विचार/दृष्टिकोण |

चोरी सिकारी नियन्त्रणमा स्थानीयसँग समन्वय

प्रमोदकुमार टण्डन

गत असोज ८ गते अन्तर्राष्ट्रिय वन्यजन्तु संरक्षण समूहले गरेको एउटा अध्ययन प्रतिवेदन सार्वजनिक भयो । व्यापारमा वनस्पति र जीवजन्तु किनबेचको आँकडा विश्लेषण (ट्राफिक) नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्था सामेल रहेर गरेको अध्ययनमा वन्यजन्तु अपराधमा सजाय काटिरहेका दक्षिण अफ्रिकाका ७३ कैदीसँग अन्तर्वार्ता लिइएको थियो ।
‘म मेरो बच्चालाई मेरोभन्दा राम्रो जिन्दगी दिन चाहन्थेँ’ वन्यजन्तुको तस्करीजस्तो गैरकानुनी काममा किन लागेको भन्ने प्रश्नमा एक जना कैदीबन्दीको उत्तर थियो । अर्का कैदीबन्दीले आफू बाल्यकालमा विद्यालय जान नपाएको पीडा सुनाउँदै आफ्नो बच्चाको शिक्षाका लागि यसतर्फ लागेको बताएका थिए । उनले अन्य विकल्प हुने हो भने यस्तो कार्यमा आफू नलाग्ने पनि बताएका थिए ।
अध्ययनको निष्कर्ष भन्छ, ‘७० प्रतिशत सहभागीको जवाफ आफूलाई बाँच्नका लागि रोजगारीको कुनै विकल्प नभएपछि बाध्यताले वन्यजन्तुको चोरी सिकारीमा लागेका छन् ।’ अध्ययनका सहभागी ७४ प्रतिशत गैँडा तस्करीसम्बन्धी मुद्दामा जेल चलान भएका प्रतिवेदनमा उल्लेख छ ।
हाम्रो देश वा छिमेकी देश नभएर अर्कै महादेशको अध्ययनको निष्कर्ष र सहभागीको भनाइ यहाँनेर उल्लेख गर्नुको एउटै सान्दर्भिकता छ कि नेपालमा पटकपटक एकसिङ्गे गैँडाका सिकारी पक्रिएपछि उनीहरूको कबुल ठ्याक्कै यस्तै हुन्छ । केही वर्षअघि २१ वटा गैँडा सिकारमा संलग्न एकजना नामुद सिकारी विदेशबाट पक्राउ परेर चितवन राष्ट्रिय निकुञ्ज मुख्यालय कसराको कारागारमा राखिएका बेला वन्यजन्तु शिकारमा लाग्नु पछाडिको कारण पत्ता लगाउन स्तम्भकारले उक्त व्यक्तिको अन्तर्वार्ता लिएको थियो ।
नामुद सिकारीको उत्तर थियो, “गरिबीमा हुर्केको मान्छे हुँ । जङ्गलछेउको गाउँको बास । ठूलो हुँदै जाँदा आफूभन्दा ठूलाले राम्रो खाएको, बाइकमा हिँडेको देखेर आफूलाई पनि त्यस्तै हुन मन लाग्यो । के गर्न हुने के गर्न नहुने कसैले सिकाएन । अरू काम केही थिएन । अरूकै पछिपछि लाग्दा यस्तो काम गर्न पुगेँ ।”
