस्या आउन सक्छ । यसले पानीको आपूर्तिमा समस्या आउने पक्का छ ।
ललितपुरको यो प्रथम राजकुलो पहिलेको तुलनामा अत्यन्त साघुँरिन गई जीर्ण भइसकेको छ । यसको खुमलटार क्षेत्रमा अलपत्र अवस्थामा रहेको छ । प्राचीनकालमा जस्तै वर्तमान समयमा पानीको सुरक्षाका निम्ति राज्यद्वारा छुट्टै खटाइएका कर्मचारीको अभाव हुँदा यसको संरक्षणमा कमी आएको हो । राजकुलोमै जथाभावी फोहोर फाल्ने, निकास, शौचालयको पानी पठाउने, राजकुलो पुरेर बाटोको रूपमा प्रयोग गर्ने जस्ता गैरजिम्मेवारीपूर्ण कार्यले गर्दा राजकुलोको अस्तित्व संकटमा पर्न गएको छ । नेवार समुदायमा सिठी नखः (पर्व) को समयमा पानीको मुहान, पोखरी, इनार, कुलोको सरसफाइ गर्ने परम्परा रहे पनि हाल यो चलन हराइसकेका कारण यसको संरक्षणमा कमी आएको छ ।
मानिस आधुनिकतामा प्रवेश गरेसँगै पुराना संस्कृति, प्राकृतिक स्रोत सम्पदाहरू नष्ट हुँदै जान थालेका छन् । बढ्दो सहरीकणको प्रभाव यो राजकुलोमा पनि पर्न थालिसकेको छ । नयाँ बस्ती विकास एवम् सहरीकरणले गर्दा चापागाउँ, ठेचो, सुनागुठीका कतिपय ठाउँमा अहिले राजकुलोमा सिमेन्टको ह्युमपाइप हाली वा सिमेन्टको पक्की ढलान गरी पुर्ने काम भएको छ । यसरी राजकुलो पुरेर त्यसैमाथि सडक बनाउने काम भइसकेको छ । यो ऐतिहासिक राजकुलो पछि ढल निकास बन्ने खतरा बढेको छ । यो समग्र अवस्थाले प्रथम राजकुलो मृत्युशøयामा पुगेको अवस्था देखाउँछ ।
(लेखक अधिवक्ता हुनुहुन्छ ।)