विचार/दृष्टिकोण |

देशभित्रै दिदीबहिनी नगर

वसन्त आचार्य

दुई नगरबीचको मैत्रीपूर्ण सम्बन्धलाई भगिनी सम्बन्ध भनिन्छ । नगर–नगरबीचको आपसी हित, सहकार्य, सहयोग तथा अभ्यास र अनुभव साटासाट गर्नु नै भगिनी सम्बन्धको मूल मर्म हो । नगरहरूबीचको सम्बन्धलाई दिदीबहिनीको सम्बन्ध पनि मानिन्छ । दिदीबहिनीको सम्बन्ध अरूभन्दा ज्यादा सुमधुर, हार्दिक र परस्परमा सहयोगी हुने विश्वासका आधारमा दुई नगरबीचको औपचारिक सम्बन्धलाई पनि त्यसको उपमा दिने गरिएको हो । जसरी दिदीबहिनीको सम्बन्ध अत्यन्तै हितैषी हुन्छ, दुई नगरबीचको सम्बन्ध पनि त्यस्तै बनाउने उद्देश्यले भगिनी सम्बन्ध स्थापना गरिन्छ ।
२०७७ मङ्सिर १३ गते नेपालका नगरहरूबीचको भगिनी सम्बन्धको शृङ्खलामा एउटा नयाँ अध्याय सुरु भएको छ । नेपालको महानगरपालिका, उपमहानगरपालिका, नगरपालिकाहरू वा गाउँपालिकाले समकक्षी विदेशी नगरसँग मात्र भगिनी सम्बन्ध स्थापना गर्दै आएकोमा पहिलोपटक देशभित्रैका दुई नगरबीच भगिनी सम्बन्ध स्थापना भयो । सङ्घीय राजधानी काठमाडौँको ऐतिहासिक, धार्मिक, पुराताŒिवक र साँस्कृतिक सहर मानिने नेपालकै जेठो महानगर काठमाडौँ र भगवान् गौतम बुद्धको अष्टधातु रहेको प्राचीन नगर रामग्रामबीच नगर व्यवस्थापनका विविध क्षेत्रहरूमा सहकार्य, साझेदारी तथा समन्वय गर्न भगिनी सम्बन्ध स्थापना भएको हो ।
दुवै नगरको संस्थागत प्रणालीलाई अझ सुदृढ र सबल बनाउन तथा आपसी हित र सहकार्यलाई बढावा दिन सम्बन्ध कायम गरिएको हो । असल तथा सफल अभ्यास एवम् अनुभवहरूको आदान–प्रदान गर्ने र स्थानीय सरकारलाई दरिलो बनाउने संस्थागत संयन्त्रहरूबीच समन्वय, सहकार्य र साझा प्रयत्न गर्न दुई नगरबीच मित्रता कायम गर्नु भगिनी सम्बन्धको प्रमुख उद्देश्य रहेको देखिन्छ ।
नेपालको संविधान, सङ्घीय कानुन, प्रदेश कानुन तथा अन्य नीति, योजना र राष्ट्रिय आकाङ्क्षाअनुसार जननिकट सरकारका रूपमा दुई नगरबीच हुने अन्तरक्रिया, छलफल, विचार विमर्श तथा साझा प्रयत्नबाट अझै गुणात्मक नतिजा प्राप्त गर्ने लक्ष्य देखिन्छ । दुई नगर सरकारका साङ्गठनिक स्वरूप, संस्थागत संरचना र शासकीय भूमिकालाई सबल, सुदृढ र प्रभावकारी बनाउन यसले महŒवपूर्ण भूमिका निर्वाह गर्ने आँकलन गर्न सकिन्छ । स्थानीय स्वायत्त शासन तथा स्वशासनलाई बलियो बनाउन नगर–नगरबीचको भूमिका तथा काम कर्तव्यलाई प्रभावकारी बनाउने र सेवाप्रवाहलाई चुस्त तथा जनमैत्री बनाउन भगिनी सम्बन्धमार्फत दुई नगर जोडिएको सहमतिपत्रमा उल्लिखित छ ।

