विचार/दृष्टिकोण |

गुम्न हुँदैन मानव संवेदनशीलता

विनायकप्रसाद धिताल

कोभिङ–१९ को महामारीको बढ्दो सङ्क्रमण र मृत्युवरण गर्ने व्यक्तिहरूको अनपेक्षित शृङ्खलाले पेशा र जिम्मेवारीबोध भएका कर्तव्यनिष्ठ व्यक्तिहरूलाई जति चिन्तित तुल्याएको छ, सोहीअनुपातमा आमजनताको चासो र चिन्ता जीवन निर्वाहको बोझले थिचिएर वा निस्सासिँदो जिन्दगीबाट विरक्तिएर क्रमशः पातलिँदै गएको अनुभव विश्वभरि नै हुन थालेको छ । सुरुमा महामारीप्रति देखिएको सतर्कता क्रमशः असावधानी र अलमस्त भएर सडकहरूमा पोखिन थालेको छ । विश्वका बढ्दो महामारीको चपेटामा परेका धेरैजसो देशहरूमा लकडाउनविरुद्धमा देखिएको रवैयाले यही पुष्टि गर्छ । तर यथार्थ यो पनि छ, विश्वका कैयौँ देशमा दोहो¥याइ–तेहे¥याइ लकडाउन गरिरहनुपरेको छ ।
दैनिक ज्यालादारीमा जीवन निर्वाह गर्ने वा दिनभर काम गरी साँझबिहान छाक टार्ने श्रमिकहरूको सङ्ख्या नेपालमा उल्लेख्य छ । श्रम बेच्न नपाउनाले दुईछाक गाँसको चिन्ताले ग्रसित श्रमिक वर्ग राहत सामग्री कहाँ पाइन्छ, मनकारी र उपकारी व्यक्तिहरूले निःशुल्क खाना कहाँ वितरण गरिरहेको छन् भन्दै आँखा तेस्र्याउनुपर्ने अवस्था छ । निम्नमध्यम र मध्यम वर्ग आफ्नो निर्वाहका नियमित आय स्रोतका मूलहरू केही घरभाडा, बन्द–व्यापार, तलब आदि सुक्दा आर्थिक सङ्कटबाट विचालित हुन पुगेको छ । ठूला व्यापारीवर्ग उद्योग व्यवसाय चौपट हुँदा चर्को भाडा, बैङ्कहरूको ऋण चुक्ता र व्याज, कामदारहरूको तलब व्यवस्थापन आदिको भारले थिचिनुपर्दा छट्पटिएका छन् । विदेशमा पसिना पोखेर विप्रेषण पठाई देशको अर्थतन्त्र धान्न सघाउ पु¥याउने नेपाली सन्ततिहरू दुःख पर्दा आफ्नै देश फर्के । महामारीको चपेटाबाट जोगिन फर्केकाहरू गाँसको व्यवस्था हुन नसक्दा भोकले मर्नभन्दा रोगले मर्न बेस भन्दै उतै फर्कन बाध्य भएका छन् । आममानिसले भोग्नुपरेको यही प्रताडना, हैरानी, दुःख, चिन्ता आदिका कारणहरूले गर्दा नै कोरोना महामारीको चिन्ताजनक तथ्याङ्कप्रति आमजनसमुदाय बिस्तारै उदासिन र असंवेदनशील हुन पुगेको हो ।
तर, महामारीको बेला स्वास्थ्य प्रोटोकलप्रति लापरबाही गर्नु भनेको आत्मघाती गोल गर्नु हो । सबैभन्दा बहुमूल्य कुरो त जीवन नै हो । गाँसको व्यवस्था पनि ज्यान रहे नै चाहिने हो । तर, भोकले मर्न पनि त भएन । हो, यो अवस्था आउन नदिन सरकारकै जिम्मेवारीको कुरो हो । हाम्रो देशमा आर्थिक कारणले सङ्कटग्रस्त बनेको आमजनजीवनलाई केही मात्रामा भने पनि सहज तुल्याउन अर्थतन्त्रलाई पुनर्जीवन दिनुपर्ने आवश्यकताको बोध भएको देखिन्छ । तर, केही किस्ताबन्दीका रूपमा आएको राहत प्याकेजले यो समस्या समाधान