विचार/दृष्टिकोण |

बकुल्लो र ब्युरोक्रेसी

भागवत खनाल

आचार्य चाणक्य भन्छन् ,“राजाले सबैभन्दा ज्यादा ध्यान कोषमा दिनुपर्दछ ।’’ ढुकुटी बलियो भयो भने राज्य बलियो हुन्छ । यही कोषको माध्यमबाट सत्ता सबल र सिमाना सुदृढ हुन्छ । शत्रुहरू परास्त हुन्छन् ।
कोष भरिलो राख्नका लागि कर उठाउन, सत्ता सबल राख्नका लागि प्रजामा राजभय उत्पन्न गराउन र शत्रुमाथि प्रताप कायम राख्नका निम्ति प्रभुत्व जमाउन कर्मचारीको आवश्यकता पर्दथ्यो । राज्यव्यवस्था सञ्चालन गर्न नभई नहुने तर सर्वाधिक आलोचित संस्था हो कर्मचारीतन्त्र । चाणक्यले भनेका छन्, कर्मचारीवर्गले राजकोषमा जम्मा गर्नुपर्ने रकम आफैँ हडप्न सक्छन् । उनले कर्मचारीले राजालाई झुक्याउन सक्ने अनेकौँ तरिकाको वर्णन गरेका छन् ।
कर्मचारीतन्त्र (ब्युरोक्रेसी) परापूर्वकालदेखि नै राज्यव्यवस्था सञ्चालनका लागि अपरिहार्य संस्थाको रूपमा रहँदै आएको छ । यो राजा र प्रजाका लागि नभई नहुने तर दुवैबाट नरुचाइएको संस्थाको रूपमा परिचित थियो । आज पनि जुनसुकै देशको सरकारलाई कर्मचारीतन्त्रको नियत र क्षमतामा आशङ्का छ । जनतामाझ यो तन्त्रप्रति आस्था र भरोसा जाग्न सकिरहेको छैन ।
ब्युरोक्रेसीको परम्परागत बनोट नै यसलाई शासक र जनता दुवैको नजरमा शङ्कास्पद बनाउने खालको छ । मुलुकको ढुकुटी र सम्पदाको साँचो यही संस्थाको हातमा हुन्छ । देशको खजानाको तालाकुन्जी कब्जा गरेर बसेको संयन्त्रसँग सरकार सतर्क र सशङ्कित हुने नै भयो । आज नवीन पद्धति कायम भएर कर्मचारीतन्त्रलाई जनताको सेवकको रूपमा परिभाषित गर्न थालिएको छ । परन्तु सयौँ वर्षदेखि संस्कृतिको रूप लिएको मनोविज्ञानमा परिवर्तन हुन समय लाग्दो रहेछ ।
प्राचीनकालदेखि नै राज्य व्यवस्थाले ब्यूरोक्रेसीलाई बकुल्लो जस्तो बनाउँदै आएको छ । बकुल्लो साधुको भेषमा रहेको कपटी हो । बकुल्लोको टाढासम्म देख्न र टिप्न मद्दत गर्ने लामो घाँटी हुन्छ । खुट्टा लामा हुन्छन् । बकुल्लो बाह्य रूप हेर्दा शुभ्र, शान्त, शालीन र सुकिलो देखिन्छ । जति सुन्दर, शान्त र विशाल भए तापनि यसको काम भनेको मौका पर्नासाथ माछा टिप्नु नै हो । बडो चलाख हुँदाहुँदै पनि यसको प्रशंसक र अनुयायी कोही हुँदैन । बकुल्लो हुनुको भाव शृङ््खलाबद्ध छ । ब्युरोक्रेसीको बकुल्लो राजनीति, कारिन्दाको बकुल्लो हाकिम र अचेल त पूरै कर्मचारीतन्त्रको बकुल्लो ट्रेड युनियन । कार्ल माक्र्सले ब्युरोक्रेसीको कटु आलोचना गरेका छन् । उनी भन्छन्, ब्युरोक्रेसी बडो चतु¥याइँपूर्वक आफ्नो वर्गको हितमा दत्तचित्त हुन्छ । माक्र्स यसलाई शोषक वर्गको हित रक्षा गर्न रचित परजीवी वर्ग मान्छन् ।
कर्मचारीतन्त्र समाज र सरकारबीचको सम्पर्कको कडी हो । सरकार कर्मचारीतन्त्रको माध्यमबाटै जनतामाझ प्रकट हुन्छ । यो सरकारको वैधानिकता र लोकप्रियता कायम गर्ने सूत्र पनि हो । कर्मचारीतन्त्र असल भएन भने राजनीतिले आफ्नो असल रूप देखाउन सक्दैन । राजनीतिले बकुल्लाको रूप परित्याग गर्ने हो भने ब्युरोक्रेसी समेत बकुल्लाको बिम्ब त्याग गर्न बाध्य हुनेछ । यो शृङ्खला टुटाउन सकियो भने अन्ततोगत्वा राष्ट्र र जनतालाई नै फाइदा हुनेछ ।
