धूमपानको नियन्त्रण
रमेशचन्द्र न्यौपाने
प्राचीनकालदेखि नै धूमपानलाई मानिसले आफ्नो इज्जत, प्रतिष्ठा, स्वामिमान, शान, सत्कार, प्रेम गर्ने माध्यमलगायतका अवस्थाहरूमा प्रयोग गर्ने गरेका हुन् । तर धूमपानका कारणबाट मानिसमा धेरै किसिमका नसर्ने रोग लाग्न थाले । विश्वभरि नै नसर्ने रोगहरूमा वृद्धि भयो । विभिन्न समयमा गरिएका अनुसन्धानले देखाएको तथ्यअनुसार मानिसलाई लाग्ने आधाजति नसर्ने रोगहरू धूमपानका कारण हुने प्रमाणित भएको छ ।
धूमपानको प्रयोगबाट उत्पन्न हुने रोगबाट प्रत्येक वर्ष लाखौँ मानिसको प्रत्येक वर्ष मृत्यु भइरहेको छ । यसै वर्षमात्र विश्वमा ४८ लाख २९ हजारभन्दा बढी मानिसको मृत्यु यसैकारण भएको तथ्याङ्क छ । नेपालमा वार्षिक १५ हजारजनाको मृत्यु सुर्तीजन्य पदार्थ तथा धूमपानका कारण सिर्जित रोगका कारण हुने गरेको विश्व स्वास्थ्य सङ्गठनका विभिन्न समयका अनुसन्धानले देखाएका छन् । विभिन्न समयमा गरिएका सर्वेक्षणअनुसार नेपालमा १५ देखि ६० वर्षसम्मका मानिस धेरै धूमपान प्रयोग गर्छन् । एक गरिब व्यक्तिले मासिक करिब एक हजार ५० रुपियाँ यसमा खर्च गर्छ भने वार्षिक आम्दानीको ११ प्रतिशत खर्च धूमपानमा गर्ने गरेको अनुमान छ ।
नेपालले सुर्तीजन्य पदार्थ सेवनका कारणले लाग्ने नसर्ने रोग र उच्च रहेको मृत्युदर रोकथाम र नियन्त्रण गर्नका लागि सुर्तीजन्य पदार्थ नियन्त्रण महासन्धि २०३० रणनीति लागू गरेको छ । सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने नसर्ने रोगहरू (मुख्य गरी क्यान्सर दीर्घ श्वासप्रश्वास, मुटुरोग र मधुमेह) ले गर्दा नेपालमा कुल मृत्युदरको ११ प्रतिशत ओगट्छ ।
धूमपानबाट लाग्ने रोगहरूको रोकथाम र नियन्त्रण गर्न विश्व स्वास्थ्य सङ्गठनले धेरै प्रयास गर्दा पनि नसकेपछि महासन्धि नै बनाउनुप¥यो । राष्ट्रसङ्घले सदस्य राष्ट्रहरूलाई आ–आफ्नो देशमा धूमपानको प्रयोग घटाउने ऐन र नियमावली बनाएर लागू गर्न महासन्धि पारित गरेको छ । महासन्धिमा उल्लेख भएअनुुसार प्रत्येक सदस्य राष्ट्रहरूमा योजना, रणनीति, ऐन, नियमावली र निर्देशिकाहरू बनाएर सोहीअनुसार धूमपान नियन्त्रणको काम भइरहेको छ ।
महासन्धिअनुसार सुर्तीजन्य पदार्थको परिभाषा, कुन–कुन स्थानहरूमा धूमपान गर्न नपाइने, गरेमा के–के कारबाही हुने, बिक्री वितरणको व्यवस्था कसरी गर्ने भन्ने मापदण्ड लागू गरिएका छन् । नेपालले धूमपान रोकथाम र नियन्त्रणका लागि सुर्तीजन्य पदार्थ नियन्त्रण ऐन र नियमावली–२०६८ जारी गरी प्रयोगमा ल्याएको छ । कानुनी प्रावधानहरूको कार्यान्वयनका लागि अदालतले सरकारलाई आदेश दिएको छ ।
विश्व स्वास्थ्य सङ्गठन सुर्तीजन्य पदार्थ नियन्त्रण महासन्धिले निर्देशन गरेअनुुसार सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने प्रकोप नियन्त्रण र रोकथामका लागि नेपाल सरकारले आवश्यक पूर्वाधारहरू तयार गरी कार्यक्रमहरू कार्यान्वयन गरिरहेको छ । सुर्तीजन्य नियन्त्रण ऐन र नियमावलीअनुसार राज्य तथा सरकारी निकाय, सङ्घ संस्था वा कार्यालय, शिक्षण संस्था, पुस्तकालय, तालिम तथा स्वास्थ्यसम्बन्धी संस्था, विमानस्थल, वायुसेवा तथा सार्वजनिक सवारीसाधन, बाल कल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथालय, बाल उद्यान तथा क्लब, सार्वजनिक शौचालय, उद्योग तथा कलकारखानाका कार्यस्थलहरू सार्वजनिक स्थलहरूम कुनै पनि किसिमको सुर्तीजन्य पदार्थको प्रयोग गर्ने पाइने छैन ।