हुन सक्दैन । यसका लागि कमसेकम सरकारले नै निर्धारण गरेको श्रमिकहरूको न्यूनतम तलब १५ हजार रुपियाँ प्रत्येक गरिब परिवारलाई स्थानीय सरकारको सक्रियतामा पहिचान गरेर अर्थतन्त्र अलिकति भने पनि नउकासिउन्जेलसम्मका लािग वितरण गर्नुपर्छ । रोजगारीको ठूलो स्थान ओगटेको लघुउद्योग व्यवसायलाई लामो समयको सरल कर्जा बैङ्कहरूमार्फत उपलब्ध गराउनुपर्छ । यसका लागि सरकारले अन्य क्षेत्रमा हुने गरेको अनुत्पादक र फजुल खर्चलाई निन्त्रण गरे पनि पुग्छ ।
“ग्लोबल भिलेज”को अवधारणालाई अङ्गीकार गरेर निकटतम सम्बन्धमा बाँचेको विश्वमानव समुदाय एकाएक राष्ट्रका सीमाहरूमा सङ्कुचित हुन पुगेको छ । चल्न फिर्न गोडाहरूलाई मनको गह्रुँगो सिक्रीले बाँध्न विवश छ । यसले मानव स्वभाव र सम्बन्धका मधुर र सबल पक्षहरू संवेदनशीलता, भावुकता, विश्वास, स्नेहपूर्ण र मैत्रीपूर्ण व्यवहार आदि सबैमा एकप्रकारको उदासिनता, निस्पृहता र निरपेक्षता प्रदर्शन हुन थालेको छ । विपद्को अवस्थामा एकआपसमा जुटेर आशा र भरोसा सञ्चार गर्न रमाउने मानिस महामारीको यो काममा रिक्त र शून्य भावना अवतरण हुन थालेको छ । मानव मनोवृत्तिमा आएको यो परिवर्तन महामारीले ल्याएको सबैभन्दा अनिष्टकारी सूचक हो । महामारी सिथिल भइसकेपछि पनि मानिसका आचरण, स्वभाव, प्रवृति र प्रकृति पूर्ववत् अवस्थामा फर्कला वा नफर्कला आँकलन गर्न गाह्रो छ ।
कोभिड–१९ को महामारीले नराम्ररी हल्लाएको अर्काे पाटो भने मानिसभित्रको अहम् भावलाई हो । प्राणीहरूमा आफूलाई सर्वश्रेष्ठ मान्ने मानिस आज सामान्य अणु विक्षण यन्त्रले समेत नदेखिने विषाणुको सामु निरीह प्राणी भएको छ । प्रकृति र पशु जगत्को अगाडि उसको श्रेष्ठताको आसन डगमगाएको छ, लडखडाएको छ । अन्धाधुन्ध प्राकृतिक वातावरणको विनाश र पशु जगत्प्रतिको साङ्घातिक रवैया र उसको वासस्थानको अतिक्रमणको सिकार मान्छे आज आफैँ बन्न पुगेको छ । यो अक्षम्य गल्तीबाट उसले अझै पाठ सिक्न सकिरहेको छैन । भूक्षय, जङ्गलको विनाश, अनियन्त्रित प्र्रदूषण, वातावरणप्रतिको बेवास्ता आदि अझै मानव क्रियाकलापहरूबाट सुनियोजित ढङ्गले हुँदै गइरहेका छन् । विज्ञान र प्रविधिको विकास उत्कर्षमा पुगेको यस युगमा पनि मानिसले आफूलाई यतिविघ्न दुर्बल, फिक्का, शक्तिहीन र कमजोर पाउँदा पनि आत्मनिरीक्षण गर्ने र आत्मालोचना गर्ने चेत र साहस उसमा जागृत भएन भने निश्चित छ– प्रकृति र पशु जगत्को आक्रमणबाट उसको अस्तित्व सङ्कटग्रस्त बन्नेछ । त्यसैले आफ्नो कल्याणका लागि प्रकृतिसँग तादात्म्य राखेर बस्नु सिवाय मानव जातिका लागि अर्को कुनै विकल्प छैन ।

(लेखक समसामयिक विषयमा कलम चलाउनु हुन्छ । )