प्रशासक वर्ग किन स्वार्थी र सङ्कुचित हुन्छ ? यो सदाकाल गरिँदै आएको प्रश्न हो । यसले समाजको कुन वर्गको प्रतिनिधित्व गर्छ र कस्तो वातावरणमा काम गर्दछ भन्ने बुझियो भने कारणको जरो ठम्याउन सजिलो हुन्छ । सामान्यतया कर्मचारीतन्त्रले अस्थिर र स्वार्थपरायण मध्यमवर्गको प्रतिनिधित्व गर्दछ । कर्मचारीवर्ग योग्य हुँदाहुँदै पनि आफ्नो योग्यता प्रकट गर्ने सुविधाबाट वञ्चितप्रायः हुन्छ । लोक सेवा आयोगले उपलब्ध युवामध्ये सबैभन्दा राम्रो लेख्न र बोल्न जान्नेलाई छनोट गरेर नियुक्तिका लागि सरकारमा पठाउँछ । त्यो मेधावी युवाले नियुक्ति हात पर्ने दिन नै के बुझ्छ भने आजका मितिदेखि त्यो लेख्नु जे लेख्ने निर्देशन प्राप्त हुन्छ र त्यो बोल्नु जे बोल्ने निर्देशन प्राप्त हुन्छ । यो निजामती दर्शन नबुझ्नेले कर्मचारीतन्त्रको शिरदेखि पाउसम्म खराबी मात्रै देख्छन् ।
नवप्रवेशी युवाका लागि ब्युरोक्रेसी गोपनीयता र रहस्यले भरिपूर्ण संस्था हो । बाहिर सुन्दा बौद्धिक ठानिएको र प्रतिभा सम्पन्न व्यक्तिहरूले भरिभराउ सङ्गठन भित्र पसेर हेर्दा सङ्कुचित बन्द समाजजस्तो लाग्छ । नयाँ कर्मचारीले यो सङ्गठनलाई आफ्नो प्रतिभाको शिकार गर्न तत्पर बकुल्लोको रूपमा देख्छ । तोकिएको पदसोपान र मर्यादाभित्र रहेर काम गर्नुपर्ने हुँदा यो संस्था आफ्नो घेराबाट बाहिर निस्कन सक्दैन ।
दार्शनिक तबरले हेर्दा ब्युरोक्रेसी ज्ञानको कैदखाना प्रतीत हुन्छ । भर्ना अघि लिइने परीक्षाहरू त समाजको योग्य युवा वर्गलाई भित्र्याउने माध्यम मात्र हुन् । ब्युरोक्रेसीमा काम गर्ने व्यक्तिको समाज त्यहीँ सुरु भएर त्यहीँभित्र नै सकिन्छ । ऊ त्यही सीमित समाजभित्र रमाउँछ र प्रतिष्ठित महसुस गर्दछ । वर्षौं आफ्नै घेराभित्र सीमित हुन बाध्य गुमनाम व्यक्तिको अवकाश पश्चात्को जीवन पनि एकलकाँटे हुन पुग्छ । यही गुमेको अवसर र जीवनभर गरेको सेवाको भरपाइ हो कर्मचारीले पाउने पेन्सन लगायतको सुविधा । राजनीतिले यस कुराको मर्मलाई महसुस गर्नु आवश्यक छ ।
प्रतिभाशाली युवा किन गुमनाम जागिरे जीवनप्रति आकर्षित हुन्छ ? यसभित्रको गाम्भीर्यलाई महसुस गर्न सकिएन भने कर्मचारीले पाउने गरेका सुविधा मात्र देखिन्छन् र भित्री रहस्यहरू बेवास्तामा पर्छन् । सार्वजनिक सेवामा प्राप्त हुने नोकरीको स्थिरता, सामयिक पदोन्नति, इज्जत र अवकाशपछि प्राप्त हुने सुविधाका कारण व्यक्ति यसतर्फ आकर्षित हुन्छ । संसारभरि चलेको रीत नै यही हो । कर्मचारीतन्त्रमा जतिसुकै योग्य व्यक्ति प्रवेश गरे तापनि उसमा पहल गर्ने क्षमता हुँदैन । कर्मचारीले पाउने दीक्षा र सिकाइले उसलाई पहलकर्ता नभई पालनकर्ता बन्न अभिप्रेरित गरेको हुन्छ । रातदिन पढेर लोक सेवा परीक्षाको तयारी गर्दा कागको जस्तो चेष्टा, बकुल्लाको जस्तो ध्यान, कुकुरको जस्तो निद्रा र अल्पाहार एवं गृहत्याग जस्ता पाँच लक्षणयुक्त युवा कर्मचारी बन्नासाथ बकुल्लो लक्षणमा सीमित हुन्छ । कर्मचारी मुलुकको समृद्धिको स्वप्नद्रष्टा हुन सक्दैन । सपना देख्ने काम राजनीतिको हो भने त्यो सपनालाई साकार गर्ने काम कर्मचारीको हो । कुनै पनि उच्च अधिकारीले मातहतको कर्मचारीलाई पहलकर्ता होइन, पालनकर्ता बनेकै देख्न चाहन्छ ।