चितवन राष्ट्रिय निकुञ्जको चारैतिर छेउमा कहीँ कम त कहीँ बढी विभिन्न रैथाने आदिवासी जनजातिका पुराना बस्ती छन् । त्यहाँका एकाध घर छोडेर सबैजसो घरका कोही न कोही वन्यजन्तु मुद्दामा जेलमा छन् वा सजाय काटेर छुटिसकेका छन् वा फरार छन् । कसैकसैका त पूरै परिवार नै गैँडा सिकारमा संलग्न भएको तथ्याङ्क निकुञ्ज कार्यालयसँग दोहोरिरहन्छ तर झट्ट सुन्दा हल्काजस्ता लाग्ने यी कारण निकुञ्ज आसपासका गरिब, बेरोजगार, अशिक्षित जनजाति समुदायका लागि हातमुख जोर्न वैकल्पिक माध्यम नभएका बेला उनीहरूको आँखाबाट हेर्दा त्यति हल्का पक्कै
पनि होइनन् ।
दक्षिण अफ्रिकामा गरिएको पछिल्लो अध्ययनको चर्चा अहिले विश्वभर छ । गैँडा संरक्षण गर्नुपर्छ, त्यसमा कसैको दुई मत हुन सक्दैन तर गरिबी, अशिक्षा र बेरोजगारीमा पिल्सिरहेको एउटा समुदाय जसलाई कसुरमा पक्रेर सजाय दिलाएर छोड्दैमा त्यही समुदायको मानिसले पुनः सिकार गर्दैन भनेर ठोकुवा गर्न सकिन्न । उदाहरण निकुञ्ज कार्यालयसँगै छ । एकपटक सजाय भोगेर निस्केको मानिस फेरि सिकारमा संलग्न भएर पुनः पक्राउ परेका घटना पर्याप्त छन् ।
होइन, जोसुकै हुन् अपराध गरेपछि सजाय दिने र छोड्ने मात्रै हो, उनीहरूको रोजीरोटीको ठेक्का सरकारले लिन्छ र ? भन्ने मत पनि होला । यदि त्यसो हो भने अहिलेसम्म त वन्यजन्तु चोरी सिकारी पूरै ठप्पै हुनुपर्ने हो । सेना छ, जाँचचौकी छन्, अत्याधुनिक सुराकी पद्धती छ, सबैथोक छ र पनि फेरि गैँडा सिकारी सल्बलाएका छन् ।
निकुञ्जसँगै टाँसिएका समुदायसँग सहकार्य गरेर संरक्षणको अर्थ स्थानीय स्तरसम्म पु¥याउने र स्थानीयवासीलाई गाउँमै उद्यम वा रोजगारीको बाटो देखाउन सके मात्र स्थानीयको ध्यानबाट बिस्तारै चोरी सिकारी हटाउन सकिन्छ । जुनसुकै काममा उक्त कामको लागि लोभ्याउने माध्यम (पुल फ्याक्टर) र कामबाट अलग्याउने माध्यम (पुस फ्याक्टर) हुन्छ । न रोजगारी, न व्यवसाय, न हातमा पुँजी भएपछि मानिस विकल्प खोज्छन् । बिहान के खाउँ, बेलुका के खाउँ, घर परिवारको पेट कसरी पालौँ भन्ने भइरहेका बेला एउटा खाग बिक्री गर्दा लाखौँ आम्दानी हुने विश्व बजारले उनीहरूलाई जोखिम मोल्न उक्साउँछ ।
नेपालले सरकारी एवं गैरसरकारी तवरबाट भएका अहिलेसम्ममा प्रयासका बाबजुद स्थानीय समुदायसँगको सहकार्यलाई साँच्चै गति प्रदान गरेर अघि बढ्ने बेला भएको छ । उनीहरूलाई वैकल्पिक कामकाज र आयआर्जनमा लगाउन सकियो भने त्यसबाट फाइदा पुग्ने राज्यलाई नै हो । कालीखोलामा एक जना सिकारी पक्रन जाँदा सरकारी सुराकीभन्दा सिकारीका आफ्ना सुराकी सङ्ख्यात्मक रूपमा धेरै र प्रभावकारी भएकाले पटकपटक उम्केको दृष्टान्त निकुञ्ज कार्यालयसँग छँदै छ ।