सुर्तीजन्य पदार्थ भन्नाले धूमपान वा सुर्तीजन्य सेवनका लागि बनाइएको वा उत्पादन गरिएको चुरोट, बिँडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खा, सुर्ती वा यस्तैप्रकारका अन्य पदार्थलाई मानिन्छ । धूमपान तथा सुर्ती सेवनले मानव जीवनको आर्थिक, सामाजिक र साँस्कृतिक क्रियाकलापमा समेत नकारात्मक असर पार्छ । यस्तो कार्यलाई नियन्त्रण गरी आमजनताको स्वास्थ्य, सुविधा र आर्थिक हितको अभिवृद्धि गर्ने सुर्तीजन्य पदार्थको उत्पादन, आयात, बिक्री, वितरण तथा सेवन गर्ने कार्यलाई न्यूनीकरण नियन्त्रण तथा नियमनसम्बन्धी व्यवस्थापन गर्ने ऐन र नियमावलीको उद्देश्य छ । यो ऐनले कानुनविपरीत सुर्तीजन्य पदार्थ सेवन गर्ने व्यक्तिहरूलाई आवश्यक सजायको पनि व्यवस्था गरेको छ । यी ऐन नियमहरू अनुसार व्यवहार भए नभएको मूल्याङ्कन गर्नसमेतका लागि स्वास्थ्य मन्त्रालयका सचिवको अध्यक्षतामा सम्बन्धित क्षेत्रका विज्ञसहित सातजनाको सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन समितिको पनि व्यवस्था गरिएको छ । यसै समितिबाट विभिन्न कार्यक्रम पनि सञ्चालन भइरहेका छन् ।
अन्य कार्यक्रमहरूको अलवा सुर्तीजन्य पदार्थको सेवन रोकथाम र नियन्त्रणका लागि दुई किसिमका कार्यक्रम सञ्चालन भइरहेका छन् । पहिलो, स्वास्थ्य मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रबाट सञ्चारमाध्यम, सरकारी, गैरसरकारी, निजी, स्थानीय तह, शिक्षण संस्थाहरू, परोपकारी संस्थाहरू, सुरक्षाकर्मीहरूमार्फत जनचेतनामूलक कार्यक्रमहरू नियमित रूपमा सञ्चालन भइरहेका छन् । दोस्रो, सुर्तीजन्य पदार्थको सेवन वा अन्य कारणबाट हुने नसर्ने रोगहरूको धेरैजसो उपचार निःशुल्क भइरहेको छ । धूमपान नियन्त्रण र रोकथामका लागि अन्तर्राष्ट्रिय सङ्घ सङ्गठनको सहयोगका अलावा नेपाल सरकारले सुर्तीजन्य पदार्थमा स्वास्थ्य कर लगाई कोषको व्यवस्था गरेको छ । यो कोषमा सुर्तीजन्य पदार्थको सेवनबापत उठाएको करको रकम नियमअनुसार जम्मा हुने गर्छ । यसै रकमबाट सुर्तीजन्य पदार्थको सेवनबाट हुने रोग (खासगरी क्यान्सर) उपचारमा सहयोग हुने गरेको छ । दक्षिण एसियामा नै नेपाल सुर्तीजन्य पदार्थमा स्वास्थ्य कर लगाएर कोष खडा गर्ने पहिलो मुलुक हो ।
हाल प्रत्यक्ष अवलोकनबाट केही घटेकोजस्तो देखिएको भए पनि सुर्तीजन्य पदार्थ नियन्त्रण, नियमन प्रयासको वास्तविक प्रतिफल कस्तो आएको छ, त्यसको अनुसन्धान आवश्यक भएको छ । सुर्तीजन्य रोग रोकथाम र नियन्त्रण कार्यक्रम एकल रूपमा सञ्चालन गरेर सफलता मिल्दैन, केन्द्रदेखि स्थानीय तहसम्म अरू कार्यक्रमजस्तै वार्षिक रूपमा लक्ष्य तोकेर एकीकृत रूपमा सञ्चालन गर्नुपर्छ ।
नसर्ने रोगहरूबाट बच्ने मुख्य उपाय नै जोखिमपूर्ण व्यवहारहरूको रोकथाम र नियन्त्रण हो । रोग लागिसकेपछि औषधोपचार गर्नुको अलावा रोग लाग्न नै नदिन र सधैँ आफू स्वस्थ रहन सुर्तीजन्य पदार्थ सेवन नगर्ने, मदिरापान नगर्ने, शरीरिक रूपमा सक्रिय रहने, नुन र चिनी कम खाने, फलफूल र सागसब्जी प्रशस्त खाने, करिब ३० मिनेट हलुका व्यायाम गर्ने, एकछिन हिँडडुल गर्ने, तौल नबढाउने, पोषणरहित खाना नखानेजस्ता व्यवहार आवश्यक छ । सुर्तीजन्य पदार्थ सेवनबाट मानिसको श्वासप्रश्वास, खासगरी फोक्सोमा बढी असर गर्ने भएकाले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको महामारीको समयमा त अझ बढी सतर्कता अपनाउनुपर्नेछ ।
(लेखक जनस्वस्थ्यविज्ञ हुनुहुन्छ ।)