भारतका पूर्व प्रधानमन्त्री स्व. जवाहरलाल नेहरूले ब्युरोक्रेसीको संसारबारे प्रकाश पार्दै लेखेका छन्, “यिनीहरू अजीव संसारका जीव हुन् । यिनीहरू अभिमानी हुन्छन् र लोकमतलाई तुच्छ दृष्टिले हेर्छन् ।” गोपालकृष्ण गोखलेले ब्युरोक्रेसीलाई “आफ्नो श्रेष्ठ बुद्धिमत्ताको अहङ्कार गर्ने” वर्गको रूपमा चित्रण गरेका छन् । हिन्दुस्तानमा अङ्ग्र्रेजले देशी नोकरहरूको माध्यमबाट प्रशासन सञ्चालन गर्ने गरेको हुँदा त्यहाँ कर्मचारीतन्त्रलाई ‘नोकरशाही’ भनिन्थ्यो ।
संसारको कुनै पनि देशको नागरिकलाई “तपाईंको देशको ब्युरोक्रेसी कस्तो छ ?’’ भनेर सोधियो भने ‘प्रशंसनीय छ’ भन्ने उत्तर पाउन कठिन छ । यो संस्थाबाट हैरान नभएको मानिस भेट्टाउन गाह्रो छ । ब्युरोक्रेसी अलोकप्रिय हुनुमा संरचनात्मक दोष छ । ब्युरोक्रेसी सरकारको लागि “निर्विकल्प खराबी” हो । यसको विकल्प भनेको योभन्दा असल ब्युरोक्रेसी नै हो । आजको युगमा ब्युरोक्रेसी सरकारको सहयोगी र जनताको सेवक हो । यो सङ्गठनलाई सरकारको नीति जनमुखी तरिकाले कार्यान्वयन गर्ने संयन्त्रको रूपमा प्रतिष्ठित तुल्याउनु जरुरी छ ।
सामान्यतः कर्मचारीतन्त्र यथास्थितिवादी हुन्छ । जब युगान्तकारी परिवर्तन या फरक तरिकाले काम गर्ने कुरा आउँछ, यो सशङ्कित, भयभित र भ्रमित हुने सम्भावना हुन्छ । कर्मचारीतन्त्रले अकस्मात हुने ठूलो परिवर्तनलाई बकुल्लाको रूपमा देख्न थाल्छ । निजामती विधेयकको छलफलका क्रममा उठेका कुरा सुनेर कर्मचारीहरूले राजनीतिलाई बकुल्ला देख्नुको भित्री रहस्य नोकरीको अस्थिरता र सुविधा खोसिने भय हो । राजनीतिले यो मनोविज्ञानको गहिराइ बुझेर निर्णयमा पुग्नु मनासिव हुनेछ ।
कटुतम आलोचना गरे पनि यो जति नियमित र लयबद्ध संस्था अर्को कुनै छैन । यो राजनीतिलाई गलत निर्णय गर्नबाट जोगाउने एक मात्र संस्था हो । राजनीति विखण्डित भए पनि सरकार अखण्ड राख्ने संयन्त्र यही हो । कहिलेकाहीँ राजनीति दाउपेचले गर्दा विशृङ्खलित हुन पुग्छ तर ब्युरोक्रेसीले मुलुकी प्रशासनको हृदय र दिमागलाई सुरक्षित राखिरहन्छ । यो यति इमानदार छ कि आफूले सम्हालेर राखेको नासो सरक्क ससम्मान राजनीतिलाई बुझाइदिन्छ । त्यसैले यसलाई स्थायी सरकार भन्ने गरिएको हो ।
यो संस्थालाई समयानुकूल परिष्कार गर्नु देश र जनताको हितमा छ । यसलाई समयको माग अनुकूल आवश्यक परिमार्जनसहित व्यवस्थित पार्न सकियो भने सरकारको समृद्धि सपना यही संस्थाको माध्यमबाट साकार हुनेछ ।
(लेखक नेपाल सरकारका पूर्व सहसचिव हुनुहुन्छ ।)