 संस्कृित, सम्पदा र पर्यटन प्रवद्र्धन
काठमाडौँ र रामग्राम दुवै प्राचीन र साँस्कृतिक नगर हुन् । प्राकृतिक दृश्य र साँस्कृतिक रहस्य नै मानव चेतनाको गन्तव्य हो । स्वदेशी तथा विदेशी संस्कृतिविद्, समाजसेवी र पर्यटकहरूका लागि दुई नगरको भगिनी सम्बन्धमार्फत सहकार्य र समन्वय गरिँदा महŒवपूर्ण क्षेत्रहरूको पहिचान गर्ने, ज्ञान हस्तान्तरण तथा प्रचार–प्रसार गर्ने र पर्यटन प्रवद्र्धनलाई उल्लेख्य रूपमा वृद्धि गर्ने उद्देश्य भगिनी सम्बन्धले राखेको छ ।
भागिनी सम्बन्धले दुई नगरबीचको लागत सहभागितामा मौलिक तथा प्राचीन स्थलहरूको संरक्षण, विकास तथा प्रवद्र्धन गर्ने विश्वास गरिएको छ । भगवान् गौतम बुद्धको मावलीघर मानिने रामग्राम नगरपालिका वडा नम्बर १८ स्थित पण्डितपुरको ऐतिहासिक पक्षको संरक्षण गर्दै उक्त क्षेत्रमा कोलीय शान्ति उद्यान निर्माण गर्न दुई नगरबीच अलग्गै सम्झौतासमेत भएको छ । यस परियोजनाअनुसार दुवै नगरले आधा–आधा बेहोर्ने गरी करिब तीन करोड लगानी साझेदारीमा प्राचीन सम्पदाको संरक्षण गर्ने कार्य प्रारम्भ भइसकेको छ । यसबाट भविष्यमा अन्य परियोजनामा समेत साझेदारी गर्न सक्ने मार्गप्रशस्त भएको छ ।

 प्रकृति र पर्यावरण
भगिनी सम्बन्ध स्थापना गर्ने सहमतिपत्रको बुँदा नम्बर ९ मा प्रकृति र पर्यावरणको समुचित सन्तुलनको व्याख्या गरिएको छ । प्रकृति र पर्यावरणको सन्तुलन नभए मानव समाजको अस्तित्व नै सङ्कटमा पर्न सक्ने कुरालाई मनन गर्दै दुई नगरले काम गर्नुपर्ने यसको मुख्य उद्देश्य हो । यसका लागि सम्झौतामा आपसी सहकार्य, ठोस योजना तथा नतिजामुखी क्रियाकलाप सञ्चालन गर्न साझेदारी गर्ने उल्लेख गरिएको छ । यसबाट स्वायत्त स्थानीय सरकारका रूपमा नगर सरकारहरूबीच प्रकृति र पर्यावरणको संरक्षणमा पनि सहकार्य हुने आधार बनेको देखिन्छ ।

 सुशासन र भगिनी सम्बन्ध
सुशासन स्थानीय सरकारका लागि आजको प्रमुख आवश्यकता हो । यी दुईबीच सम्बन्ध स्थापना हुँदा शासनमा जनसहभागिता वृद्धि, नीति तथा कानुन निर्माण, न्याय सम्पादन, सेवाप्रवाह, सूचना प्रविधिको प्रयोगमा पनि सहकार्य गर्ने प्रतिबद्धता जनाइएको छ । त्यस्तै स्थानीय रोजगारी वृद्धि, राजस्व परिचालन, शिक्षा, स्वास्थ्य र सहकारी क्षेत्रमा हासिल गरिएका उपलब्धिहरूको अनुभवबाट ज्ञान, सीप तथा प्रणाली साटासाट गर्ने प्रण पनि यसमा समेटिएको छ । यी बुँदाहरूले स्थानीय सरकारबीच प्रशासनिक अनुभव र अभ्यास साटासाट गर्ने परिस्थिति पनि बनेको छ ।
सहमतिपत्रमा जनप्रतिनिधि, कर्मचारी तथा नगरवासीहरूमा रहेको ज्ञान, सीप तथा अनुभवको आदान–प्रदान गर्न अध्ययन तथा अवलोकन भ्रमण, अन्तरक्रिया, गोष्ठीजस्ता कार्यक्रमहरू सञ्चालन गरी दुवै नगरको हित हुनेगरी सहकार्य गर्ने उल्लेख गरिएको छ । जनस्तरमै हुने मैत्रीपूर्ण सम्बन्धले स्थानीय भाषा, संस्कृति, रहनसहन, कला, धर्म, पुरातŒव, प्राचीन स्मारक, जात्रा–पर्व, परम्परा आदिबारे जान्ने, बुझ्ने र आपसी सम्बन्धलाई अझ बलियो बनाउन सहयोग पुग्ने देखिन्छ ।
२१बुँदे सहमतिपत्रमा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्रकुमार गुप्ताबीच प्राचीन नगर रामग्राममा गरिएको भगिनी सम्बन्धको घोषणा नेपालको अन्य स्थानीय तहहरूका लागि समेत नयाँ अभ्यास बन्न सक्छ । हालसम्म नेपालका स्थानीय तहहरूले विदेशी नगरसँग मात्र भगिनी सम्बन्ध स्थापना गर्ने गरेको अभ्यास रहेकोमा देशभित्रैका दुई नगरहरूबीच पनि यस्तो सम्बन्ध कायम भएर उचित प्रतिफल प्राप्त भएमा अन्य स्थानीय तहका लागि पनि यसले प्रेरणादायी भूमिका निर्वाह गर्ने आँकलन गर्न सकिन्छ ।

(लेखक काठमाडौँ महानगरपालिकाका निर्देशक हुनुहुन्छ ।)