त्यस्ता समुदायका मानिसलाई गैँडा मार्न हुन्न र मा¥यो भने जेल परिन्छ भन्ने राम्ररी थाहा छ । साँचो कुरा यो पनि हो कि तिनीहरूलाई त्यति मात्रै थाहा छ । गैँडा किन जोगाउने ? वन्यजन्तु किन चाहियो ? भन्ने थाहा छैन । यस्तो अवस्थामा जतिसुकै सुरक्षाकर्मी तैनाथ गरे पनि र सजाय जतिसुकै बढाए पनि चोरी सिकारी बन्द हुने छैन ।
अघिल्लो दशकमा अफ्रिकामा गैँडा र हात्ती हजारौँको सङ्ख्यामा सिकार गरेर जीवजन्तु सङ्कटमा परेपछि त्यहाँको सरकारको आँखा खुल्यो र त्यहाँ त्यस्ता क्षेत्र आसपासका स्थानीयवासीलाई रोजगारी दिने वा व्यवसायका लागि सहयोग गरियो । पछिल्लो दशकमा अफ्रिकामा संरक्षणको अर्कै माहोल छ ।
समय र परिस्थितिको आवश्यकतासँगै नियम कानुन पनि बन्दै संशोधन हुँदै र फेरिँदै जान्छन् । केही दशक मात्रै पछि फर्कौं, कुनै बेला कसराको त्यो भवन राजा महाराजा र विदेशीका लागि सिकार गर्ने थलो थियो । गाउँमा जङ्गलबाट चितुवा वा बाघ मारेर ल्याउनेलाई टाउकोमा पगरीजस्तै सेतो कपडाको साफा लगाइदिएर अबिर जात्रासहित बाजागाजासमेतको सम्मान गरिन्थ्यो । पछि बिस्तारै देशमा शासन व्यवस्थाअनुसार कानुन व्यवस्था परिमार्जित हुँदै गए । खुला सिकारले वन्यजन्तु घट्दै गएपछि हिजो सम्मान र इज्जत गरिने वन्यजन्तु सिकारको काम गैरकानुनी हुनपुग्यो । हिजो जहाँ बसेर वन्यजन्तुलाई गोली ठोकिन्थ्यो त्यही भवनमा आज वन्यजन्तु सिकार गर्नेलाई सजाय तोकिन्छ । हिजोको सिकार घर आज संरक्षणको मुख्यालय भएको छ ।
यो चक्र र परिवर्तन अशिक्षा र बेरोजगारीको भुङ्ग्रोमा परेर बिहान के खाने, बेलुका के खाने भन्ने अवस्थाका स्थानीयवासीलाई त्यति सजिलै बुझाउन सकिँदैन । स्थानीयवासीलाई बुझाउने र आयआर्जनको बाटो देखाउने काममा सहयोग गरेर तिनीहरूको गरिबी र बेरोजगारी हटाउने पाइला चाल्ने हो भने प्रतिकूल समयमा पनि चोरी सिकारी रोकिन सक्छ । पछिल्लो समय कोरोना महामारीपछि चारवटा गैँडा मारेर खाग गायब भएका घटनाले पक्कै पनि सरोकारवाला सबैको ध्यान खिचेकै हुनुपर्छ । राज्यले सक्दा बन्दुकको निशानामा तस्कर र राज्यको अलिकति पनि पहुँच कम हुँदा तस्करको बन्दुकको निशानामा गैँडा पर्ने क्रमको क्रमभङ्गताका लागि सिकारी सिकार गर्न आउनाको कारणसम्म पुगेर स्थानीय स्तरबाटै वन्यजन्तु सिकार नियन्त्रणमा ध्यान दिनुपर्छ । स्थानीयसँग मिलेर संरक्षणका कार्यक्रम गर्नु आवश्यक छ ।
(लेखक पत्रकारिता तथा आमसञ्चार विषय अध्यापक एवं वातावरण पत्रकार हुनुहुन्छ)